प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ३/८ पृ. २०-२३
  • रोमाञ्चकारी आश्‍चर्य

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रोमाञ्चकारी आश्‍चर्य
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • माया पिरती र कलेज
  • धर्ममा चासो
  • वैरागलाग्दा दिनहरू
  • आफ्नो जीवनलाई वशमा राखें
  • बुबासितको मेरो सम्बन्ध
  • मलाई जन्म दिने आमा कसरी भेट्टाएँ
  • फोन कल र आश्‍चर्य
  • स्मरणीय पुनर्मिलन
  • हृदय अनि दृष्टिलाई इनाममा केन्द्रित गर्दै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • परमेश्‍वर र आमासित मेरो सम्बन्ध फेरि राम्रो भयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • आमाबाबुले हामीलाई परमेश्‍वरलाई प्रेम गर्न सिकाउनुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • यहोवाको सेवामा पाएको सफलता
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ३/८ पृ. २०-२३

रोमाञ्चकारी आश्‍चर्य

आफूलाई धर्मपुत्र बनाइएको कुरा डान फोल्ट्‌सले आठ वर्षको हुँदा थाह पाए। वर्षौंपछि तिनले यस्तो सोच्न थाले, ‘मेरी आमा को हुन्‌? तिनी कस्ती थिइन्‌? आमाले मलाई किन धर्मपुत्र हुन दिनुभएको? के मेरा भाइबहिनीहरू छन्‌?’ तिनले आफूलाई जन्म दिने आमा कसरी भेट्टाए र त्यसपछि कस्तो नाटकीय घटना भयो डानको निम्न विवरण पढेर जान्‍नुहोस्‌।

म अगस्त १, १९६६ मा सं.रा.अ. केचिकन, अलास्कामा जन्मेको थिएँ। मेरी दिदी पाम मभन्दा दुइ वर्षले जेठी थिइन्‌। हाम्रो बुबा अमेरिकी मूलवासी इण्डीयनहरूसम्बन्धी विभागमा समाजसेवी हुनुहुन्थ्यो। उहाँको अक्सर सरुवा भइराख्थ्यो। हामी अलास्काको विभिन्‍न ठाउँहरूमा सऱ्‍यौं। पछि हामी आयोवा, ओक्लाहामा, एरिजोना र ओरिगनमा पनि बस्यौं।

हामी १९७५ को गर्मी याममा विस्कनसिनका केही नातेदारहरू भेट्‌न जाँदा मेरा केही दाजुभाइहरूले अर्को एक जना आफन्तबारे कुरा काटे। तिनीहरूले “ऊ त धर्मपुत्र हो, त्यसैले वास्तवमा उसको जात फोल्ट्‌स होइन,” भने। घर फर्केपछि मैले आमालाई यसबारे सोधें र उहाँ अवाक्‌ हुनुभएको देखेर म छक्क परें। त्यसपछि धर्मपुत्र-पुत्री बनाउनु भनेको के हो उहाँले मलाई बुझाउनुभयो। त्यस रात बरबर आँसु झार्दै म र मेरी दिदीलाई पनि धर्मपुत्र र धर्मपुत्री बनाइएको हो भन्‍नुभयो।

त्यतिबेला मलाई कसैको धर्मपुत्र-पुत्री बन्‍नु कत्ति ठूलो कुरा हो, त्यति मतलबै थिएन र निकै समयसम्म मैले वास्ता पनि गरिनँ। मेरो आमाबाबु हुनुहुन्थ्यो र जीवनजस्तो हुनुपर्ने हो त्यस्तै भएझैं लाग्थ्यो। मेरो आमाबाबुले अब यताउता नसरिकन एकै ठाउँमा बस्ने निर्णय गर्नुभयो। म नौ वर्षको हुँदा वाशिंगटन, भ्यानकुभरमा सऱ्‍यौं। बुबा र मेरो असाध्यै कुरा मिल्थ्यो तर आमासँग भने त्यति घनिष्ठता थिएन। म स्वतन्त्र हुन चाहन्थें र बेला-बेलामा विद्रोह पनि गर्थें। यसले गर्दा आमा दिक्क हुनुहुन्थ्यो। र शायद यही कारणले गर्दा होला आमा र म झन्‌ झनै टाढ-टाढा हुन थाल्यौं।

माया पिरती र कलेज

उच्च माध्यमिक विद्यालयमा हुँदा त्रिनालाई भेटें र हाम्रो तुरुन्तै मन मिलिहाल्यो। स्कूल सकेपछि मैले ओरिगनस्थित कोरभालिस, ओरिगन स्टेट युनिभर्सिटिमा छात्रवृत्ति पाएँ। फुर्सद भयो कि म त्रिनालाई भेट्‌न भ्यानकुभर पुगिहाल्थें। त्रिनाको चाहिं उच्च माध्यमिक विद्यालयमा अझै एक वर्ष पढ्‌न बाँकी थियो। मैले पढाइमा असाध्यै हेलचक्य्राइँ गरें तर मनमा चाहिं राम्रै हुनेछ भन्‍ने आशा थियो। मेरो पहिलो वर्षको परीक्षाफल लाजमर्दो थियो। त्यस्तो नराम्रो परीक्षाफल त मैले कहिल्यै पाएको थिइन! म लाजले भुतुक्क भएँ। तर मैले त्रिनालाई भेट्‌न भने छोडिनँ। तिनलाई भेट्‌न जाँदा पनि पढ्‌न किताबहरू लग्थें।

एक दिनको कुरा हो, भ्यानकुभरबाट कलेज फर्किंदा मेरो नराम्रोसित मोटरसाइकल दुर्घटना भयो। त्यसको अलिपछि बाटो काटिरहेको बेला मोटरले ठोक्कर दिंदा झनै नराम्रोसित घाइते भएँ। त्यसपछि मैले जागिर खान थालें र फेरि कलेज जाने इच्छा मर्न थाल्यो।

धर्ममा चासो

समयमा, त्रिना र म सँगै बस्न थाल्यौं। हामी परमेश्‍वरमाथि विश्‍वास गर्थ्यौं र उहाँबारे जान्‍न चाहन्थ्यौं। तर, हामीलाई चर्चहरूको व्यवहार ढोंगी लाग्थ्यो। त्यसैले, हामी आफैले बाइबल पढ्‌ने प्रयास गऱ्‍यौं तर पढ्‌दा टुप्पो न फेदको भयो।

म पोर्टल्याण्ड ओरिगनमै जागिर खान्थें र त्यस्तै एक दिनको कुरा हो, काम गर्ने ठाउँमा मेरा सहकर्मीहरूले एक जना मान्छेलाई जिस्काउन थाले। मेरो विचारमा त्यो मान्छे मैले भेटेको असल मानिसहरूमध्ये एक थियो। जति नै खिसी गरे पनि ऱ्‍यान्डी शान्त रहिरहे। पछि त्यही दिन, मैले तिनलाई सोधें: “तिमी पनि प्रचारक हो भन्‍ने सुन्छु नि, के हो?”

तिनले भने: “हो, म हुँ।”

मैले सोधें: “कुन संगठनको?”

“म यहोवाको साक्षी हुँ।”

“यहोवाका साक्षीहरू भनेको को हुन्‌?”

छक्क पर्दै तिनले सोधे, “तिमीलाई साँच्चै थाह छैन?”

मैले भनें, “साँच्चै थाह छैन। यहोवाका साक्षीहरू को हुन्‌? के मैले थाह पाउनुपर्ने कुरा हो?”

हाँस्दै तिनले भने: “हो, थाह पाउनुपर्छ। आज खाजा खाने समयमा के गर्दैछौ?”

खाजा खाने समयमा भएको थुप्रै बाइबल छलफलहरूमध्ये त्यो पहिलो थियो। एक रात मैले त्रिनालाई हाम्रो कुराकानीबारे बताएँ। कराउँदै तिनले भनिन्‌, “यहोवाका साक्षीहरूसित कुरा नगर्नुहोस्‌! तिनीहरू बौलाहा हुन्‌! तिनीहरू मसीहीहरू नै होइनन्‌। तिनीहरू क्रिस्मस मनाउँदैनन्‌।” अनि तिनले यहोवाका साक्षीहरूबारे सुनेको अन्य कुराहरू पनि बताइन्‌।

“तिमीलाई कसैले थुप्रै गलत कुराहरू भनेको रहेछ,” मैले भनें। निकै बेर छलफल गरिसकेपछि बल्लतल्ल त्रिनालाई तिनले सुनेको सबै कुरा सत्य होइन भनी चित्त बुझाउन सकें। त्यसपछि, तिनले मलाई ऱ्‍यान्डीलाई प्रश्‍नहरू सोध्न लगाउँथिन्‌ र म चाहिं एक एक गर्दै स्पष्ट धर्मशास्त्रीय जवाफहरू ल्याउँथें। आखिरमा, त्रिनाले यसो भनिन्‌: “बाइबलमा यी सबै कुराहरू छन्‌ भनेर मलाई थाहै थिएन तर मलाई तिनीहरू अझै बौलाहा नै लाग्छ। तपाईं ऱ्‍यान्डीसित अझै कुरा गर्न चाहनुहुन्छ भने मेरो भन्‍नु केही छैन तर घरमा आएर मलाई तिनीहरूको कुरा नसुनाउनुहोस्‌।”

वैरागलाग्दा दिनहरू

बाइबलबाट सिकिरहेको कुरामा मलाई विश्‍वास त लाग्थ्यो तर त्यसअनुसार जीवन बिताउन सकिन्छ जस्तो चाहिं लाग्दैन थियो। त्रिना र मेरो झगडा मात्र भइराख्थ्यो। त्यसैले एक जना साथी र मैले आ-आफ्नो प्रेमिकालाई छोडेर नयाँ जीवन सुरु गर्न ओक्लाहामा जाने निर्णय गऱ्‍यौं। जागिरमा छुट्टी पनि मिलाएँ। टेक्सस सीमासँगैको एउटा सानो शहरमा म र मेरो साथी कोठा लिएर बस्न थाल्यौं। त्रिनाको अभाव असाध्यै खड्‌कन थाल्यो तैपनि मस्ती गर्ने मैले निर्णय गरें।

टेक्ससमा १९ वर्षको भएपछि कानुनन्‌ पिउन पाउने थाह पाएँ, त्यसैले मेरो साथी शहरमा नभएको बेला एक रात असाध्यै नाउँ चलेको रक-एन-रोल बारमा मोज गर्न गएँ। म असाध्यै मात्तिएँ, मोटर ठोक्काएँ र त्यसपछि मलाई जेलमा लगियो। समयमा बुबालाई सम्पर्क गर्न सकें र जेलबाट जमानतमा निकाल्नुभयो। अनि त्रिनाले फेरि तिनीसँगै बस्न दिएकोमा म असाध्यै खुशी भएँ! म पुरानै जागिरमा फर्कें र ऱ्‍यान्डीसित फेरि बाइबल छलफल सुरु गरें।

आफ्नो जीवनलाई वशमा राखें

यहोवाका साक्षीहरूबारे सुनेको पनि झन्डै दुइ वर्ष भइसकेको थियो र मैले बाइबल अध्ययनमा बढी ध्यान दिने निर्णय गरें। म २० वर्ष पुगिसकेको थिएँ र यस लेखको सुरुमा उल्लिखित प्रश्‍नहरूले मलाई पिरोल्न थाल्यो। अतः, मैले आफूलाई जन्म दिने आमा साँच्चै खोज्न थालें।

अलास्कामा म जन्मेको अस्पतालमा फोन गरें र खोज्न के कसो गर्नुपर्छ सोधें। के गर्नुपर्छ भनी थाह पाएपछि मैले आफ्नो सक्कली जन्म प्रमाणपत्रको प्रति लिएँ। अनि त्यसबाट मेरो आमाको नाउँ स्यान्ड्रा लि हर्स रहेछ भनी पत्ता लगाएँ। तर त्यस प्रमाणपत्रमा मेरो बुबाको अत्तोपत्तो थिएन। मलाई जन्म दिंदा स्यान्ड्रा १९ वर्षकी मात्र थिइन्‌। त्यसैले तिनले विवाह नगरी गर्भवती भएको कारण डराएर यस्तो कठिन निर्णय गर्नुपरेको होला भनी अड्‌कल काटें। मेरी आमा पत्ता लगाउन मेरो जन्म प्रमाणपत्रमा पुग्दो जानकारीहरू थिएन।

त्यतिञ्जेल ऱ्‍यान्डीसितको बाइबल अध्ययनको कारण साँचो धर्म यही नै हो भनी पक्का भएँ। तर चुरोट खानेजस्तो घृणित बानीलाई छोडी हाल्न सकिनँ। (२ कोरिन्थी ७:१) यहोवाले मलाई त्याग्नुभएको जस्तो लाग्न थाल्यो। त्यसबीच, राज्यभवनमा एक जना साक्षीले भनेको कुरा मलाई असाध्यै घत पऱ्‍यो। शैतान हामी असफल भएको चाहन्छ अनि हार मानेर अनन्त जीवनलाई नै त्याग्नु दुःखको कुरा हो र “हाम्रो भार यहोवालाई बिसाउनुपर्छ अनि मदतको निम्ति उहाँमाथि पूर्णतया भरोसा गर्नुपर्छ,” भनी तिनले भने।—भजन ५५:२२.

मलाई चाहिएको कुरा त्यही थियो! मदतको निम्ति यहोवालाई निरन्तर प्रार्थना गर्दै तिनले भनेको कुरा लागू गर्न थालें। चाँडै, मैले चुरोट पिउन छोडि दिएँ। त्रिना र मैले विवाह गऱ्‍यौं अनि बाइबल अध्ययन गर्न नियमित हुन थालें। समयमा त्रिनाले पनि बाइबल अध्ययन गर्न थालिन्‌। मैले जून ९, १९९१ मा बप्तिस्मा लिएर यहोवालाई जीवन समर्पण गरेको कुरा जनाएँ। त्यसको झन्डै दुइ हप्तापछि हाम्री जेठी छोरी ब्रियाना जीन जन्मिन्‌।

बुबासितको मेरो सम्बन्ध

बुबा र म असाध्यै घनिष्ठ थियौं। उहाँ दयालु हुनुहुन्थ्यो र म निरुत्साहित हुँदा सधैं प्रोत्साहन दिनुहुन्थ्यो। तथापि, चाहिएको बेला अनुशासन दिनुपर्दा उहाँ निकै कडा हुनुहुन्थ्यो। त्यसैले १९९१ मा बुबालाई निको नहुने फोक्सोको अर्बुद रोग लागेको थाह पाउँदा असाध्यै दुःख लाग्यो। त्यतिबेलासम्म मेरा आमाबाबु मोन्टोना, ह्‍यामिल्टन सरिसक्नुभएको थियो। उहाँलाई भेट्‌न र आमालाई भावनात्मक सहारा दिन हामी त्यहाँ अक्सर जान्थ्यौं।

हामीले बुबालाई के जीवन यति नै हो? (अंग्रेजी) पुस्तक पनि दियौं। उहाँले पढ्‌ने वाचा दिनुभयो र उहाँ आफ्नो परिवारको हितबारे चिन्तित हुनुभएको कुरा बताउनुभयो। अन्तिम चोटि भेट्‌न जाँदा बुबाले मलाई छोराको रूपमा पाएकोमा उहाँ गर्व ठान्‍नुहुन्छ र मलाई औधी प्रेम गर्नुहुन्छ भनेर बताउनुभयो। अनि आँसु बरबर आउन थालेपछि उहाँ झ्यालतिर फर्किनुभयो। घर फर्किनुअघि उहाँले निकै चोटि मलाई अंकमाल गर्नुभयो। नोभेम्बर २१, १९९१ मा मृत्यु हुनुअघि बुबाले मैले दिएको त्यो पुस्तकको एक तिहाइ जति पढि सक्नुभएको थियो।

बुबाको मृत्यु अनि हामी वाशिंगटनस्थित मोजेज लेकमा सरेपछि ममा आफ्नो विगतबारे जान्‍ने तीब्र इच्छा जाग्यो। तर खोजको लागि जत्ति नै समय दिए तापनि आध्यात्मिक क्रियाकलापलाई कहिल्यै बेवास्ता गरेनौं। त्रिनाले पनि जून ५, १९९३ मा बप्तिस्मा लिइन्‌ र त्यसको छ महिनापछि हाम्री माइली छोरी सेरा लिनलाई जन्म दिइन्‌।

मलाई जन्म दिने आमा कसरी भेट्टाएँ

मैले अलास्काको कानुन विभागबाट जानकारीहरू मागिरहें र अन्य विभागहरूलाई पनि थुप्रै पत्र लेखें र आफैले पनि कम्प्युटरद्वारा खोजतलास गरिरहें। तर कुनै ठोस जवाफ हात लागेन। अनि १९९५ को अन्ततिर मेरो स्वास्थ्य परीक्षण गर्दा मुटुको धड्‌कन अनियमित भएको पत्ता लाग्यो। म २९ वर्षको मात्र थिएँ र मेरो चिकित्सक मलाई बाल्यकालमा केही रोग लागेको थियो कि भनी जान्‍न चाहन्थे।

