प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bh chap. ६ pp. ५७-६५
  • मान्छे मरेपछि कहाँ जान्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मान्छे मरेपछि कहाँ जान्छ?
  • बाइबलले वास्तवमा के सिकाउँछ?
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मरेपछि वास्तवमा के हुन्छ?
  • येशूले मृत्युबारे के भन्‍नुभयो?
  • मानिसहरू किन मर्छन्‌?
  • मृत्युबारे सत्य कुरा थाह पाउँदा के फाइदा हुन्छ?
  • मानिस मरेपछि कहाँ जान्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • हामी किन बूढाबूढी हुन्छौँ र मर्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • येशूको मृत्यु र पुनर्जीवन—यसले हामीलाई कस्तो लाभ पुऱ्‍याउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • आदम र हव्वाले सैतानको कुरा सुनेकोले नतिजा कस्तो भयो?
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
थप हेर्नुहोस्
बाइबलले वास्तवमा के सिकाउँछ?
bh chap. ६ pp. ५७-६५

अध्याय छ

मान्छे मरेपछि कहाँ जान्छ?

  • मरेपछि के हुन्छ?

  • हामी किन मर्छौं?

  • मृत्युबारे सत्य कुरा थाह पाउनु किन सान्त्वनाको कुरा हो?

१-३. मृत्युबारे मानिसहरू कस्ता प्रश्‍नहरू सोध्छन्‌ र विभिन्‍न धर्मले के भन्छ?

मानिसहरूले यस्तो प्रश्‍न सोधेको हजारौं वर्ष भइसक्यो। यी प्रश्‍न महत्त्वपूर्ण छन्‌ किनभने मृत्युले परिवार, साथीभाइ केही भन्दैन। अनि जन्मेपछि हामी सबै जना एक न एक दिन मर्नै पर्छ।

२ फिरौतीको बलिदानले कसरी अनन्त जीवनको बाटो खोल्यो भनेर हामीले अघिल्लो अध्यायमा छलफल गऱ्‍यौं। कसैको ‘मृत्यु नहुने’ समय आउनेछ भनेर पनि सिक्यौं। (प्रकाश २१:४) तर त्यो समय नआउन्जेल हामी सबै मर्नुपर्छ। बुद्धिमान्‌ राजा सुलेमानले यसो भने, “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्‌।” (उपदेशक ९:५) हामी सकेसम्म लामो समय बाँच्न चाहन्छौं। तैपनि मरेपछि के हुन्छ होला भनेर सोच्ने गर्छौं।

३ परिवारको सदस्य, साथीभाइको मृत्यु हुँदा हामीलाई दुःख लाग्छ। हाम्रो मनमा यस्ता प्रश्‍न आउन सक्छन्‌: ‘तिनीहरू कस्तो अवस्थामा होलान्‌? दुःख पो पाइरहेका छन्‌ कि? हामीलाई हेरिरहेका छन्‌ कि? हामी तिनीहरूलाई मदत गर्न सक्छौं? तिनीहरूलाई फेरि भेट्‌न सकिन्छ होला?’ धर्मपिच्छे यसको जवाफ फरक छ। असल मान्छे स्वर्ग जान्छ, खराब मान्छे नरक जान्छ भनेर कुनै-कुनै धर्मले सिकाउँछ। अरू धर्मले चाहिं मरेको मान्छेको आत्मा तिनीहरूको पुर्खासित मिल्न जान्छ भनेर सिकाउँछ। अनि अरू कतिपय धर्मअनुसार मरेका मानिसहरू अर्कै लोकमा जान्छन्‌, जहाँ आ-आफ्नो कर्मअनुसार तिनीहरूको न्याय गरिन्छ अनि त्यसपछि तिनीहरूको पुनर्जन्म हुन्छ।

४. प्रायः सबै धर्मले सिकाउने एउटा कुरा के हो?

४ ती सबै धर्ममा एउटा कुरा भने समान छ—त्यो हो, शरीर मरे पनि आत्मा मर्दैन भन्‍ने शिक्षा। चाहे पुरानो होस्‌ या नयाँ, प्रायजसो सबै धर्मले मान्छे मरेपछि पनि कुनै न कुनै रूपमा जीवित रहन्छ भनेर सिकाउँछ। तिनीहरूले देख्न, सुन्‍न र सोच्न सक्छन्‌ भनेर पनि ती धर्मले सिकाउँछन्‌। तर यो कसरी हुन सक्छ र? किनभने मस्तिष्क छ भने मात्र हामी सुन्‍न, हेर्न र सोच्न सक्छौं। मान्छे मरेपछि उसको दिमागले पनि काम गर्न छोड्‌छ। त्यसैले मस्तिष्कविना न हामी केही सोच्न सक्छौं न त हाम्रा इन्द्रियहरूले नै केही काम गर्न सक्छ।

मरेपछि वास्तवमा के हुन्छ?

५, ६. मरेपछि के हुन्छ भनी बाइबल सिकाउँछ?

५ हाम्रो मस्तिष्क यहोवाले बनाउनुभएको हो। त्यसैले मान्छे मरेपछि के हुन्छ भनेर उहाँलाई राम्ररी थाह छ। यसबारे उहाँले आफ्नो वचन बाइबलमा बताउनुभएको छ। बाइबलले यस्तो कुरा सिकाउँछ: मान्छे मरेपछि उसको अस्तित्व रहँदैन। जीवनको उल्टो मृत्यु हो। मरेको मान्छेले न देख्न सक्छ न सुन्‍न सक्छ न त सोच्न नै सक्छ। मान्छे मरेपछि शरीरको कुनै पनि भाग जीवित रहँदैन। हामीसित अमर प्राण वा आत्मा छैन।a

निभेको मैनबत्ती

मैनबत्तीको ज्वाला कहाँ गयो?

६ जिउँदो मान्छेलाई आफू एक दिन मर्नेछु भनेर थाह हुन्छ भनेर बताएपछि सुलेमानले यस्तो लेखे: “मरेकाहरूले ता केही पनि जान्दैनन्‌।” मरेकाहरूले प्रेम वा घृणा गर्न सक्दैनन्‌ र “मृत्युमा . . . नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्‍ति, न बुद्धिनै हुन्छ” भनेर पनि तिनले बताए। (उपदेशक ९:५, ६, १०) त्यसैगरि भजन १४६:४ ले मानिस मरेपछि “त्यसका युक्‍तिहरू नष्ट भइहाल्छन्‌” भनी बताउँछ। हामी मर्छौं र मरेपछि हाम्रो शरीरको कुनै पनि भाग जीवित रहँदैन। हाम्रो जीवन मैनबत्तीको ज्वालाजस्तै हो। मैनबत्ती निभेपछि त्यसको ज्वाला कतै पनि जाँदैन, त्यसको अस्तित्व रहँदैन।

येशूले मृत्युबारे के भन्‍नुभयो?

७. येशूले मृत्युलाई केसित तुलना गर्नुभयो?

७ मरेपछि हामी कुन अवस्थामा हुन्छौं, येशूले बताउनुभयो। आफ्नो साथी लाजरसको मृत्यु हुँदा उहाँले यसो भन्‍नुभयो: “हाम्रा मित्र लाजरस सुतेका छन्‌।” चेलाहरूले लाजरस बिरामी परेर साँच्चै निदाइरहेका छन्‌ भन्ठाने। त्यसैले येशूले सीधै यसो भन्‍नुभयो: “लाजरस मरिसकेका छन्‌।” (यूहन्‍ना ११:११-१४) येशूले मृत्युलाई निद्रासित तुलना गर्नुभयो। मरेपछि लाजरस न त स्वर्ग गए न नरक। तिनले स्वर्गदूत वा पितापुर्खा कसैलाई भेटेनन्‌। लाजरसको पुनर्जन्म हुन लागेको पनि थिएन। बरु मस्त निद्रामा परेको मानिस अचेत भएजस्तै तिनी पनि अचेत अवस्थामा थिए। अरू शास्त्रपदमा पनि मृत्युलाई निद्रासित तुलना गरिएको छ। जस्तै, शत्रुहरूले येशूका एक जना चेला स्तिफनसलाई ढुङ्‌गाले हानेर मारे। “त्यसपछि तिनी मृत्युको चिर निद्रामा परे” भनी बाइबल बताउँछ। (प्रेषित ७:६०) त्यसैगरि पावलले आफ्नो समयका केही व्यक्‍तिबारे लेख्दै तिनीहरू ‘मृत्युको चिर निद्रामा परिसकेका छन्‌’ भने।—१ कोरिन्थी १५:६.

श्रीमान्‌ र श्रीमती बगैंचामा बसेर फूल हेर्दै छन्‌

यहोवाले मानिसहरूलाई पृथ्वीमा सधैंभरि बाँच्न सृष्टि गर्नुभयो

८. परमेश्‍वर मानिसहरू मरेको चाहनुहुन्‍नथियो भनेर किन भन्‍न सक्छौं?

८ के परमेश्‍वरको उद्देश्‍य मानिसहरू मरून्‌ भन्‍ने थियो? अहँ, पटक्कै थिएन। यहोवाले मानिसहरू सधैंभरि बाँचून भनेर सृष्टि गर्नुभएको थियो। यस किताबको सुरुमा सिकेझैं परमेश्‍वरले पहिलो मानव दम्पतीलाई सुन्दर बगैंचामा राख्नुभयो। उहाँले तिनीहरूलाई स्वस्थ शरीर दिनुभयो। तिनीहरू सधैं खुसी भएको उहाँ चाहनुहुन्थ्यो। के कुनै आमाबाबुले आफ्नो छोराछोरी बिरामी परेको अनि मरेको हेर्न चाहन्छ र? पटक्कै चाहँदैन। यहोवा पनि मानिसहरूले पृथ्वीमा सधैं सुखी जीवन बिताएको चाहनुहुन्छ। बाइबल यसो भन्छ: “उहाँले मानिसको हृदयमा अनन्तता पनि राखिदिनुभएको छ।” (उपदेशक ३:११, NRV) परमेश्‍वरले हामीलाई बनाउँदा हाम्रो मनमा सधैंभरि बाँच्ने इच्छा पनि राखिदिनुभयो। त्यसैले भविष्यमा हामीले अनन्त जीवन पाउन सकोस्‌ भनेर उहाँले आफ्नो छोरालाई पृथ्वीमा पठाउनुभयो।

मानिसहरू किन मर्छन्‌?

९. यहोवाले आदमलाई कुन आज्ञा दिनुभएको थियो? यो आज्ञा पालन गर्न किन गाह्रो थिएन?

९ त्यसोभए मानिसहरू किन मर्छन्‌ त? यसको जवाफ पाउन यहोवाले आदम र हव्वालाई सृष्टि गर्नुभएपछि के भयो, विचार गरौं। बाइबल यसो भन्छ: “हेर्नमा राम्रो र खानमा असल फल भएको हरेक रूख परमप्रभु परमेश्‍वरले भूमिबाट उमार्नुभयो।” (उत्पत्ति २:९) यहोवाले आदमलाई “बगैंचाका सबै रूखका फल तैंले संकोच नमानी खाए हुन्छ” भन्‍नुभयो। तर तिनलाई यस्तो आज्ञा पनि दिनुभयो: “असल र खराबको ज्ञान दिने रूखको फल चाहिं नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस्‌ त्यसै दिन तँ मर्नेछस्‌।” (उत्पत्ति २:१६, १७) यो आज्ञा पालन गर्न गाह्रो थिएन। आदम र हव्वाले त्यहाँ भएका अरू थुप्रै रूखका फलहरू खान सक्थे। त्रुटिरहित जीवन अनि अरू सबै असल थोक दिनुहुने परमेश्‍वरको आज्ञा पालन गरेर तिनीहरूले उहाँलाई मनैदेखि धन्यवाद दिन सक्थे। उहाँको आदर गर्छन्‌ अनि उहाँको मायालु डोऱ्‍याइ चाहन्छन्‌ भनेर देखाउन सक्थे।

१०, ११. (क) आदम र हव्वाले कसरी परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरे? (ख) आदम र हव्वाको गल्ती किन माफी दिन लायकको थिएन?

१० दुःखको कुरा, आदम र हव्वाले यहोवाको आज्ञा पालन गरेनन्‌। सैतानले सर्पमार्फत हव्वालाई सोध्यो: “के परमेश्‍वरले तिमीहरूलाई बगैंचाको कुनै रूखको फल नखानू भनी भन्‍नुभएको छ?” हव्वाले यस्तो उत्तर दिइन्‌: “बगैंचाका रूखहरूका फल हामी खानसक्छौं, तर बगैंचाको बीचमा भएको रूखको फलको विषयमा परमेश्‍वरले भन्‍नुभएको छ, ‘त्यो चाहिं नखानू र नछुनू, नत्रता तिमीहरू मर्छौ।’”—उत्पत्ति ३:१-३.

११ सैतानले यसो भन्यो: “तिमीहरू कदापि मर्दैनौ किनकि परमेश्‍वर जान्‍नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्‌, र असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमेश्‍वरजस्तै हुनेछौ।” (उत्पत्ति ३:४, ५) परमेश्‍वरले नखानू भन्‍नुभएको फल खाएमा तिनकै भलो हुनेछ भनी हव्वाले विश्‍वास गरेको सैतान चाहन्थ्यो। सैतानको भनाइअनुसार हव्वाले सही गलत आफैले रोजेर आफूलाई जस्तो मन लाग्यो, त्यस्तै निर्णय गर्न सक्थ्यो। त्यो फल खाएमा मर्नेछौ भनेर यहोवाले झूटो बोल्नुभएको हो भनेर पनि सैतानले आरोप लगायो। हव्वाले सैतानको कुरा पत्याइन्‌। तिनले त्यस रूखको फल टिपेर खाइन्‌ र आफ्नो पति आदमलाई पनि दिइन्‌। अनि तिनले पनि खाए। तिनीहरूले जानाजानी यहोवाको आज्ञा उल्लङ्‌घन गरे। तिनीहरूले परमेश्‍वर आफ्नो बुबाको अनादर गरे। जसले तिनीहरूलाई जीवन अनि अरू सब थोक दिए, उनैको त्यसरी अनादर गर्नु सरासर गलत थियो। त्यसैले तिनीहरूको गल्ती माफी दिन लायकको थिएन।

१२. आदम र हव्वाले आफूले भनेको कुरा नमान्दा यहोवालाई कस्तो लाग्यो? उदाहरण दिनुहोस्‌।

१२ आफूले असाध्यै दुःख गरेर हुर्काएको छोराले तपाईंको फिटिक्कै आदर गरेन अनि भनेको मानेन भने तपाईंलाई कस्तो लाग्छ? असाध्यै चित्त दुख्छ नि, होइन र? आदम र हव्वाले आफूले भनेको कुरा नमान्दा यहोवाको कत्ति चित्त दुख्यो होला, सोच्नुहोस्‌ त!

आदमको सृष्टि गर्दा तिनी माटोबाट बनाइएका थिए

आदम माटोबाट बनाइएका थिए र माटैमा फर्किए

१३. आदम मरेपछि के हुनेछ भनेर यहोवाले बताउनुभयो र यसको अर्थ के हो?

१३ आदम र हव्वाले जानाजानी यहोवाको आज्ञा उल्लङ्‌घन गरे। त्यसैले तिनीहरूलाई बाँच्न दिइरहनुपर्ने कुनै कारण थिएन। उहाँले भन्‍नुभएझैं तिनीहरू मरे। आदम र हव्वाको अस्तित्व मेटियो। तिनीहरू अन्त कुनै लोकमा गएनन्‌। हामी यो कसरी भन्‍न सक्छौं? परमेश्‍वरले यसो भन्‍नुभयो: “माटैबाट तँ निकालिएको थिइस्‌। तँ माटै होस्‌ र माटैमा फर्किजानेछस्‌।” (उत्पत्ति ३:१९) परमेश्‍वरले आदमलाई माटोबाट बनाउनुभएको थियो। (उत्पत्ति २:७) त्यसअघि आदमको कुनै अस्तित्व थिएन। त्यसकारण यहोवाले आदमलाई “माटैमा फर्किजानेछस्‌” भन्‍नुको मतलब मरेपछि तिनी माटोजस्तै निर्जीव हुने थिए।

१४. हामी किन मर्छौं?

१४ यहोवाको आज्ञा मानेका भए आदम र हव्वा आजसम्म जीवित हुन्थे तर तिनीहरूले उहाँको आज्ञा पालन नगरेर पाप गरे र मरे। आदम र हव्वाले पापी भएपछि छोराछोरी जन्माएकोले तिनीहरूको पाप हामीमा पनि सऱ्‍यो। त्यसैले हामी मर्छौं। (रोमी ५:१२) पाप आमाबाबुबाट जन्मजात सर्ने रोगजस्तै हो। त्यसैले त्यसबाट कोही पनि उम्कन सक्दैन। पापले गर्दा हुने मृत्यु हाम्रो लागि सराप भएको छ। मृत्यु हाम्रो मित्र होइन, शत्रु हो। (१ कोरिन्थी १५:२६) यस्तो भयानक शत्रुबाट बचाउन यहोवाले फिरौतीको बलिदानको प्रबन्ध गर्नुभयो।

मृत्युबारे सत्य कुरा थाह पाउँदा के फाइदा हुन्छ?

१५. मृत्युबारे सत्य कुरा थाह पाउँदा के फाइदा हुन्छ?

१५ मरेका मानिसहरूको अवस्थाबारे बाइबलबाट सत्य कुरा थाह पाउँदा हाम्रो मनको बोझ हल्का हुन्छ। मरेकाहरूले पीडा वा सास्ती पाउँदैनन्‌। तिनीहरूले हामीलाई हानि पुऱ्‍याउन पनि सक्दैनन्‌। त्यसैले तिनीहरूसित डराउनुपर्दैन। तिनीहरूले हामीलाई मदत गर्न सक्दैनन्‌ र तिनीहरूलाई हाम्रो मदत पनि चाहिंदैन। हामीले तिनीहरूसित अनि तिनीहरूले हामीसित कुरा गर्न सक्दैनन्‌। मरेको मानिसलाई मदत गर्न सक्छु भनेर थुप्रै धर्मगुरु दाबी गर्छन्‌। अनि मानिसहरू उनीहरूको लहलहैमा लागेर पैसा खर्च गर्छन्‌। तर मृत्युबारे सत्य कुरा थाह पाएपछि हामी त्यस्ता झूटो कुराको लहलहैमा लाग्नदेखि जोगिन्छौं।

१६. थुप्रै धर्मका शिक्षाहरू कसबाट प्रभावित छ र त्यसले के गर्छ?

१६ के मृत्युबारे तपाईंको धर्मले सिकाउने कुरा र बाइबलले सिकाउने कुरा मेल खान्छ? प्रायजसो मेल खाँदैन। किन? किनभने तिनीहरूको शिक्षा सैतानबाट प्रभावित भएको छ। मानिस मरे पनि उसको कुनै भाग अन्त कतै बाँचिरहन्छ भन्‍ने विश्‍वास दिलाउन सैतानले झूटो धर्मलाई चलाउँछ। सैतानले यस्तै झूटको सहारा लिएर मानिसहरूलाई यहोवा परमेश्‍वरबाट अलग पार्न खोज्छ। कसरी?

१७. नरकको शिक्षाले किन यहोवाको बदनाम गर्छ?

१७ खराब काम गर्ने मान्छेले नरकमा सास्ती भोग्छ भनी केही धर्मले सिकाउँछन्‌। यस्तो शिक्षाले परमेश्‍वरको बदनाम गर्छ। किनकि यहोवा प्रेमको परमेश्‍वर हुनुहुन्छ र उहाँले मानिसहरूलाई कहिल्यै यसरी सास्ती दिनुहुन्‍न। (१ यूहन्‍ना ४:८) छोराले भनेको कुरा मानेन भन्दैमा उसको हातै आगोमा झोस्ने बुबा तपाईंलाई कस्तो लाग्छ? के तपाईं त्यस्तो व्यक्‍तिलाई आदर गर्नुहुन्छ? त्यस्तो निर्दयी मान्छेको छायाँसमेत हेर्न चाहनुहुन्‍न होला! यहोवा पनि त्यस्तै निर्दयी हुनुहुन्छ, उहाँले मानिसलाई नरकमा सास्ती दिनुहुन्छ भनी विश्‍वास गरेको सैतान चाहन्छ।

१८. किन थुप्रै धर्मले मरिसकेका मानिसहरूको पूजा गर्न लगाउँछ?

१८ केही धर्मले मान्छे मरे पनि उसको आत्मा बाँचिरहन्छ, त्यसैले तिनीहरूको आत्मालाई आदर वा पूजा गर्नुपर्छ भनेर पनि सिकाउँछ। मरिसकेको मानिसको आत्माले हामीलाई मदत गर्न अथवा हानि पुऱ्‍याउन सक्छ भनेर ती धर्मले सिकाउँछ। थुप्रै मानिस यस्तो झूटो कुरा पत्याउँछन्‌। तिनीहरू मरेका मानिसहरूसित डराउँछन्‌। त्यसैले तिनीहरूको पूजाआजा गर्छन्‌। तर बाइबलले मरिसकेका मानिसहरू गहिरो निद्रामा छन्‌ र हाम्रो सृष्टिकर्ता अनि हामीलाई सबै कुरा दिनुहुने एक मात्र साँचो परमेश्‍वर यहोवाको उपासना गर्नुपर्छ भनी सिकाउँछ।—प्रकाश ४:११.

१९. मरिसकेका मानिसहरूको अवस्थाबारे थाह पाएपछि अरू कस्ता शिक्षा बुझ्न सजिलो हुन्छ?

१९ मरिसकेका मानिसहरूको अवस्थाबारे बाइबलले सिकाउने सत्य कुराले तपाईंलाई विभिन्‍न धर्मले सिकाउने झूटा शिक्षाहरूदेखि जोगाउँछ। यसले तपाईंलाई बाइबलका अरू शिक्षा बुझ्न पनि मदत गर्छ। जस्तै, मान्छे मरेपछि अर्कै लोकमा जाँदैन भनेर बुझेपछि सुन्दर पृथ्वीमा सधैंभरि जीवन बिताउने आशा तपाईंलाई अझ वास्तविक लाग्नेछ।

२०. अर्को अध्यायमा हामी कुन प्रश्‍नबारे छलफल गर्नेछौं?

२० धेरैअघि अय्यूब नाम गरेका असल मानिसले यस्तो प्रश्‍न सोधेका थिए: “के मानिस मरेपछि ऊ फेरि जिउँछ?” (अय्यूब १४:१४, NRV) के मृत्युको चिर निद्रामा परेको व्यक्‍तिलाई ब्यूँताउन सकिन्छ? यसबारे बाइबलको शिक्षा एकदमै सान्त्वनादायी छ। यसबारे हामी अर्को अध्यायमा छलफल गर्नेछौं।

a मानिससित प्राण वा आत्मा छ कि छैन भन्‍नेबारे थप जानकारीको लागि पृष्ठ २०८-२११ हेर्नुहोस्‌।

बाइबलले के सिकाउँछ?

  • मरेको मान्छेले देख्न, सुन्‍न सक्दैन न त सोच्न नै सक्छ।—उपदेशक ९:५.

  • मरिसकेका मानिसहरू चिर निद्रामा छन्‌; तिनीहरूले सास्ती भोग्दैनन्‌।—यूहन्‍ना ११:११.

  • आदमले गरेको पापले गर्दा हामी जन्मेदेखि पापी भयौं; त्यसैले हामी मर्छौं।—रोमी ५:१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने