प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ८/८ पृ. १७-१९
  • के अफ्रिकी ढोलकहरू साँच्चै कुरा गर्छन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के अफ्रिकी ढोलकहरू साँच्चै कुरा गर्छन्‌?
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ढोलकको भाषा
  • लामो प्वाल पारेका ढोलकहरूसित कुरा गर्ने
  • सबैभन्दा राम्रो कुराकानी गर्ने ढोलकहरू
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९८
  • सान्तेरियाको मोहनी
    ब्यूँझनुहोस्‌!—२०००
  • बामाकोका कपडा कुट्‌नेहरू
    ब्यूँझनुहोस्‌!—२००२
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ८/८ पृ. १७-१९

के अफ्रिकी ढोलकहरू साँच्चै कुरा गर्छन्‌?

नाइजेरियाका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

अन्वेषक हेन्री स्टान्लीले सन्‌ १८७६-७७ सम्म कंगो नदीहुँदो भ्रमण गरे। त्यस भ्रमणको दौडान तिनले त्यहाँका ढोलक वादनको उपयोगिताबारे सोच्ने मौका नै पाएका थिएनन्‌। तिनी र तिनका सहयात्रीहरूका लागि ती ढोलक बज्नुको अर्थ एउटै हुनसक्थ्यो—युद्ध। ढ्‌वांग ढ्‌वांग गरेर बिस्तारै ढोलक बजेको आवाज सुन्दा भाला बोकेका डरैलाग्दा योद्धाहरूले आक्रमण गर्नै लागेको हो कि भन्‍ने तिनीहरूलाई लाग्थ्यो।

पछि स्थिति केही शान्त भएपछि मात्र स्टान्लीले ढोलकहरूले युद्धको सन्देशबाहेक अरू कुराहरूबारे पनि बताउनसक्छन्‌ भनेर थाह पाए। कंगो नदीको तीरहुँदो बसोबास गर्ने एक जातीय समूहबारे स्टान्लीले यस्तो बयान गरे: “[तिनीहरूले] विद्युतीय संकेतहरूद्वारा सञ्चार कायम गर्न जानेका छैनन्‌, तैपनि एउटा असाध्यै प्रभावशाली सञ्चार प्रणाली तिनीहरूसित छ। ढोलक भाषा जान्‍नेहरूका लागि बडेमानका ढोलकहरूको विभिन्‍न भागमा बजाउँदा त्यसको निक्लने आवाज बोलिने भाषा जत्तिकै स्पष्ट हुन्छ।” ढोलक वादकहरूले तुरही वा साइरनले दिने जानकारी जस्तो मात्र नभई अरू थुप्रै जानकारी दिनसक्छन्‌ भनेर स्टान्लीले थाह पाए। ढोलकहरूले ठीक ठीक सन्देशहरू पठाउनसक्छन्‌।

यस्ता सन्देशहरू वल्लो गाउँदेखि पल्लो गाउँमा पठाउन सकिन्छ। केही ढोलकहरू विशेषगरि पानीमा तैरिरहेको फल्याकमाथि बसेर वा पहाडको टुप्पामा राती बजाउँदा त्यसको आवाज आठदेखि एघार किलोमिटर टाढासम्म सुनिन्थ्यो। अनि टाढाका ढोलक वादकहरूले त्यो आवाज सुन्थे, बुझ्थे र अरूलाई पठाउँथे। बेलाइती यात्री ए. बी. लोयडले १८९९ मा लेखे: “१६० किलोमिटरभन्दा टाढाको दूरीमा रहेको एउटा गाउँदेखि अर्को गाउँमा ढोलकद्वारा सन्देश पुऱ्‍याउनु दुइ घण्टा पनि लाग्दैन भनेर तिनीहरूले मलाई बताए। योभन्दा अझ चाँडो सन्देश पठाउन सम्भव छ भनेर मलाई पूरापूर विश्‍वास छ।”

यस बीसौं शताब्दीमा पनि ढोलकहरूले जानकारी दिने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्‌। सन्‌ १९६५ मा प्रकाशित पुस्तक अफ्रिकाका वाद्य यन्त्रहरू-ले (अंग्रेजी) यसरी बतायो: “ढोलकहरू टेलिफोन र टेलिग्राफजस्तै प्रयोग गरिन्छन्‌। जन्म, मृत्यु, विवाह, खेलकुद, नृत्य, महोत्सव, सरकारी सन्देश र युद्धजस्ता सबै प्रकारका सन्देशहरू यी ढोलकहरूद्वारा नै घोषणा गरिन्छ। कहिलेकाहीं ढोलकद्वारा निन्दोचर्चा वा हँसीमजाक पनि गरिन्छ।”

तर ढोलकहरूले कुरा गरे कसरी? युरोप र अरू ठाउँमा विद्युतीय तरंगको सहायताले टेलिग्राफद्वारा सन्देशहरू पठाइन्थ्यो। प्रत्येक वर्णलाई आ-आफ्नै सांकेतिक अर्थ दिइन्थ्यो। यसले गर्दा शब्द तथा वाक्यहरूलाई एक एक अक्षरमा टुक्राएर सन्देश पठाउन सकिन्छ। तथापि, मध्य अफ्रिकी मानिसहरूको लिखित भाषा नभएकोले ढोलकहरूले शब्दहरू उच्चारण गर्न सक्दैनथे। त्यसैले, अफ्रिकी ढोलक वादकहरूले भिन्‍नै प्रणाली प्रयोग गरे।

ढोलकको भाषा

ढोलकको भाषा बुझ्न अफ्रिकी भाषा नबुझी हुँदैन। मध्य तथा पश्‍चिम अफ्रिकाका थुप्रै भाषाहरूमा दुइ प्रकारको आवाज हुन्छ। प्रत्येक शब्द उच्चारण गर्दा त्यो या त चर्को वा मधुरो हुन्छ। आवाज तलमाथि भयो भने त्यसले अर्कै अर्थ बुझाउँछ। उदाहरणका लागि, जायरको केली भाषाको लीसाका भन्‍ने शब्दलाई विचार गर्नुहोस्‌। यस शब्दको तीनैवटा शब्दांशलाई मधुरो आवाजमा उच्चारण गर्दा त्यसको अर्थ “दलदल वा सिमसार” हुन्छ। ती शब्दांशहरूलाई मधुरो-मधुरो-चर्को उच्चारण गर्दा “प्रतिज्ञा” भनेर बुझिन्छ अनि मधुरो-चर्को-चर्को आवाजले “विष” भन्‍ने अर्थ दिन्छ।

सन्देश आदानप्रदान गर्न प्रयोग गरिने लामो प्वाल पारेका अफ्रिकी ढोलकहरूमा पनि चर्को र मधुरो दुइटा आवाज हुन्छ। त्यस्तैप्रकारले, छेउमा छाला लगाएका ढोलकहरूद्वारा सन्देश पठाउनुपर्दा दुइटा ढोलक बजाइन्छ। ती दुइमध्ये एउटाको आवाज चर्को र अर्कोको मधुरो हुन्छ। तसर्थ, उच्चारण गर्दा निक्लने चर्को, मधुरो आवाजको नक्कल गरेर दक्ष ढोलक वादकले सञ्चार कायम गर्छन्‌। अफ्रिकाका कुरा गर्ने ढोलकहरू नामक पुस्तक (अंग्रेजी) बताउँछ: “यो तथाकथित ढोलक भाषा मुख्यतः त्यस जातिको बोलीचालीजस्तै हो।”

हो, दुइटा आवाज भएको भाषामा साधारणतया एउटै आवाज र शब्दांशसहितका थुप्रै शब्दहरू हुन्छन्‌। उदाहरणका लागि, केली भाषामा सांगो (पिता) जस्तो एकै खाले आवाज भएको (चर्को-चर्को) लगभग १३० संज्ञाहरू छन्‌। न्यान्गो (आमा) शब्दजस्तो एउटै आवाज (मधुरो-चर्को) भएको २०० भन्दा बढी शब्दहरू छन्‌। अन्योल हटाउन ढोलक वादकहरूले यस्ता शब्दहरूका लागि प्रसंग तयार पार्छन्‌ र भेद छुट्याउन सकोस्‌ भनेर थुप्रै प्रकारका प्रचलित छोटो छोटो वाक्यांशहरू समावेश गर्छन्‌ जसले गर्दा भन्‍न खोजेको कुरा श्रोताले बुझ्नसक्छन्‌।

लामो प्वाल पारेका ढोलकहरूसित कुरा गर्ने

कुरा गर्ने ढोलकहरूमध्ये एउटा हो, काठको लामो प्वाल पारेको ढोलक। (पृष्ठ १९ को चित्र हेर्नुहोस्‌) रूखको मुढोमा ध्वान्द्रो पारेर यस्ता ढोलकहरू बनाइन्छ। यी ढोलकको दुवै छेउमा छाला लगाइँदैन। यहाँ तस्बिरमा देखाइएको ढोलकमा दुइ ठाउँमा प्वाल पारिएको छ। तापनि यस्ता थुप्रै ढोलकमा एउटा मात्र लामो प्वाल हुनसक्छ। प्वालको एउटा बिटमा बजाउँदा चर्को आवाज र अर्को बिटमा बजाउँदा मधुरो आवाज निस्कन्छ। यो प्वाल पारेको ढोलक छोटोमा आधा मिटर र लामोमा दुइ मिटर भए तापनि साधारणतया, यो एक मिटर लामो हुन्छ। यसको व्यास चाहिं २० सेन्टिमिटरदेखि लिएर एक मिटरसम्म हुन्छ।

यी प्वाल पारेका ढोलकहरू एक गाउँदेखि अर्को गाउँमा सन्देशहरू पठाउन मात्र प्रयोग गरिंदैन थियो। कुस्ती बाजीमा यी ढोलकहरूको भूमिकाबारे क्यामरूनका लेखक फ्रन्सीस बेबेले वर्णन गरे। कुस्ती खेल्ने दुइ प्रतिस्पर्धी समूह गाउँको खुल्ला मैदानमा भिड्‌न तयार भएपछि ढोलकहरूले खप्पिस पहलवानहरूको प्रशंसा गाउन थाल्थे र पहलवानहरू चाहिं ढोलकको तालमा नाच्थे। एकतर्फका ढोलकले यसो भन्दो हो: “ए पहलवान, तिमीसित कसले प्रतिस्पर्धा गर्नसक्छ? भन, कसले तिमीसित होडबाजी गर्नसक्छ? यी डरपोकहरूले . . . पहलवान ठानेको त्यो [लिखुरेले] तिमीलाई पिट्‌नसक्छ भनेर तिनीहरू सोच्छन्‌। . . . तर तिमीलाई पिट्‌नसक्ने अहिलेसम्म कोही निक्लेको छैन।” विपक्षका संगीतकारहरूले यी ख्यालठट्टा बुझ्छन्‌ र ढोलक बजाएर तुक्का मिलाउँदै जवाफ दिन्छन्‌: “त्यो सानो बाँदर . . . त्यो सानो बाँदर . . . रूखमा चढ्‌न खोज्छ तर सबैले त्यो झर्छ भनेर सोच्छन्‌। तर सानो बाँदर ढीट छ, रूखबाट खस्दैन, त्यो सानो बाँदर रूखको टुप्पोसम्मै चढ्‌छ।” ढोलकहरू बजिरहन्थ्यो र कुस्ती खेल नसकुञ्जेल वातावरण नै रमझम बनाउँथ्यो।

सबैभन्दा राम्रो कुराकानी गर्ने ढोलकहरू

तानतुन पारेर बजाइने ढोलकहरूको अर्को विशेषता छ। चित्रमा तपाईंले देख्नुभएको दायाँपट्टिको ढोलकलाई डुन्डुन भनिन्छ। यो नाइजेरियाको योरूबा जातिले चलाउने प्रख्यात बोल्ने ढोलक हो। डमरू आकारको यस ढोलकको दुवै छेउमा बाख्राको पातलो छाला तन्काएर लगाएको हुन्छ। दुवै छेउको छालालाई छालाकै डोरीहरूले जोडेको हुन्छ। डोरीहरू कस्दा ढोलकको छेउमा लगाएको छाला तन्किन्छ र आठ वा त्योभन्दा बढी आवाजहरू सृजना हुन्छन्‌। ढोलक बजाउन अंकुसे आकारको लाठी प्रयोग गरेर अनि आवाज र ताल परिवर्तन गरेर दक्ष ढोलक वादकले मानिसको आवाजको उतार चढाउ नक्कल गर्नसक्छन्‌। यसप्रकार, ढोलक वादकहरूले ढोलक भाषा बजाउन र अनुवाद गर्नसक्ने अरू ढोलक वादकहरूसित “वार्तालाप” गर्नसक्छन्‌।

यी ढोलक वादकहरूको उल्लेखनीय दक्षता मे १९७६ मा योरूबा बूढाप्रधानका प्रमुख संगीतकारहरूले प्रदर्शित गरे। श्रोतागणबीच बसेका स्वयंसेवकहरूले कानेखुशी गर्दै एक एक निर्देशनहरू प्रमुख ढोलक वादकलाई दिए अनि तिनले चोकको अर्को छेउमा बसेको संगीतकारलाई ढोलक बजाएर ती निर्देशनहरू दिए। ढोलक मार्फत प्राप्त निर्देशनहरूको जवाफमा ती संगीतकार एक ठाउँदेखि अर्को ठाउँमा सर्दै तिनलाई जसो गर्ने अनुरोध गरिएको थियो तिनले त्यसै गरे।

ढोलकबाट सन्देश पठाउन सिक्नु सजिलो छैन। लेखक आइ. लाओवीले बताए: “योरूबा ढोलक बजाउनु जटिल र कठिन कला हो। यसको अध्ययन गर्न धेरै वर्ष लाग्छ। ढोलक वादकले हातको दक्षता र ताल बजाउनु मात्र सिकेर हुँदैन। तिनलाई स्थानीय ठाउँको कविता र इतिहास राम्ररी थाह हुनुपर्छ।”

संगीत क्षेत्रमा अफ्रिकी ढोलकहरूको अझै महत्त्व भए तापनि हालैका दशकहरूमा पहिलाको जस्तो त्यसलाई प्रयोग गरिंदैन। अफ्रिकाका वाद्य यन्त्रहरू नामक पुस्तक भन्छ: “ढोलक बजाएर सन्देश पठाउन सिक्नु असाध्यै गाह्रो छ। तसर्थ, अफ्रिकामा यो कला दिनप्रतिदिन लुप्त हुँदैछ।” सन्देश माध्यमका विशेषज्ञ, रबर्ट निकेल्स अझ भन्छन्‌: “विगतमा सयौं माइल टाढासम्म खबरहरू आदानप्रदान गर्न चलाइने बडे बडेमानका ढोलकहरू लोप हुने स्थितिमा छन्‌।” आजभोलि, थुप्रै मानिसलाई टेलिफोन प्रयोग गर्नु नै सजिलो लाग्छ।

[पृष्ठ १९-मा भएको चित्र]

लामो प्वाल पारेको ढोलक

[पृष्ठ १९-मा भएको चित्र]

कुराकानी गर्ने योरूबा ढोलक

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने