मुगा ढिस्कोहरूलाई जोगाउन के गर्न सकिन्छ?
ब्रह्माण्ड तातो भएकोले मानिसहरूलाई असर परिरहेको छ र विकासोन्मुख देशहरू धमाधम औद्योगिक विकासतर्फ बढिरहेको हुँदा यसको असर झन् झन् बढ्दै जाने विश्वास विश्वभरिका धेरै वैज्ञानिकहरूले राखेका छन्। उर्जाको रूपमा प्रयोग गरिने कोइला, तेल तथा काठ र बृहत् रूपमा डढेलो लगाएर जंगल फडानी गर्नेजस्ता इन्धनहरू बलेर वर्षेनी लगभग तीन अरब मेट्रिक टन कार्बन डाइअक्साइड (CO2) विश्व वायुमण्डलमा फ्याँकिन्छ। केही वैज्ञानिकहरूअनुसार इन्धन बलेर निक्लेका ग्याँसहरूको परिणाम नै यो तथाकथित हरितगृह प्रभाव हो र यसले गर्दा अर्को शताब्दीको मध्यसम्ममा वायुमण्डलको तापक्रम ३ देखि ८ डिग्री फरेन्हाइटसम्म बढ्ने खतरा छ। यसरी तापक्रममा वृद्धि हुनु मुगाहरू र मुगा ढिस्कोमा आश्रित समुदायहरूको निम्ति घातक साबित हुनसक्छ।
तर मुगा ढिस्कोहरू नाश हुँदा थलप्राणीहरूलाई पनि त्यतिकै नराम्रो असर पर्नेछ। प्राकृतिक इतिहास (अंग्रेजी) पत्रिकाले गरेको अवलोकन यसप्रकार छ: “तथापि, हरितगृहको सम्बन्धमा मुगा ढिस्कोहरूले प्रमुख भूमिका निर्वाह गरेका छन्। यसका साथै हरितगृहबाट उत्पन्न ग्याँसलाई कम गर्न उष्ण कटिबन्ध रेन फोरेस्टहरू महत्त्वपूर्ण भएझैं यो मुगा ढिस्को पनि उत्तिकै महत्त्वपूर्ण साबित हुनसक्ला। मुगाहरूले आफ्नो हाडखोरमा क्याल्सियम कार्बोनेट थुपार्दा तिनीहरूले महासागरहरूबाट पर्याप्त मात्रामा CO2 हटाउँछन्। जूक्सआन्थेल्येबिना [मुगामा भरपर्ने अन्योन्याश्रित लेउ] मुगाले मेटाबोलाइज गर्ने कार्बन डाइअक्साइडको मात्रा एकदमै खस्कन्छ। बिडम्बना त के छ भने, पानीमुनिको यो इकोसिस्टममा पुगेको खतराले मुगाको तत्कालै मृत्यु गराउनसक्छ।”
इन्धन बलेर निक्लेका अन्य ग्याँसहरूले पनि हरितगृह प्रभावलाई बढाउन मदत पुऱ्याएको विश्वास केही वैज्ञानिकहरूको छ। ती ग्याँसहरूमध्ये एउटा नाइट्रोस् अक्साइड हो भने अर्को चाहिं क्लोरोफ्लोरोकार्बनस् (CFCs) हो। वास्तवमा CO2 को एउटा अणु जत्तिकै CFC को प्रत्येक अणु ताप सञ्चय गर्न २०,००० गुना प्रभावकारी छ। सूर्यको हानिकारक पराबैजनी किरणहरूबाट पृथ्वीमा रहेका जीवहरूलाई जोगाउने ओजोन तहलाई पातलो तुल्याउने प्रमुख कारक तत्त्व CFCs पनि हो भनेर औंल्याइएको छ। उत्तर ध्रुव र दक्षिण ध्रुवको ओजोन तह प्वालै पर्नेगरि पातलो भइसक्यो। यसो हुनु मुगाहरूको लागि पटक्कै राम्रो कुरा होइन। तातो पानीले गर्दा पहिल्यै कठिनाइमा परिसकेका मुगा ढिस्कोहरूलाई बिस्तारै हुर्काउन थोरै थोरै मात्रामा पराबैजनी किरण दिएर परीक्षण गर्दा ती झन् खुइलन थाले। अमेरिकी विज्ञान (अंग्रेजी) पत्रिकाले गरेको दुःखद् अवलोकन यसप्रकार छ: “आज क्लोरोफ्लोरोकार्बनको चुहावट रोके तापनि अर्को शताब्दीसम्म पनि रासायनिक प्रतिक्रियाले गर्दा समतापमण्डलको ओजोनमा क्षति पुगिरहनेछ। यसो हुनुको कारण अति सरल छ: क्लोरोफ्लोरोकार्बनको यौगिक त्यति लामो समयसम्म वायुमण्डलमा रहने भएकोले चुहावट रोकिएको निकै समय बितिसक्दा पनि क्षोभमण्डलमा थुप्रिएको यसको यौगिक समतापमण्डलमा निरन्तर छरिरहन्छ।”
महासागर वा तटवर्ती इलाकाहरूलाई फोहर वा दूषित कुराहरूले प्रदूषित नगर्न प्रत्येक व्यक्तिले आफ्नो कर्त्तव्य ठान्नुपर्छ। ढिस्कोमा घुम्न जानु हुँदा मुगालाई नछुनुहोस् र त्यसमाथि नउभिनुहोस् भनेर दिइएको निर्देशनलाई पालन गर्नुहोस्। मुगाबाट बनिएका स्मारिकाहरू नलिनुहोस् वा नकिन्नुहोस्। उष्ण ढिस्को नजीकै नौका विहार गर्दै हुनुहुन्छ भने, समुद्री अधिकारीहरूले प्रबन्ध गरेको बलौटे पींध वा जहाज अड्काउने तैरने डोरीमा डुंगाको लंगर हाल्नुहोस्। तपाईंको डुंगाको प्रोपेलरले डुंगाको गति बढाउने वा पींधलाई खल्बल्याउने नगर्नुहोस्। डुंगाको फोहर महासागरमा नफाल्नुहोस्। बरु, फोहर मिल्काउने घाटहरू खोज्नुहोस्। लुइ केइ नेशनल मरिन स्याङचुरी (फ्लोरिडा, सं.रा.अ.) का प्रबन्धक बिल कसी यस्तो टिप्पणी गर्छन्: “सम्भवतः मानिस नै यस असन्तुलनको कारण हो। यसबारे हामी विश्वव्यापी रूपमा सजग हुनैपर्छ। प्रमुख इकोसिस्टम गुमाउने खतराबारे निरन्तर जनचेतना जगायौं भने शायद परिस्थिति सुध्रिएला।”
क्षेत्रीय स्तरमा चाहिं मुगा ढिस्कोहरूलाई सुरक्षा गर्ने व्यवस्थाहरू पारित गरेर लागू गरिंदैछन्। फ्लोरिडा प्रान्तले त्यसका ढिस्कोहरूलाई हानि पुऱ्याउने जहाज मालिकहरू विरुद्ध मुद्दा हाल्छ। पानीको पींधमा जहाज धस्ने गरी चलाउँदा त्यसले केही एकड मुगालाई नै पेलेकोले मालवाहक जहाजका मालिकहरूले ६० लाख अमेरिकी डलर जरिवाना तिर्नुपऱ्यो। त्यसको केही रकम समुद्री बासस्थानलाई पुनर्स्थापित गर्न प्रयोग गरियो। हाल जीवशास्त्रीहरूले विशेष प्रकारका टाँस्ने वस्तुहरू प्रयोग गरेर सन् १९९४ मा एउटा जहाजले हानि पुऱ्याएको मुगालाई फेरि जोड्ने प्रयास गरिरहेका छन्। एउटा मालवाहक जहाजले फ्लोरिडा ढिस्कोमा हानि पुऱ्याएबापत त्यस कम्पनीलाई ३२ लाख अमेरिकी डलर जरिवाना तिराएको थियो। अन्य देशहरूले पनि यस्तै प्रकारका व्यवस्था लागू गर्न खोजिरहेका छन्। क्यारेबियनस्थित केइमन टापुहरूजस्ता गोता लगाउन प्रसिद्ध ठाउँहरूमा पनि गोता लगाउने सीमित क्षेत्रहरू तोकिएका छन्। सबैभन्दा ठूलो बाधक श्रेणीमा हुने गतिविधिहरूमा नियन्त्रण गर्न अस्ट्रेलियाले ग्रेट बेरियर रिफ मरिन पार्क खोलेको छ। तर सबैलाई विदितै छ, जति धेरै गोताखोरहरू हुन्छन् ढिस्कोहरूलाई त्यति नै बढी हानि पुग्छ।
के यस युद्धमा सबै राष्ट्रहरूले भाग लिनेछन्?
विश्वव्यापी स्तरमा सतर्क वैज्ञानिकहरू तथा नेताहरू कुनै एउटा राष्ट्र वा राष्ट्रहरूमा मात्र यसको समाधान भर पर्नसक्दैन भन्ने टुंगोमा पुगेका छन्। ढिस्कोहरूलाई असर पार्ने हावा र पानीको प्रवाह चलिरहने भएकोले विश्वभरि प्रदूषण फैलिरहेको छ। प्रत्येक राष्ट्रले आफ्नो सीमा क्षेत्रभित्र पर्ने पानीमा बाहेक अन्य क्षेत्रका पानीमा नियन्त्रण जमाउनसक्दैन। सीमा क्षेत्रबाहिर पर्ने समुद्रमा थुपारिएका फोहरहरू अन्ततः समुद्री तटमा जम्मा हुन्छन्। एकताबद्ध विश्वव्यापी प्रयास र समाधान जरुरी छ।
पृथ्वीको विस्मयकारी मुगा सम्पत्तिहरू जोगाउन निष्कपट तथा सक्षम धेरैजसो मानिसहरूले निरन्तर आफ्नो प्रयास जारी राख्नेछन् भन्ने कुरामा दुइ मत छैन। पृथ्वीको वातावरणप्रति संवेदनशील तथा त्यसको हेरविचार गर्ने विश्व सरकारको आवश्यकता सुस्पष्ट र टड्कारै देखिएको छ। खुशीको कुरा, सृष्टिकर्ता आफैले विश्वव्यापी वातावरणलाई जोगाउनुहुनेछ। परमेश्वरले प्रथम मानवहरूलाई सृष्टि गर्नुहुँदा यसो भन्नुभयो, “तिनीहरूले समुद्रका माछाहरू [र सम्पूर्ण समुद्री जीवहरू] . . . माथि अधिकार गरून्।” (उत्पत्ति १:२६) परमेश्वरले समुद्री जीवहरूप्रति दुर्व्यवहार वा तिनको दुरुपयोग गर्नुभएन। तसर्थ, मानिसजातिलाई दिनुभएको यो आदेशको अर्थ मानिसले विश्वव्यापी वातावरणको हेरविचार गर्नैपर्ने देखिन्छ। बाइबल यस्तो भविष्यवाणी गर्छ: “तर उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग [परमेश्वरको स्वर्गीय राज्य] र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।” (२ पत्रुस ३:१३) निकट भविष्यमा त्यो स्वर्गीय सरकारले यो प्रदूषित पृथ्वीलगायत त्यसका महासागरहरूलाई पूर्णतया सफा गर्नेछ। त्यसपछि परमेश्वरको राज्यका प्रजाहरूले सुन्दर महासागरहरू र तिनमा भएका समुद्री जीवहरूको हेरविचार गर्नेछन् र तिनीहरूबाट पूर्ण आनन्द उठाउनेछन्।