विश्वदर्शन
अक्सर गलत क्यान्सर खुट्ट्याइन्छ
“मृत्युको कारणसम्बन्धी आधिकारिक तथ्याङ्कहरूले क्यान्सरको सिकार भएकाहरूको संख्या थोरै भएको देखाउँछ” भनी न्यु साइन्टिस्ट पत्रिका रिपोर्ट गर्छ। न्यु अर्लियन्सको मेडिकल सेन्टर अफ लुईजीयानाकी डा. एलिजावेथ वर्टनले पोस्टमर्टम रिपोर्टसित मर्नुअघिको क्यान्सरको चिकित्सा रिपोर्ट तुलना गर्न सन् १९८६ देखि १९९५ भित्रका १,१०५ जना विरामीहरू मरिसकेपछिको पोस्टमर्टम रेकर्ड जाँचिन्। वर्टनअनुसार ४४ प्रतिशत रोगीहरूमा क्यान्सर ठम्याउन नसकेको वा गलत क्यान्सर खुट्ट्याइएको थियो। सन् १९६० दशकको ५० प्रतिशतसित अहिले मरिसकेका दस प्रतिशतको पोस्टमर्टम रिपोर्ट तुलना गर्दा “थुप्रै त्रुटिहरू कहिल्यै भेट्टाउन सकिने छैन,” भनी सोही पत्रिका बताउँछ।
मस्तिष्कघातका चेताउनीमूलक लक्षणहरू
एफडीए कन्स्युमर उल्लेख गर्छ, “थुप्रै मानिसहरू मस्तिष्कघातका एउटै लक्षण पनि चिन्न सक्दैनन्।” उक्त पत्रिका यसो पनि भन्छ: “सर्वेक्षण गरिएकाहरूमध्ये बल्लतल्ल आधाजतिले मात्र एउटा लक्षणको नाम बताउनसके भने ६८ प्रतिशतले मात्र यसले पुऱ्याउने क्षतिमध्येको एउटा बताउनसके।” संसारभर मृत्यु र पश्चिमी औद्योगिक संसारमा शारीरिक अस्वस्थताको प्रमुख कारण यो नै हो भन्ने तथ्यका बावजूद अवस्था त्यस्तो छ। मस्तिष्कघातले पुऱ्याउने क्षति कम गर्न तपाईंले पहिलो चेताउनीमूलक लक्षण देख्ने बित्तिकै औषधी उपचार गर्नु अत्यन्त जरुरी छ। मस्तिष्कघातका एकदम सामान्य लक्षणहरू भनेको अचानक मुख, हात वा खुट्टा कमजोर हुनु, चेतनाशून्य वा पक्षाघात हुनु; विशेष गरी एउटा आँखाले धमिलो देख्नु वा देख्दै नदेख्नु; बोल्न वा कुरा बुझ्न कठिन हुनु; अनि अरू चेताउनीमूलक लक्षणहरूसँग मिसिएर देखापर्दा भने बिनाकारण रिंगटा लाग्ने वा सन्तुलन गुमाउने हुन्छ।
विवाहले खुसीयाली ल्याउनसक्छ
कसैकसैले विवाहलाई बोझिलो छ भनी भर्त्सना गर्छन् भने टिभीका श्रृंखलाबद्ध हास्य कार्यक्रमहरूले पनि यसलाई निराशाजनक पुरानो फेशनको रूपमा व्यक्त गर्छन्। तर प्रमाणहरूले के देखाउँछ? के अविवाहितहरू आरामदायी अवस्थामा छन् त? फिलाडेल्फिया इन्क्वाइरर्स-मा उल्लिखित एक समाज सेविकाअनुसार छैनन्। तिनको भनाइअनुसार विवाहित मानिसहरू “सामान्यतया आनन्दित, स्वस्थ र धनी” छन्। प्रायः विवाहितहरूमा तनाउ कम हुने, हिंसात्मक कार्य गर्नसक्ने संभावना कम हुने वा अवैध लागू पदार्थको सेवन नगर्ने देखिन्छ भने सरकारले दिने भत्ता प्रायः लिन छाडेको पनि देखिन्छ। अतः विवाहित मानिसहरू लामो आयुका हुन्छन् भनी विशेषज्ञहरूले बताउँदा अचम्म मान्नुपर्दैन।
चेन लेटर जलाउने
जापानको नागोया शहरमा सन् १९९२ देखि चेन लेटरहरू नष्ट गर्न बौद्धहरूले वार्षिक रुपमा पत्र जलाउने उत्सव गर्ने गरेको छ। हुलाकका अधिकारीहरूले शहरभरका हुलाक कार्यालयहरूमा अनावश्यक पत्रहरू जम्मा गर्ने बाकसहरू राखेर बौद्ध विहारलाई ती पत्रहरू जलाउने उत्सव मनाउन आग्रह गरे। आशाही इभनिङ्ग न्युज-अनुसार उक्त सेवा “ती पत्रहरूलाई बेवास्ता गर्न वा आफैले जलाउन डराउने एकदम अन्धविश्वासीहरूका लागि” उपलब्ध गराइएको हो। तिनीहरू किन डराए? पत्रमा लेखिएको एक एक कुरा मान्नेहरूको फलिफाप हुनेछ भन्ने कुरा मात्र ती पत्रहरूले बताउँदैनन्। तर ती पत्रहरूले उक्त निरन्तरता तोड्नेहरूमाथि आइपर्ने दुर्दशाबारे पनि बताउँछ। उदाहरणका लागि, एउटा पत्रमा उक्त क्रमलाई तोड्ने एक व्यक्तिको टोकियोमा हत्या गरियो भन्ने चेताउनी पनि दिएको थियो।
डुब्दै गरेको शहर
“मेक्सिको शहर डुब्दै छ,” द न्यु योर्क टाइम्स उल्लेख गर्छ। “त्यहाँका १ करोड ८० लाख बासिन्दाहरूका लागि पानी आपूर्ती गर्न जमिन मुनिबाट जमिनै अस्वाभाविक रूपमा भासिने गरी अति धेरै पानी निकालिएको छ।” यस समस्याको एउटा अर्को कारण “मेक्सिको संसारकै पानी आपूर्तीमा सबैभन्दा बढी चुहावट हुने शहरहरूमध्ये एक हुनु हो। पम्प गरेर निकालिएको झन्डै [एक लिटर] शुद्ध पानीको एक तिहाइ भाग चुहावट हुने गर्छ।” फलतः धेरैभन्दा धेरै पानी तान्नुपर्छ जसले गर्दा शहर झन् झन् भासिंदै छ। त्यहाँ कारिन्दाहरूले वर्षेनी ४०,००० फुटेका पाइपहरू मर्मत गर्छन् भने कतिपय चुहावटहरूको त लेखाजोखा नै छैन। साँच्चै भन्ने हो भने मेक्सिको मात्र भासिंदै गरेको शहर होइन। उदाहरणका लागि, इटालीको शहर भेनिस पनि २० औं शताब्दीको दौडान २३ सेन्टिमिटर भासिएको छ। तर मेक्सिको शहर भने नौ मिटर भासिएको छ!
हुल्याहा केटाहरू
जम्मा १६,२६२ जना अमेरिकी किशोरकिशोरीहरूमा गरिएको सर्वेक्षणअनुसार करिब ५ मा १ जनाले हातहतियार बोक्ने गरेको र १० मा १ जनाले आत्महत्या गर्ने प्रयास गरेको कुरा द न्यु योर्क टाइम्स रिपोर्ट गर्छ। यस सर्वेक्षणमा देशभरिका १५१ वटा स्कूलका विद्यार्थीहरू पनि समावेश थिए। विद्यार्थीहरूको शारीरिक तथा यौन क्रियाकलापहरूका साथै लागू पदार्थ, मदिरा तथा सूर्ती सेवनबारे जानकारी लिन गोप्य प्रश्नपत्रहरू प्रयोग गरिएको थियो। नेशनल सेन्टर फर क्रोनिक डिजिज प्रिभेन्सन एण्ड हेल्थ प्रमोशन सेन्टरकी लोरा कान भन्छिन्, “बुझ्नुपर्ने कुरा के छ भने अत्यधिक जवानहरू जोखिमपूर्ण कार्यहरू गरिनै रहेका छन्। यसले तिनीहरूलाई वर्तमान समयमा चोटपटक वा मृत्युमा पुऱ्याउँछ भने पछि दीर्घकालीन रोग निम्त्याउनसक्छ।
विध्वंशक मीच तुफान
अक्टोबर २७, १९९८ मा ११,००० मानिसहरू मर्ने गरी मध्य अमेरिकामा मीच तुफानले प्रहार गऱ्यो। हराइरहेका हजारौंचाहिं मरेको आशंका गरिएको छ भने २३ लाख मानिसहरू घरबारविहीन भए। सबैभन्दा बढी प्रभाव परेको क्षेत्रचाहिं हान्डूरस र निकारागुआ थियो। पानीको सतह जमिनभन्दा चार फिटमाथि सम्म पुगेकोले यस क्षेत्रमा गत दुई शताब्दीभित्रको प्राकृतिक प्रकोपहरूमध्ये यसैलाई सबैभन्दा पीडादायी भनी वर्णन गरिएको छ। दर्जनौं गाउँहरू बाढीपहिरोले गर्दा स्वतः स्वाहा भए। हान्डूरसका राष्ट्रपति कार्लोस फ्लोरेस फाकुसे भन्छन्: “हामीले विस्तारै विस्तारै ५० वर्ष लगाएर बनाएका सबै चीजबीजहरू ७२ घण्टाभित्रै खत्तम भयो।” अझ यसले गर्दा मरेको र पुऱ्याएको विनाशलाई त टाढै राखौं। उक्त आँधीको चपेटामा परेका धेरैजसो साना शहरहरूका बिजुली तथा दूरसंचारका लाइनहरू काटिए। सयौं बाटो तथा पुलहरू स्वात्तै बगाइए भने बचेका मानिसहरू पनि अरूबाट अलग्गिएर धेरै दिनसम्म खाना, शुद्ध पानी वा औषधी समेतबाट वञ्चित हुनुपऱ्यो। उद्धार संस्थाहरूसित प्रशस्त खाद्यान्न थियो तर तिनीहरूसम्म पुऱ्याउन बाटो भने थिएन। भौतिक सम्पत्तिहरूका साथसाथै थुप्रै मानिसहरूले जागिर पनि गुमाउनुपऱ्यो। केरा, खरबुजो-तरबुजोका बियाँहरू कफीका दानाहरू र चामल जम्मै बगायो। “यसको तुलनामा १९७४ को फीफी तुफान केही पनि थिइनन्,” हान्डूरसका उपराष्ट्रपति विलियम हान्डल भन्छन्। “फीफीले पुऱ्याएको क्षतिपूर्ति गर्न १२ देखि १४ वर्षसम्म लागेको थियो। यसले पुऱ्याएको क्षतिको पूर्ति गर्न भने ३०/४० वर्ष लाग्नेछ।”
हात्तीको अधिकार
भारतका थुप्रै भागहरूमा कर्मचारीहरूले गर्ने महत्त्वपूर्ण कार्यहरू हात्तीहरूले सम्पन्न गर्छन्। उत्तर प्रदेशको उत्तरी प्रान्तमा हात्तीहरूलाई समेत पूरा जागिरदारहरू जस्तै तलब दिनुपर्ने सरकारी कर्मचारीहरूको सूचीमा राखिन्छ भनी द वीक पत्रिका रिपोर्ट गर्छ। दश वर्षको उमेरमा काम सुरुगर्ने हात्तीले झन्डै पचास वर्षसम्म आफ्नो मालिकको सेवा गर्नसक्छ। अवकाश पाइसकेपछि हात्तीले अन्य सरकारी कर्मचारीहरू सरह पेन्सन पाउँछन् र हात्तीका प्रशिक्षक तथा नियन्त्रक माहुतेलाई सो हात्तीले उपयुक्त रेखदेख र भोजन पाउँछ वा पाउँदैन हेर्न खटाइन्छ। ढोईका लागि अर्को सुविधा भनेको आफ्नो कार्यकालमा एक वर्ष सुत्केरी बिदा, चिडियाखानामा आराम गरेर बिताउन पाउनु पनि हो। त्यसपछि तिनी फेरि आफ्नो काठ ओसारपसार गर्ने, जंगली हात्तीलाई थुन्ने र प्रशिक्षण दिने अनि राष्ट्रिय निकुञ्ज तथा संरक्षित वन क्षेत्रहरूमा गस्ती लाउने काममा फर्कन्छिन्।
लाज हटाउने
क्यानाडाको टोरोन्टो स्टार-अनुसार, “करिब १३ प्रतिशत वयस्कहरू असाध्यै लजालु स्वभावबाट पीडित छन्।” विशेषज्ञहरू यसलाई हटाउने तरिकाहरू यसरी उल्लेख गर्छन्: “समाचार बाचकहरू, पत्रिकाका लेख, पुस्तक, सोख अथवा चलचित्रहरूबारे विचार गर्नुहोस्।” “आँखा हेरेर कुरा गर्ने [र] राम्ररी सुन्नेलगायत बोली वा इसाराद्वारा सल्लाह गर्ने प्रयास गर्नुहोस्।” “तपाईं जुन काम गर्न डराउनुहुन्छ त्यही गर्नुहोस्।” “यदि तपाईं लजालु केटाकेटीका आमा वा बुबा हुनुहुन्छ भने आफ्ना छोराछोरीहरूलाई अरूसित संगत गर्ने प्रशस्त मौका दिनुहोस्।” धेरैभन्दा धेरै लाज हटाउने प्रयास गर्दा हटाउन सकिन्छ भनी अनुभवहरूले देखाएको छ। त्यसैले तिनीहरू हार नमान्न प्रोत्साहन दिन्छन्।
दुर्घटना—दुर्भाग्य होइन
हरेक वर्ष कम्तीमा २२,००० केटाकेटीहरू तथा वयस्कहरू दुर्घटनामा मर्छन् भनी ब्राजिलको स्वास्थ्य मन्त्रालय रिपोर्ट गर्छ। ट्राफिक दुर्घटनाले सबैभन्दा धेरै मरेको पाइन्छ। तथापि, ब्राजिलको सोसाइटी अफ पेड्रियाट्रिक्सका अध्यक्ष लीनकन फ्रेरी यस्तो घोषणा गर्छन्: “दुर्घटनाहरूबाट बच्न सकिन्छ र यसलाई भाग्यको लेखा भन्न मिल्दैन।” यसबाहेक, राष्ट्रिय दुर्घटना रोकथाम अभियानकी संयोजिका टेरेजा कोस्टाले ‘विगत १५ वर्षदेखि झाडापखाला, श्वासप्रश्वास समस्या तथा सरूवा रोगहरू हटाउन सरकारले देखाएको सक्रियताले गर्दा तिनीहरूका कारण हुने मृत्युदरमा कमी आएको’ संकेत गर्दै दुर्घटना रोकथाम कार्यक्रमले पनि जीवन बचाउन सकिन्छ भन्ने कुरा बताइन्।