औलोको उही पुरानै उपायबाट रोकथाम
गृह युद्ध, अपराध, बेरोजगारी र अन्य संकटहरूमा संसारको बढी ध्यान गइरहेको बेला औलोबाट भएको मृत्युबारे प्राइम टाइमका समाचारमा कमै सुनिन्छन्। यद्यपि, विश्व स्वास्थ्य संघले (डब्लु एच ओ) बताएअनुसार संसारको झन्डै आधा जति जनसंख्या नै औलोको चपेटामा पर्ला कि भन्ने डर छ। प्रत्येक वर्ष ३० करोडदेखि ५० करोड मानिसहरूलाई यसले समात्छ। यसरी, औलो “गर्मीमा हुने रोगहरूमध्ये संसारमा सबैभन्दा बढी फैलिएको र अति घातक रोगहरूमध्ये हो।” त्यसोभए, यो कत्तिको खतरनाक छ त?
हरेक २० सेकेण्डमा एक जना औलोको मुखमा पर्छ। त्यस दरअनुसार वर्षेनी १५ लाख मानिसहरू स्वाहा हुन्छन् जुन संख्या अफ्रिकी मुलुक, बोत्सवानाको पूरै जनसंख्या बराबर हुन्छ। उष्ण तापक्रम भएको अफ्रिकी भूभागमा दश जनामध्ये नौ जना त औलोकै शिकार हुन्छन्। त्यसमा साना केटाकेटीहरू नै बढी छन्। डब्लु एच ओ-ले उत्तरी र दक्षिणी अमेरिकाबाट संकलन गरेको तथ्यांकमा अमेजन क्षेत्रतिर सबैभन्दा बढी खतरा छ। त्यस भागमा वन फडानी र अन्य पर्यावरणीय परिवर्तनहरूले गर्दा औलोको शिकार हुनेहरूको संख्या बढी रहेको छ। ब्राजिलको अमेजन क्षेत्रका समुदायहरूमा अहिले समस्या एकदमै जटिल भएको छ। त्यहाँका १,००० बासिन्दाहरूमध्ये ५०० जना औलोबाट ग्रसित छन्।
अफ्रिका होस् या एसिया अथवा जहाँसुकै होस्, औलोले खास गरेर गरिबहरूलाई नै बढ्ता पिरोल्छ। त्यस्ता मानिसहरूको सम्बन्धमा डब्लु एच ओ यस्तो टिप्पणी गर्छ, “तिनीहरूले स्वास्थ्य सेवा पनि कमै मात्र पाइरहेका हुन्छन्, उपचार गराउन पनि कमैले मात्र सक्छन् अनि औलो नियन्त्रण क्रियाकलापका सुविधाहरू तिनीहरूसम्म पुग्नै पाउँदैन।” त्यसो भए तापनि, तिनीहरूका लागि कुनै आशा नभएको चाहिं होइन। गर्मी ठाउँका रोगसम्बन्धी अनुसन्धान गर्ने पत्रिका, टी डी आर न्युज-ले बताएअनुसार, हालैको वर्षमा औलोबाट हुने मृत्यु रोकथाम गर्न सकिने एउटा प्रभावकारी तरिका सजिलै उपलब्ध भएको छ। त्यस जीवन रक्षकको नाम? कीटनाशक औषधीयुक्त झूल।
झूल हाल्दा हुने फाइदाहरू
अफ्रिकी डब्लु एच ओ कार्यालयका महा निर्देशक, डा. इब्राहिम साम्बाले पानोस इन्स्टिच्युटका समाचारपत्र, पानोस फिचर्स-लाई यसो भने, हुन त झूलको प्रयोग गर्ने उपाय पुरानै हो तर पनि औलो विरुद्धको अभियानमा झूल प्रयोगको प्रभावकारितासम्बन्धी अनुसन्धानले यो “एकदम प्रभावकारी” साबित भएको छ। उदाहरणका लागि, केन्यामा कीटनाशक औषधीयुक्त झूल प्रयोग गरेर औलोबाट मात्र होइन, पाँच वर्ष मुनिका एक तिहाइ केटाकेटीलाई अन्य रोगहरूबाट पनि बचाउन सकिएको छ। ज्यान मात्र जोगाउने नभई “झूलले खासगरि स्वास्थ्य सेवाको भार कम गर्नसक्छ” किनभने औलो उपचारको लागि थोरैले मात्र अस्पताल धाउनुपर्छ।
तैपनि, एउटा समस्या भने समाधान गर्न अझ बाँकी नै छ: झूलको खर्च कसले बेहोर्ने? एउटा अफ्रिकी मुलुकसँग यस कामको लागि चन्दा दिन अनुरोध गर्दा प्रायजसोले दिन मानेनन्। यसमा अचम्म मान्नु पर्ने कुरा केही छैन किनभने त्यहाँका बासिन्दाहरू एक जनालाई उपचार गराउन वर्ष भरिमा जम्मा ५ डलरभन्दा (सं.रा.) कम खर्च गर्छन्। त्यस्तो ठाउँमा कीटनाशक औषधीयुक्त झूल होस् वा साधारण, झूल भनेको विलासिताको सामग्री नै हो। जे भए पनि, उन्मूलनको यो तरिका अपनाउने हो भने, सरकारहरूलाई औलोका बिरामीको उपचारमाभन्दा कम खर्च लाग्छ। संयुक्त राष्ट्र संघका विशेषज्ञले यस्तो टिप्पणी गरे, “कीटनाशक औषधीयुक्त झूल बाँड्नु भनेको थोरै बजेट भएका देशहरूका लागि बजेट जोगाउनु पनि हो।” झूलको प्रबन्ध गरिदिनु भनेको सरकारहरूका लागि साँच्चै बजेट बचत गर्ने उपाय हो। यद्यपि, यो कामले पैसा मात्र होइन, लाखौं गरिब नागरिकहरूको अझ महत्त्वपूर्ण कुरा अर्थात् ज्यानै जोगिन्छ।
[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]
CDC, Atlanta, Ga.