प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९६ ४/८ पृ. १७-२१
  • परमेश्‍वरको कृपाले उहाँलाई भेट्टायौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको कृपाले उहाँलाई भेट्टायौं
  • ब्यूँझनुहोस्‌!—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाका साक्षीहरूसित सतर्क रहनुपर्ने चेताउनी
  • हामीले यहोवाको साक्षी भेट्यौं
  • हामीले आध्यात्मिक भोजन पायौं
  • आध्यात्मिक परिपक्वतामा अघि बढ्‌नु
  • स्टिभ मास्कोमा कसरी पुग्यो
  • वर्षौं लामो कानुनी लडाइँपछिको जित!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • लाभकारी परिणामहरू प्राप्त गर्न पर्चाहरूको प्रयोग गर्ने
    हाम्रो राज्य सेवकाई—१९९३
ब्यूँझनुहोस्‌!—१९९६
g९६ ४/८ पृ. १७-२१

परमेश्‍वरको कृपाले उहाँलाई भेट्टायौं

आफ्नो छोरा सुलेमानलाई राज्य सुम्पन लाग्दा राजा दाऊदले यो सल्लाह दिए: “तिम्रा पिताका परमेश्‍वरलाई आफ्नै ईश्‍वर मान, र सारा हृदय र इच्छुक मनले उहाँको सेवा गर। किनभने परमप्रभुले सबै हृदय जाँच्नुहुन्छ र मानिसको हरेक विचारलाई थाह पाउनुहुन्छ। यदि उहाँलाई खोज्यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौं, तर तिमीले उहाँलाई त्याग्यौं भने उहाँले तिमीलाई सधैंको निम्ति फाल्नुहुनेछ।”—१ इतिहास २८:९.

हाम्रो सम्बन्धमा यो सत्य साबित भएको छ। हामीले परमेश्‍वरलाई खोज्यौं तर निकै झूटा बाटोहरूमा अलमलिएपछि मात्र उहाँलाई भेट्टायौं। हामी विश्‍वास गर्छौं उहाँ र उहाँको सेवा गर्ने हाम्रो मानसिक झुकाउ बुझ्नुभएकोले नै हामीले भेट्टाओस्‌ भनेर यहोवा आफैले हामीलाई मौका दिनुभएको हो। यो कसरी भयो, अब हेरौं।

हामी चार दाजुभाइ फ्लोरिडा, स.रा.अ.-मा हुर्केका थियौं। घरपरिवार चलाउन बुबाले दिनरात भान्छेको काम गर्नुहुन्थ्यो अनि आमा घर सँभाल्नुहुन्थ्यो भने हामी चार केटाहरू चाहिं घाँस काट्‌ने, समाचारपत्र पुऱ्‍याउन जाने जस्ता घरको आम्दानी बढाउने साना-तिना काम गर्थ्यौं। आमा क्याथोलिक हुनुहुन्थ्यो र बुबा ब्याप्टिस। हामी सबै बाइबल र परमेश्‍वरलाई विश्‍वास गर्न त गर्थ्यौं तर चर्च धाउने अथवा त्यस्तै केही गर्दैनौं थियो। यो ७० औं दशकको प्रारम्भतिरको कुरा हो। त्यति बेला शान्ति, बेलबटम जीन्स, पुरुषहरूले पनि लामो कपाल पाल्ने र रक संगीतले तहल्का मच्चाएको थियो। यी सबैले हाम्रो जीवनमा असर गरेका थिए।

सन्‌ १९८२ पछि क्रमशः २४ र १७ वर्षीय स्कट र स्टिभ अर्थात्‌ हामी दुइले बाइबलमा गहिरो रुचि लिन थाल्यौं र खस्कँदै गएको संसारको परिस्थितिप्रति चिन्तित हुन थाल्यौं। स्कटको आफ्नै निर्माण व्यापार थियो। यो राम्रै चलिरहेकोले हामी दुइ ठूलो घरमा डेरा सऱ्‍यौं। हाम्रो जीवनशैलीदेखि अनि भट्टी धाउँदा धाउँदा हामी वाक्क भइसकेका थियौं। तर आकर्षक तथा आनन्दमयी जीवन बिताउने तरिका पक्कै हुनुपर्छ भन्‍ने हामीलाई लाग्थ्यो। आध्यात्मिक कुराहरूका लागि हामी भोकाउन थाल्यौं। नियमित बाइबल पढाइले अझ धेरै ज्ञान तथा परमेश्‍वरको वचनको अन्तरदृष्टि प्राप्त गर्ने हाम्रो इच्छालाई बढायो।

