लक्षणहरू चिनेर त्यसअनुरूप गर्ने
हृदयघातका लक्षणहरू देखा पर्ने बित्तिकै उपचार गराइहाल्नु अत्यावश्यक छ। किनकि हृदयघात भएको सुरुका केही घण्टामा मृत्यु हुनसक्ने खतरा धेरै हुन्छ। तत्कालै उपचार गरिएन भने मुटुको मांसपेशीलाई अपूरणीय क्षतिबाट जोगाउन असम्भव हुन्छ। मुटुको मांसपेशीलाई जुन हदसम्म जोगाउन सकिन्छ, हृदयघात भएपछि त्यही मात्रामा त्यसले काम गर्नेछ।
तथापि, कहिलेकाहीं चालै नपाउने गरी हृदयघात हुन्छ। त्यतिखेर हृदयघात भएको हो कि होइन यकिन गरेर भन्न सकिंदैन। त्यस्तो बेलामा बिरामीले आफूलाई हृद्धमनीसम्बन्धी रोग (सीएडी) लागेको हो वा होइन, त्यति याद नगरेको हुनसक्छ। दुःखको कुरा, कसै कसैलाई त पहिलो पटकमै एकदम नराम्रोसित हृदयघात हुनसक्छ। मुटुले काम गर्न छोड्दा तत्कालै स्वास्थ्यकर्मीलाई खबर गरेन र त्यहाँ वरपर भएका कुनै व्यक्तिले तुरुन्तै अंग्रेजीमा कार्डियोपुल्मोनेरी रेस्युस्सिटेशन (सीपिआर) भनिने प्रक्रिया अर्थात् मुखमा मुख राखेर सास फुक्ने तथा छातीको बीचमा हातले थिच्ने प्रक्रिया अपनाएन भने, जीवित रहने सम्भावना निकै कम हुन्छ।
सीएडीका लक्षणहरू देखा परेका अधिकांश मानिसहरूमध्ये आधाजसोले त तत्कालै उपचार गराउन आलेटाले गर्नेछन् भन्ने प्रतिवेदन हार्भर्ड हेल्थ लेटर पेश गर्छ। किन? “किनभने तिनीहरू अक्सर ती लक्षणहरू चिन्नसक्दैनन् वा ती लक्षणहरूलाई त्यति गम्भीर ठान्दैनन्।”
यहोवाका साक्षी, अमरलाईa हृदयघात भएको थियो र तिनी यसरी खेद व्यक्त गर्छन्: “आफूलाई के के नमिलेजस्तो लाग्ने बित्तिकै उपचार गराइहाल्नुस्। तीललाई पहाड बनायो भन्ला भन्ने डरको कारण तत्कालै उपचार गर्न हेलचेक्राइँ नगर्नुहोस्। समयमै लक्षण चिनेर त्यसअनुरूप गर्न अनकनाएकोले झन्डै ज्यान गुमाएको थिएँ।”
घटनाको विवरण
अमर बताउँछन्: “हृदयघात हुनुभन्दा एक डेढ वर्षअघि चिकित्सकले मेरो कोलेस्ट्रोलको मात्रा निकै बढी भएकोले होस गर्नू है, भनेका थिए। सीएडी हुनसक्ने प्रमुख कारण कोलेस्ट्रोलको मात्रा बढी हुनु हो। तर यस चेताउनीलाई मैले बेवास्ता गरें। मलाई लाग्थ्यो म जवान छु, स्वस्थ छु र ४० पनि पुगेको छैन। त्यतिखेरै केही नगरेकोले म अहिलेसम्म पछुताउँदैछु। म खतरामा छु भन्ने अन्य लक्षणहरू पनि देखा परेका थिए। जस्तै: हल्का फुल्का काम गर्दा पनि स्वाँस्वाँ हुन्थ्यो, र यसलाई मैले अपच भएको भन्ठान्थें। यसबाहेक हृदयघात हुनुभन्दा केही महिनाअघिदेखि नै मलाई असाध्यै थकाइ लाग्थ्यो। राम्ररी सुत्न नपाएकोले र कामको भारले गर्दा यस्तो भएको होला भन्ठान्थें। त्यसैगरि हृदयघात हुनुभन्दा तीन दिनअघि मात्र मलाई मेरो छातीको मांसपेशी कस्सिएझैं लाग्यो। त्यतिखेर मलाई हलका हृदयघात भएको रहेछ र त्यसको लगत्तै तीन दिनपछि एकदमै नराम्रोसित हृदयघात भयो।”
हृदयघात हुन लागेका आधाजसो मानिसहरूमा छाती दुखेको वा छाती थिचिएको लक्षण देखा पर्छ जसलाई एन्जाइना भनिन्छ। धमनीमा सल्ल रगत बग्न नसक्दा मुटुमा पर्याप्त अक्सिजन पुग्नसक्दैन। यसले गर्दा कसै कसैलाई स्वाँस्वाँ भएको वा थकाइ लागेको र कमजोर भएको महसुस हुन्छ। यी खतरापूर्ण लक्षणहरू देखा पर्ने बित्तिकै मुटु चिकित्सकलाई जचाइहाल्नुपर्ने हो। डा. पीटर कोन यसो भन्छन्: “एन्जाइनाको उपचार गरिसकेपछि हृदयघात नै हुँदैन भन्ने ग्यारेन्टी दिनु मिल्दैन तर हृदयघात हुनसक्ने सम्भावना भने कम हुन्छ।”
हृदयघात
अमर अझै भन्छन्: “त्यस दिन हामी फुटबल खेल्न जान लागेका थियौं। सेलरोटी र तारेको खाना ग्वाम्म ग्वाम्म खाँदा मलाई अलि अप्ठ्यारो भयो, वमन होला होला र छाती कसिएको जस्तै लाग्यो तैपनि मैले वास्ता गरिनँ। खेल मैदान पुगेर खेल्न थालेपछि मलाई अप्ठ्यारो महसुस भयो। अनि दिउँसोसम्ममा त मलाई व्यथाले च्याप्न थालिसकेको थियो।
“निकै चोटि म उत्तानो परेर बेन्चमा पल्टिएँ र छातीको मांसपेशी तन्काउन खोजें तर छाती झन् झन् कस्सिन थाल्यो। चिट्चिट पसिना आएको र चिसो लाग्न थालेकोले खेल्दाखेल्दै ‘शायद मलाई ज्वरो आएको होला,’ भन्ठानें। दगुर्दा सास फेर्न निकै गाह्रो हुन्थ्यो। म फेरि बेन्चमा पल्टिएँ। उठेर बस्दा मलाई केही न केही त भएकै हो भनेर म पक्का भएँ। चिच्याएर छोरालाई बोलाएँ: ‘सुमन! मलाई अहिल्यै अस्पताल लग!’ मलाई मुटु एकदमै खुम्चिएको जस्तै लाग्यो। असह्य पीडाले गर्दा म उठ्न पनि सकिनँ। म आत्तिएँ, ‘कतै मलाई हृदयघात त भएको होइन? म त भर्खर ३८ मात्र पुगें!’ ”
त्यतिखेर १५ वर्ष मात्रै पुगेको अमरका छोरा यसो भन्छन्: “क्षणभरमै बाबा यति कमजोर हुनुभयो, गाडीसम्म पुऱ्याउन हामीले उहाँलाई बोक्नुपरेको थियो। बाबा बेहोस नहोस् भनेर मेरो साथी गाडी चलाउँदै बाबासित कुरा गर्न थाल्यो। तर केही बेरपछि बाबाले कुनै पनि प्रतिक्रिया जनाउनुभएन। ‘अंकल!’ मेरो साथी चिच्यायो। तैपनि बाबाले कुनै प्रतिक्रिया देखाउनुभएन। अचानक बाबा चल्नुभयो, थरथर काँप्नुभयो र वमन गर्न थाल्नुभयो। म दोहऱ्याइ तेहऱ्याइ चिच्याउन थालें: ‘बाबा! बाबा! के भयो? हामीलाई यसरी नछोड्नुहोस्!’ काँप्नुभएपछि उहाँ लल्याकलुलुक पर्नुभयो। मलाई लाग्यो, मेरो बाबा बित्नुभयो।”
अस्पतालमा
मदतको लागि हामी हत्तारिंदै अस्पतालमा पस्यौं। बाबा बित्नुभयो भन्ठानेको दुइ चार मिनेट भइसके तापनि उहाँलाई बचाउन सकिन्छ कि भन्ने झिनो आशा गरेको थिएँ। खेल मैदानमा यहोवाका लगभग २० जना साक्षीहरू थिए। ती सँगी साक्षीहरूलाई त्यहाँ प्रतीक्षालयमा देख्दा म अचम्मित भएँ। त्यस्तो दुःखद घडीमा उहाँहरूले दिनुभएको ढाडस र मप्रति देखाउनुभएको मायाले मलाई निकै मदत गऱ्यो। लगभग १५ मिनेट जति पछि चिकित्सकले यसो भने: ‘तपाईंको बुबा होसमा त आउनुभयो तर उहाँलाई एकदमै नराम्रोसित हृदयघात भएको रहेछ। के होला, हामी भन्न सक्दैनौं।’
