स्वीकार्य समाधानहरूको खोजमा
प्रदूषणको कारण गाडीहरू मात्रै होइनन्। निजी घर, औद्योगिक कारखाना र जलविद्युत् परियोजनाहरू पनि त्यत्तिकै जिम्मेवार छन्। तैपनि, गाडीहरूले विश्वभरि अत्यधिक मात्रामा प्रदूषण गर्छन्।
वास्तवमा, ग्रहलाई बचाउन ५००० दिन पुस्तक यसो भन्ने आँट गर्छ: “गाडीहरूको उत्पादन र सञ्चालन अनि विशेषगरि त्यसले फ्याँक्ने कार्बन डाइअक्साइडबाट वायुमण्डलमा पर्ने प्रभावलाई केलाएको भए गाडीहरू कहिल्यै निर्माण हुनेथिएनन् होला।” तर जे होस्, यसले यो स्वीकार्छ: “गाडी उत्पादक, सडक निर्माण उद्योग, सरकारी निकाय तथा निजी सवारीसाधनमा निकै भर पर्ने आमजनता पनि यो विकल्पबारे सोच्नसमेत तयार छैनन्।”
मानिसलाई चन्द्रमासम्म पुऱ्याउने प्रविधिले प्रदूषणमुक्त गाडी पनि बनाउनुपर्ने होइन र? भन्नु सजिलो छ तर गर्नु असाध्यै गाह्रो। त्यसैले प्रदूषणमुक्त गाडीको विकास नहोऊञ्जेल स्वीकार्य समाधानको खोज कायमै रहनेछ।
प्रदूषकहरू कम गर्ने
सन् १९६० को दशकमा संयुक्त राज्यले गाडीहरूबाट निस्कने प्रदूषकहरूलाई कम गर्ने उपकरण जडान गर्नुपर्ने कानुन पारित गऱ्यो। त्यस समयदेखि अन्य देश तथा सरकारहरूले पनि त्यसै गरेका छन्।
हानिकारक प्रदूषकहरूलाई छान्न अहिले व्यापक तवरमा उत्प्रेरक उपकरण प्रयोग गरिन्छ र त्यसमा सिसा नमिसाएको पेट्रोल चलाउनुपर्छ। सन् १९७६ देखि १९८० बीच धेरै सवारीचालकहरूले सिसा नमिसाएको पेट्रोल प्रयोग गर्न थालेपछि अमेरिकीहरूको रगतमा सिसाको परिमाण एक तिहाइ कम भयो। अनि त्यसो हुनु राम्रो हो किनभने सिसाको अत्यधिक परिमाणले स्नायु प्रणालीलाई असर गरेर सिक्ने क्षमतालाई बाधा पुऱ्याउनसक्छ। तथापि, दुःखको कुरा, अधिकांश विकसित देशहरूमा सिसाको परिमाण कम भए तापनि अल्प विकसित मुलुकहरूमा भने त्यसो हुन सकेको छैन।
उत्प्रेरक उपकरणको सफलता सन्तोषजनक भए तापनि त्यसको प्रयोग अझै विवादास्पद छ। सिसा नमिसाउँदा गाडीको कार्यक्षमता कम हुने भएकोले पेट्रोलको हाइड्रोकार्बन संरचना हेरफेर गरियो। फलस्वरूप बेन्जीन र टुलिनजस्ता क्यान्सरकारकहरू बढी मात्रामा निस्कन्छन् र यसलाई उत्प्रेरक उपकरणले कम गर्दैन।
त्यसको अलावा, उत्प्रेरक उपकरणलाई प्लाटिनम चाहिन्छ। बेलाइतको इम्पेरियल कलेजका प्राध्यापक इयेन थर्न्टनअनुसार त्यसले पैदा गर्ने एउटा प्रतिकूल असर, सडकछेउ थुप्रिने धूलोमा प्लाटिनमको परिमाणमा वृद्धि हो। उक्त प्राध्यापकले “भोजन चक्रमा प्लाटिनमको घोल्य पदार्थ पस्नसक्ने” सम्भाव्यताबारे चेताउनी दिएका थिए।
ग्रहलाई बचाउन ५००० दिन पुस्तकले यथार्थलाई यसरी स्वीकार्छ, “उत्तर अमेरिका, जापान, दक्षिण कोरिया र केही युरोपेली देशहरूमा उत्प्रेरक उपकरणको” सफलताको बावजूद “संसारभरि गाडीहरूको संख्यामा भएको अत्यधिक वृद्धिले गुणस्तरीय वायुका लाभहरूलाई पूर्णतया नगण्य तुल्याएको छ।”
बिस्तारै हाँक्ने
सवारीसाधनबाट निस्कने धुवाँ कम गर्ने अर्को तरिका बिस्तारै हाँक्नु हो। तर, संयुक्त राज्यका केही प्रान्तहरूले गति सीमालाई हालै बढाएका छन्। जर्मनीमा त्यससम्बन्धी प्रतिबन्धहरू लगाउनु लोकप्रिय कुरा होइन। गाडी निर्माताहरूले प्रतिघण्टा १५० किलोमिटरको गति कायम गर्नसक्ने शक्तिशाली इन्जिनलाई व्यापार प्रवर्धनको माध्यमको रूपमा चलाउँछन्। यी निर्माताहरू र अधिकांश चालकहरूले न्यून गति सीमालाई विरोध गर्नु स्वाभाविकै हो। तथापि, वातावरणीय कारणको लागि मात्र नभई सुरक्षाको खातिर हाल अधिकतम जर्मनहरू गति सीमा स्वीकार्न इच्छुक भएझैं देखिन्छ।
प्रदूषणको घनत्व अस्वीकार्य तहसम्म पुगेपछि केही देशहरूमा सवारी चालकहरूले बिस्तारै हाँक्न वा सवारी चलाउनै बन्द गर्नुपर्ने अवस्था आउनसक्छ। सन् १९९५ को सर्वेक्षणअनुसार ओजोनको सतह अत्यधिक भएमा ८० प्रतिशत जर्मनहरू गति सीमालाई स्वीकार्न सहमत हुनेछन्। एथेन्स र रोमलगायत संसारभरिका अनगिन्ती शहरहरूले केही अवस्थाहरूमा गाडी चलाउनै कम गर्न थालिसकेका छन्। अरूले पनि त्यसै गर्नेतर्फ सोचिरहेका छन्।
साइकल प्रयोग गर्ने
सवारीसाधन कम गर्न केही शहरहरूले बस यातायातमा विशेष सहुलियत दरको प्रबन्ध गरेका छन्। अन्य शहरहरूले भने अलिकता मात्र पैसा तिरेर उपलब्ध स्थानमा गाडी पार्क गर्ने चालकहरूका लागि निश्शुल्क बस सेवा प्रबन्ध गरेका छन्। अरू कतिपय शहरहरूले त्यसप्रकारका यातायात सुविधाहरूलाई छरितो बनाउन बस र ट्याक्सीहरूका लागि मात्रै सडकको एक छेउ छुट्याएका छन्।
उक्त समस्या सामना गर्ने नौलो तरिकाबारे दी युरोपियन-मा हालै यस्तो टिपोट गरियो: “सन् १९६० दशकको अन्ततिर नेदरल्याण्डस्मा थालिएको अभियानबाट उत्प्रेरित उद्यमी डेनमार्कवासीहरूले मानिसहरूलाई चार पाङ्ग्रेको साटो दुइ पाङ्ग्रे प्रयोग गर्न आग्रह गरेर वायु प्रदूषण तथा सवारी भीड कम गर्ने योजना बनाएका छन्।” कोपेनहेगन- स्थित सडकका विभिन्न ठाउँहरूमा साइकलहरू राखिएका छन्। एउटा यन्त्रमा सिक्का खसालेपछि प्रयोगको लागि साइकल उपलब्ध हुन्छ। सुविधाजनक ठाउँमा साइकल फर्काएपछि उक्त धरौटी फिर्ता पाइन्छ। यो योजना व्यवहारिक तथा लोकप्रिय होला कि नहोला, त्यो त समयले बताउनेछ।
गाडीको साटो साइकल प्रयोग गर्ने प्रोत्साहन दिन केही जर्मन शहरहरूले एकतर्फी बाटोमा पनि विपरीत दिशातिर साइकल चलाउने अनुमति दिएका छन्! शहरभित्र एक तिहाइ जति र ग्रामीण क्षेत्रहरूमा एक तिहाइभन्दा बढी यात्राहरू तीन किलोमिटरभन्दा कम हुने भएका हुँदा अधिकांश नागरिकहरूले हिंडेर वा साइकलमा सजिलै आवतजावत गर्नसक्छन्। यसले प्रदूषण कम गर्न मदत दिनुका साथै चालकहरूले पनि आवश्यक व्यायाम पाइरहेका हुनेछन्।
नयाँ ढाँचा बनाउने
प्रदूषणमुक्त सवारीसाधन बनाउने कार्य जारी छ। ब्याटरीबाट चल्ने विद्युतीय गाडीहरू निर्माण भएका छन् तर त्यसको गति र समयावधि सीमित छ। सौर्यशक्तिद्वारा सञ्चालित गाडीहरूको कुरा पनि त्यही हो।
जाँचपड्ताल गरिएको अर्को विकल्प, इन्धनको रूपमा हाइड्रोजनको प्रयोग हो। हाइड्रोजनले कुनै पनि प्रकारका प्रदूषकहरू पैदा गर्दैन तर त्यो साह्रै महँगो पर्छ।
सवारीसाधनको नयाँ ढाँचा आविष्कार गर्नुपर्ने खाँचोलाई बुझेर सन् १९९३ मा सं.रा.-का राष्ट्रपति क्लिन्टनले घोषणा गरेअनुसार सरकार तथा सं.रा.-को सवारी उद्योगले भविष्यको लागि नयाँ ढाँचाको गाडी निर्माण गर्न एकअर्कालाई सहयोग गर्नेछन्। तिनले यसो भने: “हामी प्राविधिक तवरमा यस्तो साहसिक कार्य थाल्ने सुरमा छौं, जुन कुरा हाम्रो राष्ट्रले पहिले कहिल्यै आँटेको थिएन।” तिनले बताएअनुसार “२१औं शताब्दीको लागि असाध्यै कार्यकुशल अनि प्रकृति र प्राणीबीच अनुकूल सवारीसाधन सृजनु” सम्भव होला नहोला, हेर्नु बाँकी नै छ। एक दशकभित्र त्यो प्रथम नमुनाजस्तै गाडी उत्पादन गर्ने लक्ष्य छ तर त्यो असाध्यै महँगो पर्नेछ।
केही गाडी निर्माताहरू पेट्रोल तथा विद्युत्को सम्मिश्रणमा चल्ने नमुनाहरू बनाउन तल्लीन छन्। यो जर्मनीमा उपलब्घ भइसक्यो तर असाध्यै महँगो छ र यस दुइ जना मात्र बस्न मिल्ने, विद्युत्द्वारा सञ्चालित सानो गाडीले नौ सेकेण्डभित्रै गति हासिल गरेर प्रतिघण्टा १०० किलोमिटरको दूरी पार गर्नसक्छ र प्रतिघण्टा १८० किलोमिटर पार गर्ने गाडी बनाउने लक्ष्य राखिएको छ। तर २०० किलोमिटरपछि ब्याटरीको कार्यक्षमता सिद्धिन्छ र रोकिन्छ अनि त्यसमा तीन घण्टा विद्युत् प्रवाह गरेपछि पुनः प्रयोग गर्न सकिन्छ। अनुसन्धान जारी छ र थप प्रगतिको आशा गरिन्छ।
समस्याको एक छेउ मात्रै
विषाक्त धुवाँहरू हटाउनु समस्याको एक छेउ मात्रै हो। गाडीहरूले ध्वनि प्रदूषण पनि गर्छन् र यो कुरा असाध्यै भीड सडकको छेउमा बस्ने जोसुकैलाई थाह भएकै कुरा हो। सवारीसाधनको एकोहोरो आवाजले स्वास्थ्यमा प्रतिकूल असर पार्नसक्ने भएकोले यस प्राथमिक समस्याको पनि समाधान हुनुपर्छ।
प्रकृतिप्रेमीहरूले कुन कुरालाई औंल्याउनेछन् भने, ग्रामीण क्षेत्रको प्राकृतिक सौन्दर्यलाई किलोमिटरौं लामो कुरूप राजमार्गहरू र सडक छेउतिरका व्यापारिक थलो तथा विज्ञापन पाटीहरूले बिगार्छन्। तर गाडीहरूको संख्या बढ्दै गएपछि धेरै सडकहरूको खाँचो पर्छ नै।
केही सवारीसाधनहरूले चालू अवस्थामा वर्षौं प्रदूषण गरेर “थोत्रा” भइसकेपछि पनि प्रदूषण गरिरहन्छन्। हेर्दै दिक्क लाग्ने, ती थन्किएका थोत्रा गाडीहरू पनि समस्यै भइसके। त्यसकारण ग्रामीण क्षेत्रहरूमा अनावश्यक तवरले थोत्रा गाडीहरू नथुपार्न केही ठाउँहरूमा त्यससम्बन्धी कानुन पारित गर्नुपऱ्यो। के सजिलै पुनः प्रयोग गर्न सकिने सामग्रीहरूबाट त्यस्तो आदर्श सवारीसाधन कहिल्यै निर्माण गर्न सकिएला? त्यस्तो साधन कतै देखिंदैन।
हालैको एउटा अखबारले यस्तो टिप्पणी गऱ्यो, “अधिकांश जर्मनहरू वातावरणबारे असाध्यै चिन्तित छन्” र अझै यसो भन्यो, “तर थोरैले मात्र त्यसअनुरूप केही गर्छन्।” एक सरकारी अधिकृतको यो भनाइ उद्धरण गरिन्छ: “कसैले आफूलाई दोषी ठान्दैनन् र जिम्मेवारी वहन गर्न कोही इच्छुक छैनन्।” हो, “स्वार्थी” तथा “खुशी नहुने” मानिसहरू भएको संसारमा समस्याहरू समाधान गर्न गाह्रो छ।—२ तिमोथी ३:१-३.
तैपनि, स्वीकार्य समाधानको खोज जारी छ। प्रदूषण तथा सवारीसाधनको आदर्श समाधान भेटिएला र?
[पृष्ठ ७-मा भएको चित्र]
सार्वजनिक यातायात सेवा, पालैपालो निजी गाडीमा अरू यात्रुहरू ओसारपसार गर्ने प्रबन्ध वा साइकल प्रयोग गरेर प्रदूषण कम गर्न सकिन्छ होला?