झूट बोल्नु पछाडिका कारणहरू
“फटाहा!” के तपाईंलाई कहिल्यै यस्ता कटु वचनहरू प्रहार गरिएको छ? छ भने, यस्ता शब्दहरूले भावनात्मक रूपमा कस्तो असर पार्छ तपाईंलाई थाहै होला।
जसरी एउटा बहुमूल्य फूलदान भुइँमा खसाल्दा चकनाचूर हुन्छ, त्यसरी नै झूट बोल्नाले अनमोल सम्बन्ध टुट्नसक्छ। हो, समयको दौडान तपाईंले मेलमिलाप त गर्नसक्नु होला तर त्यो सम्बन्ध फेरि पहिलेकै जस्तो चाहिं नहुनसक्छ।
झूट बोल्ने—सार्वजनिक र व्यक्तिगत जीवनमा गर्नुपर्ने नैतिक छनौट (अंग्रेजी) नामक पुस्तकले यसो भन्छ: “आफूसित झूट बोलिएको थाह पाउने मानिसहरू फेरि मेलमिलाप गर्न अप्ठ्यारो मान्छन्। अनि झूट पत्ता लागेपछि तिनीहरूले पहिलाको भरोसा र कार्यलाई फेरि केलाएर हेर्छन्।” धोका दिएको थाह पाएपछि कुनै समय खुलस्त कुराकानी र भरोसासहित फस्टाइरहेको मित्रता अब शंका र उपशंकापूर्ण हुनसक्छ।
झूटसित सबै प्रकारका अप्रिय भावनाहरू गाँसिएको हुनाले हामीले सोध्नसक्छौं: ‘यस्तो छलिपूर्ण कार्य कहाँबाट सुरु भयो?’
पहिलो झूट
यहोवा परमेश्वरले प्रथम मानव दम्पती आदम र हब्बालाई सृष्टि गर्नुभएर मनमोहक बगैंचामा राख्नुभयो। तिनीहरूको बगैंचारूपी घरमा कुनै प्रकारको छल वा जालझेल थिएन। त्यो साँचो प्रमोदवन थियो!
तथापि, हब्बालाई सृष्टि गर्नुभएको केही समयपछि शैतान अर्थात् दियाबलले हब्बासँग एउटा लोभलाग्दो प्रस्ताव राख्यो। परमेश्वरले नखानू भन्नुभएको “रूखको फल” खाइन् भने तिनी मर्नेछैनन् बरु “असल र खराबको ज्ञान पाएर . . . परमश्वरजस्तै” हुनेछिन् भन्यो। (उत्पत्ति २:१७; ३:१-५) हब्बाले शैतानको कुरा पत्याइन्। तिनले फल खाइन् र आफ्नो पतिलाई पनि दिइन्। तर शैतानले प्रतिज्ञा गरेअनुसार परमेश्वरजस्तै हुनुको साटो आदम र हब्बा अनाज्ञाकारी पापी अनि विनाशका दास पो भए। (२ पत्रुस २:१९) अनि पहिलो झूट बोलेर शैतान “झूटको पिता” भयो। (यूहन्ना ८:४४) न झूट बोल्नेले, नता झूटमा विश्वास गर्नेले लाभ उठाउनेछ भनी यी तीनै पापीहरूले पछि थाह पाए।
घातक असरहरू
चाहे स्वर्गमा होस् वा पृथ्वीमा, जानाजानी अनाज्ञाकारी हुने जोसुकैले पनि दण्ड भोग्नेछ भनी यहोवा सजग गराउन चाहनुहुन्थ्यो। परमेश्वरले विद्रोही आत्मिक प्राणीहरूलाई उहाँको पवित्र संगठनबाट सधैंको लागि निकाल्नुभएर तुरुन्तै दण्ड दिइहाल्नुभयो। यसबाहेक, यहोवा परमेश्वरले शैतानको नामोनिशान नरहनेगरि नाश गर्नुहुनेछ। परमेश्वरले प्रतिज्ञा गर्नुभएको “वंश[ले]” त्यसको टाउकोमा घातक आक्रमण गरेपछि त्यो नष्ट हुनेछ।—उत्पत्ति ३:१४, १५; गलाती ३:१६.
अनि आदम र हब्बा चाहिं अदनको बगैंचाबाट निकालिए। परमेश्वरले आदमलाई यस्तो दण्ड दिनुभयो: “माटोमा नफर्कुञ्जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्। किनकि माटैबाट तँ निकालिएको थिइस्। तँ माटै होस् र माटैमा फर्किजानेछस्।” परमेश्वरले भविष्यवाणी गर्नुभएझैं पछि आदम र हब्बा दुवै मरे।—उत्पत्ति ३:१९.
आदमको सन्तान भएकोले सम्पूर्ण मानव परिवार “पापमा बेचिएको” छ। मृत्युतर्फ डोऱ्याउने असिद्धता सबै मानिसले वंशानुगत पाएका छन्। (रोमी ५:१२; ६:२३; ७:१४) पहिलो झूटको कस्तो भयावह परिणाम!—रोमी ८:२२.
गहिरो गरी जरा गाडेको बानी
परमेश्वरको विद्रोह गर्ने शैतान अनि त्यसलाई साथ दिने स्वर्गदूतहरूलाई अहिलेसम्म न्यायदण्ड दिइ नसकिएको हुँदा तिनीहरूले मानिसलाई “झूट बोल्न” उस्काउनु स्वाभाविकै हो। (१ तिमोथी ४:१-३) परिणामस्वरूप, मानव समाजमा झूट बोल्ने बानीले गहिरो गरी जरा गाडेको छ। लस एनजेल्स् टाइम्स यस्तो टिप्पणी गर्छ, “झूट बोल्ने बानीले आज समाजमा यति बलियो जरा गाडिसक्यो कि झूट बोल्नु साधारण भइसक्यो।” आज थुप्रैले राजनीति र राजनीतिज्ञहरूलाई झूटको पर्याय ठान्छन् तर सबैभन्दा कुख्यात फटाहाहरूमध्ये धार्मिक नेताहरू हुन् भनेर के तपाईंलाई थाह छ?
येशूको पार्थिव सेवकाईको दौडान उहाँका धार्मिक विरोधीहरूले उहाँबारे झूटो हल्लाहरू फैलाएका थिए। (यूहन्ना ८:४८, ५४, ५५) त्यसैकारण, सार्वजनिक रूपमा तिनीहरूको निन्दा गर्दै उहाँले यसो भन्नुभयो: “तिमीहरू ता आफ्ना पिता, शैतानका तर्फबाटका हौ, औ आफ्नै पिताका अभिलाषा गर्ने इच्छा गर्छौ। . . . त्यसले झूट बोल्दछ भने त्यो आफ्नैतर्फबाट बोल्दछ, किनभने त्यो झूट र झूटको पिता हो।”—यूहन्ना ८:४४.
येशूको पुनरुत्थानपछि उहाँको चिहान खाली भेट्टाउँदा तिनीहरूले फैलाएको झूटो हल्ला के तपाईंलाई सम्झना छ? मुख्य पूजाहारीले गरेको कामबारे बाइबल यसो भन्छ: “सिपाहीहरूलाई यसो भनेर प्रशस्त पैसा दिए, ‘तिमीहरूले भन्नू, कि हामी निदाइरहेको बेलामा त्यसका चेलाहरू आएर त्यसलाई चोरेर लगेछन्।’ ” यो झूट चारैतिर फैलियो र थुप्रैले पत्याए पनि। धार्मिक नेताहरू कत्ति दुष्ट थिए!—मत्ती २८:११-१५.
आज धर्मको आडमा बोलिने झूट
आजका धार्मिक नेताहरूले बोल्ने मुख्य झूट के हो? यो झूट शैतानले हब्बासँग बोलेजस्तै खालको छ: “तिमी कदापि मर्दैनौ।” (उत्पत्ति ३:४) तर हब्बा मरिन्। तिनी माटोबाट बनाइएकी थिइन्, माटैमा फर्किन्।
तथापि, तिनी अन्त कतै बाँचिरहेकी छिन् कि? के मृत्यु अर्को जीवनमा प्रवेश गर्ने ढोका मात्रै हो? हब्बाको शरीरको कुनै एउटा भाग जीवितै रह्यो भनी बाइबलले बताउँदैन। तिनको प्राण मऱ्यो। परमेश्वरको आज्ञा पालन नगरेर तिनले पाप गरेकी थिइन् र बाइबलले पापको नतिजाबारे यसो भन्छ: “जुन प्राणीले पाप गर्छ त्यही मर्छ।” (इजकिएल १८:४) हब्बा पनि तिनको पति जस्तै जीवित प्राणीको रूपमा सृजिएकी थिइन् र मरेपछि तिनी जीवित प्राणी भइनन्। (उत्पत्ति २:७) मरेका मानिसहरूको अवस्थाबारे बाइबल यसो भन्छ: “मरेकाहरूले ता केही पनि जान्दैनन्।” (उपदेशक ९:५) तर साधारणतया चर्चहरूले के सिकाउँछन्?
चर्चहरूले अक्सर प्राण अमर रहन्छ र मृत्युपछि अर्कै जीवनमा प्रवेश गर्छ भनी सिकाउँछन्। तिनीहरूको शिक्षाअनुसार त्यो जीवन कि त मोक्षको कि सास्तीको हुनेछ। उदाहरणका लागि, द क्याथोलिक इनसाइक्लोपीडिया यसो भन्छ: “चर्चले नरकको अनन्त पीडालाई मसीही विश्वासकै भागजस्तै गरी सिकाउँछ र त्यसलाई इन्कार गर्ने वा त्यसमाथि प्रश्न उठाउने व्यक्ति धर्मविरोधी ठहर्छ।”—खण्ड ७, पृष्ठ २०९, १९१३ संस्करण।
बाइबलले स्पष्टसित सिकाउने शिक्षाभन्दा कत्ति भिन्न! बाइबलले मान्छे मरेपछि “त्यो माटैमा मिलिहाल्छ। त्यही दिन त्यसका युक्तिहरू नष्ट भइहाल्छन्” भनी सिकाउँछ। (भजन १४६:४) अतः, बाइबलअनुसार मरेकाहरूले कुनै पीडा महसुस गर्न सक्दैनन् किनभने तिनीहरूमा कुनै चेतना नै हुँदैन। त्यसैकारण बाइबल यस्तो आग्रह गर्छ: “तेरो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्तिले गर्, किनभने मृत्युमा, जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्ति, न बुद्धिनै हुन्छ।”—उपदेशक ९:१०.
होशियार हुनुपर्छ
येशूको दिनमा जसरी थुप्रै मानिसहरूले पूजाहारीहरूको झूट पत्याए, त्यसरी नै आजका धार्मिक नेताहरूको झूटो शिक्षाको बहकाउमा पर्नदेखि होशियार हुनुपर्छ। यी मानिसहरूले “परमेश्वरको सत्यतालाई झूटमा परिवर्त्तन” गरेका छन् र तिनीहरूले मानव प्राणको अमरता र मानव प्राणले अग्निमय नरकमा सास्ती खान्छ भन्ने जस्ता झूटा शिक्षाहरूको प्रवर्धन गर्छन्।—रोमी १:२५.
यस अतिरिक्त, आजका धर्महरूले मानव परम्परा तथा दर्शनहरूलाई बाइबलमा पाइने सत्य वचनहरूको दाँजोमा राख्छन्। (कलस्सी २:८) अतः, इमानदारी र यौन आचरणजस्ता विभिन्न कुराहरूसित सम्बन्धित परमेश्वरको नैतिक व्यवस्था पूर्ण होइन सापेक्षिक हो भन्छन्। यसको परिणाम टाइम समाचारपत्रले यसरी वर्णन गर्छ: “मानिसले एकअर्काको व्यवहार नबुझ्दा वा त्यसमा सहमत नहुँदा तुरुन्तै झूट बोल्छन्।”—तुलना गर्नुहोस् यशैया ५९:१४, १५; यर्मिया ९:५.
सत्य कुरालाई बेवास्ता गर्ने समाजमा झूट नबोल्नू भन्ने ईश्वरीय उपदेश मान्नु गाह्रै छ। त्यसोभए, सधैं सत्य बोल्न कुन कुराले मदत गर्नसक्छ त?
सत्यको पक्ष लिने
सृष्टिकर्ताको महिमा गर्ने चाहनाले हामीलाई सत्य बोल्ने बलियो प्रेरणा दिन्छ। त्यसैकारण, बाइबलले उहाँलाई “सत्य परमेश्वर” भन्छ। (भजन ३१:५) अतः, “झूट बोल्ने जिब्रो[लाई]” घृणा गर्नुहुने सृष्टिकर्तालाई खुशी तुल्याउने इच्छा छ भने हामी उहाँको अनुसरण गर्न उत्प्रेरित हुनेछौं। (हितोपदेश ६:१७) यो कसरी गर्न सकिन्छ?
परमेश्वरको वचनको गहिरो अध्ययन गऱ्यौं भने “आफ्नो छिमेकीसित सत्य” बोल्ने बल पाउनेछौं। (एफिसी ४:२५) तथापि, परमेश्वर के चाहनुहुन्छ थाह पाएर मात्र पुग्दैन। संसारका अरू मानिसहरूमा जस्तै हामीमा पनि झूट बोल्ने झुकाउ छ भने झूट नबोल्नको लागि धेरै प्रयत्न गर्नुपर्नेछ। हामीले प्रेरित पावलको नमुना पछ्याउनुपर्छ र दृढ हुनुपर्छ। पावलले लेखे: “म आफ्नो शरीरलाई कुट्तछु, र वशमा ल्याउँछु।”—१ कोरिन्थी ९:२७.
सधैं सत्य बोल्नको लागि अर्को मदत प्रार्थना पनि हो। मदतको निम्ति परमेश्वरलाई बिन्ती गऱ्यौं भने “असामान्य शक्ति” पाउनसक्छौं। (२ कोरिन्थी ४:७, NW) निस्सन्देह, “सत्य कुरा” बोल्न र “झूटा कुरा” पन्छाउन निकै प्रयत्न गर्नुपर्ला। (हितोपदेश १२:१९) तर यहोवाको मदतले हामी अवश्य सफल हुनसक्छौं।—फिलिप्पी ४:१३.
झूट बोल्नु सामान्य कुरा हो भन्ने आभास दिने व्यक्ति शैतान हो भनी कहिल्यै नबिर्सनुहोस्। धूर्ततापूर्वक त्यसले प्रथम स्त्रीसित झूट बोलेर छल गऱ्यो। तथापि, शैतानका झूटहरूले कस्ता विपत्तिजनक नतिजाहरू ल्याएका छन् हामीलाई राम्ररी थाह छ। स्वार्थ भरिएको एउटा झूट र तीन स्वार्थी व्यक्तिहरू आदम, हब्बा र शैतानको कारण मानव समाजमा अवर्णनीय दुःखकष्ट आइपरेको छ।
हो, झूट बोल्ने बानीलाई विषसित तुलना गर्न सकिन्छ। खुशीको कुरा, त्यस्तो बानी हामी हटाउनसक्छौं। झूट बोल्ने बानी त्यागेर हामी “कृपा र सत्यतामा प्रशस्त” हुनुभएको परमेश्वर, यहोवाको अनुग्रह पाउनसक्छौं।—प्रस्थान ३४:६.
[पृष्ठ २६-मा भएको ठूलो अक्षरको क्याप्सन]
झूटका असरहरू फूलदानलाई चकनाचूर गर्नु जत्तिकै छ
[पृष्ठ १७-मा भएको चित्र]
झूट बोल्ने बानीलाई घातक विषसित तुलना गर्न सकिन्छ