बाइबलको दृष्टिकोण
नूहको जलप्रलय—तथ्य कि कथा?
‘अनि सबै जनावर जोड़ी जोड़ी गरी नूहकहाँ जहाजमा आए।’—उत्पत्ति ७:८, ९.
नूहको जलप्रलयबारे कसले पो सुनेको छैन र? शायद तपाईंले केटाकेटी छँदादेखि नै जलप्रलयबारे कथा सुन्नुभएको होला। वास्तवमा, तपाईं स्थानीय पुस्तकालयमा जलप्रलयबारे अनुसन्धान गर्न जानुभयो भने यस विषयमा वयस्कहरूका लागिभन्दा बच्चाहरूका लागि लेखिएको थुप्रै पुस्तकहरू पाउनुहुनेछ। अतः, तपाईं जलप्रलयको विवरण बच्चालाई राति सुत्नअघि सुनाउने कथाको रूपमा मात्र लिनुहुन्छ होला। अधिकांश मानिसहरू नूहको दिनको जलप्रलयसम्बन्धी विवरणलगायत बाइबलको सबै भागलाई एउटा कथा वा हद्द भए मानिसले रचेको नैतिक शिक्षाको रूपमा लिन्छन्।
छक्कलाग्दो कुरा के छ भने, बाइबलमा विश्वास गर्छौं भनी दाबी गर्ने मानिसहरूले समेत जलप्रलयको वास्तविकताबारे शंका गर्छन्। एडवर्ड जे. म्याक्लिन नाउँ भएका क्याथोलिक पादरीले नूहको कथालाई इतिहासको रूपमा होइन तर एउटा “नीतिकथा वा साहित्यको” रूपमा लिनुपर्छ भनेका थिए।
त्यसोभए, बाइबलमा उल्लिखित जलप्रलयको विवरणलाई साँच्चै भएको घटना नभई नीतिकथाको रूपमा मात्रै लिनुपर्ने हो त? बाइबल आफैले यसबारे के भन्छ नि?
पत्यारिला विवरणहरू
मोशाले उत्पत्तिको पुस्तकमा लिपिबद्ध गरेको आँकडालाई नै पहिला ध्यान दिनुहोस्। त्यहाँ हामीले जलप्रलय भएको वर्ष, महिना तथा दिन, जहाज अडेको र पानी सुकेको दिन तोकेरै बताएको पाउँछौं। (उत्पत्ति ७:११; ८:४, १३, १४) उत्पत्तिको अन्य विवरणहरूमा अक्सर मितिहरू रेकर्ड गरिएको छैन। अतः, यी मितिहरूद्वारा मोशाले जलप्रलयलाई साँच्चै भएको घटनाको रूपमा लिएको तथ्यलाई प्रमाणित गर्छ। बाइबलको सत्यतालाई सामान्यतया कथाहरू सुरु हुने शब्दसित तुलना गर्नुहोस्, “एकादेशमा . . . ”
अर्को उदाहरणस्वरूप जहाजलाई नै लिनुहोस्। बाइबलले १३३ मिटर लामो जहाजबारे वर्णन गर्छ र यसको लम्बाइदेखि ऊँचाइको अनुपात १०:१ छ र लम्बाइदेखि चौडाइको अनुपात ६:१ छ। (उत्पत्ति ६:१५) अनि नूह जहाज बनाउने कालिगढ थिएनन्। स्मरण रहोस्, यो ४,००० वर्षभन्दाअघिको कुरा हो। तैपनि, जहाज तैरिन सक्ने अनुपातमा बनाइएको थियो। वास्तवमा, आधुनिक नाविक निर्माताहरूले त्यस्तो अनुपात बलियो र स्थिरताको निम्ति उपयुक्त हुने पाएका छन्। नूहलाई जहाज बनाउन ठीक कति समय लाग्यो त्यो त बाइबलले बताउँदैन तर सम्बन्धित विवरणहरू हेर्दा ५० वा ६० वर्ष जति लागेको हुनुपर्छ। (उत्पत्ति ५:३२; ७:६) यी तथ्यहरू र गिल्गामेश भनिने बेबिलोनी महाकाव्यको प्रख्यात कथामा चाहिं आकाश जमिनको भिन्नता छ। त्यस महाकाव्यले एउटा ठूलो भद्दा परेको ६० मिटर लामो घनाकार जहाज सातै दिनमा बनाउन सकिएको उल्लेख गर्छ। बाइबलमा लिपिबद्ध जलप्रलयको विवरणले बेबिलोनी दन्त्यकथाको विपरीत यथार्थतातर्फ भरोसा बढाउँछ।
धर्मशास्त्रमा नूह वा विश्वव्यापी जलप्रलयबारे उत्पत्तिको पुस्तकमा बाहेक १० चोटि उल्लेख गरिएको छ। यी उल्लेखहरूबाट प्रेरित लेखकहरूले जलप्रलयलाई इतिहासको रूपमा लिए कि कथाको रूपमा लिए, के प्रमाणित हुन्छ?
सत्यताको पुष्टि
धर्मशास्त्रमा दिइएको इस्राएल राष्ट्रको वंशावलीमध्ये दुइ ठाउँमा नूहको उल्लेख गरिएको छ र दोस्रो चाहिं येशू ख्रीष्टमा अन्त भयो। (१ इतिहास १:४; लूका ३:३६) यी वंशावली संकलन गर्ने एज्रा र लूका दुवै दक्ष इतिहासकारहरू थिए र तिनीहरूले नूहलाई वास्तविक व्यक्तिकै रूपमा लिएको हुनुपर्छ।
बाइबलको अन्य भागमा तिनलाई ऐतिहासिक व्यक्तिहरूको सूचीमा राखिएको छ। तिनलाई विश्वासअनुसार हिंड्ने धार्मिक मानिस भनिएको छ। (इजकिएल १४:१४, २०; हिब्रू ११:७) काल्पनिक व्यक्तिलाई नमुनाको रूपमा राखेर बाइबलका लेखकहरूलाई केही फाइदा हुन्छ र? पटक्कै हुँदैन किनभने यसो गर्दा बाइबल पढ्ने जो कोही पनि विश्वास राख्नु भनेको त मानिसको वशको कुरा होइन र यो कुनै एक कथाको पात्रले मात्र गर्नसक्छ भन्ने निष्कर्षमा सजिलै पुग्नसक्छ। अनि बाइबलमा नूहलगायत अन्य विश्वासी स्त्री तथा पुरुषहरूको उल्लेख गरियो किनभने तिनीहरू पनि हामीजस्तै कमजोर तथा हाम्रो जस्तै भावना भएका मानिसहरू थिए।—हिब्रू १२:१; तुलना गर्नुहोस् याकूब ५:१७.
धर्मशास्त्रको अन्य भागमा नूहको समयका अधर्मी पुस्तालाई परमेश्वरले नाश गर्नुभएको सन्दर्भमा जलप्रलय उल्लेख गरिएको छ। जलप्रलयबारे येशूले लूका १७:२६, २७ मा के भन्नुभयो ध्यान दिनुहोस्: “औ जस्तै नूहका दिनमा भएको थियो, त्यस्तै मानिसको पुत्रका दिनमा पनि हुनेछ। नूह जहाजमा प्रवेश नहोउञ्जेल मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाहबारी गर्दैथिए, र पानीको बाढ़ी आएर सबैलाई नष्ट पाऱ्यो।”
येशू ख्रीष्ट यस घटनाको प्रत्यक्षदर्शी हुनुहुन्थ्यो किनभने पृथ्वीमा आउनुअघि उहाँ स्वर्गमा हुनुहुन्थ्यो। (यूहन्ना ८:५८) जलप्रलय एउटा कथा मात्रै हो भने, येशूले भन्नुभएको उपस्थिति या त काल्पनिक मात्र हुनुपऱ्यो नत्र उहाँले झूट बोलेको हुनुपऱ्यो। यी दुवै कुरा धर्मशास्त्रको अन्य भागसित मेल खाँदैन। (१ पत्रुस २:२२; २ पत्रुस ३:३-७) अतः, आफैले जलप्रलय भएको देख्नुभएको हुनाले येशू ख्रीष्टले जलप्रलयबारे बाइबलको विवरणलाई पत्यारिलो इतिहासको रूपमा लिनुभयो। निस्सन्देह, साँचो मसीहीहरूको लागि नूहको जलप्रलय कथा नभई वास्तविकता हो भन्ने सबैभन्दा पत्यारिलो प्रमाण नै यही हो।
[पृष्ठ २४-मा भएको चित्रको स्रोत]
L. Chapons/Illustrirte Familien-Bibel nach der deutschen Uebersetzung Dr. Martin Luthers