मेरो राम्रो उपचार गर्न मलाई घर्मपुत्र बनाउँदाका कागजातहरूमा आवश्‍यक जानकारी हुनसक्छ भनी जोड दिंदै मेरो चिकित्सकले सुस्पष्ट पत्र लेखे। समयमा हामीले जवाफ पायौं। यसमा न्यायाधीशको निर्णय थियो। तिनको विचारमा फाइल खोल्नुपर्ने गरी मेरो स्वास्थ्य परिस्थिति त्यति नराम्रो भएको छैन भनी लेखिएको थियो। मलाई आफू छाँगोबाट खसेझैं महसुस भयो। तर केही हप्तापछि दोस्रो न्यायाधीशबाट अर्को चिठी आयो। त्यस चिठीमा मलाई धर्मपुत्र बनाइँदाका कागजातहरू हेर्ने अदालतको अनुमति थियो!

मलाई धर्मपुत्र बनाइँदाका सक्कली कागजातहरू मैले जनवरी १९९६ को सुरुतिर पाएँ। त्यसमा मेरी आमा जन्मेको शहर र उहाँको पारिवारिक पृष्ठभूमि दिइएको थियो। तुरुन्तै मैले कम्प्युटरद्वारा त्यस शहरमा स्यान्ड्रा नाउँ भएका मानिसहरूको खोजतलास गरें र मैले त्यस नाउँमा छवटा फोन नम्बर पाएँ। हामी दुइमध्ये त्रिनाले फोन गरे बेस हुनेछ भनी त्रिना र मैले निर्णय गऱ्‍यौं। तेस्रो पटक फोन गर्दा एउटी आइमाईले स्यान्ड्रा तिनकी भतिजी हो भनिन्‌ र खुरुक्क फोन नम्बर दिइन्‌।

फोन कल र आश्‍चर्य

त्रिनाले त्यस नम्बरमा फोन गर्दा उठाउने आइमाईले आफ्नो परिचय दिन इन्कार गरिन्‌। त्यसपछि त्रिनाले सीधै भनिन्‌: “मेरो पतिको जन्म अलास्कास्थित केचिकनमा अगस्त १, १९६६ मा भएको थियो र मैले खोजिरहेको व्यक्‍ति तपाईं नै हो कि भनी जान्‍न चाहेकी मात्र हुँ।” केही बेरको मौनतापछि त्यस स्त्रीले काँपेको आवाजमा त्रिनाको नाउँ र फोन नम्बर सोधिन्‌ र पछि फोन गर्छु भनिन्‌। आमाले चाँडै फोन गर्नुहुन्‍न होला भन्‍ने विचार गर्दै घरको लागि चाहिने केही सामानहरू लिन पसल गएँ।

फर्किंदा त, त्रिना आँखाभरि आँसु लिएर फोनमा कुरा गरिरहेकी थिइन्‌। त्रिनाले फोन मलाई दिइन्‌। आमा र मैले हेलो भन्यौ र साधारण कुराकानी गऱ्‍यौं। त्यतिबेला नै त्रिनाले खुसुक्क आएर “तपाईंलाई आमाले धर्मपुत्रको निम्ति दिन चाहनुभएको थिएन,” भनिन्‌। आमाले आफ्नोबारे बताउन थाल्नुहुँदा मलाई असाध्यै दया लाग्यो। मैले भनें, “मलाई जीवन दिनुभएकोमा धन्यवाद दिन चाहन्छु। मेरो जीवन सुखमय छ र आवश्‍यक सबै कुरा पाएको छु। असल आमाबाबु पाएको छु र उहाँहरूले असाध्यै माया गर्नुहुन्छ। अहिले बत्तीसै गुनले परिपूर्ण पत्नी र दुइ राम्री छोरीहरू छन्‌। म असाध्यै खुशी छु।”

उहाँ सुँक्क सुँक्क गर्न थाल्नुभयो। कुरा गर्दै जाँदा उहाँको बलात्कार गरिएकोले गर्भवती भएको र मलाई त्याग्न विवश भएको कुरा सुनाउनुभयो। अनि पछि विवाह गरेको र त्यसको केही समयपछि शल्यक्रिया गरेर अस्पतालमा स्वास्थ्यलाभ गरिरहेको बेला आफ्नी सानी छोरी र आमा आगलागीमा परेर मरेको बताउनुभयो। आफ्नो छोरालाई त्यागेको हुनाले परमेश्‍वरले प्रियजनहरूलाई लग्नुभएर यसरी हिसाब चुक्‍ता गर्नुभएको जस्तै लाग्यो भन्‍नुभयो। मैले तुरुन्तै, “होइन, परमेश्‍वरले त्यस्तो गर्नुहुन्‍न!” भनें। अहिले उहाँलाई त्यो कुरा थाह छ भन्‍नुभयो। किनभने उहाँले त्यस दुर्घटनापछि “बाइबल सत्यको खोजी” गर्न थाल्नुभएछ र अहिले एक “बाइबल विद्यार्थी” हुनुहुँदो रहेछ।

आमाको कुरा पत्याउनै सकिनँ र “तपाईंले कोसित अध्ययन गर्नुभएको?” भनी सोधें। एकछिन चुप लाग्नुभयो। अनि भन्‍नुभयो: “यहोवाका साक्षीहरूसित।” म यति भावुक भएँ कि बोल्नै सकिनँ। काँपिरहेको आवाजमा बल्लतल्ल “म पनि यहोवाको साक्षी हुँ,” भनें। मैले स्पष्टसित म पनि यहोवाको साक्षी हुँ भनेर दोहोऱ्‍याएपछि उहाँ हर्षले गदगद्‌ हुनुभयो। यी सबै बयान गरेर गरि नसक्नु थियो!

आमा उहाँको सानी छोरीको मृत्युपछि १९७५ मा साक्षी हुनुभएको रहेछ। उहाँको पतिले आध्यात्मिकतामा प्रगति गर्न थाल्नुभएपछि उहाँले मेरोबारे बताउनुभएछ। उहाँले आमालाई सान्त्वना दिनुभयो र दुवै मिलेर मलाई खोज्ने निर्णय गर्नुभयो। तर केही समय बित्दा नबित्दै उहाँको मोटर दुर्घटनामा मृत्यु भयो र आमा एक्लैले तीन स-साना छोराछोरीलाई हुर्काउनुपऱ्‍यो। त्यसपछिका दिनहरूमा आमासित साँझ साँझ निकै चोटि घण्टौं कुरा गरें। आखिरमा, हामीले फेब्रुअरी १९९६ को दोस्रो हप्तामा आरिजोनास्थित फिनिक्समा भेट्‌ने प्रबन्ध मिलायौं। आमाले पहिल्यै अर्कै एक मसीही बहिनीसित त्यहाँ जाने प्रबन्ध मिलाइसक्नुभएको थियो।

स्मरणीय पुनर्मिलन

यस यात्राको लागि त्रिना र मैले बच्चाहरूलाई घरमै छोड्यौं। हवाइजहाजबाट ओर्लिंदा मैले आमालाई देखें र बल्ल उहाँलाई अंकमाल गर्न पाएँ। मलाई अंकमाल गर्न उहाँले २९ वर्ष कुर्नुपऱ्‍यो भन्‍नुभयो र लामो समयसम्म अंकमाल गरिरहनुभयो। त्यस भेट असाध्यै स्मरणीय थियो र हामीले आफ्नो तस्बिरहरू देखायौं तथा आ-आफ्नो घटनाहरू सुनायौं। तथापि, सबैभन्दा विशेष कुरा त फिनिक्सको राज्यभवनमा आमासँगै बस्नु थियो! सभामा सँगै बसेर सुन्यौं र राज्य गीत गाउँदा पनि सँगसँगै गायौं। त्यतिबेलाको भावनालाई म कहिल्यै बिर्सिन सक्दिनँ।

अप्रिल १९९६ मा मेरो सौतेनी बहिनी लोरा आयोवाबाट हामीलाई भेट्‌न आइन्‌। तिनीसित मसीही संगतिको आनन्द उठाउन पाउँदा मलाई असाध्यै खुशी लाग्यो! मेरो दुइ जना सौतेनी भाइहरूसित पनि फोनमा कुरा गरिसकें। यसरी आफ्नो परिवारसित एकत्रित हुन पाउनु साँच्चै आनन्ददायी कुरा हो तर यहोवाको संगठनसित प्रेममा एकताबद्ध हुन पाउनु चाहिं हाम्रो महान्‌ परमेश्‍वर यहोवाले मात्र दिन सक्नुहुने वरदान हो।—डान फोल्ट्‌सको वृत्तान्तमा आधारित

[पृष्ठ २३-मा भएको चित्र]

मलाई जन्म दिने आमासित

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने