समुद्रका मणिभ महलहरू
क्यानाडाका ब्यूँझनुहोस्! संवाददाताद्वारा
“लौ माऱ्यो!हिमशिला त्यहीं अगाडि नै छ!” एउटा चिन्तित स्वर सुनिन्छ। पानीजहाजको चालकदल तत्कालै सतर्क भइहाल्छ। पानीजहाज नजुधोस् भनेर दिशा परिवर्तन गरिन्छ। तर, निकै ढिलो भइसक्यो। पानीजहाजको दाहिने भागमा ठूलो भ्वाङ पर्छ।
तीन घण्टा पनि बित्दा नबित्दै तत्कालीन सबैभन्दा विशाल आरामदायी यात्रुवाहक पानीजहाजलाई उत्तरी आन्द्र महासागरले निल्यो। अप्रिल १५, १९१२ अर्थात् युरोपबाट उत्तर अमेरिकातर्फ प्रथम यात्रा थालेको पाँचौं दिनमै टाइटानिक महासागरको गर्भमा हराउँछ। यो पानीजहाज सतह-भन्दा चार किलोमिटर मुनि डुबेको थियो। चालकदल र यात्रु गरी जम्मा १,५०० जना समुद्रमा मरे।
अनि त्यो हिमशिलालाई के भयो? भनौं भने, त्यसलाई कुनै खास हानि भएन। त्यसको त टुप्पो मात्र टाइटानिक-सित जुधेको थियो। भोलिपल्ट मानौं केही पनि नभएजस्तो गरी दक्षिणतिर त्यसलाई मनतातो पानीमा तैरिरहेको जाँचबुझ टोलीले देख्यो। त्यत्रो विशाल समुद्रमा बिस्तारै पग्लँदै त्यो हिमशिला अतित हुनेछ। तर टाइटानिक डुबेको घटनालाई भने डरलाग्दो समुद्री दुर्घटनाको रूपमा अझै पनि सम्झना गरिन्छ।
हिमशिलाहरू! ती बिछट्टै आकर्षक र विशाल भए तापनि अति कठोर छन्। के तपाईंले तिनलाई नजीकैबाट हेर्नुभएको र तिनले मानवजाति तथा प्रकृतिमाथि पार्ने प्रभावबारे थाह पाउनुभएको छ? ती किन र कसरी अस्तित्वमा आए बुझ्न चाहनुहुन्छ? अनि समुद्री यात्रीहरूलाई हिमशिलाले गर्दा हुनसक्ने सम्भाव्य खतराहरूबाट जोगाउन के कस्ता कदमहरू चालिएका छन्? (पेटीमा “इन्टरनेशनल आइस प्याट्रोल” [अन्तरराष्ट्रिय बरफ गस्ती] हेर्नुहोस्।)
उत्पत्ति र जीवनचक्र
हिमशिलाहरू स्वच्छ पानीका विशाल बरफका टुक्राहरूजस्तै हुन्। ती उत्तरी ध्रुव तथा कुमेरुका हिमनदीहरू र बाह्रैकाल हिउँ नै हिउँले ढाकिएका ठाउँहरूबाट आएका हुन्। पृथ्वीको ९० प्रतिशत हिमशिला कुमेरुको हिउँबाट बन्छ भनेर के तपाईंलाई थाह थियो? ठूल-ठूला हिमशिला पनि त्यसैले उत्पन्न गर्छ। ती हिमशिलाहरू पानीको सतहबाहिर १०० मिटर अग्लो र ३०० किलोमिटर लामो र ९० किलोमिटर चौडाइभन्दा पनि धेरै ठूलो हुनसक्छ। त्यसको तौल २० लाखदेखि चार करोड टनसम्मको हुन्छ। अनि हिमकणहरूजस्तै हिमशिलाहरू पनि एक समान हुँदैनन्। केहीका टुप्पा समतल हुन्छन् भने केही कीलो, चुचुरो र गुम्बजजस्ता हुन्छन्।
पानीको सतहमाथि अक्सर हिमशिलाको सात भागको एक भाग वा दश भागको एक भाग मात्र देखा पर्छ। विशेषगरि टुप्पो समतल परेका हिमशिलाहरू यस्ता हुन्छन्। एक गिलास पानीमा एक टुक्रो बरफ राख्दा जस्तो देखिन्छ, त्यो पनि त्यस्तै देखिन्छ। तथापि, पानीमाथि उत्रिएको बरफ र पानीमुनिको बरफको अनुपात हिमशिलाको आकृतिअनुसार फरक फरक हुन्छ।
कुमेरुका हिमशिलाहरूको टुप्पा र छेउ समतल र चारपाटे परेका हुन्छन् भने सुमेरु क्षेत्रका हिमशिलाहरू कुनै निश्चित आकारबिनाको र बुर्जाजस्तै हुन्छन्। यी अक्सर बाह्रैकाल हिउँ नै हिउँले ढाकिने ग्रीनल्याण्डबाट आएका हुन्छन्। र ती आन्द्र जलमार्गतर्फ बहने हुँदा मानिसको लागि खतरापूर्ण छन्।
तर यी हिमशिलाहरू कसरी बन्छन्? पृथ्वीका उत्तर र दक्षिण ध्रुवतिर हिउँ र हिमपात अक्सर पग्लेर वाफ बन्दैन। यसले गर्दा जमीनमा हिउँको पत्र जम्न थाल्छ र हिउँले बनाएका ती पत्रहरू हिमनदीमा परिणत हुन्छ। एवं रीतले प्रत्येक वर्ष हिउँ र पानी पर्दै जाँदा हिउँको पत्रमाथि पत्र थपिंदै जान्छ। यसरी विस्तृत भू-भाग बरफले ढाकिन्छ र ग्रीनल्याण्डजस्तो ठाउँ बन्छ। पछि त्यो बरफ निकै बाक्लो र कडा हुन्छ अनि सुस्तरी उपत्यकातर्फ चिप्लेटी खेल्दै झर्छ र अन्तमा समुद्रमा पुग्छ। यो गतिबारे बर्नार्ड स्टोनहाउसले आफ्नो पुस्तक नर्थ पोल, साउथ पोल-मा (उत्तरी ध्रुव, दक्षिणी ध्रुव) यसरी लेखे: “कडा बरफ लचिलो हुन्छ तर त्यसको रूप सजिलै बद्लिन्छ; दबाब दिंदा त्यसको षड्भुज आकारका मणिभहरू पंक्तिबद्ध हुन्छन्। अनि हिमनदीजस्तै ती एकआपसमा बहँदै र घस्दै जान्छन्।”
चिसो चास्नीजस्तै हिउँको नदी असाध्यै सुस्तरी उबडखाबड जमीनमा बहेको यसो कल्पना गर्नुहोस्। त्यो पहिल्यै सीधा चर्किसकेको हुनाले समुद्र किनार पुगेपछि झन् उदेकलाग्दो कुरा हुन्छ। ज्वारभाटको उतारचढाव, छालको प्रहार र पानीमुनि जमीन भासिंदा करिब ४० किलोमिटरसम्म फैलिएको स्वच्छ पानीको बाक्लो टुक्रा गडगडाउँदै हिमनदीबाट अलग्गिन्छ। लौ! हिमशिला जन्मियो! एक अवलोकनकर्ताले यसलाई “तैरने मणिभ महल” भनेर व्याख्या गरे।
सुमेरु क्षेत्रमा वर्षेनी १०,००० देखि १५,००० हिमशिलाहरू बन्छन्। यद्यपि, तुलनात्मक ढंगमा भन्ने हो भने, यीमध्ये थोरै मात्र न्युफाउण्डल्याण्ड तटको दक्षिणी महासागरमा मिल्न पुग्छन्। त्यहाँ पुग्नेहरूलाई के हुन्छ?
हिमशिलाको स्थानान्तरण
बनिसकेका हिमशिलाहरूमध्ये अधिकांशलाई सागरको तरंगले लामो यात्रामा लैजान्छ। र तीमध्ये केहीलाई पश्चिम वा दक्षिणतिर हुर्ऱ्याउँदै आइसबर्ग एली नामांकित लाब्राडोर सागरसम्म पुऱ्याउँछ। आफ्नो जन्मथलोबाट अलग्गिएर लगभग दुइ वर्षसम्म भौतारिंदै अन्ततः एट्लान्टिकतिर बग्दै लाब्राडोर र न्युफाउण्डल्याण्ड पुगेपछि हिमशिलाहरूको अवधि छोट्टिन पुग्छ। मनतातो पानीमा बहँदै जाँदा ती पग्लिंदै, घस्रिंदै र टुक्रिंदै विस्तृत ढंगले मासिन्छन्।
अझ विशेषगरि दिउँसोपख बरफ पग्लन्छ र चिरिएका ठाउँहरूमा पानी जम्मा हुन्छ। अनि राती चिसोले गर्दा त्यो पानी जम्छ र ती चर्किएका ठाउँहरू फुक्न थाल्छन्। त्यसपछि त्यो हिमशिला टुक्रिन्छ। यसरी हिमशिलाको आकार र त्यसको गुरुत्वाकर्षणको केन्द्रबिन्दु अचानक परिवर्तन हुन्छ। तत्पश्चात् बरफका टुक्राहरू एकपछि अर्को गर्दै पानीमा झर्दा ती हिमशिलाको आकृति परिवर्तन हुँदै जान्छ।
यो चक्र चलिरहँदा बरफका महलहरू टुकिंदै साना हुन्छन् र आफ्नै स-साना हिमशिलाहरू अर्थात् झन्डै एउटा घर जत्रा “बर्गी बिट्सहरू” (हिमशिलाको टुक्रा) र सानो कोठा जत्रो “ग्राउलर्स” (घुरर्र) सिर्जना हुन्छन्। तरंगहरूमा बहँदा त्यसले निकाल्ने स्वरको आधारमा पछिल्लो चाहिंलाई घुरर्र भनेको हो। केही साना घुरर्र हिमशिलाहरू समुद्रतट र खाडीको त्यति गहिरो नभएका ठाउँका पानीमा चलमलाइरहेका हुन्छन्।
जस्तोसुकै परिस्थितिमा पनि सुदूर दक्षिणी पानीको वातावरणले हिमशिलालाई द्रुत गतिमा मास्छ। र त्यसरी मासिएको हिमशिलाबाट बनेका स्वच्छ पानीको बरफका स-साना टुक्राहरू पछि विशाल समुद्रमा बिलाउँछन्। तर त्यसो नहोऊञ्जेल हिमशिलाहरूदेखि जोगिएर हिंड्नुपर्छ।
हिमशिलाहरूले हाम्रो जीवनलाई कसरी प्रभाव पार्छ
जीविका चलाउन समुद्रमा भर गर्नुपर्ने मछुवाहरूले हिमशिलालाई बाधा र जोखिमको रूपमा लिन्छन्। एक जना मछुवाले यसो भने: “पर्यटकहरूलाई हिमशिला मनमोहक लाग्ला, तर यसले मछुवाहरूलाई दिक्क पार्नसक्छ।” आफूले के के न समाते होला भनी हेर्न आएका मछुवाहरू छाल र तरंगले बगाएको हिमशिलाले गर्दा च्यातिएको बहुमूल्य खाली जालहरू मात्रै हात पार्छन्।
हिमशिलाहरू मान खोज्छन्। “त्यसबाट टाढै बस्नु बुद्धिमानी हुनेछ” एक जना माझी भन्छन्। “हिमशिलाहरू कहिले कताबाट आउँछन् ठम्याउनै सकिन्न! अग्ला हिमशिलाहरूबाट ठूलो भाग खस्नसक्छ वा पींधमा ठक्कर लाग्दा ठूलो टुक्रा झरेर तपाईंलाई लाग्नसक्छ। साना हिमशिला फनफन घुम्न वा गुल्टिनसक्छ। र त्यो हिमशिला नजीकै पुग्ने जोसुकैको लागि खतरापूर्ण छन्!”
हिमशिलाले रगडेका समुद्रको पींध पनि चिन्ताको विषय भएको छ। एक अवलोकनकर्ता यसो भन्छन्, “हिमशिलाको पींध पानीको गहराइ जति नै छ भने त्यो पींधले लामो र गहिरो नहर खन्नसक्छ। पेट्रोलियम खानी भएका ठाउँहरूमा यस्तो भयो भने समुद्रको पींधमा बनाइएका तेल खानीहरू चौपट हुनेछन्।”
अनि तपाईं सोचिरहनु भएको होला, हिमशिला नै नभएको भए कत्ति राम्रो हुनेथियो। तर हिमशिलाको नराम्रो पक्ष मात्रै छैन। न्युफाउण्डल्याण्डका बासिन्दाले यसरी टिप्पणी गरे: “वर्षौंअघि रेफ्रिजरेशन त्यति प्रचलित नभएको बेला स-साना तटवर्ती गाउँका मानिसहरूले पानी चिसो पार्न हिमशिलाका साना टुक्राहरू इनारमा खसाल्थे। अनि घरैमा आइसक्रिम बनाउन हिमशिलाका टुक्राहरूलाई भूसले भरिएको भाँडामा राखिने पनि गरिन्थ्यो।”
हिमनदीका यी विशाल पहाडहरू हेर्न विशेषगरि पर्यटकहरू लोभिन्छन्। तिनीहरू न्युफाउण्डल्याण्डका उबडखाबड तटबाट आन्द्र वरपर दृश्यावलोकन गर्छन् र समुद्रका यी भीमकाय मणिभहरू हेरेर आनन्दित हुन्छन्। यस क्षणलाई तिनीहरू क्यामरामा बन्द गर्छन्।
प्रचुर मात्रामा स्वच्छ पिउने पानी उपलब्ध गराउनसक्ने क्षमता हिमशिलाहरूमा छ। अत्यधिक मात्रामा पानी प्रदूषित भइरहेको बेला हिमशिलाबाट पानी निकालेर आसवन प्रक्रियाद्वारा पिउने पानी तयार पार्ने आँट गर्न सकिन्छ। पानीको आपूर्ति धेरै गर्नुपर्दा भीमकाय “बरफको टुक्रा” पत्ता लगाएर बन्दरगाहसम्म तान्दै ल्याउनु चानचुने कुरा लाग्ला। तर वास्तवमा यसो गर्नु अहिलेसम्म निकै कठिन चुनौती साबित भएको छ।
यहोवाको आश्चर्यमय सृष्टि
स्वर्ग अनि पृथ्वीका सृष्टिकर्ता यसरी सोध्नुहुन्छ: “कसको गर्भले हिउँलाई जन्मायो?” (अय्यूब ३८:२९) एलिहूलाई यसको जवाफ थाह थियो, किनकि तिनले पहिले नै यसो भनिसकेका थिए: “परमेश्वरको सासले वर्फ बनिन्छ।”—अय्यूब ३७:१०.
त्यसैकारण समुद्रका यी अग्ला र चम्किला आश्चर्यहरू देख्दा हाम्रो ध्यान त्यसलाई ती ठाउँहरूमा राख्नुहुने हाम्रो सृष्टिकर्तातर्फ केन्द्रित हुन्छ। भजनरचयिताले भनेझैं हामी पनि यसो भन्छौं: “हे परमप्रभु, तपाईका कार्यहरू कस्ता किसिम किसिमका छन्। ती सबै तपाईले आफ्नो बुद्धिले बनाउनुभएको हो। पृथ्वी तपाईको सम्पत्तिले परिपूर्ण छ।” तिनले अझै यसो पनि भने: “तपाईका कार्यहरू आश्चर्यका छन्।”—भजन १०४:२४; १३९:१४.
साँच्चै, यहोवा आश्चर्य थोक निर्माण गर्नुहुने सृष्टिकर्ता हुनुहुन्छ। हामी उहाँलाई अझ राम्ररी चिन्ने तिर्सना गर्छौं! उहाँको वचनमा ध्यान दिएर हामी उहाँलाई राम्ररी चिन्नसक्छौं।—रोमी ११:३३.
[पृष्ठ १८-मा भएको पेटी]
इन्टरनेशनल आइस प्याट्रोल (अन्तरराष्ट्रिय बरफ गस्ती)
यात्रुवाहक पानीजहाज टाइटानिक-को दुर्घटनापछि सन् १९१४ मा अन्तरराष्ट्रिय बरफ गस्ती (आइआइपि) स्थापना गरियो। यसको मुख्य काम हिमशिला भएको ठाउँ पत्ता लाउनु र समुद्र तथा हावाको तरंगलाई आधार मानेर त्यसको चहलपहल पूर्वघोषणा गर्नु अनि तीबाट बच्न जनसाधारणलाई चेताउनी दिनु हो। समुद्रका यी भीमकाय मणिभहरूबाट जोगाउने उद्देश्यले स्थापित यस संस्थानले नियाँल्दै बरफको प्रत्येक गुन र चाल थाह पाउने कुनै कसर बाँकी राखेका छैनन्। हवाइजहाजबाट प्रत्यक्ष र राडर मार्फत निरीक्षण गर्नु, बरफ देखेको रिपोर्ट गर्ने व्यापारिक पानीजहाजहरू, उपग्रहहरूबाट खिचिएका तस्बिरहरू र सागरमै गरिने विश्लेषण तथा पूर्वघोषणा गर्नु यसको प्रविधिमा समावेश छन्।
[पृष्ठ १६-मा भएको चित्र]
चुचुरोजस्तो
गुम्बजजस्तो
समतल टुप्पा भएको