मुटुको रोग—जीवनलाई खतरा
वर्षेनी विश्वभरि लाखौं पुरुष तथा महिलाहरूलाई हृदयघात हुन्छ। हृदयघात भएपछि पनि कतिपयले त सामान्य जीवन बिताउनसक्छन्। कतिपयले चाहिं सक्दैनन्। बाँकी अरूको चाहिं मुटुमा निकै क्षति हुने भएकोले तिनीहरू “पहिलेजस्तै कामकुरा गर्न सक्षम होलान् वा नहोलान्, भन्न सकिंदैन” भनेर मुटु विशेषज्ञ पीटर कोन भन्छन्। तिनी अझै यसो भन्छन्: “त्यसैकारण, सम्भव छ भने, हृदयघातका लक्षणहरू देखापर्ने बित्तिकै उपचार गराइहाल्नुपर्छ।”
मुटु शरीरभरि रक्तसञ्चार गर्ने एउटा मांसपेशी हो। हृदयघात (मायोकार्डियल इन्फ्राक्शन) हुँदा रगतको अभावमा मुटुको कुनै मांसपेशीले काम गर्दैन। स्वस्थ रहन मुटुलाई रगतमा हुने अक्सिजन र अन्य पौष्टिक तत्त्वहरू चाहिन्छ। ती तत्त्वहरू मुटुबाहिर बेह्रिएर रहेको धमनी हुँदै शरीरका अन्य अंगहरूमा पुग्छन्।
रोगहरूले मुटुको कुनै पनि भागलाई असर गर्नसक्छ। तथापि, आथेरोस्लेरोसिस भनिने हृद्धमनीसम्बन्धी रोग सबैभन्दा छिटो तर थाहै नपाई हुने रोग हो। यो रोग लाग्दा धमनीको भित्तामा बोसोको पत्र जम्मा हुनथाल्छ। समयको क्रममा ती धमनीहरूमा बोसो धमाधम थपिंदै जान्छन्, र उक्त धमनीहरू कडा हुँदै तथा साँघुरिंदै जान्छन् जसले गर्दा चाहिने जति रगत मुटुमा पुग्न सक्दैन। धेरैजसो हृदयघातको मुख्य कारण हृद्धमनीसम्बन्धी रोग नै हो। यसलाई अंग्रेजीमा कोरोनरी आर्टरी डीजीज (सीएडी) भनिन्छ।
मुटुमा पर्याप्त अक्सिजन पुगेन भने एक वा एकभन्दा धेरै धमनीहरूमा रगत बहँदैन र एक्कासि हृदयघात हुन्छ। अलिकता मात्र साँघुरिएका धमनीहरूमा जम्मा भएको बोसो पनि स-साना टुक्राहरूमा छुट्टिनसक्छन् र पछि गएर त्यहाँ रगत जम्छ। राम्ररी काम गर्न नसकेका ती धमनीहरूले गर्दा मांसपेशी संकुचन हुने सम्भावना बढी हुन्छ। मांसपेशी संकुचन हुने बित्तिकै रगत जम्नसक्छ र त्यहाँ एकप्रकारको रासायनिक तत्त्व उत्पन्न हुन्छ जसले धमनीका भित्ताहरूलाई झन् खुम्चाउँछ र अन्ततः हृदयघात हुन्छ।
निकै बेरसम्म मुटुले अक्सिजन पाउन सकेन भने वरपरका तन्तुहरू पनि बिग्रनसक्छन्। अन्य तन्तुहरू स्वतः निर्माण भएझैं मुटुको मांसपेशी भने फेरि निर्माण हुन सक्दैन। हृदयघात हुने बित्तिकै उपचार गरिएन भने मुटुमा निकै क्षति हुनसक्ने र मृत्यु हुनसक्ने सम्भावना पनि धेरै हुन्छ। मुटुको विद्युतीय प्रणालीमै खराबी भयो भने मुटुको सामान्य ढुकढुकी असामान्य हुनसक्छ र मुटु अत्यन्त जोडले धड्कन थाल्छ। यसरी मुटुको ढुकढुकी गडबड हुँदा मुटुले मस्तिष्कसम्म रक्तसञ्चार गर्नसक्दैन। अनि दश मिनेटजतिमा मस्तिष्क निष्क्रिय हुन्छ र मानिसको मृत्यु हुन्छ।
यसकारण सुरुमै तालिमप्राप्त स्वास्थ्यकर्मीद्वारा उपचार गराइहाल्नु अत्यावश्यक छ। त्यसो गर्दा मुटुमा हुनसक्ने क्षतिबाट जोगिन सकिन्छ, मुटुको ढुकढुकीमा हुने गडबडीलाई रोक्न वा उपचार गर्न सकिन्छ र मानिसको जीवनसमेत जोगाउन सकिन्छ।