भ्यागुता र पाहा यिनीहरूमा के भिन्नता छ?
शताब्दीयौंदेखि भ्यागुता र पाहाको नराम्रो नाउँ चलेको छ। जस्तै, “तिनीहरूको कारणले शरीरमा मुसा निस्कन्छन्।” “बोक्सीहरूले मानिसहरूलाई भ्यागुता र पाहामा परिवर्तन गराउँछन्।” घिनलाग्दो पाहालाई राजकुमारीले चुम्बन गर्दा त्यो सुन्दर राजकुमार भएको परिकथा कसले सुनेको छैन र? तथापि, केटाकेटीहरूको टेलिभिजन कार्यक्रमहरू “सिसेम स्ट्रीट”-मा कर्मत द फ्राग नाउँको पाहा र “द मपेट शो”-मा मपेट नाउँको पाहा लोकप्रिय भएदेखि धेरै मानिसहरूको दृष्टिमा पाहा निकै मनपर्दो हुन आएको छ। तर पाहा र भ्यागुताबारे वास्तविक तथ्य के हो? तिनीहरूबीच कस्तो भिन्नता छ?
उपरोक्त तथ्यलाई पत्ता लाउन हामी पहिला गलत विचारधाराहरूलाई रद्द गर्ने प्रमाणहरू हेरौं—भ्यागुताहरूले होइन तर भाइरसहरूको कारण शरीरमा मुसा निस्कन्छन्। परिकथाहरू सत्य नभई कल्पित र मिथ्याहरू मात्र हुन्। अनि वास्तविक बोक्सीहरूको अस्तित्व भए तापनि, तिनीहरूले मानिसलाई पाहा वा भ्यागुतामा परिवर्तन गर्न सक्दैनन्।
संसारका धेरै भागहरूमा पाहा र भ्यागुताहरू पाइन्छन्। तर दक्षिणी ध्रुवमा पाहाहरू अनि उत्तरी ध्रुवमा भ्यागुताहरू पाइँदैन। संसारमा लगभग ३,८०० प्रकारका पाहाहरू र ३०० भन्दा बढी किसिमका भ्यागुताहरू छन्। तसर्थ, हामी पाहा र भ्यागुता कसरी छुट्याउनसक्छौं? यसको उत्तर द वर्ल्ड बूक इन्साइक्लोपिडिया यसरी दिन्छ: “पाहाहरूको भन्दा भ्यागुताहरूको शरीर चौडा र चेप्टो अनि छाला कालो र शुष्क हुन्छ। भ्यागुताहरूको शरीरभरि फोकाहरू हुन्छन् तर पाहाहरूको शरीर चिल्लो हुन्छ। पाहाहरूको विपरीत धेरैजसो भ्यागुताहरू जमीनमा बस्छन्। बच्चा पैदा गर्न मात्र वयस्क भ्यागुताहरू पानीमा जान्छन्।” साधारणतया, पाहाहरू पानीको छेउमै भेटाइन्छन्। अनि कोही आएको चाल पाउनेबित्तिकै पानीमा हाम फालिहाल्छन्। धेरैजसो पाहाहरूको माथिल्लो गिजामा दाँत हुन्छन्। भ्यागुताहरूको दाँत हुँदैनन्। यसैले यी पाहा र भ्यागुता दुवैले शिकारलाई नचपाई निल्छन्।
धेरैजसो पाहा र भ्यागुताहरूले शक्तिशाली विषहरू उत्पादन गर्छन्। रातो रंगको कोस्टारिकन विषालु काँड नाउँको पाहा (डेन्ड्रोबेट्स पुमिलियो) यसको एउटा उदाहरण हो। कुनै कुनै पाहाको विषले मानिसलाई सजिलै मार्न सक्छ। बायोलजी नाउँको किताप यसरी बयान गर्छ: “उष्ण प्रदेशीय देशहरूका आदिवासीहरूले अक्सर यी पाहाहरूमा काँड़को टुप्पो दलेर त्यसलाई विषयुक्त बनाउँछन्।” बाइबलको पुस्तक प्रकाशमा “अशुद्ध आत्माहरू”-लाई पाहाहरू जस्तै भनी उल्लेख गरिएको छ। किन? किनकि, मोशाको व्यवस्थामा पाहाहरू खान नहुने घृणित चीज थियो। तर बाइबलमा भ्यागुताहरूको भने उल्लेख गरिएको छैन।—प्रकाश १६:१३, न्युव; लेवी ११:१२.
[पृष्ठ २७-मा भएको चित्र]
दाहिने: भ्यागुता / तल: पाहा