आइतबारका दिन हामी भिन्दाभिन्दै चर्चहरू चहार्न थाल्यौं। त्यसैगरि एक पटक हामी लेक वर्थ, फ्लोरिडास्थित हाम्रो घर नजीकैको चर्च गयौं। सेवकले आइतबारे भाषणमा २५ मिनेटसम्म पैसा दिने विषयबाहेक अरू कुरै गरेनन्‌। “उदारचित्त भई आफ्नो खल्ती रित्याउनुहोस्‌,” सेवक स्पिकर स्ट्याण्डमा आधी जीउ निहुराउँदै भन्थे। एउटा सभामा मात्र तिनीहरू तीन पटक पैसा संकलन गर्न थाल घुमाउँथे। परिणामस्वरूप निकै मानिसहरू रित्तो हात फर्कन्थे। हामीले निकै चर्चहरू धायौं तर त्यहाँ पनि पैसा संकलन गर्न थाल र रमझमबाहेक केही भेट्टाएनौं।

यहोवाका साक्षीहरूसित सतर्क रहनुपर्ने चेताउनी

हामीलाई सिकाइएका दृष्टिकोण, सिद्धान्तहरूलाई हामीले बाइबलका आधारभूत शिक्षाहरू भन्ठानेका थियौं। शिक्षकहरू पेशेवर शास्त्रज्ञहरू भएकोले हामीले ती स्वीकाऱ्‍यौं। एउटा कक्षा अमेरिकामा पाइने पन्थहरूको विषयमा थियो र त्यस सूचीमा सबैभन्दा माथि यहोवाका साक्षीहरू थिए। तिनीहरू येशूमा विश्‍वास गर्दैनन्‌, तिनीहरूको आफ्नै बाइबल छ, तिनीहरू स्वर्ग जान पाउँदैनन्‌ र तिनीहरू नरक छँदैछैन भनेर विश्‍वास गर्छन्‌ अतः तिनीहरूसित सतर्क रहनू भन्‍ने चेताउनी हामीले पायौं। वास्तवमा यी सबै कुराले गर्दा यहोवाका साक्षीहरू गलत हुन्‌ भन्‍ने निष्कर्षमा हामी पुग्यौं।

त्यतिञ्जेल हामीसित निकै जोश त थियो तर सही ज्ञान पाएर चाहिं होइन। (रोमी १०:२) येशूले मत्ती २८:१९, २० मा सुसमाचार सुनाउनु र चेला बनाउनुपर्छ भन्‍नुभएको हामीलाई थाह थियो। त्यस बेला हामी बाइबल टाउन नामक २,००० सदस्यहरू भएको चर्च धाउँथ्यौं। त्यहाँ १७ देखि ३० वर्षका लगभग १०० जना जति जवानहरूको समूह थियो र त्यसमा हामी पनि थियौं। स्कटले प्रचारकार्यको लागि तिनीहरूले केही गरोस्‌ भनेर निकै कोसिस गरे तर सबै व्यर्थ भयो।

अतः हामी आफैले प्रचार अभियान सुरु गऱ्‍यौं। स्कटले सस्तो बजारको पेटीमा सानो पसल थापेर पर्चा तथा बाइबल वितरण गर्ने योजना बनायो। अनि हामीले त्यसै गऱ्‍यौं। स्थानीय “मसीही” किताप पसलमा गएर हामीले प्रशस्त मात्रामा पर्चा तथा कितापहरू किन्यौं अनि सस्तो बजारमा गएर दुइटा फल्याक ठडायौं र त्यसमाथि एउटा ठूलो प्लाइऊड लगाएर टेबल बनायौं। अनि त्यसमा हामीले पर्चा तथा बाइबलहरू राख्यौं र “वचन पालन गर्ने” कोसिस गऱ्‍यौं, “आफैलाई धोका दिएर सुन्‍ने मात्र होइन।”—याकूब १:२२.

एवं रीतिले सस्तो बजारको सेवकाई फस्टाउँदै गयो। हामीले अंग्रेजी तथा स्पेनी भाषाका साहित्यहरू प्रस्तुत गऱ्‍यौं। हामीसित बाइबल, ३० वटा विभिन्‍न पर्चाहरूलगायत “परमेश्‍वर तपाईंलाई माया गर्नुहुन्छ” लेखिएको पिन पनि थियो। केही समयपछि स्कटले “के तपाईंले आज बाइबल पढिसक्नुभयो?,” “म किन मुस्कुराइरहेछु के तपाईंलाई थाह छ? किनभने येशू मेरो हृदयमा हुनुहुन्छ,” र त्यस्तै अनगिन्ती बाइबलका छोटा-मीठा कुराहरू टि-शर्टमा छाप्नका लागि यन्त्र किन्यो। एउटामा चार घोडचढीहरूको चित्रसहित “प्रकाश” लेखिएको थियो।

हाम्रो विचारमा त्यस्तो टि-शर्ट लगाएर हामीले मौन साक्षी दिइरहेका थियौं। त्यसैले हामी जहाँसुकै जाऔं, ती टि-शर्टहरू लगाउने गर्थ्यौं। प्रत्येक शनिबार र आइतबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सस्तो बजारमा हाम्रो सेवकाईको प्रमाण पाउन सकिन्थ्यो। सवारी साधन पार्क गर्ने ठाउँ हुँदो कतै गइरहनुभएको बेला तपाईंले गाडीहरूमा पर्चा देख्नुभएको थियो भने त्यो हामीले राखेका हुन्थ्यौं। सबै साहित्यहरू चन्दास्वरूप दिइन्थ्यो। तापनि चन्दा भने निकै कम पाउँथ्यौं। एक वर्ष हामीले खर्च हिसाब गर्दा त १०,००० अमेरिकी डलरभन्दा धेरै खर्च भएको पायौं।

हामीले यहोवाको साक्षी भेट्यौं

एक पटक हामी बोनिता स्प्रीङ्‌सको तटमा पौडी खेलिरहेका थियौं। त्यहाँ एक वृद्ध मानिस हामी छेउ आए अनि हाम्रो ट्रकको बम्परमा टाँसेको स्टीकरबारे टिप्पणी गरे। तिनले हाम्रो टि-शर्टबारे पनि उल्लेख गरे। बाइबल धर्मशास्त्रबाट कुरा थाल्दै तिनले तर्क गर्न थाले। अनि प्रेरित २:३१ लाई औंल्याउँदै तिनले सोधे: “अग्निमय नरक हुँदो हो र दुष्ट मानिसहरू मात्र त्यहाँ जाँदा हुन्‌ त येशू त्यहाँ हुनुहुन्थ्यो भनेर बाइबलले किन भन्थ्यो?” तिनले अन्य शास्त्रपदहरू पनि छलफल गरे। अन्तमा स्कटले भन्यो: “तपाईं पक्कै पनि यहोवाको साक्षी हुनुपर्छ।” तिनले जवाफ दिए: “हो।” त्यसपछि स्कटले भन्यो: “तपाईंहरू येशूमा विश्‍वास गर्नुहुन्‍न।” त्यसपछि २० मिनेटसम्म त्यस साक्षीले हामीसित येशूको विषयमा कुरा गरे, तर त्यसले हामीमा कुनै प्रभाव पार्न सकेन।

सप्ताहन्तमा हामी सस्तो बजारको सेवकाईमा लागी नै रह्‍यौं। यसो गर्न थालेको तीन वर्ष पुग्यो। हामी अझै पनि हामीसित सच्चाइ छ र हामीले गरेको काम नै सही हो भन्‍ने विश्‍वास गर्थ्यौं। साथै हरेक आइतबार साँझ हामी अझै भिन्दाभिन्दै चर्चहरू धाइरहेका हुन्थ्यौं। तर हामी कतै पनि सन्तुष्ट हुन सकेका थिएनौं। हामीले करिब सम्पूर्ण चर्चहरू धाइसकेका थियौं। त्यसकारण एक रात हामीले “यहोवाका साक्षीहरूको चर्च,” धाउने निर्णय गऱ्‍यौं। हामी त्यसलाई त्यसै भन्थ्यौं। हामीले तिनीहरूलाई येशूबारे साक्षी दिने विचार गऱ्‍यौं। टेलिफोन निर्देशिकाबाट हामीले ठेगाना टिप्यौं र एक आइतबार साँझ हामी त्यहाँ पुग्यौं। अरू चर्चहरूमा आइतबार साँझ सभा सञ्चालन हुन्थ्यो तर त्यहाँ त्यसो हुँदैन रहेछ। त्यसैले तिनीहरू वास्तवमा येशूलाई विश्‍वास गर्दैनन्‌ भन्‍ने हामीलाई पक्का भयो। सभाहरू हुने समय लेखिएको बोर्डबाट सोमबार राती पुस्तक अध्ययन हुने कुरा थाह पायौं। अतः हामी आफ्नो बाइबल बोकेर तथा टि-शर्ट लगाएर फेरि आयौं। कुन चाहिं टि-शर्ट लगाँउदा राम्रो साक्षी दिन सकिएला भन्‍ने निर्णय गर्न केही बेर लागेको हामी अहिले पनि सम्झन्छौं। हामी त्यहाँ चाँडै आइपुग्यौं र केही भाइहरू हामीसित कुरा गर्न आए। तिनीहरू स्नेही र मित्रैलो थिए। तत्कालै हामीले प्रकाशको गहिरो छलफल गर्न थाल्यौं। तिनीहरूले हामीलाई सभामा बस्ने आग्रह गरे। तिनीहरूले हामीलाई उपासनमा एकताबद्ध पुस्तक दिएकोले हामी सभामा बस्यौं।a एक जना भाइले अध्ययनको आरम्भमा प्रार्थना गरे।

एकाग्रचित्त भई हामीले सुन्यौं। अन्तमा उनले यसो भने: “येशूको नाउँमा। आमिन।” जिल्ल परेर हामी एकअर्काको मुख हेर्न थाल्यौं। “हामीले राम्ररी सुनेको हो के? उनले त येशूको नाउँमा पो प्रार्थना गरे!” त्यति बेला हाम्रो आँखाको बाक्लो चिप्रा हटेर स्पष्ट देख्न थालेको जस्तै भयो। हाम्रो मनले भनेको कुरा साँचो हो भने तिनीहरूको कुरा सुनिहाल्नुपर्छ भन्‍ने हामीलाई लाग्यो। त्यस भाइले सबैलाई उपासनमा एकताबद्ध पुस्तकको अध्याय २१ पल्टाउने आग्रह गरे। त्यो अध्याय येशू यस संसारको भाग हुनुहुन्‍न भन्‍ने विषयमा रहेछ। ध्यान दिएर सुन्‍नुपर्ने अध्याय त यो पो रहेछ। त्यहाँ येशूको जीवन, सेवकाई, अन्तिम दिन तथा तटस्थताबारे लेखिएको थियो। हामीले थाह नपाएका धेरै बुँदाहरूमा स-साना केटाकेटीहरूले टिप्पणी दिएको सुन्यौं। त्यसपछि फेरि सभाको समापनमा भाइले येशूको नाउँमा प्रार्थना गरे!

हामीले आध्यात्मिक भोजन पायौं

सत्य कुराको निम्ति भोकाउँदै हामी त्यस भवनभित्र प्रवेश गरेका थियौं। सच्चाइ भेटाउन निकै टाढा जानु परेन किनकि सत्य त्यहीं थियो। आध्यात्मिक भोजन पायौं भन्‍ने थाह लागेपछि हामीले चर्चमा फेरि पाइला हालेनौं। अर्को रात लुगा धुने सार्वजनिक ठाउँमा लुगा धोइरहेको बेला हामीले सोडा मेशिन नजीकै एक थाक प्रहरीधरहरा (अंग्रेजी) तथा ब्यूँझनुहोस्‌! (अंग्रेजी) पत्रिकाहरू देख्यौं। ती कम्तीमा १५० वटा जति थिए। पहिले भए हामी ती पढ्‌ने थिएनौं होला तर अहिले भने विभिन्‍न विषयहरूमा चासो भएकोले हामीले ती पोको पाऱ्‍यौं।

एउटा लेखमा यसरी सोधिएको थियो: “के तपाईं त्रिएकमा विश्‍वास गर्नुहुन्छ?” अर्कोमा: “के वास्तवमा नरक छ?” ब्यूँझनुहोस्‌! (अंग्रेजी) पत्रिकामा मूर्तिहरूसम्बन्धी एउटा लेख थियो। त्यस रात स्टिभले त्रिएकको विषयमा एउटा लेख पढ्यो, उसले निकै छानबिन गऱ्‍यो, सबै शास्त्रपदहरू खोजेर पढ्यो र आफूले सिकेको कुरा बताउन बिहान १२:३० मा स्कटलाई उठायो। भोलिपल्ट बुधबार, कामपछि स्टिभले नरकको विषयमा पढ्यो। त्यसमा यूहन्‍ना ११:११ बारे तर्क गरिएको थियो। उक्‍त पदमा येशूले लाजरस निदाएका छन्‌ भन्‍नुभएको थियो। स्कटलाई देखेपछि स्टिभले यसो भन्यो: “अग्निमय नरक छ भनेर मेरो बाइबलमा कतै पनि लेखिएको रहेनछ।” मूर्ति तथा विभिन्‍न आकार प्रकारका क्रसहरूबारे ब्यूँझनुहोस्‌!-मा (अंग्रेजी) पढेपछि हामीले ती चीजबीज फोहर लैजाने ट्रकमा मिल्कायौं र ती उठाएर लगेको हेऱ्‍यौं। सन्तुष्ट छौं भनेर संकेत दिन एकअर्कालाई हेरेर टाउको हल्लायौं र मुसुक्क हाँस्यौं। हामीले अति बहुमूल्य चीज अर्थात्‌ सत्य फेला पाऱ्‍यौं भनी हामीलाई थाह भयो।

यसको पर्सिपल्ट दुइटा बाकस आइपुग्यो। त्यसमा ५,००० वटा पर्चाहरू थिए र तिनमा पश्‍चात्ताप गरेनौ भने तिमीहरू नरकमा जानेछौ भनी लेखिएको थियो। यस्ता अधिकांश पर्चाहरू बाइबलको शिक्षाअनुरूप छैनन्‌ भनेर हामीलाई अहिले थाह भइसकेको थियो। तैपनि अलि अन्योलमा परेकोले हामी फेरि सोमबार राती पुस्तक अध्ययनमा उपस्थित भयौं र साथमा हामीले निकै पर्चाहरू पनि लग्यौं। हामीले सोध्यौं, “के यो ठीक छ?” एक रात हामीले ती सबै पर्चाहरू जाँच्यौं। केहीबेरमै भुइँभरि यत्रतत्र पर्चाहरू छरिएका थिए। तीमध्ये एउटा पनि बाइबलको शिक्षाअनुरूप थिएन। हामीले ती सबै मिल्कायौं। हामीलाई थाह थियो, हामीले भेट्टाएको नयाँ विश्‍वासमा हाम्रो र हामीले प्रचार गरेकाहरूको जीवन निर्भर छ। अतः कुनै बाधाबिघ्नबिना हामी बाइबल अध्ययन गर्न चाहन्थ्यौं।

हामी अलास्कामा बसाइँ सऱ्‍यौं। पहिलो सभामै हामीले एक जना प्राचीनलाई हामीसित दिनहुँ अध्ययन गर्नुहुन्छ कि भनेर सोध्यौं। मेरो विचारमा त्यहाँ उपस्थित सबैले हाम्रो आग्रह सुनेको हुनुपर्छ। हामीले राम्रो उन्‍नति गऱ्‍यौं र सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक पनि पढ्‌न सिध्यायौं।b दुइ-दिने सम्मेलनमा हामी बप्तिस्मा लिन चाहन्थ्यौं। तर हामीले अलिबेर पर्खनुपऱ्‍यो। हाम्रो लक्ष्य अग्रगामी गर्नु थियो। बुबा अचानक बिरामी हुनुभएकोले उहाँलाई मदत गर्न हामी फ्लोरिडा फर्कनुपऱ्‍यो।

आध्यात्मिक परिपक्वतामा अघि बढ्‌नु

फ्लोरिडामा हामीले राम्रो उन्‍नति गऱ्‍यौं। हामीले उपासनमा एकताबद्ध पुस्तक पनि सिध्यायौं र सन्‌ १९८७ मा बप्तिस्मा लियौं। हामीले यहोवाका साक्षीहरूसित संगत गर्न थालेको ११ महिना भइसकेको थियो। तत्कालै हामीले छ महिनासम्म सहायक अग्रगामी गऱ्‍यौं र त्यसपछि नियमित अग्रगामी भयौं। साढे एक वर्षपछि हामी दुवै सहायक सेवक नियुक्‍त गरियौं। बप्तिस्मा लिएको दुइ वर्षपछि हामी ब्रूकलिन बेथेलमा सेवा गरिरहेका थियौं। स्कट अहिले पनि त्यहीं सेवारत छ र गत दुइ वर्षदेखि उसले चिनियाँ भाषा सिकिरहेको छ। हाल स्टिभ मास्को, रूसमा नियमित अग्रगामीको रूपमा सेवारत छ। हामी दुवैले सत्य भेट्टायौं र हितोपदेश २:१-५ मा भनेजस्तै गरी हामीले सच्चाइ खोजेका पनि थियौं। त्यहाँ यसो भनिएको छ: “हे मेरो छोरो, यदि तैंले मेरा वचन हृदयमा लिइस्‌ र मेरा आज्ञा तेरो मनमा राखिस्‌ भने बुद्धिमा तेरो ध्यान र तेरो मन समझ-शक्‍तिमा लगाइस्‌ भने, तैंले विवेक माग्छस्‌ भने समझ-शक्‍तिलाई पुकार। यदि तैंले त्यसलाई चाँदीझैं खोजिस्‌ र गाड़-धनझैं त्यो खनिस्‌ भने, तैंले परमप्रभुको भय बुझ्नेछस्‌, र परमेश्‍वरको ज्ञान प्राप्त गर्नेछस्‌।”

स्टिभ मास्कोमा कसरी पुग्यो

न्यु योर्कमा अर्को थप भाषा जानेको छ भने प्रचार कार्य निकै रमाइलो हुन्छ। र यहोवाले चाँडै रूसमा पनि ढोका खोल्नुहुन्छ भन्‍ने विचार गर्दै मैले रूसी भाषा सिकें। त्यस बखत अर्थात्‌ ब्रूकलिन बेथेलमा सेवा गरिरहेको बेला म रूसीभाषी पुस्तक अध्ययन समूहमा उपस्थित हुनथालें। एउटा मात्रै रूसीभाषी पुस्तक अध्ययन समूह शुक्रबार भेला हुने गर्थ्यो। समयको क्रममा म रूसी समूहसित निकै घुलमिल हुनथालें। म तिनीहरूसित प्रचारमा जान्थें। र रूसीहरू स्नेही हुने भएकोले ती क्षण निकै रमाइलो हुन्थ्यो। मलाई रूसीभाषी समूहमा सरुवा गराइदिऊन्‌ भनेर मैले सेवा विभागलाई निवेदन दिएँ। तिनीहरूले स्वीकृति दिएकोमा मलाई खुशी लाग्यो।

बेथेलको प्रातःकालीन उपासनामा एक दिन वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीका अध्यक्ष मिल्टन जी. हेन्श्चेलले परिवारलाई एउटा विशेष रिपोर्टबारे बताए। त्यसपछि तिनले रूसमा यहोवाका साक्षीहरूले वैधानिक मान्यता पाएको र अब हाम्रा भाइहरूले स्वतन्त्र भई उपासना गर्न पाएको आनन्द उठाउनेछन्‌ भनेर घोषणा गरे। मेरो विचारमा यस्तो खुशीको समाचार सुन्‍न पाउँदा त्यस बिहानी बेथेलमा हामीले अनुभव गरेको आनन्द कसैले पनि बिर्सने छैनन्‌। त्यस नयाँ बृहत्‌ इलाकामा हुन पाउनु एउटा ठूलो विशेषाधिकार हुनेछ भनेर मैले त्यत्ति नै खेर विचार गरें।

मैले क्रास्नोडार, रूसमा बस्ने भलड्या नाउँ गरेका भाइसित पत्राचार गर्न थालें। तिनले मलाई रूसमा आउने निम्तो दिए। अतः जून १९९२ मा गुन्टा कसेर म मास्कोतिर हानिएँ। त्यहाँ पुग्दा भाइ भलड्या मलाई लिन विमानस्थल आएको देखेर म हर्षित भएँ। म भाइ स्टेफान लभिन्स्कीसित बसें। तिनी सच्चाइमा आएको ४५ वर्ष भइसकेको थियो। मास्कोमा मैले भेटेको पहिलो साक्षी तिनी नै थिए। सच्चाइको पक्ष लिएकोले तिनी निकै वर्ष झ्यालखानामा परेका थिए। भाइहरूको आतिथ्य साँच्चै अद्‌भुत थियो।

यसरी म मास्को पुगें। मलाई त्यति राम्ररी रूसी भाषा आउँदैनथ्यो। त्यस बेला चारवटा मात्र मण्डलीहरू थिए र हामी झन्डै सबैजसो भाइहरूलाई चिन्थ्यौं। त्यहाँदेखि विभिन्‍न तरिकाहरू अपनाएपछि मात्र आफ्नो राहदानीमा म्याद थप्नसकें। खर्च बेहोर्न समय समयमा काम पनि गर्नसकें। वार्तालाप गर्न र सभाहरूमा आध्यात्मिक भोजन ग्रहण गर्न रूसी भाषा राम्ररी जान्‍नुपर्थ्यो। र भाषा सिक्नु नै मेरोलागि सबैभन्दा ठूलो समस्या थियो। बिस्तारै मैले भाषा सिक्न थालें र अहिले पनि सिक्दैछु।

विभिन्‍न अधिवेशनहरूमा उपस्थित हुन पाउनु र अद्‌भुत वृद्धि तथा निकै व्यक्‍तिहरूले बप्तिस्मा लिएको देख्न पाउनु मेरोलागि विशेषाधिकार थियो। यहाँका हाम्रा भाइहरूको निष्खोट जोश देखेर मेरो विश्‍वास निकै दरिलो भएको छ। म कुनै पनि चीजसित यो अनुभव साट्‌नेछैन। म यहाँ आउँदा भेटेका धेरै भाइबहिनीहरू भर्खरै अध्ययन गरिरहेका वा भर्खरै बप्तिस्मा लिएका थिए। तर अहिले तिनीहरू पूर्ण-समय अग्रगामी, सहायक सेवक वा रूस, सेन्ट पिटर्सबर्ग नजीकै सोल्नेच्‌नेयमा बेथेल सेवकको रूपमा सेवारत छन्‌। अनि मास्कोको एउटा मण्डलीमा प्राचीन तथा अग्रगामीको रूपमा सेवा गर्ने विशेषाधिकार हाल मैले पाएको छु।

मैले धाउने गरेको मण्डली ५३० मानिसहरूले टन्‍न भरिन्छ। र प्रत्येक महिना औसतन १२ जना बप्तिस्मा अप्राप्त नयाँ प्रकाशकहरू थपिंदैछन्‌। पछिल्लो पटक गरिएको गणनाअनुसार हाम्रो मण्डलीमा ३८० प्रकाशकहरूलगायत ३ प्राचीन तथा ७ सहायक सेवकहरू छन्‌। हाम्रो मण्डलीले ४८६ भन्दा धेरै गृह बाइबल अध्ययनको रिपोर्ट दिएको छ। फेब्रुअरी १९९५ मा मैले हाम्रो २९ वटा भिन्दाभिन्दै पुस्तक अध्ययनहरूमा गएर सेवा भाषण दिने विशेषाधिकार पाएको थिएँ। म हप्ताको चारवटा पुस्तक अध्ययन धाउने गर्छु। हरेक अधिवेशन सुरु हुनुअघि बप्तिस्मा लिने उम्मेदवारहरूसित प्रश्‍न सोध्नुपर्ने हुँदा हामी निकै व्यस्त हुन्छौं। मे १९९५ मा भएको विशेष सम्मेलनमा हाम्रो मण्डलीबाट ३० जनाले बप्तिस्मा लिए। जम्माजम्मी त्यहाँ ६०७ जनाले बप्तिस्मा लिए अनि त्यहाँ लगभग १०,००० जना उपस्थित थिए। सन्‌ १९९५ को ग्रीष्म ऋतुमा भएको जिल्ला अधिवेशनमा बप्तिस्मा लिने ८७७ मध्ये हाम्रो मण्डलीका २४ जना पनि थिए! हाम्रो मण्डलीमा १३ जना अग्रगामीहरू र तीन विशेष अग्रगामीहरू छन्‌। तिनीहरूले करिब ११० वटा बाइबल अध्ययनहरूको रिपोर्ट दिन्छन्‌! हाल हाम्रो मण्डलीमा १३२ जना बप्तिस्मा अप्राप्त प्रकाशकहरू छन्‌।

सन्‌ १९९५ को स्मरणार्थ उत्सवमा १,०१२ जना उपस्थित थिए! पोल्याण्ड निवासी मतेश नाउँ गरेका एक भाइलाई सोसाइटीले भर्खरै हाम्रो मण्डलीमा खटाएका छन्‌। तिनले मिनिस्टेरियल ट्रेनिङ स्कूलबाट स्नातक गरेका छन्‌ र तिनले निकै मदत गर्नेछन्‌। अहिले हाम्रो मण्डलीमा तीन जना प्राचीनहरू छन्‌। त्यसकारण एउटा नयाँ मण्डली स्थापना गरिनुका साथै करिब दश लाख जनसंख्या भएको हाम्रो क्षेत्र दुइ भागमा विभाजन गरिनेछ। यी दुइ मण्डलीमा २००/२०० प्रकाशकहरू हुनेछन्‌। एउटा मण्डलीमा दुइ र अर्कोमा चाहिं एक जना प्राचीन हुनेछन्‌। अब फेरि अर्को सम्मेलन हुन लागेको छ। अतः त्यस अधिवेशनमा बप्तिस्मा लिन तयार भएका ४४ जनासित प्रश्‍नोत्तर गरिरहेका छौं। कति अविश्‍वसनीय! ओहो! एउटा आश्‍चर्यमयी आध्यात्मिक प्रमोदवन! साँच्चै यहोवा व्यस्त हुनुहुन्छ। यस बेला उहाँको रथ रूसमा द्रुत गतिले बढ्‌दैछ जस्तो छ। अक्टोबर १९९५ सम्ममा मास्कोमा ४० वटा मण्डलीहरू भइसकेका छन्‌। प्रशस्त मात्रामा प्राचीनहरू हुँदा हुन्‌ त यो संख्या सजिलै दोब्बर हुनेथियो।

सस्तो बजारको हाम्रो सेवकाई अतीत भइसक्यो। स्कट ब्रूकलिन बेथेलमा र स्टिभ अर्थात्‌ म मास्कोको एउटा मण्डलीमा प्राचीनको रूपमा सेवा गर्दैछौं। हामीले भेट्टाओस्‌ भनेर परमेश्‍वर आफैले हामीलाई मौका दिनुभएको हो। त्यसका लागि हामी असाध्यै कृतज्ञ छौं। अझसम्म यहोवालाई नखोजिसकेकाहरूले उहाँलाई खोज्ने, भेट्टाउने मौका परमेश्‍वरले दिऊन्‌ भनी हामी प्रार्थना गर्छौं।—स्कट र स्टिभ डेभिसको वृतान्तमा आधारित।

[फुटनोटहरू]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।

b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।

[पृष्ठ १८-मा भएको चित्र]

स्कट

[पृष्ठ १९-मा भएको चित्र]

स्टिभ

[पृष्ठ २१-मा भएको चित्र]

प्रत्येक आइतबार मास्कोस्थित एउटा मण्डलीमा ५३० भन्दा बढी मानिसहरू उपस्थित हुन्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने