के हामी हाम्रा जीनहरूद्वारा पूर्वनिर्धारित छौं?
“हाम्रो भाग्य ताराहरूले निर्धारण गर्छन् भनेर सोच्थ्यौं। अहिले, हाम्रो भाग्य जीनहरूले धेरै हदसम्म निर्धारण गर्छन् भनेर हामीलाई थाह छ।” यसरी जेम्स वाटसनको भनाइलाई जीन मिथ्यालाई भताभुंग पार्ने पुस्तकको थालनीमा रूथ हब्बार्ड र ईलाइजा वाल्डले उद्धृत गरे। तथापि, वाटसनको भनाइलाई उद्धृत गरेको तुरुन्तैपछि आर. सी. लिवोन्टन, स्टिभन रोज र लीओन जे. कामेनको यस भनाइलाई उद्धृत गरिएको छ: “व्यवहारलाई सामाजिक अवस्थाहरूले हेरफेर गर्न नसक्नेगरि कुनै महत्त्वपूर्ण मानव सामाजिक व्यवहार हाम्रा जीनहरूभित्र सृजना हुन्छ भनेर हामी सोच्न पनि सक्तैनौं।”
त्यस पुस्तकका केही विषयवस्तुहरू देखाइएको आवरणले यो जटिल प्रश्न खडा गर्छ, “के मानव व्यवहार जनन प्रक्रियाद्वारै निर्धारित हुन्छ?” अर्को शब्दमा भन्ने हो भने, के जन्मजात जैविक विशेषताहरू र जीवका लक्षणहरू सार्ने जीनहरूद्वारा मानव व्यवहार पूर्णतया निर्धारित हुन्छ? के कुनै कुनै अनैतिक व्यवहारलाई जनन प्रक्रियाको आधारमा स्वीकार्य ठान्नुपर्छ त? के जनन प्रक्रिया संरचनाको कारण अपराध गरेका हुन् भन्ने आधारमा अपराधीहरूलाई व्यवहार गरिनुपर्छ? अनि दोष कम भएको दाबी गर्न जनन प्रक्रियाद्वारा अघिबाटै प्रवृत्त भएको थियो भनेर भन्न सकिन्छ?
यस शताब्दीमा वैज्ञानिकहरूले थुप्रै लाभदायी अनुसन्धानहरू गरेको तथ्यलाई नकार्न सकिन्न। यी अनुसन्धान- हरूमध्ये अद्भुत डीएनए अर्थात् हाम्रो जनन प्रक्रियाको बनावटको तथाकथित रूपरेखा एउटा हो। जनन प्रक्रियाको संरचनामा पाइने जानकारीले वैज्ञानिकहरूका साथै सर्वसाधारणमा जिज्ञासा उत्पन्न गराएको छ। जनन प्रक्रियाहरूबारे अनुसन्धानले वास्तवमा के खोज गरेको छ? पूर्वयोजना वा पूर्वनिर्धारणको आधुनिक सिद्धान्तको समर्थन गर्न अनुसन्धानबाट प्राप्त कुराहरूलाई कसरी प्रयोग गरिन्छ?
अवफादारी र समलैंगिकताबारे के भन्न सकिन्छ?
दि अस्ट्रेलियन-मा प्रकाशित लेखअनुसार जनन प्रक्रियाबारे केही अनुसन्धानले यसरी बताउँछ, “अवफादारी जीनहरूले गर्दा हुन्छ। . . . हाम्रो छली हृदय त्यस प्रकारले पूर्वनिर्धारित हुन्छ जस्तो देखिन्छ।” स्वच्छन्द यौन सम्पर्क राख्ने जीवनपद्धतिको लागि कम दोषी भएको दाबी गर्न चाहनेलाई उम्कने उपाय दिंदै वैवाहिक जीवन र परिवारहरूलाई भताभुंग पार्नसक्ने यो झुकाउ कत्ति नष्टकारी छ, कल्पना गर्नुहोस् त!
समलैंगिकताबारे न्युजवीक पत्रिकाको शीर्षसमाचार यस्तो थियो, “जन्मसिद्ध प्राप्त वा आर्जन गरेको?” त्यस लेखले बतायो: “समलैंगिकता आमाबाबुले पालनपोषण गर्दा नभई जनन प्रक्रियाको कारणले गर्दा हुनसक्छ भनेर बताउने नयाँ अनुसन्धानलाई बुझ्न विज्ञान र मनोविज्ञान संघर्षरत छन्। . . . समलैंगिकता क्रोमोजोमहरूमै सुरु हुन्छ भनेर समलिंगी समुदायका थुप्रैले सहर्ष स्वीकार्छन्।”
त्यसपछि डा. रिचर्ड पिलर्डको यस भनाइ उक्त लेखमा उद्धृत गरिएको छ: “कुनै व्यक्तिको यौन झुकाउ जीनहरूद्वारा नियन्त्रित हुन्छ भने, ‘यो त्रुटि होइन र त्यसमा तपाईंको दोष छैन।’” यस “दोष छैन” भन्ने तर्कलाई टेवा दिंदै समलैंगिकतासम्बन्धी अनुसन्धानकर्ता फ्रेडरिक विटम यस्तो टिप्पणी गर्छन्, “समलैंगिकताको जैविक कारण छ भन्दा मानिसहरूले चैनको श्वास फेर्छन्। यसबाट परिवार र समलिंगीहरूले दोषबाट छुटकारा पाएको महसुस गर्छन्। यसको अतिरिक्त, समाजले समलिंगी शिक्षकहरूजस्ता कुराहरूबारे चिन्ता लिनु पर्दैन।”
कहिलेकाहीं जीनहरूद्वारा समलैंगिक झुकाउहरू निर्धारित हुन्छन् भन्ने तथाकथित प्रमाणलाई सम्भाव्यता र अनिश्चितताको रूपमा होइन तर तथ्यपूर्ण र निश्चित कुरा जस्तैगरि सञ्चार माध्यममा प्रस्तुत गरिन्छ।
द न्यु स्टेट्स्म्यान एण्ड सोसाइटी पत्रिकाले अनुसन्धानसम्बन्धी असल प्रतिवेदनलाई यसरी भताभुंग पार्छ: “भ्रमित पाठकले साँचो भौतिक प्रमाणको सतहीपन वा वास्तवमा स्वच्छन्द यौन सम्पर्क ‘पुरुष जीनहरूमा निहित भएर पुरुष मस्तिष्कमा सुनियोजित भएको हुन्छ’ भन्ने ठोस [प्रत्यक्ष] वैज्ञानिक दाबी पूर्णतया निराधार भएको कुरालाई राम्ररी याद गरेका छैनन् होला।” डेभिड सुजुकी र जोसेफ लेभिनले तिनीहरूको पुस्तक जनन प्रक्रिया व्यवस्थाको रहस्य प्रकट गर्ने-मा (अंग्रेजी) जनन प्रक्रियाबारे हालैको अनुसन्धानमा आफ्नो चिन्तन यसरी थप्छन्: “साधारण अर्थमा जीनहरूले व्यवहारमा प्रभाव पार्छन् भनेर तर्क गर्नु असम्भव कुरा होइन। यद्यपि, प्राणीले आफ्नो वातावरणप्रति देखाउने प्रतिक्रियाको निश्चित कुराहरूलाई निश्चित जीन वा जोडी जीन वा जीनहरूको समूहसमेतले साँच्चै नियन्त्रण गर्छ भनेर देखाउनु बिल्कुलै भिन्नै कुरा हो। यस सन्दर्भमा कडा आणविक अर्थमा पत्ता लाउने वा हेरफेर गर्ने र निश्चित व्यवहारहरूलाई असर गर्ने डिएनएको कुनै पनि श्रृंखला कसैले पत्ता लगाएका छन् कि भनेर सोध्नु बेस हो।”
मतवालापन र अपराधिक जीनहरू
मतवालापनसम्बन्धी अध्ययनले वर्षौंदेखि जनन प्रक्रियाका अनुसन्धानकर्ताहरूलाई आकर्षित गरेको छ। केही जीनहरू हुनु र हराउनुमा मतवालापनको भूमिका रहेको कुरा अध्ययनहरूले देखाएका छन् भनेर केहीले दाबी गर्छन्। उदाहरणका लागि, द न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिन-ले सन् १९८८ मा यस्तो प्रतिवेदन पेश गऱ्यो, “गत दशकमा गरिएका तीन बेग्लाबेग्लै जाँचहरूले मतवालापन वंशानुगत लक्षण हो भन्ने निश्चित प्रमाण निकालेका छन्।”
तथापि, जैविक कारकहरूले मतवालापनलाई प्रभावित गरेको हुन्छ भन्ने दृष्टिकोणलाई दुर्व्यसनसम्बन्धी केही विशेषज्ञहरूले अहिले चुनौती दिइरहेका छन्। सन् १९९६, अप्रिल ९ को द बोस्टन ग्लोब-को प्रतिवेदन यस्तो छ: “मतवाला हुन लाउने जीन देखिंदैन र केही अनुसन्धानकर्ताहरू के स्वीकार्छन् भने मानिसहरूलाई मतवाला हुन पूर्वनिर्धारित गर्ने लक्षण अर्थात् मात नलागी अग्घोरै पिउन लाउने जनन प्रक्रियाको कमजोरीलाई तिनीहरूले सम्भवतः भेट्टाउनेछन्।”
मेरील्याण्डको विश्वविद्यालयमा सम्पन्न “जनन प्रक्रिया तथा अपराधिक व्यवहारसम्बन्धी अनुसन्धानको अर्थ र महत्त्व” विषयक सम्मेलनबारे द न्यु योर्क टाइम्स-ले प्रतिवेदन दियो। अपराध गर्न लाउने जीनबारे प्रस्तुत धारणा आकर्षक र साधारण छ। थुप्रै टिप्पणीकारहरू त्यस प्रवृत्तिलाई समर्थन गर्न उत्सुक भएका देखिन्छन्। खराबी “गर्भधारणमा आमाबाबुले हामीलाई सार्ने क्रोमोजोमहरूको झुन्डमा जडेको” हुनसक्छ भनेर एक विज्ञान लेखकले द न्यु योर्क टाइम्स-मा लेखे। अपराधको जाँच गर्न जीनहरूबारे लगातार छलफल गर्दा “सामान्य कारण अर्थात् मस्तिष्कको असामान्यता[ले]” गर्दा अपराध हुन्छ भन्ने विचार सृजना हुन्छ भनेर द न्यु योर्क टाइम्स-को एउटा लेखले बतायो।
कुन बच्चाहरू हिंसात्मक झुकाउका छन्, सो जनन प्रक्रियाको जाँचहरूद्वारा पत्ता लगाइने समय आउनेछ भनेर हाभार्ड मनोवैज्ञानिक जेरम केगन अग्रिमवाणी गर्छन्। सामाजिक सुधार गरेर भन्दा जैविक हेरफेरद्वारा अपराध नियन्त्रणको आशा गर्न सकिन्छ भनेर केही मानिसहरू बताउँछन्।
व्यवहारको लागि जनन प्रक्रियाको आधारसम्बन्धी यी अडकलबाजीहरूको प्रतिवेदन अक्सर अस्पष्ट र अनिश्चित हुन्छ। जनन प्रक्रियाको कारणले निराशा उत्पन्न हुन्छ भन्ने प्रमाण भेट्टाएको बताउने व्यवहारसम्बन्धी जनन प्रक्रियावादी वैज्ञानिक, लिंकन ईभ्सको अध्ययनबारे जीन मिथ्यालाई भताभुंग पार्ने पुस्तकले बताउँछ। सर्वेक्षणपछि स्त्रीहरू निराशित हुने झुकाउका हुन्छन् भन्ठान्दै ईभ्स भन्छन्, “[स्त्रीहरूको] नैराश्य दृष्टिकोण र आचरणले गर्दा यस्ता निरुद्देश्य कठिनाइहरू सम्भवतः धेरैजसो भएको होला।” यी “निरुद्देश्य कठिनाइहरू” के हुन्? अध्ययन गरिएका स्त्रीहरूमा “बलात्कृत भएका र आक्रमण गरिएका वा जागिर खोसिएकाहरू” थिए। त्यसो भए, निराशाले गर्दा यी पीडादायी घटनाहरू भएका हुन् त? “त्यो कस्तो तर्क हो?” भनी प्रश्न गर्दै पुस्तकले अझ यसो भन्छ, “स्त्रीहरू बलात्कृत भएका, आक्रमण गरिएका वा जागिर खोसिएकाले निराश थिए। तिनीहरूले जति धेरै पीडादायी घटनाहरू भोगे, त्यति नै तिनीहरूको निराशा पनि गहिरिएका थिए। . . . जीवनको कुनै पनि अनुभवसित निराशा सम्बन्धित नभएको उनले [ईभ्स] भेट्टाएको भए जनन प्रक्रिया सम्बन्धतिर दृष्टि फेर्नु उचित हुनसक्थ्यो होला।”
प्रकाशनले के भन्छ भने, यी कथाहरू “[व्यवहारसम्बन्धी] जनन प्रक्रियाहरूबारे अन्य समाचार माध्यम र वैज्ञानिक पत्रिकाहरू दुवैमा दिएका हालैका प्रतिवेदनको प्रतीकात्मक रूप” हुन्। ती कथाहरूमा चासोपूर्ण तथ्यहरूको समिश्रण, निराधार अनुमानहरू र हाम्रो जीवनमा जीनहरूको महत्त्वबारे बढाइचढाइ लेखिएका आधारहीन कुराहरू समावेश छन्। यस लेखोटबारे निकै अचम्मलाग्दो कुरा यसको अस्पष्टता हो।” यसले अझ भन्छ: “मेण्डेलको आनुवंशिक नमुना पालन गर्ने अवस्थाहरूसित जीनहरू मिलाउनु र अर्बुद रोग वा उच्च रक्तचापजस्ता जटिल अवस्थाहरूबारे बताउन परिकल्पित जनन प्रक्रियाद्वारा हुने ‘झुकाउहरू’ प्रयोग गर्नुबीच ठूलो भिन्नता छ। जनन प्रक्रियाबारे अनुसन्धानले मानव व्यवहारहरूबारे बताउन मदत गर्नसक्छ भनेर बताउँदै वैज्ञानिकहरू झट्ट निष्कर्षमा पुग्छन्।”
तथापि, अगाडि छलफल गरिसकेका कुराहरूलाई नियाल्दा अक्सर खडा हुने यी प्रश्नहरूको जवाफ पाउन अझ बाँकी नै छ: किन हामी समय समयमा व्यवहार नमुनाहरू हाम्रो जीवनमा परिवर्तन भएको पाउँछौं? अनि हामी यस्ता परिस्थितिहरूलाई कसरी नियन्त्रण गर्छौं? कसरी हामी आफ्नो जीवनलाई नियन्त्रण गर्छौं र यसलाई कायम राख्छौं? यी प्रश्नहरूको केही जवाफ दिन यसपछिको लेख मदतकारी साबित होला।
[पृष्ठ ६-मा भएको पेटी/चित्र]
के जीन उपचारका प्रत्याशाहरू पूरा भएका छन्?
जीन उपचार अर्थात् रोगीहरूको जनन प्रक्रियाद्वारा जन्मगत आएका रोगहरू निको पार्न तिनीहरूलाई सुई लगाएर सुधारक जीनहरू दिइने उपचारबारे के भन्न सकिन्छ? केही वर्षअघि वैज्ञानिकहरूले यसबारे उच्च प्रत्याशाहरू साँचेका थिए। “जीन उपचार गर्ने उचित समय के यही हो?” उक्त प्रश्न गर्दै सन् १९९५, डिसेम्बर १६ को दि इकनमिस्ट बताउँछ: “जीन उपचारकहरूको सार्वजनिक भनाइहरू र अधिक समाचारहरू जाँचेर तपाईं पनि त्यस्तै सोच्नुहुन्छ होला। तर अमेरिकी वैज्ञानिक विशेषज्ञहरूको समूह सहमत छैन। स्वास्थ्यसम्बन्धी राष्ट्रिय संस्थाहरूका (एनआइएच) प्रमुख हेरोल्ड भर्मसले १४ जना सुविख्यात वैज्ञानिकहरूलाई जीन उपचारबारे पुनरावलोकन गर्न लगाए। सात महिनाको गहन चिन्तनपछि तिनीहरूले गत हप्ता प्रकाशित प्रतिवेदनमा के बताए भने, जीन उपचार सफल हुने खालको देखिए तापनि वर्तमान समयसम्म यो पूरा हुन्छ भनेर बढाइचढाइ कुरा गरिएको छ।” एडिनोसिन डीमिनेसको (एडीए) कमी वा अन्य दर्जनौं रोगहरूमध्ये कुनै एउटाले पीडित ५९७ रोगीहरू समावेश गरेर जाँच्दा जीनहरू थपेर उपचार गर्नु उचित हो भनेर सोचिएको थियो। दि इकनमिस्ट बताउँछ, “त्यस समूहको भनाइअनुसार यस्तो परीक्षणबाट एक जना रोगी पनि लाभान्वित भएको सुनिएको छैन।”
[पृष्ठ ७-मा भएको चित्र]
केहीले जनन प्रक्रियाद्वारा हुने पूर्वझुकाउको दाबी गरे बावजूद मानिसहरू आफ्नो कार्य छनौट गर्नसक्छन्