सवारीसाधनरहित संसार?
के तपाईं गाडीरहित संसारको कल्पना गर्न सक्नुहुन्छ? वा गत शताब्दीमा सवारीसाधनहरूले जति मानिसहरूको जीवनपद्धति र बानीबेहोरालाई असर गर्ने अरू कुनै आविष्कारको नाउँ लिन सक्नुहुन्छ? सवारीसाधनहरू नहुँदा हुन् त, मोटरयात्रीहरूको निम्ति होटेल, गाडीमै बसेर चियाचमेना गर्न मिल्ने भोजनालय वा चलचित्र हेर्न सकिने चलचित्र गृहहरू हुनेथिएनन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, बस, ट्याक्सी, कार वा ट्रकहरू नहुँदा हुन् त तपाईं कार्यस्थल तथा स्कूलमा कसरी जानुहुन्थ्यो? किसान तथा उत्पादकहरूले बजारसम्म आफ्नो उत्पादन कसरी पुऱ्याउनेथिए?
द न्यु इनसाइक्लोपीडिया ब्रिटानिका यस्तो टिप्पणी गर्छ, “छवटा अमेरिकी व्यापारमध्ये एउटा व्यापार, सवारीसाधनहरूको उत्पादन, वितरण, स्याहारसम्भार वा प्रयोगमा निर्भर छ।” त्यसले अझ थप यसो भन्छ: “सवारीसाधन कम्पनीहरूको बिक्री तथा रसिदहरूले देखाएअनुसार त्यस देशको थोक व्यापारको चार भागमा एक भाग र खुद्रा व्यापारको पाँच भागमा एक भागभन्दा बढी व्यापार सवारीसाधनसितै सम्बन्धित हुन्छ। अन्य देशहरूमा यसको अनुपात अलि कम छ तर जापान र पश्चिमी युरोपका देशहरूलाई सं.रा.-को स्तरमा पुग्न धेरै समय लाग्नेछैन।”
तापनि, केही मानिसहरूअनुसार गाडीहरूबिनाको संसार उत्तम हुनेथियो। तिनीहरू मुख्यतया दुइटा कारणका लागि त्यसो भन्छन्।
विश्वव्यापी ट्राफिक जाम
सवारी पार्क गर्ने ठाउँ भेटाउन अन्धाधुन्ध खोजिरहनुभएको भए तपाईंलाई कसैले यो कुरा बताइरहनु पर्दैन, गाडी हुनु सुबिस्तै हो तर घुइँचोमा धेरै गाडीहरू हुनु पटक्कै राम्रो होइन। अथवा ट्राफिक जाममा फस्नुभएको छ भने तपाईंलाई थाहै होला, गुडिरहन निर्माण गरिएको साधन ठप्प रोकिंदा कस्तो दिक्क लाग्छ।
सन् १९५० मा हरेक ४ जना व्यक्तिको लागि १ गाडी हुने देश, संयुक्त राज्य मात्रै थियो। सन् १९७४ मा इटाली, जर्मनी, नेदरल्याण्डस्, फ्रान्स, बेलाइत, बेल्जियम र स्वीडेनमा यस्तै अवस्था पुगिसकेको थियो। तर त्यतिबेलासम्म सं.रा.-मा त्यो संख्या बढेर हरेक २ जना व्यक्तिको लागि १ गाडी भइसकेको थियो। अहिले जर्मनी र लक्जम्बर्गमा हरेक २ जना बासिन्दाको लागि १ गाडी छ। इटाली, नेदरल्याण्डस्, फ्रान्स, बेलाइत र बेल्जियममा पनि गाडीहरूको अनुपात लगभग त्यति नै छ।
संसारका जुनसुकै अधिकांश ठूला शहरहरू भयानक पार्किंङ थलोमा परिणत भइरहेका छन्। उदाहरणका लागि, सन् १९४७ मा भारत स्वतन्त्र हुँदा यसको राजधानी, नयाँ दिल्लीले आफ्ना ११,००० गाडी तथा ट्रकहरूमा गर्व गरेको थियो। सन् १९९३ सम्म यो संख्या बढेर २२,००,००० भन्दा बढी पुगिसकेको थियो! यो त कल्पनै गर्न नसकिने वृद्धि हो तर टाइम पत्रिकाअनुसार “यस शताब्दीको अन्तसम्म यो संख्या बढेर दोब्बर हुने आशा गरिन्छ।”
पश्चिमी युरोपको दाँजोमा चार जना व्यक्तिको लागि एउटा गाडी मात्र भएको पूर्वी युरोपमा झन्डै ४० करोड सम्भाव्य ग्राहकहरू छन्। अहिलेसम्म, ४० करोड साइकलहरू भएको देश भनेर चिनिने चीनमा आउँदा केही वर्षभित्र स्थिति अर्कै भइसकेको हुनेछ। सन् १९९४ को प्रतिवेदनअनुसार “चीन सरकारले गाडी उत्पादनमा तीव्र वृद्धि गर्ने योजनाहरू बनाइरहेको छ” र यस शताब्दीको अन्तसम्ममा वार्षिक १३ लाख गाडीको संख्या वृद्धि भएर ३० लाख पुग्नेछ।
प्रदूषणको खतरा
सन् १९९४, अक्टोबर २८ को द डेली टेलिग्राफ-ले यसो भन्यो, “बेलाइतमा स्वच्छ हावाको अभाव छ।” यो बढाइचढाइ भनेको कथन होला तर चिन्तित हुनुपर्ने अवस्थालाई भने देखाउँछ। इस्ट एंग्लीया विश्वविद्यालयका प्राध्यापक स्टुआर्ट पेंकेटले यस्तो चेताउनी दिए: “गाडीहरूले हाम्रो वायुमण्डलको सम्पूर्ण रासायनिक संरचनालाई नै परिवर्तन गरिरहेका छन्।”
ग्रहलाई बचाउन ५००० दिन (अंग्रेजी) नामक पुस्तक यसो भन्छ, कार्बन मोनोअक्साइडको अत्यधिक परिमाणले “शरीरलाई अक्सिजनबाट वञ्चित गर्छ, समझ र सोचाइलाई हानि पुऱ्याउँछ, स्नायविक प्रक्रियाहरूलाई सुस्त बनाउँछ र झुम्म पार्छ।” अनि विश्व स्वास्थ्य संघअनुसार “युरोप र उत्तरी अमेरिकाका लगभग आधा जति शहरवासीहरूले अत्यधिक मात्रामा कार्बन मोनोअक्साइड लिइरहेका हुन्छन्।”
गाडीको धुवाँले केही ठाउँहरूमा वर्षेनी निकै मानिसहरू मर्नुका साथै वातावरणीय ह्रासको कारण अरबौं डलर खर्च गर्नुपरेको अनुमान लगाइएको छ। सन् १९९५ जुलाईमा देखाइएको एउटा टेलिभिजन समाचारअनुसार गाडीको धुवाँले हुने वायु प्रदूषणको कारण वर्षेनी ११,००० बेलाइतीहरू मर्छन्।
सन् १९९५ मा बर्लिनमा संयुक्त राष्ट्र संघीय मौसम सम्मेलन आयोजना गरियो। केही न केही त गर्नैपऱ्यो भन्ने कुरामा ११६ देशका प्रतिनिधिहरू सहमत भए। तर विशिष्ट लक्ष्य तथा निश्चित नियमहरू बनाउने वा सुस्पष्ट कार्यक्रम तयार पार्ने कार्य स्थगित गरिंदा भने धेरै निराश भए।
ग्रहलाई बचाउन ५००० दिन पुस्तकले सन् १९९० मा भनेअनुसार यस्तो अपुग प्रगति अपेक्षा गरेकै होलान्। “आधुनिक औद्योगिक समाजको राजनैतिक तथा आर्थिक शक्तिको स्वभावै कस्तो छ भने, वातावरणीय ह्रासलाई रोक्न उठाइएका कदमहरूले अर्थतन्त्रको कार्यप्रणालीमा हस्तक्षेप नगरूञ्जेल मात्र त्यसलाई स्वीकार्य मान्छन्।”
तसर्थ, हालै टाइम-ले यस्तो चेताउनी दियो, “वातावरणमा थुप्रिंदै गएको कार्बन डाइअक्साइड तथा सौर्य विकिरणबाट निस्कने अन्य ग्याँसहरूले ब्रह्माण्डलाई बिस्तारै तातो बनाउनेछ। धेरै वैज्ञानिकहरूअनुसार त्यसको परिणामस्वरूप खडेरी, हिउँका चुचुराहरू पग्लने, समुद्री सतह बढ्ने, समुद्री तटमा बाढी आउने, भयंकर आँधीबेहरी वा मौसमसम्बन्धी अन्य विपत्तिहरू हुनसक्छन्।”
प्रदूषण समस्याको गम्भीरताले गर्दा केही त नगरी नहुने भएको छ। तर गर्ने के?