प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९६ १/८ पृ. २०-२३
  • उड्‌ने चट्टानहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उड्‌ने चट्टानहरू
  • ब्यूँझनुहोस्‌!—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • यो बाहिरी अन्तरिक्षबाट आयो
    ब्यूँझनुहोस्‌!—२००५
  • एकमात्र जीवित ग्रह
    जीवन सृष्टि कि संयोग?
  • हाम्रो मूल्यवान वायुमण्डल
    ब्यूँझनुहोस्‌!—१९९५
  • के आकाशीय पिण्डहरूको कारण हाम्रो पृथ्वीको विनाश हुनेछ?
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९६
g९६ १/८ पृ. २०-२३

उड्‌ने चट्टानहरू

के तपाईंले चकमन्‍न रातमा आगोजस्तै बल्दै गरेको तारा खसेको देख्नुभएको छ? त्यसो भए छिट्टै देख्न पाउन सक्नुहुन्छ। वैज्ञानिकहरूको भनाइअनुसार यी प्राकृतिक आगोका झिल्काहरू प्रतिदिन २०,००,००,००० पटक आकाशमा देखा पर्छन्‌।

ती के हुन्‌? ती बाक्ला ढुंगा वा धातुका टुक्राहरू हुन्‌। र यिनलाई उल्का भनिन्छ। पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नेबित्तिकै यी उल्काहरू सेतो उज्यालो प्रकाश फैलाउँदै बल्न थाल्छन्‌। पृथ्वीबाट माथि आकाशमा देखिने यो लामो सेतो धारलाई लामपुच्छ्रे तारा भनिन्छ।

अधिकांश उल्काहरू पृथ्वीमा आइपुग्नु अगावै जलेर नाश भइसकेका हुन्छन्‌। तर केही भने त्यस्तो रापमा पनि नाश हुँदैनन्‌ र पृथ्वीको सतहसम्म पुग्छन्‌। यिनलाई उल्का पिण्ड भनिन्छ। केही वैज्ञानिकहरूको अनुमानअनुसार दिनहुँ लगभग १,००० टन उड्‌ने चट्टान पृथ्वीमा थुप्रन्छ।a

यी उड्‌ने चट्टानहरूको आकार सानो हुने भएकोले पृथ्वीसित जुध्दा मानिसहरूको निम्ति अक्सर खतरापूर्ण हुँदैनन्‌। वास्तवमा, अधिकांश लामपुच्छ्रे ताराहरू बालुवाका कण जत्रा उल्का पिण्डहरूले बनेका हुन्छन्‌। (“बाह्‍य अन्तरिक्षबाट आएका चट्टानहरू” शीर्षकको पेटी हेर्नुहोस्‌।) तर अन्तरिक्षमा उडिरहेका हजारौं ठूल-ठूला चट्टानहरूबारे चाहिं के भन्‍न सकिन्छ? उदाहरणका लागि, झन्डै १,००० किलोमिटर व्यास भएको सेरेस नामक क्षुद्र ग्रहलाई लिनुहोस्‌! अनि १९० किलोमिटरभन्दा बढी व्यास भएका त्यस्ता अरू ३० वटा जति चट्टानहरू पनि छन्‌। यी ठूल-ठूला चट्टानहरू वास्तवमा साना ग्रहहरू हुन्‌। वैज्ञानिकहरू यिनलाई क्षुद्र ग्रह भन्छन्‌।

यी क्षुद्र ग्रहहरूमध्ये एउटा पृथ्वीसित जुध्यो भने के होला? यो सम्भाव्य खतराले गर्दा नै वैज्ञानिकहरूले क्षुद्र ग्रहहरूबारे अध्ययन गर्नु परेको हो। अधिकांश क्षुद्र ग्रहहरूले मंगल र बृहस्पति ग्रहहरूबीचको कक्षमा परिक्रमा गर्ने भए तापनि खगोलविद्‌हरूले भेटाएका केही क्षुद्र ग्रहहरूले वास्तवमा पृथ्वीको कक्षलाई पार गरेका थिए। फ्ल्यागस्टाफ, अरिजोना, सं.रा.अ. मा उल्का पिण्डले बनाएको खाडलजस्ता (यसलाई बारिञ्जर खाडल पनि भनिन्छ) विशाल खाडलहरूले गर्दा पृथ्वीसित लामपुच्छ्रे तारा जुध्नसक्ने खतरा झन्‌ पक्का भएको छ। डाइनसर अस्तित्वबाट विलिन हुनुका सिद्धान्तहरूमध्येको एउटा परिभाषाअनुसार भीषण ठक्करले गर्दा वायुमण्डलमा निकै ठूला परिवर्तनहरू भए र धेरै समयसम्म पृथ्वीमा चिसो मौसम छायो। यस्ता डाइनसरहरूले चिसो खप्न सकेनन्‌ र तिनीहरू मरे।

आज यस्तो विध्वंसकारी जुधाइ भयो भने सम्भवतः मानवजाति पतन हुनेछ। तथापि, “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌” भनेर बाइबलले देखाउँछ।—भजन ३७:२९.

[फुटनोट]

a अनुमान फरक फरक छन्‌।

[पृष्ठ २०-मा भएको पेटी]

भिडियोमा आगोको डल्लो

कुनै लामपुच्छ्रे तारा असामान्य रूपमा चम्किला र ठूला हुन्छन्‌। यिनीहरूलाई आगोका डल्ला भनिन्छ। माथिको तस्बिरमा देखाइएको आगोको डल्लो अक्टोबर ९, १९९२ मा संयुक्‍त राज्य अमेरिकाका थुप्रै प्रान्तहरूमा आकाशमा धर्काजस्तै देखा परेको थियो। सात सय किलोमिटर दूरीसम्म देखिएको यो आगोको डल्लो सबैभन्दा पहिला पश्‍चिम भर्जिनियामा देखा परेको थियो। लगभग १२ किलोग्राम तौलको एउटा टुक्रा पिकस्किल, न्यु योर्कमा रोकिराखेको गाडीमा खसेको थियो।

वायुमण्डललाई बिस्तारै छोएर प्रवेश गरेकोले यो उल्का ४० सेकेण्डभन्दा धेरै समयसम्म चम्किलो आगोको डल्लो आकाशमा देखा परेको थियो। त्यसैले यो घटना अद्वितीय थियो। यसले गर्दा यो घटनालाई कम्तीमा १४ भिन्दाभिन्दै कोणबाट भिडियोमा रेकर्ड गर्न सकियो। नेचर पत्रिकाअनुसार “उल्कालाई फेरि फेरि हेर्नसकिने आगोको डल्लोको प्रथम चलचित्रहरू यी नै थिए।”

यो आगोको डल्लो कम्तीमा पनि ७० टुक्राहरू भए। जुन कुरा भिडियो टेपहरूमा देखिएका भिन्दा भन्दै चम्किला प्रकाशहरूबाट क्षेप्यास्त्रहरूजस्तो देखिन्छ। यो घटनामा एउटै मात्र उल्का पिण्ड भेटिएको भए तापनि एक वा धेरै टुक्राहरू पृथ्वीको वायुमण्डलमा छिरेको र जमीनमा ठोक्किएको हुनुपर्छ भन्‍ने वैज्ञानिकहरूको विश्‍वास छ। पहिले २० टन तौल भएको त्यस विशाल उल्का पिण्डको बाँकी रहेको भाग त्यति मात्र होला।

[पृष्ठ २१-मा भएको पेटी]

बाह्‍य अन्तरिक्षबाट आएका चट्टानहरू

क्षुद्र ग्रह: यसलाई ग्रहजस्तो वा सानो ग्रह पनि भनिन्छ। यी अति नै साना ग्रहहरू पनि आफ्नो कक्षमा रहेर सूर्यको परिक्रमा गर्छन्‌। अधिकांश क्षुद्र ग्रहको कुनै निश्‍चित आकार नभएकोले यी कुनै ठूलो वस्तु टुक्रिएर बनेका हुन्‌ भन्‍ने लख काट्‌न सकिन्छ।

उल्का: अन्तरिक्षमा तैरिने वा वायुमण्डलमा झर्ने यी बाक्ला ढुंगा वा धातुका टुक्राहरू हुन्‌। केही वैज्ञानिकहरूको विचारमा अधिकांश उल्काहरू क्षुद्र ग्रह जुधेर बनेका टुक्राहरू वा विलुप्त धूमकेतूका कणहरू हुन्‌।

लामपुच्छ्रे तारा: उल्काले पृथ्वीको वायुमण्डललाई चिर्दा त्यो हावामा घस्रन्छ र त्यसले ताप र चमक उत्पन्‍न गर्छ। यो बल्दै गरेको तातो ग्यासले बनाएको बाटो झट्ट हेर्दा आकाशमा एउटा उज्यालो धर्काजस्तै देखिन्छ। यही धर्काजस्तो प्रकाशलाई नै लामपुच्छ्रे तारा भनिन्छ। धेरैले यसलाई तारा खसेको भन्छन्‌। अधिकांश लामपुच्छ्रे ताराहरू पृथ्वीको सतहभन्दा १०० किलोमिटर टाढा हुँदा पहिलो चोटि देखा पर्छन्‌।

उल्का पिण्ड: कहिलेकाहीं कुनै कुनै उल्का निकै ठूलो हुने भएकोले वायुमण्डलमा प्रवेश गर्दा पूर्णतया बल्दैन र पृथ्वीमा ठोक्किन पुग्छ। त्यस्तो उल्कालाई उल्का पिण्ड भनिन्छ। कुनै कुनै त अत्यन्त विशाल र गह्रौं हुन्छ। नामिबिया, अफ्रिकामा खसेको उल्का पिण्डको तौल ६० टनभन्दा धेरै छ। पन्ध्र टन वा त्योभन्दा गह्रौं अन्य ठूला उल्का पिण्डहरू ग्रीनल्याण्ड, मेक्सिको र संयुक्‍त राज्य अमेरिकामा पाइएका छन्‌।

[पृष्ठ २१-मा भएको पेटी/चित्र]

इद र त्यसको सानो उपग्रह

इद नामक क्षुद्र ग्रहको तस्बिर खिंच्दै वृहस्पति ग्रहतर्फ जाँदै गर्दा ग्यालेलिओ अन्तरिक्षयानले एउटा उदेकलाग्दो चीज फेला पाऱ्‍यो। त्यो थियो, एउटा क्षुद्र ग्रहलाई उपग्रहले परिक्रमा गरेको पहिलो प्रमाण। यो स्काइ एण्ड टेलिस्कोप-को विवरणअनुसार डाक्टेल नामक अण्डाकार उपग्रहको लम्बाइ १.६ किलोमिटर र चौडाइ १.२ किलोमिटरको छ भन्‍ने अनुमान वैज्ञानिकहरूले लगाएका छन्‌। छपन्‍न किलोमिटर लम्बाइ र २१ किलोमिटर चौडाइ भएको इद नामक क्षुद्र ग्रहको मध्यबिन्दुदेखि यसको कक्ष लगभग १०० किलोमिटरको दूरीमा छ। तिनीहरूको इन्फ्रारेड कलर विशेषताअनुसार इद र त्यसको सानो उपग्रह क्षुद्र ग्रहको करोनिस नामक परिवारमा पर्छ भन्‍ने अनुमान गरिएको छ। र ती अन्तरिक्षको जुधाइपछि टुक्रिएको एउटा ठूलो चट्टानका टुक्राहरू हुन्‌ भन्‍ने विश्‍वास गरिन्छ।

[चित्रको स्रोत]

NASA photo/JPL

[पृष्ठ २२-मा भएको चित्र]

फ्ल्यागस्टाफ, अरिजोना, सं.रा.अ. मा खसेको उल्का पिण्डले बनाएको खाडलको व्यास १,२०० मिटर र २०० मिटर गहिरो छ

[चित्रको स्रोत]

Photo by D. J. Roddy and K. Zeller, U.S. Geological Survey

[पृष्ठ २०-मा भएको चित्रको स्रोत]

Sara Eichmiller Ruck

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने