भान्छाघर रमाइलो हुनसक्छ
“भान्छामा नआऊ है!” भोकले चूर भएका थुप्रै केटाकेटीले हतारपतार गरेर खान खोज्दा यस्तो हप्काइ खानु परेको छ। तथापि, आमाबाबुले छोराछोरीलाई भान्छामा पस्न नदिनुको साटो भित्र बोलाउनुको उचित कारण छ। किन? किनभने भान्छा वास्तवमा एउटा रमाइलो कक्षा हो।
भान्छामा छोराछोरीले कुनै कुरा बनाउने र समस्या समाधान गर्ने कौशलताहरू सिक्नसक्छन्। यो यस्तो ठाउँ हो जहाँ तिनीहरूले अरूको सेवा गर्न र समूहमा काम गर्न सिक्छन्। यहाँ हृदयलाई उत्प्रेरित गर्ने अर्थपूर्ण कुराकानीहरू स्वतः सुरु हुन्छ। अति मूल्यवान् कुराहरू बिस्तारै मनमा गढिन्छ। हो, भान्छामा टम्मै राखिएका आलमारी, दराज र तख्ताहरूमा भएका कुराहरू खाना पकाउँदा चलाउँदै थुप्रै मूल्यवान् पाठहरू सिकेर प्रयोग गर्न सकिन्छ।
प्राविधिक र जानकारीको यस युगमा भान्छालाई किन केटाकेटीहरूको प्रशिक्षण स्थान बनाउने? यसको जवाफ हो, समय। थुप्रै आमाबाबुले के बुझेका छन् भने, आफ्ना छोराछोरीसित समय बिताउनुपर्छ, त्यो पनि धेरै समय!a तर त्यो समय पाउने कहाँ? आमाबाबुहरूले आफ्ना छोराछोरीलाई घरका दैनिक कामकुरामा समावेश गराएर तिनीहरूलाई शिक्षा दिनसक्छन् भनेर केही विशेषज्ञहरू सल्लाह दिन्छन्। यो कुरा परमेश्वरले पुरातन इस्राएल राष्ट्रका आमाबाबुहरूलाई दिनुभएको आज्ञासित मेल खान्छ: “मैले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख। ती तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होशियारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड्दा, ढल्केर बस्ता र उठदा तिनको चर्चा गर।”—व्यवस्था ६:६, ७.
हामीले भान्छामा दिनहुँजसो समय बिताउनुपर्ने हुँदा परिवारले एकसाथ क्रियाकलाप गर्ने ठाउँ अवश्यै यही जस्तो देखिन्छ। विशेष भ्रमण गर्न समय, शक्ति र पैसाको प्रबन्ध नभइञ्जेल पर्खनुपर्छ तर भान्छामा त्यस्तो हुँदैन किनभने हामीले भोजन खान समय छुट्याउनैपर्छ। त्यसबाहेक, केटाकेटीहरूलाई भान्छा त्यसै पनि मन पर्छ। आखिर तिनीहरूलाई होशियारीसाथ चक्कू चलाउन र भाँडाकुँडा प्रयोग गर्न भान्छामा बाहेक अरू कहाँ सिकाइन्छ र? केटाकेटीले रमाइलो मान्दै काम गर्दा काम बिगार्न पनि सक्छन्! तापनि, भान्छामा काम गर्दा कस्ता पाठहरू सिक्न सकिन्छ?
भान्छाको “कक्षामा” सिक्ने
आफ्ना चार वर्षीय विद्यार्थीहरूले बिस्किट आन्टी भनेर चिन्ने लुइज स्मिथले कलिला केटाकेटीहरूलाई पकवानबारे शिक्षा दिएको १७ वर्ष भइसक्यो। त्यसै अनुभवको आधारमा तिनले यस्तो टिप्पणी गरिन्: “खानेकुरा महान् शैक्षिक साधन हो किनभने यो के हो भनेर सबै केटाकेटीलाई थाह छ। कलिला उमेरकाहरूले खानेकुराको बास्ना, स्वाद र स्पर्श छिटो थाह पाउने हुँदा तिनीहरूलाई खानेकुरा पकाउन अति रमाइलो लाग्छ। खानेकुराको माध्यमद्वारा तपाईंले शब्दहरू उच्चारण गर्न, गणित र समस्या समाधान गर्ने कौशलताहरू सिकाउन सक्नुहुन्छ।” खन्याउने, कुनै तरकारी र फलको गुदी निकाल्ने, ताछ्ने, चाल्ने, घोल्ने र बेल्ने कामले केटाकेटीलाई हात र आँखाले सँगै मिलेर गर्ने काममा कौशलता प्राप्त गर्न मदत दिन्छ। छुट्याउनु (किसमिस र काजु छुट्याएर राख्नु) र लहरै राख्नु (नापअनुसारका कपहरू चाहिएअनुसार मिलाएर एकपछि अर्को राख्नु) गणित सिकाउने आधारभूत कुराहरू हुन्। पकवान विधिका निर्देशनहरू पालन गर्दा संख्या, नाप, समय, व्यवहारिकता र भाषाको अभ्यास हुन्छ। सुरक्षा, जिम्मेवारी, व्यक्तिगत व्यवस्था र सामूहिक कार्यबारे धेरथोर कुराहरू नसिकी जटिल र खतरापूर्ण भान्छामा पस्ने आँट कसैले गर्न सक्दैन।
खानेकुरा पकाउन सिक्नु महत्त्वपूर्ण छ। सानैदेखि भान्छामा सघाउने बच्चाले किशोर उमेरमा पुग्दा सबै प्रकारको खानेकुरा बनाउनसक्नु कुनै असामान्य कुरा होइन। छोराछोरीले खानेकुरा पकाउँदा कुन चाहिं व्यस्त आमाबाबु दंग नपर्लान् र? त्यसबाहेक, पकाउन सिक्नाले युवाहरूलाई आत्मबल र आत्मसन्तुष्टि प्राप्त गर्न मदत दिन्छ। यी गुनहरूले पछि तिनीहरूलाई विवाहित होस् या अविवाहित, उमेर छिप्पिएपछि गर्नुपर्ने जिम्मेवारीहरू वहन गर्न सहयोग दिनसक्छ।—१ तिमोथी ६:६ तुलना गर्नुहोस्।
तीस वर्षसम्म अविवाहित रहेका ली यसरी स्मरण गर्छन्: “मेरी आमाले म सात वर्षको हुँदादेखि नै भान्छाका सानातिना कामकुरा गर्न सिकाउन थाल्नुभयो। पहिला त म खास गरेर केक र अरू मिठाईहरू बनाउन मन पराउँथें। तर म नौ वर्षको हुँदा परिवारको निम्ति सबै प्रकारको खानेकुरा पकाउनसक्ने भएँ र मैले यो सधैंजसो गर्थें। मैले पकाउनुदेखि लिएर विभिन्न प्रकारका घरेलु कामकाजहरू जानेकोले गर्दा पछि अविवाहित वयस्कको हैसियतमा जीवन धान्न सजिलो भएको महसुस गरें। र यसले अहिले मलाई सफल वैवाहिक जीवन बिताउन योगदान पुऱ्याएको छ भनेर म ठोकेर भन्नसक्छु।”
पकाउनु रमाइलो हुन्छ!
आमाबाबुले छोराछोरीलाई भान्छामा प्रशिक्षण दिने समय कसरी निकाल्नसक्छन्? अलमल नहुने समयमा प्रशिक्षण दिनू भनेर एक आमा सुझाउ दिन्छिन्। तपाईंका थुप्रै छोराछोरी छन् र भान्छामा भर्खर सिक्न थालेका हुन् भने, प्रत्येक बच्चासित पालैपालो काम गर्नसक्नुहुन्छ। अरू छोराछोरी सुतिरहेका वा स्कूल गएको समयमा एक जनालाई सिकाउनुहोस्। तपाईंले एक्लै पकाउँदा लाग्ने समयभन्दा धेरै समय लाग्छ भनेर नबिर्सनुहोस्। अनि भान्छामा रमाइलो गर्ने चाँजो मिलाउनुहोस्!
पहिलो चोटि सिकाउनु लाग्नुभएको हो भने, बच्चालाई मनपर्ने खानेकुरा छान्न लगाउनुहोस्।b पकाउन सजिलो खानेकुरा छान्नुहोस्। छोरा वा छोरीले राम्ररी गर्नसक्ने कामहरू यसमा छन् कि छैनन्, पक्का गर्नुहोस्। तपाईंको छोरा वा छोरीलाई छुकछुक गर्न र पट्टाइलाग्दो हुन नदिन चाहिएका मरमसलाहरू र भाँडाकुँडाहरू खाना पकाउनअघि नै खोज्न लाउनुहोस्। तपाईंले पनि केही मात्रामा मरमसालाहरू अगावै तयार पार्न सक्नुहुन्छ। त्यसो गर्दा समय धेरै लाग्दैन र पट्टाइलाग्दो पनि हुँदैन।
प्रत्येक कार्य कसरी गरिन्छ, त्यो देखाउँदै आफ्नो बच्चालाई पकवान विधि पुस्तक सरसरती पढेर सुनाउनुहोस्। भान्छामा बच्चालाई सिक्न चाहिने कुराहरू दिनुहोस्। सम्भवतः तिनलाई केही भाँडा भएको दराज र केही भाँडाकुँडाहरू अनि एप्रन दिनुहोस्। केटाको लागि स्त्रीले लगाउने एप्रनभन्दा पुरुष भान्सेले लगाउने एप्रन दिनसक्नुहुन्छ। सुरुदेखि नै भान्छामा सुरक्षा र त्यससम्बन्धी व्यवहारिक नियमहरूको महत्त्वमाथि जोड दिनुहोस्।—“पहिलो पाठ—सुरक्षा” शीर्षक पेटीको पृष्ठ २२ हेर्नुहोस्।
सबैभन्दा महत्त्वपूर्ण कुरा, भान्छाको कामलाई रमाइलो बनाउने चेष्टा गर्नुहोस्। बच्चालाई तपाईंले गर्नुभएको काम ट्वाल्ल परेर हेर्न मात्र नलगाउनुहोस्। हात धुन लगाएर खानेकुरा पकाउने काममा व्यस्त राख्नुहोस्। तिनलाई केही कुरा खोज्ने, प्रयोग गर्ने र प्रश्न सोध्ने मौका दिनुहोस्। तयार गरेको खाना भने जस्तो भएन भने पनि नसुर्ताउनुहोस्। तपाईंको बच्चाले पकाएको खाना हो भने, तिनले जसैगरि पनि त्यो खानेछन्!
परिवारको हैसियतमा एकसाथ काम गर्ने
निस्सन्देह, भान्छाबाट प्राप्त हुने प्रमुख फाइदाहरूमा पारिवारिक एकता र मूल्य समावेश छन्। आज केही परिवारका सदस्यहरू एकअर्कासित राम्रो सम्पर्क नराखी आ-आफ्नो क्रियाकलापहरूमा व्यस्त भएको तपाईंले देख्नुभएकै होला। यस्तो स्थितिमा घर त थकाइमार्ने र दुइ गाँस भात खाने ठाउँ मात्र हुन जान्छ। त्यसको विपरीत, मिलेर पकाउने परिवारले एकसाथ खान्छ र मिलेर भान्छा अनि भाँडाकुँडा सफा गर्छ। यी क्रियाकलापहरूले तिनीहरूलाई नियमित तवरमा कुराकानी गर्ने, एकसाथ कामकुरो गर्ने र आत्मीयता देखाउने अवसरहरू दिन्छन्। एउटी आमा भन्छिन्, “मैले छोराहरूसित सबैभन्दा उत्तम कुराकानी भान्छामै गरें।” अनि हर्मन नाउँ गरेका मसीही पिता पनि यसो भन्छन्: “हामीले जानाजानी भाँडा धुने मेशिन धेरै वर्षसम्म किनेनौं। त्यसो गर्दा थालहरू हातले धुनु र पुछ्नुपर्थ्यो। भाँडाकुँडा पुछ्ने काम हाम्रा छोराहरूले पालैपालो गर्थे। अनौपचारिक कुराकानी गर्नको लागि यो जस्तो उत्तम मौका अरू हुनै सक्दैनथ्यो।”
हो, आफ्नो छोराछोरीसित हप्तैभरि र वर्षैभरि भान्छामा समय बिताउँदा आध्यात्मिक मूल्य र ईश्वरीय गुनहरू विकास हुन्छन्। यस्तो मित्रैलो क्षणहरूमा आमाबाबु र छोराछोरीबीच खुलस्त कुराकानी स्वतः सुरु हुनसक्छ र आमाबाबुको उदाहरणले छोराछोरीको हृदयमा चालै नपाई अमेट छाप पारिरहेको हुनसक्छ। यस्तो प्रशिक्षण बच्चाको जीवनभरि लाभकारी हुनसक्छ किनभने हितोपदेश २२:६ ले भन्छ: “बालकलाई ठीक बाटोमा लगाऊ, र बृद्धावस्थामा पनि त्यसले त्यो त्याग्दैन।”
तसर्थ, आमाबाबुको हैसियतमा तपाईं आफ्ना छोराछोरीसित बढी समय बिताउने उपाय खोज्दै हुनुहुन्छ भने, केक वा सबै खानेकुरा बनाउन तिनीहरूलाई किन ननिम्त्याउने? तपाईंले तिनीहरूसित भान्छामा काम गर्दा आफ्नो परिवारको पालनपोषण गर्ने र प्रशिक्षण दिने माध्यम भेट्टाउन सक्नुहुन्छ।
[फुटनोटहरू]
a यस विषयबारे छलफलको लागि ब्यूँझनुहोस्!-को (अंग्रेजी) अंक मे २२, १९९३, पृष्ठ १६-१७ मा “सीमित परिमाणमा बाँडिएको ‘गुणस्तरीय समय’ ” लेख हेर्नुहोस्।
b यस उप्रान्त छोरालाई “तिनी” भनिएको छ। तथापि, छोरीहरूको लागि पनि यही शब्द प्रयोग गरिएको छ।
[पृष्ठ २२-मा भएको पेटी]
पहिलो पाठ—सुरक्षा
सुरक्षाको निम्ति सचेत रहनुहोस्:
• व्यस्त सडकको ट्राफिकमा हुने खतराहरूबारे बताएझैं भान्छामा काम गर्दा हुने खतराहरूबारे गम्भीरतापूर्वक तर तिनीहरूलाई नतर्साई बताउनुहोस्। पहिला आफैले असल उदाहरण कायम गर्नुहोस्।
• कुनै वयस्कको रेखदेखमा मात्र छोराछोरीलाई भान्छामा काम गर्न लगाउनुहोस्। बच्चाले विद्युतीय भाँडा वा उपकरणहरू सुरक्षाकासाथ चलाउन नसकुञ्जेल तिनलाई ती प्रयोग गर्न नदिनुहोस्।
• भान्छामा चीजबीजहरू मिलाएर राख्नुहोस्। पोखेको र लथालिंगै भएका चीजहरूलाई थन्को लगाइहाल्नुहोस्। खाना पकाउँदा घरमा पालेको पशु र अरू अलमलाउने कुराहरूलाई भान्छामा नराख्नुहोस्।
औंलाहरू जोगाउनुहोस्:
• इलेक्ट्रिक मिक्सचर कुनै वयस्कको रेखदेखमा मात्र बच्चाहरूलाई चलाउन दिनुपर्छ। तपाईंको बच्चाले खानेकुरा चलाउनअघि उपकरणलाई स्वीचबाट छुट्याएको छ, छैन पक्का गर्नुहोस्।
• बोधो चक्कू चलाउँदा निकै बल पर्नुका साथै सम्भवतः चिप्लिनसक्ने भएकोले उध्याउनुहोस्।
• बच्चालाई चक्कू चलाउन सिकाउनुहुँदा यी तरिकाहरूअनुसार गर्न लाउनुहोस्: (१) चक्कूलाई बींडमा समात्ने, (२) खानेकुरामाथि चक्कू राख्ने, (३) अर्को हात चक्कूमाथि राख्ने र (४) थिचेर खानेकुरा काट्ने।
• अचानो प्रयोग गर्नुहोस्। तपाईंको बच्चाले तरकारी काट्न लाग्दा तरकारी भुइँमा नखसोस् भनेर पहिला त्यसलाई दुइ भाग पार्नुहोस् र चेप्टो भाग चाहिं अचानोमा राख्नुहोस्।
पोलिनुदेखि होशियार हुनुहोस्:
• चुल्हो प्रयोग नगर्दा सधैं आगो निभाएर बन्द गर्नुहोस्। रुमाल, पकवान विधि पुस्तक र झुम्रो आगोबाट टाढा राख्नुहोस्।
• चुल्होमा भाँडा बसाल्दा भाँडाको बिंड ठोक्कर नलाग्ने दिशातिर फर्काउनुहोस्।
• बच्चालाई चुल्हामा काम गर्न लगाउनुहुँदा तिनी मजबुत र नहल्लिने ठाउँमा उभिएका छन् कि छैनन्, पक्का गर्नुहोस्।
• कहाँ राख्नुपर्ने हो निश्चित नगरी तातो खानेकुरा नझिक्नुहोस्। विशेषगरि तपाईंले तातो चीज बोकेर अरूको पछिल्तिरबाट गइरहेको तिनीहरूले थाह पाएका छन् कि छैनन्, पक्का गर्नुहोस्।