परजीवीहरूबाट आफूलाई जोगाउनुहोस्!
होण्डुसरका ब्यूँझनुहोस्! संवाददाताद्वारा
बिहान निद्राबाट ब्यूँझदा तपाईंलाई वाकवाक लाग्छ। तपाईंलाई छिट्टै थकाइ लाग्छ। तपाईंको पेट पनि अलि फुलिएको छ। कतै तपाईं गर्भवती त हुनु हुन्न? सायद। तर तपाईं उष्ण वा अर्धउष्ण कटिबन्धीय क्षेत्रमा बस्नुहुन्छ भने पेटमा कुनै किसिमको परजीवी भएको हुनसक्छ। पेटमा हुने परजीवी भनेको के हो र तपाईंको पेटमा ती परजीवीहरू परेको छ भने कसरी थाह पाउन सक्नुहुन्छ?
सरल शब्दमा भन्ने हो भने, परजीवी अरूको शरीरमा बाँच्ने एक किसिमको जीवाणु हुन्। पेटभित्र पर्ने दुई किसिमका परजीवीहरू हुन्छन्, एमीबा, हेल्मिन्थिस जस्ता प्रोटोजोआ वा जुकाहरू हुन्। परजीवीहरूले मानिसलाई कति हानि पुऱ्याउँछ भन्ने कुरा पेटमा परेको परजीवी र त्यसको संख्या उक्त मानिसको उमेर तथा स्वास्थ्यस्थिति अनुसार फरक फरक हुन्छ।
उदाहरणका लागि, पोथी जुकाले प्रति दिन लगभग २,००,००० अण्डा पार्नसक्छ। तथापि, माटोमा पारेको अण्डाहरू मात्र बाँच्छन्। कुनै व्यक्तिको पेटमा कति जुका छ भन्ने कुरा उक्त व्यक्तिको पेटमा कति वटा बाँच्छ वा लार्भा कति छ, त्यसमा निर्भर हुन्छ। कतिपय मानिसहरूले आफ्नो पेटमा जुका परेको थाहै पाउँदैनन्। तर धेरै जुका पऱ्यो भने आन्द्रामा गम्भीर अवरोध खडा हुनसक्छ।
पेटमा परजीवी हुँदा सामान्य लक्षणहरू पेट दुख्नु, वाकवाक लाग्नु, खाना नरुच्नु, पेट फुल्नु, थकाइ लाग्नु, अपच हुनु, पखाला वा कब्जियत हुनु हो। वजन कम हुने, निद्रामा छटपटिने, चिलाउने, स्वाँ स्वाँ हुने र ज्वरो आउने पनि पेटमा परजीवी हुनुका लक्षणहरू हुनसक्छ। हो, यी लक्षणहरू अन्य कतिपय रोगका लक्षणहरू पनि हुनसक्छन्। तर दिसा परीक्षणबाट परजीवी भए, नभएको पक्का गर्न सकिन्छ।
सही निदान गर्नु अत्यावश्यक छ। उदाहरणका लागि, जुकाका साथै पेटमा अन्य परजीवीहरू पनि परेको छ भने पहिले जुकाको औषधी खानुपर्छ। किन? किनभने केही औषधीहरूले जुकालाई मार्नुका साटो छटपटाउने गर्छ जसले गर्दा शरीरको अरू भागमा सर्छन् र घातक हुनसक्छ।
रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस
परजीवीहरू मार्ने औषधीहरू प्रभावकारी भए तापनि यसबाट संक्रमित नहुनु नै बेस। त्यसोभए तपाईंले आफूलाई कसरी परजीवीबाट जोगाउन सक्नुहुन्छ?
जोगिने सबैभन्दा उत्तम तरिका सरसफाइ हो। दिसा बसेपछि पुर्नुपर्छ, त्यतिकै खुला छोड्नु हुँदैन। पानीको मूलदेखि टाढा चर्पी बनाउनुपर्छ। मान्छेको दिसा मलको रूपमा चलाउनु हुँदैन। सरसफाइमा उचित ध्यान दिनु अत्यावश्यक छ। यसबाहेक बच्चाहरूलाई भुँइमा खसेको खानेकुरा जथाभावी खान नदिनुहोस्। बच्चाको दिशामा परजीवी देखिएमा परिवारका अरू सदस्यहरूको पनि परीक्षण गर्नु बेस हुनेछ।
तरकारी किन्दा र पकाउँदा पनि होसियार हुनुपर्छ। सकेसम्म सफाइको निम्ति नाउँ कहलिएको इलाकाबाट तरकारी किन्नुहोस्। मासु भित्रसम्म राम्ररी पाक्ने गरी पकाउनुपर्छ। काँचो मासु कहिल्यै नखानुहोस्। फलफूल र ताजा सागसब्जीहरू खानुअघि पहिला राम्ररी पखाल्नुपर्छ। तरकारीहरू पखालेको पानी फेरि नचलाउनुहोस् किनभने त्यो दूषित भइसकेको हुनसक्छ।
पिउने पानी राम्ररी उमाल्नुपर्छ। पानीलाई राम्ररी सेलाउन दिनुहोस्। प्रायजसो घरमा भएका फिल्टरहरूले सबै प्रकारका परजीवीहरू निर्मूल पार्दैन। बिक्रीका लागि राखिएका सिसीका पानी कतिको सफा छ भन्ने कुराचाहिं त्यो प्रशोधन गर्ने ठाउँको सफाइमा भरपर्छ।
यात्रा गर्दा वा बाहिर खान जाँदा झन् होसियार हुनुपर्छ। सिसीको पानीमा बरफ राखेन भने साधारणतया सुरक्षित नै हुन्छ। केही परजीवीहरू पानी जम्ने तापक्रममा पनि जीवित रहनसक्ने भएकोले पानी कस्तो हो त्यसैमा भर पर्छ। बाटोमा बेचिएका चीजबीजहरू खान पनि होसियार हुनुपर्छ। काटेर राखिएका भुइँकटहर वा खरबुजा खाऊँ खाऊँ लाग्ला तर त्यो ताजा देखाउन घरीघरी पानी छम्किरहेको हुन्छ र पानी सधैं सफा हुँदैन। हामी होसियारी त हुनुपर्छ तर जुनसुकै खानेकुरामा अचाक्ली शंकाचाहिं गर्नु हुँदैन। त्यसो गर्दा तपाईंले आफ्नो यात्राबाट मजा नै उठाउन सक्नुहुन्न। परजीवीहरूबाट जोगिन तपाईंले थुप्रै व्यवहारिक सावधानीहरू अपनाउन सक्नुहुन्छ।
[पृष्ठ २४-मा भएको चित्र]
सरसफाइ सबैभन्दा उत्तम सुरक्षा हो
[पृष्ठ २५-मा भएको चित्र]
बरफ कत्तिको सफा छ भन्ने कुरा पानी कस्तो हो, त्यसैमा भर पर्छ
[पृष्ठ २५-मा भएको चित्र]
एमीबा र जुका दुई किसिमका परजीवीहरू हुन्
[स्रोत]
DPDx, the CDC Parasitology Website