“त्यसपछि तिनले मलाई केहीबेर बाबालाई भेट्ने अनुमति दिए। परिवारप्रति बाबाको माया देख्दा म रुन मात्र सकिनँ। निकै गाह्रो गरी उहाँले मलाई भन्नुभयो: ‘बाबु, मलाई तिम्रो धेरै माया लाग्छ। यहोवा नै हाम्रो जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ भनेर कहिल्यै नबिर्सनू। सधैं उहाँको सेवा गर्नू। आफ्नी आमा र भाइहरूलाई पनि सधैं उहाँको सेवा गर्न मदत गर्नू। हामीसित पुनरुत्थानको पक्का आशा छ। त्यसैले मरिहालें भने पनि पुनरुत्थान हुँदा तिमीहरू सबैलाई भेट्न चाहन्छु।’ हामी दुवै खुब रोयौं तर ती आँसु माया, डर र आशाका थिए।”
एक घण्टाजतिमा अमरकी श्रीमती माया आइपुगिन्। “आकस्मिक कक्षमा पुग्दा चिकित्सकले मलाई यसो भने: ‘तपाईंको श्रीमान्लाई एकदमै नराम्रोसित हृदयघात भएछ।’ म त खङ्ग्रङ भएँ। अमरको मुटुलाई आठ चोटि डिफाइब्रिलेट गरेको पनि तिनले बताए। यस आकस्मिक उपचारमा मुटुको असामान्य ढुकढुकीलाई सामान्य गराउन विद्युतीय प्रवाह प्रयोग गरिन्छ। सीपिआरलगायत अक्सिजन दिइन्छ तथा नशाबाट औषधी पठाइन्छ। डिफाइब्रिलेट जीवन बचाउने अत्याधुनिक प्रविधि हो।
“अमरलाई देख्दा मेरो मन रोयो। मानौं उहाँको शरीरमा रगतै नभएजस्तै पहेंलो देखिनुभएको थियो। उहाँको शरीरमा राखिएका ट्युब तथा तारहरू मनिटरमा जोडिएका थिए। हाम्रा तीन छोराहरूको खातिर यो परीक्षाको सामना गर्न मलाई बल दिनुहोस् भनेर यहोवासित मनमनै प्रार्थना गरें। त्यसबाहेक आइपर्ने जस्तोसुकै घडीमा सही निर्णय गर्न सकूँ भन्दै उहाँको डोऱ्याइ पनि मागें। अमरलाई सुताएको खाटनेर पुग्दा ‘यस्तो बेला आफ्नो श्रीमान्लाई के भन्ने होला? जीवन र मृत्युको दोसाँधमा पर्दा के गर्ने, कसो गर्ने, के हामीले वास्तवमा सोचेका हुन्छौं र?’ भनेर सोचें।
“ ‘माया,’ अमरले भन्नुभयो, ‘म बाँच्दिनँ होला। तर चाँडै यो रीतिरिवाज बित्नेछ र त्यसपछि रोग तथा मृत्युको नामोनिसान हुनेछैन। तिमी र छोराहरू यहोवाप्रति विश्वासी रहनू। म त्यस नयाँ संसारमा तिमी र छोराहरूलाई भेट्न चाहन्छु।’ हामीले बरबरती आँसु झाऱ्यौं।”
चिकित्सक बताउँछन्
“पछि चिकित्सकले मलाई अलग्गै बोलाएर अमरलाई हृदयघात भएको मूल कारण बताए। परीक्षणअनुसार उहाँको देब्रेतिरको अघिल्लो धमनी एकदमै साँघुरिएको थियो। उहाँको अर्को धमनी पनि साँघुरिएको रहेछ। अमरको उपचारमा मैले छनौट गर्नुपर्छ भनेर चिकित्सकले मलाई बताए। एउटा विकल्प थियो, औषधीको प्रयोग र अर्को थियो, एन्जिओप्लास्टी। तिनले एन्जिओप्लास्टी उपचार गर्नु नै बेस हुने विचार व्यक्त गरेको हुँदा हामीले पनि त्यसै गर्ने निर्णय गऱ्यौं। तर यसप्रकारको हृदयघात हुँदा धेरैजसो व्यक्ति नबाँच्ने भएकोले यो उपचारपछि पनि अमर निको हुन्छ, हुँदैन भन्न नसकिने कुरा चिकित्सकहरूले बताए।”
एन्जिओप्लास्टी गर्दा सानो चिरफार गर्नुपर्छ। यस उपचार विधिमा बेलुनजस्तै फुक्ने एउटा लामो सुइरोलाई धमनीमा छिराइन्छ। र यसो गर्दा घमनीमा फेरि सल्ल रगत बहन थाल्छ। रक्तसञ्चारलाई फेरि कायम राख्न यो प्रक्रिया निकै सफल साबित भएको छ। तर धेरै धमनीहरू साँघुरिएका छन् भने अक्सर बाइपास शल्यक्रिया गर्ने सिफारिस गरिन्छ।
स्वास्थ्यलाभ त भयो, तर आशालाग्दो चाहिं होइन
एन्जिओप्लास्टीपछि ७२ घण्टासम्म अमरको अवस्था चिन्ताजनक नै थियो। अन्ततः तिनको मुटुले बिस्तारै काम गर्न थाल्यो। तर पहिलेको तुलनामा अमरको मुटुले आधा जति पनि काम गर्न सकिरहेको थिएन र तिनको मुटुको धेरैजसो भागका तन्तुहरू घाउमा खत बसेजस्तै भएकोले तिनको मुटुले काम नगर्ने सम्भावना निश्चित थियो भने पनि हुन्छ।
विगतलाई सम्झँदै अमर यस्तो सल्लाह दिन्छन्: “हामीले गम्भीर लक्षणको सुइँको पायौं भने त्यसलाई बेवास्ता गर्नु हुँदैन। आफ्नो शरीरको हेरविचार गर्नुपर्छ। सृष्टिकर्ता, परिवार, आध्यात्मिक भाइबहिनीहरू र आफ्नैलागि हामीले त्यसो गर्नुपर्छ। आँसु र हाँसोको मुख्य कारण त केही हदसम्म हामीमै भर पर्छ।”
अमरको अवस्था एकदमै नराम्रो थियो र तिनलाई तुरुन्तै उपचार गर्नुपरेको थियो। तर मुटु पोल्दैमा वा अप्ठ्यारो महसुस हुँदैमा सबै जना चिकित्सककहाँ जचाउन गइहाल्नुपर्ने आवश्यकता छैन। तैपनि अमरको अनुभवबाट चेताउनीमूलक पाठ सिक्छौं। र हृदयघातका लक्षणहरू देखा परेको जस्तै लागेका व्यक्तिहरूले स्वास्थ्य परीक्षण गरिहाल्नुपर्छ।
हृदयघातको खतरालाई कम गर्न के गर्न सकिन्छ? त्यसबारे अर्को लेखमा छलफल गरिनेछ।
[फुटनोट]
a यी लेखहरूमा नाउँहरू परिवर्तन गरिएका छन्।
[पृष्ठ ६-मा भएको पेटी]
हृदयघातका लक्षणहरू
• निकै बेरसम्म छाती थिचिएजस्तै उकुसमुकुस हुनु, छाती कस्सिनु वा दुख्नु। यस्ता लक्षणहरू देखा पर्दा मुटु भतभती पोलेको मात्र हो भन्ठान्ने गल्ती गर्न सकिन्छ
• बंगरा, घाँटी, कुम, पाखुरा, कुहिना वा देब्रे हातमध्ये कुनै एक अंग मात्र दुख्नसक्छ वा ती सबै अंगहरू एकपछि अर्को गर्दै बिस्तारै दुख्नथाल्छ
• माथिल्लो पेट सधैं दुखिरहनु
• स्वाँस्वाँ हुनु, रिंगटा लाग्नु, बेहोस हुनु, चिट्चिट पसिना आउनु वा चिसो हुनु
• लखतरान हुनु। यो लक्षण हृदयघात हुनुभन्दा केही हप्ताअघिदेखि नै देखा पर्नसक्छ
• वाकवाक होला जस्तो हुनु वा वमन हुनु
• हल्का फुल्का काम गर्दा पनि छिनछिनमै एन्जाइना हुनु अर्थात् छाती दुख्नु वा छाती थिचिएको जस्तै हुनु
यी लक्षणहरू कम वा चर्को हुन्छन् र हृदयघात हुनेजति सबैमा यी सम्पूर्ण लक्षणहरू देखा पर्दैनन्। यीमध्ये केही लक्षणहरू देखा परेमा चाँडोभन्दा चाँडो केही गरिहाल्नुहोस्। तथापि, कहिलेकाहीं चाहिं एउटै पनि लक्षण देखा पर्दैन। यस्ता हृदयघातहरूलाई चालै नपाउने गरी हुने हृदयघात भनिन्छ।
[पृष्ठ ७-मा भएको पेटी]
बचाउका लागि उठाउनुपर्ने केही कदमहरू
तपाईं वा चिनेजानेको कसैमा हृदयघातका लक्षणहरू देखियो भने:
• लक्षणहरू चिन्नुहोस्।
• जस्तोसुकै काम गरिरहनु भए तापनि त्यसलाई ठप्पै रोकेर आरामसित बस्नुहोस् वा पल्टनुहोस्।
• यी लक्षणहरू दुइ चार मिनेटसम्म रहिरहेमा नजीकैको आकस्मिक सेवामा फोन गरिहाल्नुहोस्। तपाईंलाई हृदयघात भएजस्तो शंका लागेकोबारे त्यहाँबाट खटाइएको व्यक्तिलाई जानकारी दिनुहोस् र तपाईंको ठेगाना खुलस्त बताउनुहोस्।
• तपाईं आफैले गाडी चलाएर हृदयघात भएको व्यक्तिलाई अस्पतालको आकस्मिक कक्षमा सकभर चाँडै पुऱ्याउन सक्नुहुन्छ भने त्यसै गर्नुहोस्। तपाईंलाई हृदयघात भएको जस्तो लागेमा अस्पताल पुग्न कसैसित मदत माग्नुहोस्।
आकस्मिक स्वास्थ्यकर्मीहरूको टोलीलाई पर्खंदै हुनुहुन्छ भने:
• बिरामीको पेटी वा टाइ खोलिदिनुहोस् र तिनले कस्सिएको लुगा लगाएका छन् भने खुकुलो पारिदिनुहोस्। बिरामीलाई आरामसित बस्न दिनुहोस् र चाहिएमा आड दिन सिरानी ठड्याउनुहोस्।
• चाहे तपाईंलाई हृदयघात भएको होस् वा तपाईं बिरामी स्याहारिरहनु भएको नै किन नहोस्, नआत्तिनुहोस्। हड्बडाउनुभयो भने मुटुको ढुकढुकी गडबड भएर मृत्यु हुनसक्ने सम्भावना बढ्नसक्छ। प्रार्थनाले शान्त रहन मदत गर्छ।
बिरामीले सास नफेरेको जस्तो लागेमा:
• ठूलो स्वरमा यसरी सोध्नुहोस्, “मेरो स्वर सुन्दै हुनुहुन्छ?” बिरामीले कुनै प्रत्युत्तर दिएन र सास पनि फेरेन भने कार्डियोपुल्मोनेरी रेस्युस्सिटेशन (सीपिआर) विधि अपनाउनुहोस्।
• सीपिआर गर्दा यी तीन आधारभूत कुरालाई नबिर्सनुहोस्:
१. बिरामीले सास फेर्नसकोस् भनेर तिनको चिउँडो मास्तिर उठाउनुहोस्।
२. त्यसपछि बिरामीको नाकको प्वाललाई औंलाले थिचेर बन्द गर्नुहोस् र बिरामीको मुखमा आफ्नो मुख राखेर तिनको छाती डम्म फुल्ने गरी सुस्तरी दुइ पटक सास फुक्नुहोस्।
३. मुटु र छातीमा अड्केको रगतलाई सुचारु रूपले बहन दिन छातीको बीचमा हातले १०/१५ पटक थिच्नुहोस्। बिरामीको नाडी नचलुञ्जेल र तिनले सास नफेरुञ्जेल वा आकस्मिक टोली नआइपुगुञ्जेल १५/१५ सेकेण्डमा दुइ चोटि सास फुक्नुहोस्। र त्यसको लगत्तै १५ पटक छातीमा हातले थिच्नुहोस्।
सीपीआर तालिमप्राप्त व्यक्तिले गर्नुपर्ने स्वास्थ्योपचार हो। तर तालिमप्राप्त व्यक्ति छैन भने “सीपिआर गर्दै नगर्नुभन्दा त जोसुकैले भएपनि सीपिआर गर्नु बेस हुन्छ,” आकस्मिक मुटु उपचारका संचालक डा. आर क्युमिन्ज भन्छन्। कोही अग्रसर भएर उपरोक्त कदमहरू अपनाएन भने हृदयघात भएको व्यक्ति बाँच्ने सम्भावना निकै कम हुन्छ। सहयोग टोली नआइपुगुञ्जेल बिरामीको ज्यान सीपिआरमा नै भर पर्छ।
[पृष्ठ ५-मा भएको चित्र]
हृदयघात हुने बित्तिकै उपचार गराइ हालेमा जीवन बचाउन सकिन्छ, मुटुमा हुने क्षति कम गर्न सकिन्छ