“यो मेरो गल्ती होइन”
आजकल मानिसहरूले ‘माफ गर्नुहोला। मेरो गल्ती भयो। दोष मेरै हो’ भनेको कत्तिको सुन्नुहुन्छ? यस्तो इमानदार बोली हतपत सुनिंदैन। वास्तवमा, कतिपय अवस्थाहरूमा गल्ती स्वीकारिहाल्यो भने पनि अरू कसैलाई वा माफी दिन मिल्ने किसिमको परिस्थितिमाथि दोष थोपर्दै गल्ती गर्नेले त्यसमा आफ्नो नियन्त्रण नभएको दाबी गर्छन्।
केहीले त आफ्नो त्यस्तो कार्यको दोष सोझै आफ्ना जीनहरूलाई लाउँछन्! तर के यो पत्याउन सकिने कुरा हो? जीन मिथ्यालाई भताभुंग पार्ने (अंग्रेजी) पुस्तकले जीन अनुसन्धानका केही पक्षहरूको लक्ष्य तथा प्रभावकारितामाथि प्रश्न खडा गर्छ। आफ्नो पुस्तकको पुनरावृत्तिमा अष्ट्रेलियाका पत्रकार बिल डियन यस्तो विचारपूर्ण निष्कर्ष पोख्छन्: “कोही पनि आफ्ना कार्यहरूका लागि जवाफदेही छैन: ‘महाशय, तिनी जीनद्वारा नियन्त्रित छन्। त्यसैकारण तिनले उनको घाँटी छिनाल्यो’ भन्ने आफ्नो दर्शनलाई समर्थन गर्ने प्रायजसो अचूक प्रमाण भर्खरै फेला पऱ्यो भनेर सामाजिक निर्णयवादीहरूले विश्वास गर्न थालेको देखिन्छ।”
वास्तवमा नौलो कुरा होइन
द्रुत गतिमा बढिरहेको यस पुस्तालाई एक जना लेखकले “म त होइन” पुस्ता नामकरण गर्छन्। र यस पुस्तासितै अरूलाई दोष लगाउने मनोवृत्ति तीव्र होला जस्तो देखिन्छ। तथापि, सुरुआतदेखि नै मानिसले “म साँच्चै दोषी होइन” भनेर बहाना बनाउँदै र अरूमाथि दोष थोपर्दै आएको कुरा इतिहासको विवरणले देखाउँछ। परमेश्वरले निषेध गर्नुभएको फल आदम र हव्वाले खाएर पाप गरेपछि तिनीहरूले देखाएको प्रतिक्रिया नै अरूलाई दोष लगाउनुको मूल उदाहरण थियो। त्यहाँ भएको वार्तालापमा परमेश्वरले यसो भन्नुभयो भनेर उत्पत्तिको विवरणले बताउँछ: “‘जुन रूखको फल नखानू भनी मैले तँलाई आज्ञा दिएको थिएँ के तैंले त्यो खाइस्?’ अनि मानिस[ले] भने, ‘जुन स्त्री तपाईंले मलाई मसँगै रहन भनी दिनुभएको थियो त्यसैले मलाई त्यो रूखको फल दिई, र मैले खाएँ।’ अनि परमप्रभु परमेश्वरले स्त्रीलाई भन्नुभयो, ‘तैंले यो के गरिस्।’ स्त्रीले भनिन्, ‘साँपले पो मलाई छल गऱ्यो, र मैले त्यो खाएँ।’”—उत्पत्ति ३:११-१३.
त्यसै समयदेखि मानवहरूले विभिन्न प्रकारका विश्वासहरू प्रतिपादन गरे र आफ्ना कार्यहरूबाट आफूलाई दोषमुक्त पार्नसक्ने असामान्य बहानाहरू खोजेका छन्। यीमध्ये भाग्यप्रतिको पुरातन विश्वास उल्लेखनीय थियो। कर्ममा निष्पकटतासाथ विश्वास गर्ने एक बौद्धमार्गी स्त्रीले भनिन्: “मैले जन्मजात पाएको तर त्यसबारे मलाई केही थाह नभएको कुनै कुराको लागि पीडा भोग्नु बेकार जस्तो लाग्थ्यो। मैले त्यसलाई भाग्यको रूपमा स्वीकार्नु पर्थ्यो।” जोन काल्भिनले सिकाएको पूर्वनिर्धारणको सिद्धान्त फस्टाएझैं भाग्यप्रतिको विश्वास पनि मसीहीजगत्मा व्याप्त छ। दुर्घटना हुँदा त्यो परमेश्वरकै इच्छा हो भनेर पादरीहरूले त्यस दुर्घटनामा पर्ने व्यक्तिका आफन्तहरूलाई अक्सर भन्ने गर्छन्। साथै असल मनसाय भएका केही मसीहीहरूले पनि आफ्नो जीवनमा नराम्रो परिस्थिति आइपर्दा सबै दोष शैतानमाथि थोपर्छन्।
अब हामी कानुनी र सामाजिक तवरमा अनुमोदित दोषरहित व्यवहारबारे साक्षी दिन सुरु गरिरहेका छौं। हामी यस्तो युगमा बाँचिरहेका छौं जहाँ व्यक्तिविशेषको अधिकार बढ्दो र जिम्मेवारी घट्दो छ।
मानव व्यवहारसम्बन्धी अनुसन्धानको परिणामस्वरूप कस्तो प्रत्याशित वैज्ञानिक प्रमाण निक्लेको छ भने, व्यवहारले अनैतिकतादेखि लिएर हत्या गर्नेसम्म स्वतन्त्रता पाउनसक्छ भनेर केही व्यक्तिहरू सोच्छन्। यसले त्यस व्यक्तिबाहेक अरू थोकलाई वा अरू कसैमाथि दोष थोपर्ने सामाजिक उत्सुकतालाई झल्काउँछ।
हामीलाई यस्ता प्रश्नहरूको जवाफ चाहिन्छ: विज्ञानले वास्तवमा के पत्ता लगाएको छ? के हाम्रा जीनहरूले मानव व्यवहारलाई पूर्णतया निर्धारित गर्छन्? वा आन्तरिक र बाह्य दुवै शक्तिहरूले हाम्रो व्यवहार नियन्त्रण गर्छन्? वास्तवमा प्रमाणले के देखाउँछ?