शंखे ज्वरो—के यसको उन्मूलन गर्न सकिएला?
नाइजेरियाका ब्यूँझनुहोस्! संवाददाताद्वारा
चिकित्सा तथा विज्ञानको क्षेत्रमा गजब गजबका प्रगतिहरू भए तापनि प्राचीन कालदेखि नै मानिसजातिलाई सताउँदै आएका समस्याहरू अझै यथावत् छन्। शंखे ज्वरो रोकथाम गर्न गरिएका प्रयासहरूको हालत पनि यस्तै छ।
यसो हेर्दा, यसको उपचार गर्न चाहिने साधनहरू सबै छन्। चिकित्सकहरूलाई परजीवीको जीवनचक्र पनि थाह छ। रोग पत्ता लगाउन गाह्रो पनि होइन। प्रभावकारी औषधीहरू सजिलै पाइन्छन्। अनि यसको रोकथाम गर्न सरकारी नेताहरू त्यतिकै उत्सुक छन्। तैपनि यस रोग निर्मूल गर्न सकिएको छैन। अझै पनि अफ्रिका, एसिया, क्यारेबियन, दक्षिण अमेरिका तथा मध्यपूर्वका करोडौं मानिसहरूलाई यस रोगले सताइरहेको छ।
शंखे ज्वरोले (यसलाई बिल्हार्जियासिस वा सिस्टासोमासिस पनि भनिन्छ) मानिसलाई सताउन थालेको हजारौं वर्ष भइसक्यो। प्राचीन इजिप्टका सुकाइएका मुर्दाहरूमा पाइएको क्यालसियमयुक्त अण्डाहरूले फिरऊनहरूको समयमा पनि मिश्रीहरूलाई यस रोगले सताउँथ्यो भनेर प्रमाण दिन्छ। तीस शताब्दीपछि पनि यस रोगले इजिप्टलाई अझै पिरोलिरहेको छ र यसले लाखौं मानिसहरूको स्वास्थ्य शिथिल पारिरहेको छ। नाइल नदी वरपरका केही गाउँहरूमा झन्डै १० प्रतिशत मानिसहरू यस रोगबाट संक्रमित भएका छन्।
शंखे ज्वरोले ग्रस्त ७४ वा त्योभन्दा बढी देशहरूमध्ये इजिप्ट एउटा हो। विश्व स्वास्थ्य संगठनअनुसार (डब्ल्यु.एच.ओ) संसारभरि २० करोड मानिसहरू यस रोगबाट संक्रमित छन्। तीमध्ये वर्षौंदेखि दुइ करोड मानिसहरू यो रोगले पीडित छन् भने लगभग २,००,००० जना वर्षेनी मर्छन्। उष्ण कटिबन्धीय क्षेत्रहरूमा परजीवीहरूले ल्याउने रोगहरूमध्ये शंखे ज्वरो औलोपछि दोस्रो स्थानमा आउँछ। यो, शंखे ज्वरोको शिकार हुने मानिसहरूको संख्या अनि समाज र आर्थिक रूपमा यसले पुऱ्याउने हानिको हिसाबमा हो।
परजीवीको जीवनचक्र
शंखे ज्वरो कस्तो प्रकारको ज्वरो हो भनी बुझ्न अनि यसको रोकथाम र उपचार गर्न पहिला यो रोग फैलाउने परजीवीबारे थाह पाउनुपर्छ। मुख्य बुँदा चाहिं यो हो: पुस्तौंपुस्तासम्म बाँच्न र फस्टाउन यस परजीवीलाई दुइटा घर अर्थात् दुइ जीवित प्राणीहरू चाहिन्छ जहाँ यसले खानाको साथसाथै हुर्कने वातावरण पाउँछ। ती हुन्, एउटा स्तनपायी, जस्तै मानिस र अर्को चाहिं पानीमा बस्ने शंखे कीरा।
रोग चाहिं यसरी लाग्छ। शंखे ज्वरोका परजीवी भएको मानिसले पोखरी, ताल, खोला वा नदीमा दिसा पिसाब गर्दा त्यस परजीवीका अण्डाहरू पनि सँगसँगै निस्कन्छन्। यो परजीवीले एक दिनमा लाखौं अण्डा निकाल्नसक्छ। अण्डाहरू एकदमै साना हुन्छन्, सूक्ष्मदर्शक यन्त्रद्वारा मात्र देखिन्छ। ती अण्डाहरू पानीमा पुगेपछि हुर्केर परजीवी बन्छन्। ती परजीवीहरू आफ्नो शरीरमा भएका स-साना रौंको मदतले पौडी खेल्दै शंखे कीराकहाँ पुग्छन् र शंखे कीराभित्र छिर्छन्। शंखे कीराभित्र छिरेपछि चारदेखि सात हप्तामै तिनीहरूको संख्या दोब्बर हुन्छ।
शंखे कीराबाट निस्केपछि तिनीहरूसित मानिस वा अरू कुनै स्तनपायी भित्र छिर्न ४८ घण्टा मात्रै हुन्छ। नत्र भने तिनीहरू मर्छन्। पानी नजीकै मानिस वा कुनै स्तनपायी पाएपछि तिनीहरू छालाबाट भित्र छिर्छन् र नशाभित्र पस्छन्। यसो हुँदा मानिसलाई अलिअलि चिलाउनसक्छ तर त्यस परजीवी भित्र छिरेको पत्तै हुँदैन। रगतमा पुगेपछि यो परजीवी या त मूत्राशय वा आन्द्राको रक्तकोशिकाहरूमा जान्छ। तर यो चाहिं परजीवी परजीवीअनुसार फरक पर्छ। केही हप्तामै परजीवी हुर्केर भाले तथा पोथी परजीवी बन्छ र २५ मिलिमिटरसम्म लामो हुन्छ। भाले र पोथीको संसर्ग भएपछि पोथीले मानिस वा स्तनपायीको रगतमा अण्डाहरू पार्छ र यसरी जीवनचक्र पूरा हुन्छ।
(आन्द्रामा बस्ने परजीवी जातिको) दिसाबाट वा (मूत्राशयमा बस्ने परजीवी जातिको) पिसाबबाट झन्डै आधी जति अण्डा शरीरबाट निस्किन्छ। बाँकी अण्डा शरीरमै रहन्छ र यसले शरीरका मुख्य अंगहरूमा हानि पुऱ्याउँछ। रोगले च्याप्दै लगेपछि बिरामीलाई ज्वरो आउने, पेट फुल्ने र आन्तरिक रक्तस्राव हुन्छ। पछि गएर यस रोगको कारण मूत्राशयको अर्बुद रोग लाग्ने वा कलेजो वा मृगौलाले काम नगर्नसक्छ। यसले गर्दा केही रोगीहरू सन्तान पैदा गर्न नसक्ने वा पक्षाघात हुनसक्छ। कोही कोही भने मर्छन्।
समाधान र समस्या
रोग फैलिनदेखि रोक्न कम्तीमा चार उपाय गर्न सकिन्छ। यीमध्ये कुनै एउटा उपाय लागू गरे मात्र पनि विश्वभरि यो रोग पूर्णतया निर्मूल गर्न सकिन्छ।
पहिलो उपाय पानीका मुहानहरूबाट शंखे कीरा सखापै पार्ने। परजीवी बढ्नको लागि शंखे कीरा अत्यावश्यक छ। शंखे कीरा छैन भने शंखे ज्वरो नै हुँदैन।
शंखे कीरालाई सखापै पार्ने तर वातावरणलाई चाहिं दूषित नपार्ने एक प्रकारको विष उत्पादन गर्न भरमग्दुर प्रयास भइरहेको छ। सन् १९६० र १९७० को दशकमा शंखे कीरा निर्मूल गर्न प्रयास गर्दा पानीमा भएको सबै जीवित प्राणीहरू नै मरे। इजिप्टको तावोडर बिल्हार्ज अनुसन्धान संस्थानले अरू कुनै प्रकारको जीवनलाई असर नपार्ने गरी शंखे कीरालाई मात्र मार्ने कीटनाशक औषधी निकाल्न अनुसन्धान गरिरहेको छ। त्यस संस्थाका अध्यक्ष डा. अलि जान एल आब्दीनले त्यस्तो तत्त्वबारे यसो भन्छन्: “सिंचाइ गर्नको लागि चलाइने पानी, मानिस र जनावरले पिउने पानी, माछा बस्ने पानीमा छर्नुपर्ने भएको हुँदा यो औषधीले यीमध्ये कसैलाई पनि असर गर्नेछैन भनी हामी सतप्रतिशत पक्का हुनुपर्छ।”
दोस्रो उपाय मानिसहरूमा भएको परजीवी मार्ने। सन् १९७० दशकको बीचतिर यसको उपचार गर्न निकालिएको औषधीले थुप्रै प्रतिकूल असर पार्थ्यो, साथसाथै औषधीकै कारण अरू रोग पनि लाग्थ्यो। अक्सर उपचार गर्दा असाध्यै दुख्ने सुई लिनुपर्थ्यो। कसैले त रोगको दुखाइभन्दा उपचारको पीडा असह्य भन्ने गुनासो पनि गरे। त्यतिबेलादेखि यता शंखे ज्वरो हटाउन पार्जिरवान्टेलजस्ता प्रभावकारी औषधी देखा परेका छन् र यो मुखबाटै लिन सकिन्छ।
यो औषधी अफ्रिका तथा दक्षिण अमेरिकामा परीक्षण गर्दा सफल साबित भएको छ तैपनि निकै महँगो भएकोले थुप्रै देशहरूले किन्ने आँट भने गर्न सक्दैनन्। सन् १९९१ मा डब्ल्यु.एच.ओ.-ले यसरी दुःख व्यक्त गऱ्यो: “[शंखे ज्वरोले] ग्रस्त देशहरूको लागि उपचारविधि असाध्यै महँगो भएको हुँदा नियन्त्रण कार्यक्रमलाई व्यापक रूपमा लागू गर्न सकिरहेको छैन। औषधीको मूल्य मात्र पनि थुप्रै अफ्रिकी राष्ट्रहरूको स्वास्थ्य मन्त्रालयको बजेटभन्दा धेरै छ।”
बिरामीहरूलाई निश्शुल्क औषधी वितरण गरिंदा पनि मानिसहरू उपचार गराउन जाँदैनन्। किन? एउटा कारण त यो रोग लागेर हतपती मानिसहरू नमर्ने भएर पनि हो। त्यसैले मानिसहरू यसलाई खतराको रूपमा लिंदैनन्। अर्को कारण चाहिं मानिसहरू प्रायः यस रोगका लक्षणहरू चिन्न सक्दैनन्। अफ्रिकाका केही भागहरूमा पिसाबमा रगत देखिनु (रोगको प्रमुख लक्षण) यति सामान्य मानिन्छ कि त्यसलाई वयस्क हुनुको संकेत मात्र हो भन्ने ठानिन्छ।
तेस्रो उपाय पानीमा अण्डा पर्न दिनु हुँदैन। खोला तथा पोखरीको पानीलाई दूषित हुनदेखि जोगाउन चर्पीको मात्र प्रयोग गरियो भने पनि शंखे ज्वरो लाग्ने खतरा धेरै कम हुनसक्छ।
पाइपद्वारा पानीको आपूर्ति गर्नुका साथै चर्पीहरू निर्माण गरेपछि उल्लेखनीय ढंगमा रोग कम भएको विश्वव्यापी अध्ययनहरूले देखाउँछ। तर यसो गर्दैमा रोग लाग्दै लाग्दैन भन्ने ग्यारेन्टी चाहिं दिन मिल्दैन। बीस वर्षभन्दा अघिदेखि शंखे ज्वरोबारे अनुसन्धान गरिरहेका वैज्ञानिक आलेन फेनविकले यस्तो टिप्पणी गरे: “एक जना मानिसले कुलोमा दिसा गरे मात्रै पनि यो चक्र सुरु हुन्छ।” पानीको मुहानहरूमा फुटेको ढलबाट संक्रमित मलमूत्र जाने खतरा पनि छ।
चौथो उपाय चाहिं दूषित पानीबाट टाढै रहने। यो पनि भने जति सजिलो छैन। थुप्रै देशहरूमा पानीको आपूर्तिको लागि चलाइने ताल, खोला र नदीहरू नुहाउन, सिंचाइ गर्न र लुगा धुन पनि चलाइन्छ। माझीहरू दिनका दिन पानीमा चल्नैपर्छ। अनि अचाक्ली गर्मी हुने ठाउँहरूमा त पानी देख्यो कि बच्चाहरू डुबुल्की नमारी बस्नै सक्दैनन्।
भविष्यको लागि कस्तो आशा छ?
निष्कपट मानिस तथा संगठनहरू शंखे ज्वरोको रोकथाम गर्न भरमग्दुर लागिरहेका छन् भन्ने कुरामा दुइ मत छैन र धेरै उन्नति भएको पनि छ। यस रोगबाट बच्न अनुसन्धानकर्ताहरूले खोप निकाल्न परीक्षणहरूसमेत गरिरहेका छन्।
तैपनि, चाँडै नै रोग उन्मूलन होला जस्तो चाहिं देखिंदैन। चिकित्सासम्बन्धी फ्रान्सेली पत्रिका ला रेभ्यु डु प्राटेसिन-मा डा. एम. लारेभेएर यसो भन्छन्. “केही हदसम्म सफलता पाए तापनि . . . रोग हराएको भने पक्कै छैन।” कसै कसैलाई यस रोगको रोकथाम र उपचार हुनसक्छ जस्तो लागे तापनि शंखे ज्वरोको विश्वव्यापी निर्मूल चाहिं परमेश्वरको नयाँ संसार नआएसम्म सम्भव होला जस्तो छैन। नयाँ संसारबारे बाइबलले यस्तो प्रतिज्ञा गर्छ, “त्यहाँका बासिन्दाहरूले यसो भन्नेछैनन्, ‘म बिरामी परें’।”—यशैया ३३:२४.
[पृष्ठ १५-मा भएको चित्र]
दूषित पानीमा गएपछि शंखे ज्वरोका परजीवीद्वारा मानिसहरू संक्रमित हुन्छन्