म मृत्युको मुखमा पुग्नै लाग्दा चिकित्सकहरूले सिके
सन् १९९१ मे महिनाको बीचतिर हाम्रो चौथो सन्तान जन्मिन लागेको छ भनेर थाह पायौं। सबैभन्दा कान्छो छोरो मिकेल नौ वर्षको थियो र जम्ल्याहा छोरीहरू मरिया र सोरा १३ वर्ष पुगेका थिए। अर्को बच्चा जन्माउने योजना नगरे तापनि चाँडै ऊबारे हामी सोच्न थाल्यौं।
तीन महिना लागेपछि एक साँझ अचानक मेरो फोक्सो दुख्यो। भोलिपल्ट त म हिंड्न पनि सकिनँ। चिकित्सकले मलाई निमोनिया भयो भनिन् र पेन्सिलिन दिइन्। केही दिनपछि मलाई अलि सन्चो भएझैं लाग्यो तर म अझै कमजोर महसुस गर्थें। तर अचानक मेरो अर्को फोक्सो पनि त्यही किसिमले दुख्यो र मलाई पहिलेजस्तै औषधी दिइयो।
त्यसपछि त सास फेर्न गाह्रो भएकोले म पल्टिन पनि नसक्ने भएँ। यसको करिबन् एक हप्ताजति पछि मेरा खुट्टाहरू निलो भएर सुन्निए। यसपटक चाहिं मलाई अस्पतालमा भर्ना गरियो। मेरो फोक्सो निमोनिया भएर होइन तर रगत जमेर दुखेको चिकित्सकले बताइन्। मेरो पेट र तिघ्राबीचको कापमा पनि रगत जमेको तिनले सुनाइन्। स्वीडेनमा गर्भवती आइमाईको मृत्यु हुने प्रमुख कारण रगत जम्नु हो भनेर पनि मैले थाह पाएँ। केही दिनपछि मलाई स्टकहोमस्थित कारोलिन्स्का श्युख्युसेट अस्पतालमा सारियो। जटिल समस्याहरू भएका गर्भिणीहरूका लागि त्यहाँ विशेष प्रसुति क्लिनिक थियो।
चिकित्सकहरूले मलाई रगत पातलो गराउने हेपारिन नामक औषधी दिने निर्णय गरे। फोक्सोमा रगत जम्न दिनुभन्दा हेपारिनको प्रयोगबाट रगत बग्न दिनु बेस हुन्छ भनेर तिनीहरूले मलाई विश्वस्त गराउन खोजे। केही हप्तापछि म घर फर्कनसक्ने भएँ। मभित्र हुर्किरहेको बच्चासहित जीवितै रहन पाएको अनुभूति निकै सुखद थियो।
प्रसव समय
औषधी प्रयोग गरेर असामयिक प्रसव गराउने निर्णय गरियो। तर केही गर्नुअघि नै मेरो तल्लो पेट नराम्रोसित दुख्यो। त्यसैले मलाई तत्कालै अस्पताल पुऱ्याइयो। तथापि, चिकित्सकहरूले डराउनुपर्ने त्यस्तो केही पाएनन्।
त्यसको लगत्तै साँझपख मेरो पेट असाध्यै सुन्नियो र पीडा अलिकता पनि कम भएको थिएन। मध्यरात चिकित्सकले मलाई जाँच्दा व्यथा सुरु हुनै लागेको भेटाए। भोलिपल्ट बिहान मेरो पेट अझै सुन्निएको थियो र म पीडा खप्नै नसक्ने भइसकेकी थिएँ। चिकित्सक चिन्तित देखिन्थे र अन्तिम पटक बच्चा चले नचलेको केही थाह छ भनेर सोधे। बच्चा नचलेको त निकै भइसकेको बल्ल पो सम्झें।
मलाई तत्कालै प्रसव कोठामा लगियो। कर्मचारीहरू कुरा गरिरहेको टाढैबाट सुन्नसक्थें। कसले पो हो यसो भन्यो, “तिनले रगत लिन्न भनेकी छिन्।” अनि एउटी परिचारिकाले निहुरेर ठूलो स्वरमा “तपाईंको बच्चा मरिसक्यो, थाह छ? भनेर सोधिन्। कसैले मेरो मुटुमा छुरी रोपिदिएजस्तै लाग्यो।—हितोपदेश १२:१८.
रगत नलिन दृढ इन्कार
एक्कासि मलाई जाँच्ने चिकित्सक आए र मेरो अवस्था अत्यन्त गम्भीर छ भने। रगत नलिने मेरो निर्णयमा म अझै अडिग छु कि भनेर तिनले सोधे। छु भनेर मैले ठाडै जवाफ दिएँ र त्यसपछि के भयो चाल पाइनँ। तथापि, रगतबाट अलग रहनू भन्ने आज्ञा मसीहीहरूलाई दिइएको छ र म परमेश्वरको व्यवस्थाप्रति आज्ञाकारी हुन चाहन्छु भनेर मलाई जाँच्ने चिकित्सकलाई प्रष्टै बताइसकेकी थिएँ।—प्रेरित १५:२८, २९; २१:२५.
त्यसैबीच तिनीहरूले कुशल शल्यचिकित्सक बार्ब्रो लार्सनलाई पनि बोलाएछन्। तुरन्तै आएर तिनले तत्कालै शल्यक्रिया गरिहालिन्। पेट चिरेपछि भित्री रक्तश्रावको कारण मैले तीन लिटर रगत गुमाइसकेकी रहेछु भनेर तिनीहरूले थाह पाए। तर डा. लार्सनले रक्तक्षेपणबारे मेरो निर्णयको कदर गरिन्।
क्षणभरमै म मर्नेछु भनेर पछि एक अर्को चिकित्सकले बताए। उनले “तिनी जिउँदै होलिन् भन्न सक्दिनँ” भनेको पनि अरूले सुनेका थिए। चिकित्सकहरूले रक्तश्राव भएको कारण पत्ता लगाउन नसकेको हुँदा तिनीहरूले मेरो पेटमा गज खाँदे। चिकित्सक तथा परिचारिकाहरूले आश मारे।
अस्पताल आएर मेरो अवस्था थाह पाएपछि मेरा छोराछोरीहरूमध्ये एक जनाले चाँडै आरमागेडोन आउनेछ र पुनरुत्थान भएपछि तिनीहरूले मलाई भेटिहाल्नेछन् भने। पुनरुत्थानको प्रबन्ध साँच्चै उदेकलाग्दो र न्यायपूर्ण छ!—यूहन्ना ५:२८, २९; ११:१७-४४; प्रेरित २४:१५; प्रकाश २१:३, ४.
दोसाँधमा परेको जीवन
मेरो हेमोग्लोबिन प्रति डेसिलिटर ४ ग्राम पुगे तापनि रक्तश्राव रोकिएजस्तो देखियो। मैले नोभेम्बर २२, १९९१ को अवेक! पत्रिका आफ्नो रेकर्ड फाइलमा राखेकी थिएँ। डा. लार्सनले त्यो भेटाइन् र “रक्तक्षेपणबिना रक्तश्रावबाट बच्नु र त्यसलाई नियन्त्रण गर्नु” शीर्षक लेखमा तिनको ध्यान गएछ। मलाई बचाउने कुनै तरिका पाइन्छ कि भनेर तिनले त्यस लेखलाई उत्साही भएर ध्यानपूर्वक हेरिछिन्। “एरिथ्रोपोएटिन” शब्दमा तिनको आँखा गड्यो। यो औषधीले रातो रक्त कोशिका उत्पन्न गर्न शरीरलाई उत्तेजित गर्छ। तिनले त्यो औषधी प्रयोग गर्न थालिन्। तर औषधीले असर गर्न त समय लाग्छ। त्यसैकारण एरिथ्रोपोएटिनले समयमै काम गर्ला त भन्ने प्रश्न खडा भयो।
भोलिपल्ट मेरो हेमोग्लोबिन २.९ मा झऱ्यो। ब्यूँझंदा आफू वरपर सम्पूर्ण परिवारलाई पाउँदा के भएछ भनेर सोच्न थालें। अक्सिजन दिइरहेको भएर कुरा गर्न सकिनँ। दुःखले गर्दा म भावविह्वल भएँ तर रुन पनि सकिनँ। बाँच्ने हो भने मैले हरेस खानु हुँदैन भनेर सबैले भन्न थाले।
भोलिपल्ट पेटमा राखिएको गजले गर्दा शरीर सुन्नियो र मलाई ज्वरो पनि आयो। मेरो हेमोग्लोबिन २.७ मा झऱ्यो। यस्तो अवस्थामा बिरामीलाई बेहोस गराउनु ज्यादै खतरापूर्ण भए तापनि खतराको बावजूद त्यो गज हटाउन फेरि शल्यक्रिया गर्न बाध्य भएको डा. लार्सनले बताइन्।
शल्यक्रिया गर्नुअघि बच्चाहरूसित मलाई भेट्न दिइयो। सबैले अब मलाई भेट्न नपाइने भयो भनेर सम्झेका थिए। चिकित्सा टोलीका केही कर्मचारीहरू रोइरहेका थिए। तिनीहरूले आशा मारिसकेका थिए। हाम्रा छोराछोरीहरू निकै बहादुर थिए र यसले मलाई शान्त तथा निर्धक्क बनायो।
बेहोस पार्ने औषधी सकेसम्म थोरै मात्रामा दिइएकोले बीच बीचमा चिकित्सक तथा परिचारिकाहरूले आपसमा कुरा गरिरहेका सुन्न सक्थें। म मरी नै सकें भन्ठानेर कसै कसैले त मेरै विषयमा कुरा गरिरहेका थिए। शल्यक्रियाको दौडान मैले सुनेका कुराहरू पछि बताउँदा एउटी परिचारिकाले माफी मागिन्। तापनि म पक्कै मर्नेछु भनेर तिनी विश्वस्त भएकी थिइन्। तर म कसरी बाँचे, त्यो बुझ्नै नसकेको तिनले बताइन्।
भोलिपल्ट अलि सन्चो भएजस्तो लाग्यो। मेरो हेमोग्लोबिन २.९ थियो र मेरो हेमाटोक्रेट ९ थियो। मेरा मसीही भाइबहिनीहरू मलाई भेट्न आए। तिनीहरूले मेरो परिवारलाई खानेकुरा र कफी ल्याइदिएका थिए। तिनीहरूले देखाएको प्रेम र स्नेहका लागि हामी आभारी थियौं। मेरो अवस्था साँझपख खतरामुक्त नभए तापनि सुध्रँदै थियो र मलाई अर्को वार्डमा सारियो।
चिकित्सकहरूले सिक्छन्
अस्पतालका अधिकांश कर्मचारीहरू मप्रति जिज्ञासु र दयालु थिए। एउटी परिचारिकाले भनिन्: “तपाईंको परमेश्वरले तपाईंलाई बचाएको हुनुपर्छ।” अर्को वार्डको चिकित्सकले यसरी टिप्पणी गरे: “त्यति थोरै हेमोग्लोबिन भएको बिरामी को रहेछ हेरौं त। तपाईं यति विघ्न चनाखो कसरी हुनसक्नु भयो बुझ्नै सकिनँ।”
भोलिपल्ट मलाई जाँच्ने चिकित्सकको छुट्टी थियो। तैपनि तिनी मलाई भेट्न आइन्। जे भयो, त्यसले गर्दा तिनी नम्र भएकी तिनले मलाई बताइन्। म पूर्णतया स्वस्थ भएँ भने तिनीहरूले रक्तक्षेपणका वैकल्पिक उपचारविधिबारे नयाँ अनुसन्धान गर्ने कुरा पनि तिनले बताइन्।
अचम्मसित मेरो स्वास्थ्यमा सुधार भयो। यो दुःखद प्रसवको साढे दुइ हप्तापछि मेरो हेमोग्लोबिन ८ भन्दा अलि बढी थियो। त्यसैले मलाई अस्पतालबाट छुट्टी दिइयो। त्यसको तीन दिनपछि यहोवाका साक्षीहरूको वार्षिक क्षेत्रीय सम्मेलन थियो र म त्यहाँ गएँ। त्यस्तो कष्टप्रद परिस्थितिमा हामीलाई थाम्ने हाम्रा मसीही भाइबहिनीहरूलाई फेरि भेट्न पाउनु ज्यादै प्रोत्साहनदायी थियो।—हितोपदेश १७:१७.
डा. लार्सनले आफ्नो वचन पूरा गरिन्। स्विडेनबाट प्रकाशित चिकित्सा पत्रिका लाकारटिन्जेन-मा मेरो बिमारीबारे “रक्तक्षेपणको ठाउँमा एरिथ्रोपोएटिन” शीर्षकमा प्रतिवेदन प्रकाशित भएको थियो। त्यसमा यसो लेखिएको थियो: “एउटी ३५ वर्षीया यहोवाको साक्षी महिला गर्भावस्थामा हुने गम्भीर रक्तश्रावले पीडित थिइन्। तिनले रक्तक्षेपण गर्न इन्कार गरिन् तर एरिथ्रोपोएटिन उपचारप्रविधि स्वीकारिन्। शल्यक्रिया गरेको नौ दिनपछि अधिक मात्रामा एरिथ्रोपोएटिन दिएर तिनको उपचार गरिएको थियो। तिनको हेमोग्लोबिनको मात्रा कुनै प्रतिकूल असरबिना २.९ बाट ८.२ सम्म बढ्यो।”
लेखको अन्तमा यसो लेखिएको थियो: “सुरुमा बिरामी निकै कमजोर थिइन् तर अचम्मलाग्दो तरिकाले तिनको स्वास्थ्य सुध्रियो। साथै शल्यक्रियापश्चात् पुनः उपचार गर्दा प्रतिकूल असरहरू उत्पन्न भएनन्। दुइ हप्तामै बिरामीलाई घर पठाइयो।”
हाम्रोलागि यो अनुभव गाह्रो र कटु प्रहार भए तापनि कुनै कुनै चिकित्सकहरूले रक्तक्षेपणको विकल्पबारे अझ धेरै सिके होलान् भनेर हामी खुशी छौं। सफल साबित भएका उपचारविधिहरू तिनीहरूले अपनाऊन् भनी हामी आशा गर्दछौं।—आन यिप्स्योटिस्को वृतान्तमा आधारित।
[पृष्ठ २४-मा भएको चित्र]
मेरो मदतकारी शल्यचिकित्सकसित