श्रवण शक्ति नगुमाउनुहोस्!
फ्रान्समा हालै ४०० युवाहरूको श्रवण शक्ति जाँच्दा प्रत्येक ५ जनामा १ जना सुन्न नसक्ने भइसकेको पत्ता लाग्यो। लगभग दश वर्षअघि यस्तै सर्वेक्षण गर्दा त्यतिखेर प्रत्येक १० जनामा १ जनाले मात्र राम्ररी सुन्न नसकिएको पत्ता लागेको थियो। निकै युवाहरूले श्रवण शक्ति गुमाउन थालेको देखिएकोले स्टेरियो बजाउँदा त्यसको आवाज १०० डेसिबलभन्दा कम हुनुपर्छ भन्ने निर्णय यसै वर्षको प्रारम्भतिर फ्रेन्च नेशनल एसेम्ब्लीले गऱ्यो।
हेडफोन लगाएर स्टेरियो बेस्सरी घन्काउने भएकोले नै प्रायजसो युवाहरूको श्रवण शक्ति कम हुँदै गएको हो भन्ने निष्कर्ष निकालिएको छ। ध्वनि १०० डेसिबलभन्दा चर्को छ भने केही घण्टाभित्रै सधैंको लागि बहिरा हुनसक्छ भनी कानका शल्यचिकित्सक झाँ-पेयर काभ भन्छन्। अझ ध्वनि ११५ डेसिबलभन्दा चर्को छ भने त केही मिनेटभित्रै सुन्न नसकिने हुन्छ। एफ एन ए सी अर्थात् फ्रान्समा इलेक्ट्रोनिक सामानहरूका एक प्रमुख खुद्रा व्यापारी आफूसित भएका अधिकांश स्टेरियोहरूमा १०० डेसिबलभन्दा चर्को आवाज निकाल्ने क्षमता भएको कुरा बताउँछन्। कुनै कुनै स्टेरियोले त १२६ डेसिबलभन्दा चर्को आवाज निकाल्छ जुन १०० डेसिबलभन्दा ४०० गुना चर्को हुन्छ!
फ्रान्सेली श्रवण विशेषज्ञ क्रीस्ट्याङ मेयेर-बीशअनुसार युवाहरूका लागि रक सांगीतिक कार्यक्रमहरू स्टेरियोभन्दा पनि झन् हानिकारक छन्। वास्तवमा, अठाह्र वर्षका स्वस्थ युवाहरूको तुलनामा नियमित तवरले रक सांगीतिक कार्यक्रमहरूमा जानेहरूको श्रवण क्षमता निकै कम भएको पत्ता लाग्यो। त्यसैकारण फ्रेन्च नेशनल एसेम्ब्लीका सहायक प्रतिनिधि झाँ-फ्राङस्वाँ मत्ताले यस्तो चेताउनी दिनु कुनै अनौठो कुरा होइन: “हाम्रा सन्तति बहिरा हुँदैछन्।”
अतः आवाज कम गर्नुहोस्! श्रवण शक्ति नगुमाउनुहोस्!