प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ५/८ पृ. ४-७
  • केही विश्‍वविख्यात बगैंचाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • केही विश्‍वविख्यात बगैंचाहरू
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पहिले पहिलेका बगैंचाहरू
  • अरबी बगैंचाहरूदेखि बेलाइती बगैंचासम्म
  • प्राकृतिक बनोटअनुरूप तयार पारिएका पूर्वेली बगैंचाहरू
  • विश्‍वव्यापी प्रेम
  • बगैंचाको माया
    ब्यूँझनुहोस्‌!—१९९७
  • पूरै पृथ्वीमा प्रमोदवन—के यो सम्भव छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ५/८ पृ. ४-७

केही विश्‍वविख्यात बगैंचाहरू

मानिसजातिले पाइला हालेको पहिलो प्रमोदवन शायद वर्तमान टर्की देशको भान ताल छेउछाउ पर्ने अदन भन्‍ने इलाकाको बगैंचा थियो। आदम र हव्वाको निम्ति तयार पारिएको त्यो बगैंचालाई चार हाँगाहरूमा फैलिएको विशाल नदीले भिजाउँथ्यो। अनि यस दम्पतीले चाहिं त्यही बगैंचाको “गोड-गाड र हेरचाह” गर्नुपर्थ्यो। “हेर्नमा राम्रो र खानमा असल फल भएको” रूखहरूले भरिएको बगैंचाको गोडगाड गर्न पाउनु! आहा! कत्ति आनन्ददायी काम!—उत्पत्ति २:८-१५.

अदन हर कुराले सम्पन्‍न घर थियो। आदम र हव्वाको सन्तानले त्यही बगैंचाको नक्कल गरेर चारैतिर त्यस्तै बगैंचा लगाउनु पर्थ्यो। यसप्रकार अन्ततः पूरै पृथ्वी, सुहाउँदो मात्राका मानिसहरूले भरिएको प्रमोदवन हुनेथियो। तर हाम्रा प्रथम आमाबाबुले जानाजानी आज्ञा उल्लंघन गरेकाले तिनीहरू त्यस्तो सुरक्षित आश्रयस्थलबाट बाहिरिनु पऱ्‍यो। दुःखको कुरा त के हो भने, अदनको यो प्रमोदवनरूपी घरभित्र आदम र हव्वाको एउटै सन्तानले पनि जन्मने मौका पाएन।

तर जे होस्‌, सृष्टिकर्ताले मानिसजातिलाई प्रमोदवनमा राख्न बनाउनुभएको थियो। त्यसैकारण, आदमका सन्तानहरूले प्रमोदवनको नक्कल गर्ने कोसिस गर्नु स्वाभाविक हो।

पहिले पहिलेका बगैंचाहरू

बाबेलको ह्‍यांगिङ गार्डनलाई प्राचीन संसारका आश्‍चर्यहरूमध्ये एक मानिन्छ। आजभन्दा २,५०० वर्षअघि राजा नबूकदनेसरले आफ्नी मिद्यानी पत्नीको लागि त्यो बगैंचा बनाउन लगाएका थिए। तिनकी पत्नी पहाडी इलाकाको स्त्री भएकीले सधैं जंगल अनि डाँडाकाँडाको लालसा गर्थिन्‌। नबूकदनेसरले आफ्नी रानीको लागि भऱ्‍याङै भऱ्‍याङ अनि तल्लै तल्ला भएको २२ मिटर अग्लो गुम्बज आकारको घर बनाउन लगाए र त्यहाँ प्रशस्त बिरुवाहरू लगाए। प्रशस्त माटो लगाइएको हुँदा, ठूलठूला रूखहरूसमेत त्यहाँ उमार्न सकिन्थ्यो। कौसीमा लगाइएको अदनको बगैंचाजस्तो बगैंचा देखेर घरको सम्झनाले पिरोलिएकी रानीलाई पक्कै पनि सान्त्वना मिल्यो होला।

हेर्दा कुनै मानिसले नभई प्रकृति आफैले लगाएजस्तो देखिने बगैंचा तयार पार्ने क्षेत्रमा मिश्रको नीलको उर्वरा उपत्यकाको नाउँ निकै अगाडि आउँथ्यो। बगैंचासम्बन्धी अक्सफोर्ड गाइड (अंग्रेजी) किताबअनुसार “संसारका सबैभन्दा पुराना बगैंचाहरूको रूपरेखाहरूको स्रोत मिश्र देश हो र . . . यो देशको बगैंचा लगाउने निकै पुरानो परम्परा छ।” थेब्ज भन्‍ने ठाउँका मिश्री अफिसरको लागि झन्डै सा.यु.पू. १४०० तिर तयार पारिएका त्यस्तै एउटा रूपरेखामा प्रकृतिको नक्कल गरी बगैंचा तयार पार्ने योजना छ र त्यसमा पोखरीहरू, दुवैतर्फ रूखहरू लगाइएका बाटोहरू अनि राजछत्र थिए। त्यसताक शाही बगैंचाहरूपछि मन्दिरका बगैंचाहरू अति भव्य अनि विलासी हुन्थे। चारैतिर वृक्षवाटिका, फूल अनि जडिबुटीहरू हुन्थे र जलचरा, माछा अनि कमलका फूलहरूले टम्म भरिएका पोखरीहरू हुन्थे र तालबाट ल्याइएको पानीले बगैंचाको सिंचाइ गरिन्थ्यो।—प्रस्थान ७:१९ तुलना गर्नुहोस्‌।

फारसीहरूले पनि बगैंचाको दुनियाँमा आफ्नो अमेट छाप छोडेका छन्‌। फारस र मिश्रका बगैंचाहरू यति सुन्दर अनि मनमोहक थिए कि सा.यु.पू. चौथो शताब्दीताक महान्‌ सिकन्दरका विजयी सिपाहीहरू बीउ, बिरुवा अनि बगैंचा लगाउने नयाँ नयाँ विचारहरू लिएर घर फर्केका थिए। एथेन्समा अरस्तु र तिनको शिष्य थिओफ्रास्टसले बिरुवाहरूको अध्ययन अनि वर्गीकरण गर्न जातजातका फूलहरू संकलन गरेर बोटानिकल गार्डन खोलेका थिए। धनसम्पन्‍न थुप्रै युनानीहरूले मिश्री र फारसीहरूले जस्तै भव्य बगैंचाहरू लगाउँथे।

त्यस्तैगरि रोमी शहरवासीहरूले आफ्नो जग्गाजमिन थोरै भएपनि घरसँगसँगै बगैंचा चाहिं लगाएकै हुन्थे। हुने खानेहरूले चाहिं शहरी इलाकाबाहिर आफ्नो घरको चारैतिर भव्य विलासी पार्कहरू बनाउँथे। यी हुने खानेहरू बगैंचाको कतिसम्म शौकिन हुन्थे भने, निरंकुश निरोले आफ्नो निम्ति अदनको बगैंचा बनाउन निर्ममतापूर्वक हजारौं परिवारहरूलाई घरबारविहीन पारेर आफ्नो दरबार वरपर १२५ एकड जमीनमा ठूलो निजी पार्क बनाए। पछि सा.यु. १३८ मा सम्राट हेड्रियनले शहरी इलाकाबाहिर टिभोली भन्‍ने ठाउँमा घरसँगै बगैंचा लगाउँदा, प्राकृतिक दृश्‍यअनुरूप बगैंचा बनाउने परम्परा चरमसीमामा पुगिसकेको थियो। त्यसताक सम्राट हेड्रियनले ६०० एकड ठूलो पार्क बनाएर पोखरी, ताल अनि फोहरा लगाएका थिए।

पुरातन इस्राएलीहरू पनि बगैंचा अनि पार्क लगाउँथे। यहूदी इतिहासकार जोसेफसअनुसार यरूशलेमभन्दा १३-१६ किलोमिटर टाढा इटाम भन्‍ने ठाउँमा प्रशस्त झरनाहरू भएका रमणीय पार्कहरू थिए। सम्भवतः यो इटामको पार्क सुलेमानले “आफ्नो निम्ति” बनाए भनेर बाइबलमा उल्लेख गरेको ‘फलफूलका बगैंचा, उद्यान, र दहहरू’ हुनसक्छ। (उपदेशक २:५, ६) यरूशलेमबाहिरै जैतून डाँडामा गेतसमनीको बगैंचा पनि थियो, जून येशू ख्रीष्टले गर्दा प्रख्यात भयो। यही बगैंचाको शान्त वातावरणबीच येशूले आफ्ना चेलाहरूलाई शिक्षा दिनुभयो।—मत्ती २६:३६; यूहन्‍ना १८:१, २.

अरबी बगैंचाहरूदेखि बेलाइती बगैंचासम्म

सा.यु. सातौं शताब्दीमा अरबीहरू पूर्व र पश्‍चिमतर्फ फैलन थालेपछि तिनीहरूले पनि सिकन्दरले जस्तै फारसका बगैंचाहरू फेला पारे। (एस्तर १:५ तुलना गर्नुहोस्‌।) यी “अरबीहरूले कुरानमा विश्‍वासी जनहरूलाई प्रतिज्ञा गरिएको बगैंचासँग हुबहु मेल खाने फारसी बगैंचाहरू भेट्टाए” भनेर हवर्ड लक्सटन लेख्छन्‌। चाहे स्पेनमा होस्‌ या काश्‍मिरमा, फारसी बगैंचाजस्तै अरबी बगैंचाहरूलाई चार खोल्साहरूको चौभान बगैंचाबीचमा पर्नेगरि चार भागमा छुट्याइएको हुन्थ्यो। र त्यसरी चार खोल्साहरू मिल्ने ठाउँमा ठूलो पोखरी वा फोहरा थियो। यी चार खोल्साहरू हेर्दा अदनको बगैंचाका चार नदी प्रतित हुन्थे।

उत्तरी भारतको काश्‍मिर घाटीको दल तालमा १७ औं शताब्दीका मुगल शासकहरूले ७०० भन्दा धेरै प्रमोदवनरूपी बगैंचाहरू लगाएका थिए। सयौं फोहरा, ढिस्को अनि झरनाहरू भएका यी बगैंचामा आँखै तिरमिराउने थरि थरिका रंगीबिरंगी फूलहरू लगाइएका हुन्थे। शाहजाँले (ताज महलका निर्माता) दल तालको किनारामा बनाउन लगाएका कालो संगमर्मरको राजछत्रमा कुँदिएका निम्न वाक्य अझै पनि भेटिन्छ: “पृथ्वीमा कतै प्रमोदवन छ भने त्यो यहीं हो, यहीं।”

शाहजाँ अस्तित्वमा आउनुभन्दा केही शताब्दीअघि युरोप मध्ययुगबाट १४ औं शताब्दीको रेनेसाँयुगमा प्रवेश गरेको थियो। पाँचौं शताब्दीतिर प्रारम्भ भएको मध्ययुगमा प्रोत्साहन नपाएको रोमी बागवानी परम्परा फेरि फस्टाउन थाल्यो—तर चर्चको खटनपटनमा। मसीहीजगत्‌ बगैंचालाई ‘अस्थायी प्रमोदवनको’ रूपमा लिन्थे। नवौं शताब्दीमा निर्माण भएको एउटा गुम्बामा “प्रमोदवन” नामकरण गरिएका दुइटा बगैंचाहरू थिए। समय बित्दै जाँदा मसीहीजगत्‌का बगैंचाहरू अझ ठूला अनि भव्य हुन थाले। तर ती बगैंचाहरू आध्यात्मिक महत्त्वका प्रतीक हुनुको साटो शक्‍ति र धनको प्रतीक भए।

फ्रान्सका राजा चार्ल्स आठौंले सन्‌ १४९५ मा इटाली देशको नेपल्स शहर कब्जा गर्दा यस्तो पत्र घर पठाएका थिए: “यो शहरमा मैले कति सुन्दर बगैंचाहरू भेटें, तिमी कल्पनासमेत गर्न सक्दैनौ। आदम र हव्वाको मात्र कमी छ अन्यथा यी बगैंचाहरू पार्थिव प्रमोदवनभन्दा केही कम छैनन्‌।” तर चार्ल्स, १७ औं शताब्दीसम्म जीवित भएको भए फ्रान्सेली भूमिमा राजा लुइस चौधौंले बनाएको बगैंचा देखेर के भन्‍ने थिए होलान्‌। बगैंचा (अंग्रेजी) भन्‍ने पुस्तकअनुसार भर्साइ दरबारको बगैंचाले “अहिले पनि संसारको सबैभन्दा ठूलो अनि भव्य बगैंचा हुनाको दाबी गर्नसक्छ।”

तथापि, रेनेसाँयुगतिर प्रमोदवनको आफ्नै परिभाषा थियो। त्यो हो, प्रकृतिको नियम विरुद्ध बगैंचाको स्वाभाविकपन हटाएर आफ्नो इच्छाअनुसार त्यसलाई ढाल्ने। त्यसैले होला, त्यतिबेला रूख अनि फूलहरू सबै ज्यामितिय मापदण्डअनुसार एक एक कुरा विचार पुऱ्‍याइ छाँटिन्थ्यो। यसप्रकार रोमी बागवानी कला अर्थात्‌ रूखहरूलाई छाँट्‌ने, मनलागेको दिशामा फर्काउने कलाले रेनेसाँयुगमा ठूलो मान्यता पायो।

अठारौं अनि १९ औं शताब्दी पुगेपछि समुद्री यात्रा तथा व्यापारले गर्दा नयाँ नयाँ बिरुवा तथा बागवानी कलाहरूले पश्‍चिमी संसारमा प्रवेश पाए। त्यसताक बगैंचा डिजाइन गर्ने क्षेत्रमा बेलाइत अग्रपंक्‍तिमा आउँथ्यो। “अठारौं शताब्दीताक बेलाइतका मानिसहरू आफू पनि प्रकृतिको भाग हुन्‌ र त्यसको ख्याल गर्नुपर्छ भनेर निकै सचेत भइसकेका थिए। त्यसकारण प्रकृतिलाई आफ्नै ज्यामितिय मापदण्डमा ढाल्नुको साटो मानिसले आफूलाई कसरी प्रकृतिअनुरूप ढाल्न सकिन्छ, त्यसतर्फ ध्यान दिन थाले” भनेर द न्यु इनसाइक्लोपीडिया ब्रिटानिका बताउँछ। विलियम केन्ट अनि ल्यान्सलेट ब्राउनजस्ता पुरुषहरूले प्राकृतिक बनोटअनुरूप बगैंचा तयार पार्ने क्षेत्रमा निकै ख्याति पाए। ब्राउनले बेलाइतमा ठूलठूला बगैंचाहरू भएका दुइ सयभन्दा धेरै घरहरू डिजाइन गरे। यस्ता बगैंचा तयार पार्ने क्षेत्रमा बेलाइत कतिसम्म अघि बढिसकेको थियो भने, थोमस जेफर्सन अनि जोन आदम्स जो पछि संयुक्‍त राज्यको राष्ट्रपति बने, यी दुइ पुरुषहरू बगैंचाहरूको अध्ययन गर्न सन्‌ १७८६ मा बेलाइत पुगे।

प्राकृतिक बनोटअनुरूप तयार पारिएका पूर्वेली बगैंचाहरू

बागवानीमा मिश्र, युनान अनि रोमले पश्‍चिमी सभ्यतामा अमेट छाप पारेजस्तै चीनले पूर्वेली सभ्यतामा ठूलो छाप पारेको पाइन्छ। चिनियाँहरू सुरु-सुरुमा जीववादी थिए। मतलब—पहाड, खोला, चट्टान सबैमा आत्मा हुन्छ र त्यसको सम्मान गर्नुपर्छ भनेर तिनीहरू विश्‍वास गर्थे। तर पछि, ताओवाद, कन्फुशियनवाद र वुद्ध धर्म पूरै देशमा फैलिएपछि चिनियाँहरूले आ-आफ्नै खाले बगैंचाहरू बनाउन थाले।

जापानी समुद्रको अर्को भेगमा चाहिं जापानीहरू आफ्नै प्रकारको बगैंचा बनाउन व्यस्त थिए। तिनीहरू रंगलाई भन्दा बोटको आकारप्रकार र कुन बोट वा फूललाई कहाँ कसरी राख्ने, त्यसमा बढी ध्यान दिन्थे। सीमित क्षेत्रमा प्रकृतिको सौन्दर्य अनि विविधतालाई समेट्‌न जापानी बगैंचेहरू असाध्यै विचार पुऱ्‍याएर ढुंगाहरू राख्छन्‌ र आफ्नो बगैंचालाई बडो ध्यान पुऱ्‍याएर मिलाउँछन्‌। यो कुरा जापानी बोन्साइ (जसको अर्थ हुन्छ, “भाँडामा राखिएको बिरुवा”) अर्थात्‌ रूख वा रूखहरूको समूहलाई सानो आकारको बनाउने कलाबाट प्रष्ट हुन्छ।

बगैंचा लगाउने पूर्वेली तरिका पश्‍चिमी तरिकाभन्दा फरक भए तापनि त्यसमा प्रमोदवनको लालसा प्रष्ट देखिन्छ। उदाहरणका लागि, जापानको हानयुगताक (७९४-११८५) बगैंचेहरूले “पृथ्वीमा प्रमोदवनको” जस्तो वातावरण बनाउन खोजेका थिए भनेर जापानी बगैंचाका इतिहासकार विबी कटर्ट बताउँछन्‌।

विश्‍वव्यापी प्रेम

जंगल, घाँसेभूमिजस्ता “प्राकृतिक” बगैंचामा बसोबास गर्ने असभ्य मानिसहरूदेखि लिएर पृथ्वीका कुनाकाप्चाका सबै मानिसहरूलाई बगैंचा मन पर्छ। “मेक्सिको अनि पेरूमा आक्रमण गर्न जाने योद्धाहरूले एजटेक अनि पेरूको इन्का जातिहरूले . . . पश्‍चिमी मुलुकहरूको भन्दा भिन्दै प्रकारका ठूलठूला बगैंचाहरू लगाएको, डाँडाहरूको डिल डिलहुँदो फूलहरू रोपेको, वन, फोहरा अनि रत्नहरूले सजिएका पोखरीहरू बनाएको भेट्टाए,” भनेर ब्रिटानिका-मा उल्लेख गरिएको छ।

नील नदीको तीरमा लगाइका प्राचीन वन, पूर्वेली मुलुकहरूको प्राकृतिक बगैंचाहरू अनि आधुनिक शहरका पार्क तथा बोटानिकल गार्डनले के व्यक्‍त गर्छ? यही कि मानिसजातिलाई प्रमोदवनको लालसा छ। मानिसहरूले यसरी “पहिल्यैदेखि प्रमोदवनको लालसा” गर्दै आएका थिए भन्‍ने कुरालाई ध्यानमा राख्दै लेखक टेरी कोमिटोले “मानिसहरू बगैंचालाई आफ्नो घर सम्झन्छन्‌,” भनेर समेत लेखे। अनि ‘मेरो घर अदनको बगैंचाजस्तो छ’ भन्‍न मन नपराउने मानिस को होला र? तर के संसारका धनी गरिब सबै बगैंचामा बस्न पाउने सम्भावना सपना मात्र हो कि भविष्यमा साँच्चै त्यस्तो हुनेछ?

[पृष्ठ ७-मा भएको चित्र]

बाबेलको ह्‍यांगिङ गार्डन, कलाकारको परिकल्पना

[पृष्ठ ७-मा भएको चित्र]

जापानमा पाइने पुरानो परम्पराको बगैंचा

[पृष्ठ ७-मा भएको चित्र]

भर्साइ, फ्रान्स

मानिसहरू प्रारम्भदेखि नै प्रमोदवनको लालसा गर्थे

[स्रोत]

French Government Tourist Office/Rosine Mazin

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने