लाभकारी परिणामहरू प्राप्त गर्न पर्चाहरूको प्रयोग गर्ने
१ यहोवाको आधुनिक दिनको सङ्गठनले सफलतापूर्वक पर्चाहरू प्रयोग गरेको इतिहास छ। हाम्रो कानुनी कर्पोरेशनको नाम वाच टावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटीले नै देखाउँछ कि सुसमाचार फैलाउन पर्चाहरूले महत्त्वपूर्ण भूमिका निभाउँछन्। सन् १८८१ देखि १९१८ भित्रमा यहोवाका जनहरूले ३० करोडभन्दा बढी पर्चाहरू वितरण गरे। त्यस समयावधिमा ख्रीष्टका शेष भाइहरूको भाग हुने धेरै जना सुरु सुरुका यी पर्चाहरूद्वारा नै सत्यसित परिचित भएका थिए।
२ सन् १९८७-मा साना पर्चाहरू प्रयोग गर्न पुनः जोड दिइयो र त्यतिबेलादेखि चार वटा रङ्गीन पर्चाहरू पनि उपलब्ध भएको छ। यी पर्चाहरूको क्रम अझ विस्तार गरिनेछ र अरू चार वटा विचारोद्दीपक रङ्गीन पर्चाहरू छापिनेछन् भनेर सन् १९९२-को “ज्योति वाहकहरू” जिल्ला सम्मेलनमा घोषणा गरियो। ती पर्चाहरू: कम्फर्ट फर द डिप्रेस्ड, इन्ज्वाई फ्यामिलि लाइफ, हु र्यली रुल्स द वर्ल्ड? र वील दिस वर्ल्ड सरभाइभ? हुन्। सेवकाईमा लाभकारी परिणामहरू प्राप्त गर्न के तपाईंले यी आठै वटा पर्चाहरू प्रयोग गरिरहनुभएको छ?
३ प्रभावकारी ढङ्गमा ती पर्चाहरू प्रयोग गर्नाले राम्रा परिणामहरु हुन्छन्। प्रत्येक पर्चासित राम्ररी परिचित हुनु आवश्यक छ। उदाहरणको लागि, प्रत्येक पर्चाले छलफल गर्न खोजेको कुरा बुझ्न के तपाईंले ध्यान दिएर पढ्नुभएको छ? कुन पर्चा कस्तो प्रकारको व्यक्तिलाई चासो लाग्नेछ के तपाईंले विचार गर्नुभएको छ? प्रत्येक पर्चासित राम्ररी परिचित हुनाले घर-घरको सेवकाई साथै अन्य परिस्थितिहरूमा अनौपचारिक साक्षी दिंदा त्यसको प्रयोग गर्न हामीमा आत्म-विश्वास बढ्नेछ।
४ घर-घरको सेवकाईमा प्रयोग गर्नुहोस्: एक जना क्षेत्रीय निरीक्षक यसरी लेख्छन्: “धेरैजसो छलफलहरूलाई पर्चाद्वारा सुरु गरेर मैले राम्रो सफलता हासिल गरिरहेको छु।” के तपाईंले यसो गरेर हेर्नुभएको छ? तपाईं पनि वार्तालापलाई सुरु गर्न पर्चाहरू किन प्रयोग गर्नु हुन्न? आठवटा पर्चाहरू हुनाकारण हामी आठवटा उत्साहवर्धक प्रस्तुतिहरूमध्ये कुनै एउटा छान्न सक्छौं। प्रत्येक पर्चाले पहिलो भेटमा अथवा पुनः भेटमा बाइबल अध्ययन सुरु गर्ने मौका प्रदान गर्छ।
५ पर्चाहरू प्रयोग गर्ने अरू अवसरहरू पनि छन्। ढोकामा गरेको कुराकानीको दौडानमा, त्यस व्यक्तिको भर्खरै एक जना प्रियजन मरेको अथवा परिवारमा कोही बिरामी छ भनेर थाहा पाउनु होला। धेरै दुःख अनुभव गरेका अथवा लामो समयदेखि भोग्नु परेका समस्याहरू सामना गर्न खोजिरहेका व्यक्तिहरूमा प्रायजसो नकारात्मक भावनाहरू बढ्दछन् र निराश हुन्छन्। कम्फर्ट फर द डिप्रेस्ड! पर्चामा भएको प्रोत्साहक समाचार बताउन पाउनु कस्तो स्नेही कार्य हुनेछ। एक जना व्यक्तिको भर्खरै छुटानाम भएको अथवा जागिर खुस्केको तपाईंले थाहा पाउनु होला। त्यस्ता अनुभवहरूले भावनात्मक क्षति पुऱ्याउन र परिवारमाथि ठूलो असर पार्न सक्छ। यस्ता व्यक्तिहरूलाई इन्जोई फ्यामिलि लाइफ पर्चाको पृष्ठ २-मा भएका यी प्रश्नहरू सोध्नुहोस्: “परिवारहरूमाथि यस्ता गम्भीर समस्याहरूको बमवर्षा किन भइरहेको छ? हामी पारिवारिक जीवनको आनन्द कसरी उठाउन सक्छौं?” सायद त्यस व्यक्तिको मनमा यही प्रश्नहरू उठिरहेको हुन सक्छ। तत्काल चासो नदेखाए तापनि पछि तिनले पर्चालाई पढ्न सक्छन्।—उप० ११:६.
६ कुनै कुनै मण्डलीहरूले आफ्नो इलाकामा धेरै पटक प्रचार गरिसकेका छन्। र धेरै मानिसहरूसित हाम्रो साहित्यहरू पनि छन्। ती पर्चाहरू प्रयोग गरेर हामीले त्यस्ता घरधनीलाई चासो लाग्ने विषयहरू छलफल गर्न, तिनीहरूको विचारहरू प्रकट गराउन र राज्यको आशाबारे सोच्न लगाउने मौकाहरू पाउनेछौं। अर्को समयमा छलफल गर्नको लागि तिनीहरूको मनमा एउटा प्रश्न राखिदिनुहोस्। पुनः भेट गर्नुहोस् र यो चासोलाई अझ बढाउनुहोस्। हुन सक्छ कुनै समयमा तिनीहरूसित भएको पुस्तिका अथवा पुस्तक चलाएर अध्ययन सुरु गर्न सक्छौं।
७ अनौपचारिक ढङ्गमा पर्चाहरू प्रयोग गर्नुहोस्: पर्चाहरुलाई सजिलै राख्न सकिने ठाउँ—कमीजको खल्ती, कोटको खल्ती, पर्स अथवा सेवकाईमा जाँदा प्रयोग गर्ने झोलामा राख्यौं भने मानिसहरू भेटिने जुनसुकै ठाउँ र अवसरहरूमा त्यसको प्रयोग गर्न सक्छौं। किनमेल गर्दा, यात्रा गर्दा अथवा नातेदारहरू र आगन्तुकहरूसित कुराकानी गर्दा ती पर्चाहरूको प्रयोग गर्नुहोस्। पर्चाहरूद्वारा छोटकरीमा साक्षी दिने मौका मिल्छ। पर्चामा कुरा स्पष्ट र निपुणतापूर्वक प्रस्तुत गरिएको हुनाले मानिसहरू पढ्न अत्तालिंदैनन्। यसमा पढ्ने कुरा पनि धेरै नहुने हुनाले मानिसहरूले पुस्तक र पत्रिकाहरूभन्दा यसलाई सजिलै लिन्छन्।
८ स्कूल, काम गर्ने ठाउँ, रेस्टुरेन्ट, पेट्रोल पम्प र त्यस्तै अन्य ठाउँहरूमा अनौपचारिक ढङ्गमा पर्चाहरू प्रस्तुत गर्ने मौकाप्रति सजग हुनुहोस्। एक जना बहिनीले आफ्नी हजूरआमालाई डाक्टरकहाँ लान लाग्दा आफूसित केही पर्चाहरू लिइन्। डाक्टरको अफिसमा तिनले एक जना गर्भवती स्त्रीसित कुराकानी सुरु गरिन्। त्यस स्त्रीलाई शान्तिमय नया संसारमा जीवन पर्चा देखाइसकेपछि, त्यस बहिनीले सोधिन्: “यस चित्रमा देखाइ एको जस्तो संसारमा के तपाईं आफ्नो बच्चालाई हुर्काउन चाहनु हुन्छ?” त्यस स्त्रीको घरमा गएर बहिनीले कुराकानीलाई पुनः कायम गर्न सकिन्। यसो गर्दा थुप्रै नियमित पुनः भेटहरू गर्न पाइन्।
९ पर्चाहरूद्वारा बाइबल अध्ययनहरू सुरु गर्न सकिन्छ: एक जना क्षेत्रीय निरीक्षकले रिर्पोट गरे कि उनले निरीक्षण गरिरहेको मण्डलीले त्यस हप्तामा ६४ वटा गृह बाइबल अध्ययनहरू सुरु गरे। घरधनीलाई अभिवादन गर्ने बित्तिकै पर्चाको प्रयोग गरेर तिनीहरूले यसो गर्न सकेका थिए।
१० के तपाईंले घर-घर सेवकाईको प्रथम भेटमा नै बाइबल अध्ययन गर्ने प्रस्तावना दिने प्रयास गर्नुभएको छ? पर्चालाई चलाएर अध्ययन कसरी सञ्चालन गरिन्छ भनेर तपाईंले छोटकरीमा देखाउन सक्नुहुन्छ। एक जना बहिनीले शान्तिमय नया संसारमा जीवन पर्चा चलाएर त्यसो गरिन्। चित्रलाई औंल्याउँदै, के हाम्रो पृथ्वी कहिल्यै यस्तो हुनेछ भनी तिनले घरधनीलाई सोधिन्। घरधनीले जवाफ दिइसकेपछि त्यस बहिनीले पर्चामा प्रकाश पारिएका पदहरू २ पत्रुस ३:१३ र यशैया ६५:१७ पढ्न आग्रह गरिन्। त्यसपछि हाम्री बहिनीले यसो भनिन्: “यी प्रतिज्ञाहरू सपना वा कल्पना मात्र होइनन् तर साँच्चै नै परमेश्वरको वचन, बाइबलमा लिखित कुराहरू हुन्।” त्यसपछि तिनले आउँदो हप्ता कुराकानी गर्ने प्रबन्ध मिलाइन्। अर्को भेटमा तिनले त्यस स्त्रीको थुप्रै प्रश्नहरूको जवाफ दिनुको साथै पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक पनि दिइन्। परिणामस्वरुप एउटा बाइबल अध्ययन सुरु भयो।
११ के तपाईं क्षेत्र सेवकाईमा अनुभवी हुन सिकिरहनुभएको भर्खरै बप्तिस्माप्राप्त अथवा एक जना बप्तिस्मा अप्राप्त प्रकाशक हुनुहुन्छ? यसो हो भने, मण्डलीको इलाकामा पर्चाहरू प्रयोग गर्न आफूभन्दा बढी अनुभवी व्यक्तिहरूको मदत र सल्लाह चाहनुहुन्छ होला। विश्वासमा परिपक्व भएकाहरूबाट प्रोत्साहन र निर्देशन पाएका थुप्रै व्यक्तिहरूको उदाहरण हामी बाइबलमा पाउँछौं।—प्रेरित १८:२४-२७; १ कोरि० ४:१७.
१२ पर्चाहरू प्रभावकारिताका साथ प्रयोग गर्न तपाईंलाई अरूहरूले मदत दिने प्रबन्ध मिलाउन मण्डली पुस्तक अध्ययन सञ्चालक विशेषगरि मदतकारी हुन सक्छन्। बच्चाहरूलाई प्रचार कार्यमा प्रगति गर्न मदत दिने जिम्मेवारी आमाबाबुको हो। एक जना जवान साक्षीलाई तिनकी आमाबाबुले शान्तिमय नया संसारमा जीवन पर्चा प्रस्तुत गर्न सिकाएका थिए। आफ्नी आमासित बाइबल अध्ययनमा जाँदा चासो देखाउने एक जना व्यक्तिको पतिलाई तिनले पर्चा दिइन्। एक जना जवान व्यक्तिको त्यस्तो बलियो धार्मिक विश्वास देखेर ती पति प्रभावित भए। तिनले पर्चा पढेर पूरा आनन्द उठाए। हरेक पटक आफ्नी आमासित फर्कंदा, ती केटीले विशेषगरि त्यस व्यक्तिको निम्ति आफूले तयार गरेर आएको एउटा शास्त्रपद अथवा बाइबलको कथा देखाउँथिन्। ती मानिसले अहिले नियमित रुपमा पत्रिकाहरू पढ्छन्। रेभलेशन् क्लाइमाक्स पुस्तकमा पनि तिनले चासो देखाएका छन् र केही सभाहरूमा पनि उपस्थित भएका छन्। आमाबाबुले आफ्नो जिम्मेवारीलाई याद गरेर आफ्नी छोरीलाई पर्चाहरूको राम्रो प्रयोग गर्न सिकाएकोले नै यी सबै परिणाम हुन गएको हो।
१३ हाम्रा नयाँ पर्चाहरूलाई प्रभावकारिताकासाथ प्रयोग गर्नुहोस्: विल दिस वर्ल्ड सरभाइभ? पर्चा प्रयोग गर्दा आफ्नो परिचय दिइसक्नु भएपछि यसो भनेर कुराकानी सुरु गर्न सक्नुहुन्छ: “नमस्कार। आजकलको जीवनस्तरबारे हामी मानिसहरूसित कुरा गरिरहेका छौं। तपाईंको विचारमा के जीवनको स्तर राम्रो हुनेछ अथवा बिग्रँदै जानेछ? [जवाफ दिन समय दिनुहोस्।] कसै कसैले आज संसारमा भइरहेका घटनाहरू बाइबलको भविष्यवाणीको पूर्ति हो र संसारको अन्त नजिकै छ भनेर सोच्दछन्। तपाईंलाई कस्तो लाग्छ?” घरधनीले जवाफ दिइसकेपछि पर्चा दिनुहोस् र दोस्रो अनुच्छेदमा दिइएका तीनवटा प्रश्नहरूतर्फ तिनको ध्यान खिंच्नुहोस्। त्यसपछि, एउटा संसार पहिले कसरी अन्त भएको थियो र अहिले कसरी हुनेछ भनी पर्चाबाट क्रमानुसार देखाउनुहोस्। भेटको अन्तमा यस संसारको अन्त नजिकै छ भन्ने बाइबलका प्रमाणहरुमाथि विचार-विमर्श गर्न अर्को भेटको प्रबन्ध मिलाउनु होस्।
१४ काम गर्ने ठाउँ अथवा स्कूलहरूमा अरूहरूलाई छोटकरीमा राज्यको सुसमाचार बताउने थुप्रै मौकाहरू हामी पाउँछौं। तपाईं काम गर्ने ठाउँमा सरकारसम्बन्धी हालैका समाचारबारे छलफल उठ्न सक्छ। राम्रो नियत भएका नेताहरूले प्रयास गर्दा गर्दै पनि इतिहासभरि संसारले नराम्रोसङ्ग दुःख भोगेकोमा तपाईं आफ्नो सहमति जनाउन सक्नुहुन्छ। त्यसपश्चात् हु र्यली रुल्स् द वर्ल्ड? पर्चामा पृष्ठ २-को अन्तिम अनुच्छेद देखाउनुहोस्। त्यहाँ दिइएका तीनवटा विचारोद्दीपक प्रश्नहरू पढ्नुहोस्। छोटो कुराकानी गर्न समय छैन भने त्यस व्यक्ति(हरू)लाई पर्चा दिनुहोस् र ती प्रश्नहरू छलफल गर्न अर्को समय र ठाउँको प्रबन्ध मिलाउनु होस्।
१५ प्रत्येक पर्चाहरूलाई कसरी प्रस्तुत गर्न सकिन्छ भनेर व्यक्तिगत अथवा पारिवारिक रुपमा विचार गर्न समय निकाल्नुहोस्। त्यसको अभ्यास गर्नुहोस्। त्यस महिना क्षेत्र सेवकाईमा प्रस्तुत गरिने अरू साहित्यहरूका साथै पर्चाहरूलाई तपाईं कसरी प्रयोग गर्न सक्नुहुन्छ? के तपाईंसित त्यस्ता भेटघाटहरू छन् जहाँ तपाईंले आफूसित केही पर्चाहरू लग्न सक्नुहुन्छ? यी पर्चाहरूमा भएको समयानुकूल समाचारबाट लाभ उठाउन सक्ने कुनै व्यक्ति के तपाईं यो हप्ता सम्पर्कमा आउनु हुनेछ?
१६ यहोवाप्रतिको गहिरो प्रेम र मानिसहरूप्रति चासोले गर्दा सुसमाचार सुनाउन सक्दो प्रयास गर्न हामीलाई उत्प्रेरित गर्नेछ। नियमित तवरमा पर्चाहरूको प्रयोग गर्नाले हामीलाई त्यसो गर्न मदत मिल्नेछ। आफ्नो पल्लाघरे छिमेकी पनि नयाँ दुनियाँमा प्रवेश गरुन् भनेर एक जना सात वर्षीय केटोले मदत दिन चाहन्थे। त्यसकारण उसले तिनलाई एउटा पर्चा दियो र एउटा बाइबल अध्ययन पनि सुरु भयो। यो सुन्दा कस्तो सजिलो लाग्छ! तर के हामी हाम्रो सेवकाईमा यस्तो सरल प्रस्तावनाको प्रयोग गर्छौं? अर्को पटक हामीले कसैसित पर्चा छाड्दा बाइबल अध्ययन पनि सुरु हुन सक्छ होला। राज्यको सुसमाचार प्रचार गर्दा हामीले पर्चाहरूको बुद्धिमानीपूर्वक प्रयोग गऱ्यौं भने निश्चय नै लाभकारी परिणामहरू अनुभव गर्नेछौं।