मुगा खतरामा छ र मर्दैछ
उष्ण कटिबन्ध क्षेत्रको महासागर जति स्वच्छ महासागर कतै पनि छैन। निर्मल। स्फटिकजस्तै निलो। पन्ध्र मिटरमुनि त्यो बलौटे पींध त छुनै सकिन्छ जस्तै पो छ! पौडँदा लाउने रबरको जुत्ता र मुखौटा लगाउनुहोस्। न्यानो पानीमा सुत्त पस्दा तपाईंको स्नोर्कल मिलाउनुहोस्। पानीका फोकाहरू उठेर केही क्षण तपाईं देख्न सक्नुहुन्न। त्यसपछि तल हेर्नुहोस्। ऊ त्यहाँ! हेर्नुहोस् त त्यो रातो र निलो प्यारट माछाले कसरी बलौटे पींधको भाग बनेको मुगा टोक्दै र त्यसका टुक्राटाक्रीहरू थुक्दैछ। रातो, पहेंलो, निलो, सुन्तले, बैजनी रंगको इन्द्रेणीजस्तै चमचम चम्कने उष्ण क्षेत्रको माछा एक्कासि देखा पर्छ। जताततै जीवन सक्रिय छ। यसले तपाईंका इन्द्रियहरूलाई नै भावविह्वल तुल्याइदिन्छ।
यो मुगाको जंगल हो। हजारौं भुजाहरू फैलाउँदै यो बलौटे पींधबाट पलायो। त्यसको ठीक अगाडि छ मिटर अग्लाइ र चौडाइको एल्क्हर्न मुगा बडो ठाँटिएर उभिएको छ। केही २३ मिटर पर एल्क्हर्नभन्दा अलि सानो स्टागहर्न मुगाले त आफ्ना मसिना हाँगाहरू फिंजाएर त्यस क्षेत्रलाई जंगलजस्तै बनाएको छ। झट्ट हेर्दा जनावरको सिङजस्तै देखिने यी मुगाहरूको नाउँ कत्ति सुहाउँदो छ! तिनीहरूको हाँगामा माछा र अन्य समुद्री जीवहरू खाना र बास खोज्न आउँछन्।
एक समय मुगा बोटविरुवाहरूबाट बनेको भनिए तापनि ती पलिप भनिने जनावरहरूको समुदाय मिलेर बनेको चूनढुंगा हो भनेर हाल पत्ता लगाइएको छ। अधिकांश पलिपहरू साना हुन्छन् र तिनीहरूको व्यास २.५ सेन्टिमिटरभन्दा कम हुन्छ। मुलायम र श्लेष्माले ढाकिएको शरीर हुने यो मुगा पलिप आफ्नो छिमेकीसित टाँसिन पुग्छ। पलिपहरूले दिउँसो आफ्नो हाडखोर मात्र देखाउने भएकोले त्यो मुगा ढुंगाजस्तै देखिन्छ। तर रात परेपछि त्यसका फैलिएका भुजाहरू बिस्तारै चलमलाउन थाल्दा उक्त ढिस्को मुलायम भुवाजस्तो देखिन थाल्छ र यसरी यसको रूप परिवर्तन हुन्छ। पलिपहरूको हिस्सा भएको त्यो ढुंगे “रूख” सुमद्री पानीबाट निस्केको क्याल्सियम कार्बोनेटले गर्दा आपसमा गाँसिएको तिनीहरूकै साझा हाडखोर हो।
हरेक प्रकारको मुगा समुदायले आफ्नै अनुपम हाडखोर आकृति निर्माण गर्छ। विश्वभरि अद्भुत आकृति, नाप र रंगका ३५० भन्दा धेरै थरिका मुगाहरू छन्। तिनीहरूको जमीनमा पाइने रूख, खम्बा, टेबुल वा छाता मुगाजस्ता समान नाउँ र बगैंचे फूल, जिरी साग, स्ट्रबेरी वा च्याउ मुगाजस्ता बोटविरुवाहरूको जस्तै समान नाउँले ती वस्तुहरूको सम्झना गराउँछ। ऊ त्यो ठूलो मस्तिष्क मुगा देख्नुभयो? किन त्यसलाई उक्त नाउँद्वारा बोलाइन्छ, यो सजिलै बुझ्न सकिन्छ!
यो समुद्रमुनिको जंगल जीवनले भरिभराउ छ। यहाँ सूक्ष्म विरुवादेखि बडेमाका माछा, शार्क, विशाल मोरे बाममाछा र कछुवाहरूजस्ता प्राणीहरूसमेत पाइन्छ। अनि यहाँ तपाईंले कहिल्यै नाउँ नै नसुन्नुभएका चहकिलो पहेंलो क्लाउन माछा, बैजनी बिऊ ग्रेगोरिज्, कालो र सेतो मोरिश आइडल, सुन्तले रंगको ट्रम्पेट माछा, गाढा निलो सर्जन माछा, नीर ह्याम्लेट्स अथवा खैरो र तामा रंगका लायन-माछाहरू छन्। अनि हजाम पसले सानो झिंगे माछा, पोतिएको ठूलो झिंगे माछा वा चट्का रातो बाज माछाबारे चाहिं के भन्न सकिन्छ नि? हरेक रंग, हरेक नाप र हरेक आकृतिका। कुनै सुन्दर त कुनै अचम्मका तर सबै रहरलाग्दा छन्। ऊ त्यहाँ मुगाको खम्बापछाडि लुकेको अक्टोपस हेर्नुहोस् त! त्यो एउटा ठूलो सिपी खोलेर खाँदैछ। भूमिको जंगलमा जस्तै यस समुद्री संसारको वातावरणमा पनि विभिन्न प्रकारका जीवनहरू अन्योन्याश्रित छन् र ती सबै यस जंगलको विविधतामा भर पर्छन्। मुगाको प्रजनन चक्र र नयाँ ढिस्को समुदायहरू निर्माण गर्न महासागरको तरंगमा यात्रा गर्नसक्ने त्यसको क्षमताबारे ब्यूँझनुहोस्! (अंग्रेजी) जून ८, १९९१ को अंकमा विस्तृत विवरण दिइएको छ।
मुगा ढिस्कोहरूले पृथ्वीको सबैभन्दा ठूलो जैविक आकृति बनाएका छन्। तीमध्ये अस्ट्रेलियाको उत्तरपूर्वी तटवर्ती इलाकाको सबैभन्दा ठूलो बाधक श्रेणा पनि एक हो। यो २,०१० किलोमिटरसम्म फैलिएको छ र यसले बेलाइत तथा स्कटल्यान्डलाई सँगै गाभ्दा बन्ने जत्रो इलाका ढाकेको छ। मुगाको तौल केही टनसम्म हुनसक्छ र यो महासागरको पींधबाट नौ मिटरभन्दा माथिसम्म उठ्नसक्छ। गहिराइ नभएको जस्तोसुकै उष्ण पानीमा ६० मिटरभन्दा माथि मुगा ढिस्को हुर्कन्छ। तिनीहरूको गुन इलाकाअनुसार फरक फरक हुन्छ। त्यसैकारण मुगाको टुक्रालाई जाँचेर नै विशेषज्ञहरूले मुगा हुर्केको महासागर बताउनसक्छन् र ठाउँसमेत तोक्नसक्छन्। सीमित पोषक तत्त्वहरू भएको पानी मुगा ढिस्को हुर्कन सुहाउँदो वातावरण हो। त्यसैकारण मुगा वरपर महासागर सफा देखिन्छ। मुगा ढिस्कोलाई चाहिने पोषक तत्त्व पलिपको पारदर्शी शरीरमा हुने परजीवीहरू र मुगाका भुजाहरूमा अल्झिएका सूक्ष्म जीवहरूमा हुने लेउबाट (वैज्ञानिक नाउँ जूक्सआन्थेल्ये) प्राप्त हुन्छ। यसको परिणामस्वरूप बासको ठेगान नहुने महासागरमा हजारौं समुद्री जीवहरूलाई मुगा ढिस्कोले आश्रय प्रदान गर्छ।
सम्पूर्ण समुद्री इकोसिस्टमहरूमध्ये मुगा ढिस्कोहरू सबैभन्दा छिटो वृद्धि पनि हुन्छन्। यु.एस.न्युज् एण्ड वर्ल्ड रिपोर्ट-ले यसप्रकार वर्णन गऱ्यो: “ढिस्कोहरू समुद्रको उष्ण रेन फोरेस्टहरूजस्तै हुन्। जहाँ प्रचुर मात्रामा जीवित्जीवातहरू छन्। जस्तै: छालझैं बहने समुद्री पंखहरू र स-साना हाँगाहरू भएका समुद्री हाडखोरहरू, प्वाँखैप्वाँख भएका समुद्री जीवहरू, नियोन रंगका माछाहरू र स्पञ्जहरू, सानो झिंगे माछो, ठूलो झिंगे माछा र तारा माछालगायत डरलाग्दा शार्क तथा विशाल बाममाछाहरू। निरन्तर उत्पादन भइरहने मुगामा यिनीहरू सबैको बासस्थान निर्भर छ।” मुगा ढिस्कोहरूले जोडसित छचल्किने छालहरू र किनाराबीच पर्खालजस्तै खडा भएर तथा हजारौं उष्ण टापुहरूको जग भइदिएर थलप्राणीहरूलाई पनि जोगाइरहेका हुन्छन्।
स्वस्थ मुगा खैरो, हरियो, रातो, निलो वा पहेंलो रंगका हुन्छन् र तिनीहरूको रंग मुगा-पलिपको पारदर्शी परजीवीमा हुने लेउको प्रकारमा भर पर्छ। सूक्ष्म लेउहरूले तिनीहरूको सहजीवी मार्फत आउने सूर्यको किरण प्रयोग गर्छन् र कार्बन डाइअक्साइडलगायत पलिपले खेर फाल्ने वस्तुहरू पोषणको लागि सोस्छन्। र त्यसको साटो लेउले प्रकाश संश्लेषण प्रक्रियाअनुसार मुगाका कोषहरूलाई अक्सिजन, खाद्यान्न र शक्ति प्रदान गर्छ। लेउसितको यो साझेदारीले गर्दा मुगा छिटो हुर्कन्छ र कम मात्रामा पोषण भएको पानीमा पनि बाँच्छ। यिनीहरू दुवैले वनस्पतिजगत् र प्राणीजगत्का असल थोकहरूको आनन्द उठाउँछन्। कस्तो निपुण तथा बुद्धिमत्तापूर्ण रचना!
खुइलिएका प्राणरहित हाडखोरहरू
साँच्चि कत्ति चलहपहल छ तल! तर त्यो के हो? खुइलिएका प्राणरहित हाडखोरहरू। हाँगाहरू भाँचिएका छन् र टुक्रिएर झर्दैछन्। कुनै कुनै त कुही पनि सकेका छन्। मुगा जंगलको यो भाग त मरिसक्यो अथवा धमाधम मर्दैछ। यहाँ एउटै माछा छैन। सानो झिंगे माछो छैन। ठूलो झिंगे माछा पनि छैन। केही छैन। त्यो त पानीमुनिको मरुभूमि भएको छ। तपाईं किंकर्तव्यविमूढ हुनुभएको छ। कस्तो प्रघात! तपाईंको रमणीय अनुभव भताभुंग भयो। डुंगामा फर्कनु हुँदा पनि नानाथरी प्रश्नहरू मनमा खेलिरहन्छन्। यो विनाश कसरी भएको होला? दुर्घटना? रोग? प्राकृतिक कारणहरू? तपाईंलाई जवाफ चाहिन्छ।
ढुंगेनी मुगा बलियो देखिए तापनि यो अत्यन्त कमलो हुन्छ। मानिसले छुँदा मात्रै पनि यसलाई हानि पुग्छ। त्यसैकारण बुद्धिमानी गोताखोरहरू त्यसबाट परै बस्छन् र होशियार नाविकहरू त्यसमा लंगर खसाल्दैनन्। रासायनिक प्रदूषण, तेल चुहावट, ढल निकास, मुढा ओसारपसार, कीटनाशक औषधी र मलहरू भएका खेत कटान हुनु, समुद्रबाट माटो निकाल्नु, थिग्रनु र अनुचित ढंगले बगाइएको स्वच्छ पानी मुगाका निम्ति अन्य खतराहरू हुन्। जहाजको तल्लो भागको प्रत्यक्ष दबाबले त बित्यासै पार्छ। अनि अत्यधिक तापक्रमले मुगालाई हानि पुऱ्याउन वा मार्नसक्छ। कठिनाइमा पर्दा मुगाले आफ्नो लेउ बाक्लो बादलको रूपमा निकाल्छ र माछाले त्यसलाई तुरुन्तै निलिदिन्छ। हप्तौं वा महिनौंसम्म कठिन अवस्थामा परिरहेको खण्डमा मुगा खुइलिन्छ र मर्छ। अनि मुगा मर्दा ढिस्को वरपरको वातावरण पनि मर्छ। यसरी मुगाहरूमा भर पर्ने हरेक जीवन फुस्कन्छन् र हराउँछन्।
उष्ण महासागरहरूमा व्यापक रूपमा मुगा खुइलिरहेको छ। परिणामस्वरूप विश्वभरिका समुद्री विज्ञान समुदायहरूमा खतराको घण्टी बज्न थालेको छ। बृहत् रूपमा मुगा खुइलन थाल्यो भने त्यसबाट हुने हानिलाई पहिलेकै अवस्थामा ल्याउन सकिन्न। हालैका वर्षहरूमा विश्वको उष्ण समुद्रहरूमा मुगा व्यापक रूपले खुइलन थालेको र ती मुगाहरू लगत्तै मर्न थालेको दुःखदायी कुराप्रति संसारको ध्यान खिचिरहेको छ। वर्षौंदेखि नियमित र सीमित मात्रामा मुगाहरू खुइलिरहे तापनि हालै भएको आकस्मिक प्रकोप यति बिघ्न कठोर र विश्वव्यापी रूपमा पहिला कहिल्यै भएको थिएन। पृथ्वीभरि अधिकांश प्रकारका जीवित् मुगाहरूलाई केही न केही कुराले आक्रमण गरिरहेको छ। यसले गर्दा ढिस्कोको लागि योग्य वातावरण विनाश हुनलागेको छ।