हुला हवाइको नृत्य
हवाइका ब्यूँझनुहोस्! संवाददाताद्वारा
हवाइ भन्ने बित्तिकै प्रायः हुला नृत्यको सम्झना आउँछ। हुला नृत्य हवाइसित मात्र सम्बन्धित भए तापनि यसको उत्पत्ति शदाब्दीयौंअघि दक्षिण प्रशान्तमा भएको हो।
पुरातन समयमा हवाइ निवासीहरूको लेखोट नभएकोले तिनीहरूको इतिहास र चलन गीत तथा मन्त्रहरूद्वारा बताइन्थ्यो। यी मन्त्र तथा गीतहरू गाएर कम्मर र हात खुट्टा हल्लाउँदै अनुहारमा विभिन्न भावहरू झल्काएर हुला नृत्य नाचिन्छ।
सन् १७७८ मा क्याप्टेन कुक र तिनका मानिसहरू हवाइ पुगेपछि मात्र हुला नृत्यबारे उल्लेख गरेको पाइन्छ। यस विषयमा आज जेजति थाह हुनसकेको छ, त्यो १९ औं शताब्दीको अन्ततिरका चलन, गीत तथा मन्त्रहरूमा आधारित छ।
पहिले पहिलेका हुला नृत्यहरू पवित्र रीतिहरू थिए होलान्। यद्यपि, सबै हुला नृत्य उपासना वा धार्मिक गतिविधिसित सम्बन्धित मानिंदैन।
मिसनरीहरूको प्रभाव
हुला नृत्य १८ औं र १९ औं शदाब्दीतिर पानीजहाजमा यात्रा गर्ने अन्वेषक तथा नाविकहरूलाई देखाइन्थ्यो। यी ग्राहकहरूले हुला नृत्य लैंगिक तवरमा छाडा भएको चाहेका हुनसक्छन्।
अतः सन् १८२० मा मिसनरीहरू आइपुग्दा तिनीहरूले हुला नृत्यको घोर भर्त्सना गर्नु स्वाभाविक थियो। मुखियाहरूको समर्थन पाएपछि ती मिसनरीहरूले हुला नृत्यलाई असभ्य, उत्ताउलो र दियाबलको कार्य भन्न थाले। यसअघि सन् १८१९ मा राजा कामेहामेहा प्रथमकी विधवा रानी रेजेन्ट काहुमानुले यस पुरातन धार्मिक चलनहरूमा हेरफेर गरेकी थिइन्। यसमा मूर्तिहरू भत्काउनु तथा जटिल रीतिहरू हटाउनु पनि समावेश थियो। यी सँगसँगै अनगिन्ती नृत्य तथा मन्त्रहरू पनि सधैंका लागि हराए।
सन् १८२५ मा चर्चले काहुमानुलाई स्वीकाऱ्यो। अनि तिनले सन् १८३० मा हुला नृत्यलाई जनसमक्ष देखाउन नपाइने आदेश जारी गरिन्। सन् १८३२ मा तिनको मृत्यु भएपछि केही मुखियाहरूले यो आदेश पालन गर्न छाडे। युवा राजा कामेहामेहा तृतीय र तिनका मित्रहरूले नैतिक प्रतिबन्धहरूलाई खुल्लमखुल्ला तिरस्कार गरेपछि हुला नृत्य फेरि केही वर्षसम्म लोकप्रिय भयो। तर सन् १८३५ मा राजाले आफ्नो भूल स्वीकारे। यसरी सत्ताको बागडोर पुनः क्याल्भिनवादीहरूले सँभाले।
हुला नृत्यको पुनर्जागरण
राजा कालाकाऊवाको शासनकालमा (सन् १८७४-९१) हुला नृत्यलाई जनसमक्ष भव्य तरिकाले फेरि स्वागत गरियो। सन् १८८३ मा गरिएको तिनको राज्याभिषेकमा महिनौं लगाएर दिइएको तालिम र मानिसहरूको रोमाञ्च चरमोत्कर्षमा पुग्यो। विशेषगरि यही अवसरको लागि तयार पारिएका विभिन्न मन्त्र तथा हुला नृत्यहरू जनसमक्ष देखाइए। सन् १८९१ मा राजाको मृत्यु हुँदासम्ममा हुला नृत्यको चालढंगमा निकै परिवर्तनहरू भए र चार तारे सानो गिटार, गिटार अनि भाइलिनजस्ता वाद्यवादनहरू पनि प्रयोग गरिन थालिए।
सन् १८९३ मा राजतन्त्रको अन्त भएपछि हुला नृत्य फेरि खस्कियो। तथापि, २० औं शताब्दीको बीचतिर हुला नृत्य फस्टाउन थाल्यो। थुप्रै दर्शकहरूको मन जित्न नयाँ नयाँ परिवर्तनहरू गरिए। अधिकांश मानिसहरूले हवाइ भाषा बुझ्न नसक्ने भएकोले अंग्रेजी शब्दहरू प्रयोग गर्न थालियो। आधुनिक हुला नृत्यमा नाच अर्थात् हात खुट्टा चलाउनु, कम्मर हल्लाउनु र अनुहारमा विभिन्न भावभंगी ल्याउनुमा बढी जोड दिइन्छ।
यी टापुहरूमा ओइरिने पर्यटकहरूको बढ्दो संख्याको साथसाथै हुला नृत्य पनि झन् झन् लोकप्रिय हुँदै जान थाल्यो। उत्तर अमेरिकाका पर्यटकहरूले यो नृत्य सिके र हलिऊडमा बनाइएका चलचित्रहरूमा गैरहवाइ नर्तक नर्तकीहरूसित यो नृत्य छायांकन गर्न थालियो। सन् १९३५ मा मिनी माउसले स्टीलको गिटार बजाइरहेका मिकी माउसको लागि हुला नृत्य गरेकीसमेत वाल्ट डिज्नीको चलचित्रमा देखाइयो।
आज हुला नृत्य
सन् १९७० को दशकमा “हवाइ क्रान्ति” हुँदा धेरथोर मन्त्रतन्त्र जान्नेहरू, नर्तक नर्तकीहरू तथा गुरुहरूले हुला नृत्यको पुरानो शैलीलाई पुनः नयाँ जीवन दिए। आज हुला नृत्यको पुरानो शैलीलाई पुनः कायमै राख्ने तथा नयाँ शैली प्रचलनमा ल्याउने हुला नृत्य निर्देशकहरू छन्। तर तिनीहरूको कोसिस निकै खर्चालु र शानदार प्रदर्शनीहरू मात्र भए।
हवाइ निवासीहरूको आफ्ना देउताहरूसितको घनिष्ठ आध्यात्मिक सम्बन्ध केही हदसम्म आज पनि छ। वर्षेनी हवाइस्थित हिलोमा मनाइने मेरी मोनार्क पर्व सुरु हुनुअघि पेलेको बेदी वा हालै लावा निस्केका स्थानहरूमा हुला नृत्यशालाका मानिसहरू तीर्थयात्रा गर्न जान्छन्। तिनीहरूले प्रतियोगिताको लागि गरेका प्रयत्नमा आशिष् दिऊन् भनेर त्यहाँ मन्त्र जप्छन्, नाच्छन्, फूल, फलहरू तथा रक्सी चढाउँछन्। तीन रातसम्म चल्ने ओलम्पिक सरहको हुला नृत्य प्रतियोगितामा सारा संसारका प्रतियोगीहरू भाग लिन्छन्।
हवाइको सांस्कृतिक पुनर्जन्ममा हुला नृत्यले ठूलो भूमिका निर्वाह गरेको छ। यसमा कुनै धार्मिक सम्बन्ध नभएका दैनिक जीवनका सामान्य अभिव्यक्तिका साथै देवीदेउताहरूलाई श्रद्धा चढाउन मन्त्र जप्दै गरिने गम्भीर नृत्यहरू पनि समावेश छन्।
कुनै कुनै हुला नृत्य नाच्दा र हेर्दा मसीहीहरू होशियार हुनुपर्छ। थाहै नपाई कुनै देवीदेउतालाई आदर दिएका पो छन् कि भनेर तिनीहरूले पक्का गर्नु आवश्यक छ। गीत सुन्दा वा गाउँदा वा मन्त्र जप्दा पनि होश गर्नु त्यतिकै आवश्यक छ। यीमध्ये अधिकांश गीत तथा मन्त्रहरूमा द्वयर्थक वा लुकेका अर्थ लाग्ने शब्दहरू प्रयोग गरिएका हुन्छन्। यसलाई ध्यानमा राखेको छ भने, दर्शक वा सहभागीहरूले हुला नृत्यबाट स्वस्थकर मनोरञ्जनको आनन्द उठाउनसक्छन्।