अन्टार्कटिका—अन्तिम अन्वेषण क्षेत्र
अस्ट्रेलियाका ब्यूँझनुहोस्! संवाददाताद्वारा
एक जना लेखकका अनुसार अन्टार्कटिकाको कुनै कुनै भाग असाध्यै चिसो हुन्छ र त्यहाँ “स्टिलको डण्डी भुइँमा खसाल्नुभयो भने ऐनाजस्तै चकनाचूर हुनसक्छ, . . . हिउँमा प्वाल पारेर माछा मार्नुभयो भने त्यो माछा बाहिर निकालेको पाँच सेकेन्डभित्र जमेर . . . कक्रक्क भइसक्छ।” यस्तो अचाक्ली, असामान्य, बन्जर अवस्था अनि कहिलेकाहीं यहाँ हुने दक्षिणी उज्यालोको रोमाञ्चकारी प्रदर्शनले गर्दा अन्टार्कटिकालाई अर्कै संसार भने पनि हुन्छ।
तर अन्टार्कटिका यही संसारको भाग हो। भनौं भने, अन्टार्कटिका, पृथ्वी र यसको वायुमण्डल अनि वातावरणीय र मानव गतिविधिसित सम्बन्धित परिवर्तनहरू अध्ययन गर्ने ठूलो प्राकृतिक प्रयोगशाला भएको छ। यी अध्ययनहरूबाट प्राप्त जानकारीहरूले गर्दा वैज्ञानिकहरू एकदमै चिन्तित हुन थालेका छन्। तिनीहरूले दक्षिण ध्रुवीय इलाकामा देखेका अनौठो अनिष्ट परिवर्तनहरूले गर्दा अनुकूल अवस्था छैन भनी थाह पाएका छन्। तर सर्वप्रथम, अन्टार्कटिका एउटा अनुपम महाद्वीप हुनुको कारण हेरौं।
अन्टार्कटिका, एकदमै पृथक तथा विविधताले भरिएको महाद्वीप हो। यो अत्यन्तै सुन्दर र चोखो छ तर बसोबासको लागि पटक्कै अनुकूल छैन। पृथ्वीमा भएका ठाउँहरूमध्ये एकदमै बतास चल्ने, चिसो ठाउँ हो भने अर्कोतिर असाध्यै नाजुक र संवेदनशील पनि छ। यो सबैभन्दा कम पानी भएको महाद्वीप हो तर पृथ्वीको स्वच्छ पानीको ७० प्रतिशत स्रोत यहींको हिउँ हो। यहाँ हुने २,२०० मिटर बाक्लो हिउँले गर्दा अन्टार्कटिका, सबैभन्दा अग्लो स्थानमा अवस्थित महाद्वीप हो र यो समुद्री सतहदेखि लगभग २,३०० मिटर उचाइमा छ। यो पृथ्वीको पाँचौं ठूलो महाद्वीप पनि हो तर यहाँ स्थायी बासिन्दाहरू छैनन्। यहाँ पाइने एक प्रकारको किराको साइज आधा इन्च जति छ र त्योभन्दा ठूलो कुनै जीव पाइँदैन।
मंगल ग्रह गएझैं!
अन्टार्कटिकाको भित्री भागमा प्राणीहरू झन् झन् कम र विशेष गरी सुक्खा उपत्यकाहरूमा पुगेपछि नगण्य हुन्छन्। लगभग ३,००० वर्ग किलोमिटर इलाका ढाक्ने यी ध्रुवीय मरुभूमि, अन्टार्कटिकाको एकछेउदेखि अर्को छेउसम्म फैलिएका अत्यन्तै उचाइका पहाडहरूमा अवस्थित छन्। ती पहाडहरू पूरै महाद्वीपमा फैलिएका छन् र कुनै कुनै ठाउँमा ४,३०० मिटरभन्दा अग्ला छन्। ती सुक्खा मरुभूमिहरूमा बग्ने चिसो बतासले तुरुन्तै हिउँलाई उडाएर लगिहाल्ने हुँदा कतै हिउँ देखिदैंन। वैज्ञानिकहरूको विचारमा यी उपत्यकाहरू मंगल ग्रहबाट नजिक पर्ने पृथ्वीसित मिल्दोजुल्दो भूभाग हो। यसर्थ, मंगल ग्रहमा भाइकिङ मिशन प्रक्षेपण गर्नुअघि अन्तरिक्षका उपकरणहरू परीक्षण गर्ने उपयुक्त ठाउँ अन्टार्कटिका साबित भयो।
यद्यपि, सुक्खा उपत्यकाहरूमा पनि प्राणीहरू पाइन्छन्! चट्टानहरूको छिद्रभित्र हावाका स-साना थैलाहरूमा ब्याक्टेरिया, लेउ र ढुसीजस्ता जब्बर प्राणीहरू हुन्छन्। तिनीहरू एकदमै कम ओसमा समेत बाँच्छन्। यीभन्दा एकदमै भिन्नचाहिं, अन्टार्कटिकामा बहने बेतोड बतासले गर्दा अनौठो आकार र उज्यालो चमक भएका चट्टानहरू हुन्।
पत्ता लाग्नुभन्दा अघि नै नामाकरण गरिएको
विशाल दक्षिणी भूमिबारे अनुमान लगाउन खोजिएको पुरातन युनानी दार्शनिकहरूको समयदेखि नै हो। उदाहरणका लागि, अरस्तुले उत्तरी गोलार्द्धमा पत्ता लागेको भूमि बराबरको जमिन दक्षिणी गोलार्द्धमा पनि हुनुपर्छ भन्ने अनुमान लगाएका थिए। अन्टार्कटिका—ग्रेट स्टोरिज फ्रम द फ्रोजन कन्टिनेन्ट पुस्तकले बताएअनुसार “उत्तरी गोलार्द्ध, आर्क्टोस, ग्रेट बेर भनिने तारामण्डल मुनि भएको हुँदा अरस्तुले (सा.यु.पू. ३८४-३२२) दक्षिण ध्रुवमा पत्ता नलागेको भूमि, आन्टार्टिकोस अर्थात् ठीक विपरीत” अथवा प्रतिध्रुव हुनुपर्छ भन्ने तर्क गरे। अतः एउटा अर्थमा भन्ने हो भने, अन्टार्कटिका पत्ता लाग्नुभन्दा लगभग २,००० वर्षअघि नै यसले यो नाउँ पाइसकेको थियो!
सन् १७७२ मा बेलाइती अन्वेषक क्याप्टेन जेम्स कुक यो कल्पित दक्षिणी महाद्वीपको खोजमा दक्षिणतिर लागे। तिनी पुगेको ठाउँमा तेज बतासले हिर्काएका टापु र विशाल हिमशिला अथवा तिनले नाम राखेअनुसार “बरफ टापुहरू” थिए। तिनले लेखे, “तीमध्ये कुनै कुनैको [परिधि तीन किलोमिटर] र उचाइ २० मिटरसम्म भए तापनि समुद्री छालको वेग र वजनले निकै तोडले हिर्काउँथ्यो।” साहसी कुक दक्षिणतिर लागे अनि जनवरी १७, १७७३ मा तिनको जहाज, रेजोलुशन र यसको साथमा गएको अर्को जहाज, एडभेन्चर, अन्टार्कटिका पार गर्ने पहिलो जहाजहरू थिए। कुकले हिम्मत नहारी यी हिउँका ढिस्कोहरू छल्दै गए तर अन्तमा बाटो ढ्याप्पै बन्द भयो। “दक्षिण दिशामा हिउँका ढिस्कोहरूबाहेक केही देखिनँ” भनी तिनले आफ्नो यात्रा-दैनिकीमा लेखे। भनौं भने, अन्टार्कटिका त्यहाँबाट १२० किलोमिटर मात्र टाढा थियो।
त्यसोभए, सबैभन्दा पहिले अन्टार्कटिका देख्ने व्यक्ति को हो त? त्यहाँ पहिलो कदम हाल्ने व्यक्ति को हुन्? अहिलेसम्म यकिन गरेर कसैले भन्न सकेका छैनन्। हुनसक्छ, ह्वेल वा सिल सिकारीहरू थिए किनभने कुक फर्कंदा सिल र पेन्गुइन छ्यासछ्यासती भएको रिपोर्ट सुनेपछि सिकारीहरू त्यहाँ ओइरिन थाले।
बरफमा रगत
द फेटल इम्प्याक्ट भन्ने पुस्तकमा एलन मोरहेडले यस्तो लेखे: कुकले “आशै नगरेको ठाउँमा यति धेरै वन्यजन्तुहरू देख्दा छक्कै परे र ती जन्तुहरूको अस्तित्वबारे संसारलाई थाह दिने पहिलो व्यक्ति पनि कुक नै हुन्।” मोरहेड भन्छन्, “अन्टार्कटिकका जनावरहरूको लागि यो एउटा महाविध्वंस भयो।” अन्टार्कटिका—ग्रेट स्टोरिज फ्रम द फ्रोजन कन्टिनेन्ट पुस्तक यसो भन्छ: “अठाह्रौं शताब्दीको अन्ततिर, सिल सिकार गर्ने होडबाजी, सुन खानीमा भएको होडबाजीजस्तै भयो। सिलको छालाको लागि चीन र युरोपबाट अपूरणीय बढ्दो मागले गर्दा [पहिले] सिल बस्ने ठाउँ सखाप पारेको हुँदा व्याकुल सिल सिकारीहरूले नयाँ ठाउँहरू खोज्नुपऱ्यो।”
सिकारीहरूले सिलको बासस्थानलाई झन्डै झन्डै खत्तम पारिसकेपछि ह्वेल सिकारीहरूले समुद्रमा हात हाल्न थाले। मोरहेड लेख्छन्, “दक्षिणी समुद्रमा कतिवटा ह्वेल र सिल मारियो भनेर कसैले कहिल्यै थाह पाउनेछैन। एक करोड कि पाँच करोड? यी संख्याहरूको कुनै मतलब भएन; स्वाहा नपारुञ्जेल सिकारीहरूले मार्न छाडेनन्।”
तथापि, अहिले अन्तरराष्ट्रिय कानुनले अन्टार्कटिकाको वनस्पति र वन्यजन्तुको जगेर्ना गर्छ। साथै, स्थल सिकारीहरूको कमी र जल खाद्यान्नको प्रचुर आपूर्तिले गर्दा अन्टार्कटिकाको तटवर्ती इलाका वन्यजन्तुहरूको लागि अत्युत्तम ठाउँ भएको छ। तर अन्टार्कटिकामा एउटा अर्कै प्रकारको घातक आक्रमण भइरहेको छ र सायद त्यो अन्तरराष्ट्रिय सम्झौताहरूबाट पनि सुल्झाउन सकिंदैन।
[पृष्ठ १७-मा भएको पेटी]
एकदमै भिन्न
उत्तरी र दक्षिणी ध्रुवबीच समानताहरू भए तापनि तिनीहरूको स्थानले गर्दा मात्र होइन तर थुप्रै कुरामा भिन्न छन्। निम्न बुँदाहरूलाई विचार गर्नुहोस्।
उत्तरी ध्रुवमा हिउँ र समुद्र मात्र छ भने दक्षिणी ध्रुव, पृथ्वीको पाँचौं ठूलो महाद्वीपको केन्द्र नजिकै छ।
उत्तरी ध्रुवको चारैतिर अमेरिका, एसिया र युरोपको आवाद भूमि छ जबकि अन्टार्कटिकाको चारैतिर विशाल सागर छ र यो पृथ्वीको सबैभन्दा तुफानी भाग हो।
सयौं हजार परिवारहरू आर्कटिक क्षेत्रको छेउछाउमा बसोबास गर्छन् अनि यहाँ हजारौं प्रकारका वनस्पति र वन्यजन्तु पनि छन्। तथापि, कुनै पनि मानिसले अन्टार्कटिकालाई आफ्नो घर मान्दैन। त्यहाँ पाइने स्थानीय जीवित जीवातहरू ढुसी, ब्याक्टेरिया, लेउ, झ्याउ, फूल फुल्ने दुई जातको बोट र केही जातका किराहरू मात्र हुन्।
इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ, “अन्टार्कटिकालाई क्रियाशील महाद्वीप भनिन्छ किनभने यहाँको हिउँले ढाकेको समुद्रीतटमा वर्षेनी हिउँ थुप्रिने र घट्ने प्रक्रिया भइरहन्छ।” चरम बिन्दुमा पुगेको बेला हिउँको ढिस्को समुद्रमा १,६०० किलोमिटरसम्म फैलिन्छ। यसरी फैलिने र खुम्चिने प्रक्रिया आर्कटिक हिउँको ढिस्कोभन्दा छ गुणा बढी हुन्छ र यसकारण अन्टार्कटिकाले विश्व मौसममा निकै प्रभाव पार्छ।
[पृष्ठ १७-मा भएको नक्सा]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
आन्द्र महासागर
हिन्द महासागर
प्रशान्त महासागर
ड्रेक मार्ग
जेम्स रस टापु
लार्सन आइस शेल्फ
अन्टार्कटिक उपद्वीप
रन आइस शेल्फ
भिन्सन मासिफ (सबैभन्दा अग्लो पहाड, ४,८९६.९ मिटर)
रस आइस शेल्फ
इरेबस पहाड (सक्रिय ज्वालामुखी)
अन्टार्कटिकको एक छेउदेखि अर्को छेउसम्म फैलिएका पहाडहरू
दक्षिण ध्रुव
पृथ्वीको सबैभन्दा न्युन तापक्रम अन्टार्कटिकामा रिपोर्ट गरिएको थियो —माइनस ८९.२ डिग्री सेन्टिग्रेड
० ५०० किलोमिटर ८०५ किलोमिटर
[स्रोत]
U.S. Geological Survey
[पृष्ठ १८-मा भएको चित्र]
विरलै पाइने निलो हिमशिलामा झुम्मिएका चिनस्ट्राप पेन्गुइनहरू
[स्रोत]
© 2000 Mark J. Thomas/Dembinsky Photo Assoc., Inc.
[पृष्ठ १९-मा भएको चित्र]
हम्पब्याक ह्वेल
[पृष्ठ १९-मा भएको चित्र]
दक्षिणी हात्ती सिल
[पृष्ठ १९-मा भएको चित्र]
दक्षिणी ध्रुवमा
[स्रोत]
Photo: Commander John Bortniak, NOAA Corps
[पृष्ठ १९-मा भएको चित्र]
रस आइस शेल्फमा
[स्रोत]
Michael Van Woert, NOAA NESDIS, ORA