प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ९/८ pp. १८-२०
  • के मासु खानु गलत हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के मासु खानु गलत हो?
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • किन कोही कोही मासु खाँदैनन्‌?
  • जीवजन्तुहरूलाई मार्नु गलत हो?
  • भोजनको रूपमा जीवजन्तुहरूको प्रयोग
  • जीवजन्तुको जीवनलाई आदर गर्ने
  • जीवजन्तुहरूप्रति दयालु हुने
  • के मसीही शाकाहारी हुनुपर्छ?
  • पशुपक्षीहरूलाई क्रूर व्यवहार गर्नु—के गलत हो?
    ब्यूँझनुहोस्‌!—१९९८
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • के जनावरहरू स्वर्ग जान्छन्‌?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ९/८ pp. १८-२०

बाइबलको दृष्टिकोण

के मासु खानु गलत हो?

“हेर, मैले तिमीहरूलाई पृथ्वीका सबै बिउ उमार्ने बोटहरू र फलमानै बिउ हुने सबै फलका रूखहरू दिएको छु। ती तिमीहरूलाई आहाराको निम्ति हुनेछन्‌।” — उत्पत्ति १:२९.

शाकाहारी हिन्दू परिवारकी १८ वर्षीया सुजाता, परमेश्‍वरले पहिलो मानिस आदमलाई दिनुभएको भोजनसम्बन्धी माथि उल्लिखित निर्देशनसँग तुरुन्तै सहमत भइन्‌। तर लगत्तै तिनले यसरी सोधिन्‌: “यत्तिका धेरै खाने चीजबीजहरू हुँदाहुदै पनि फेरि किन मानिसहरूले जीवजन्तुहरूलाई मारेर खाएका होलान्‌?”

संसारका अरू धेरै मानिसहरू पनि यस्तै राय व्यक्‍त गर्छन्‌। पूर्वीय मुलुकका करोडौं मानिसहरू शाकाहारी भोजन खान्छन्‌। यसको साथसाथै, पश्‍चिमी मुलुकमा पनि शाकाहारीहरूको संख्या बढ्‌दैछ। संयुक्‍त राज्यमा मात्र १ करोड २४ लाख मानिसहरू आफू शाकाहारी भएको दाबी गर्छन्‌। एक दशकअघिभन्दा यो संख्या ३० लाख बढी छ।

किन यत्तिका मानिसहरू शाकाहारी भोजन मन पराउँछन्‌ त? जीवजन्तुहरूको जीवनप्रति सही दृष्टिकोण के हो? के मासु खानु भनेको जीवनलाई अनादर गर्नु हो? उत्पत्ति १:२९ मा भनिएको कुराको मनसाय के हो, के मासु खानु गलत हो? सबैभन्दा पहिले, किन कोही कोही मासु खाँदैनन्‌, त्यस कुरामा विचार गरौं।

किन कोही कोही मासु खाँदैनन्‌?

सुजाताको कुरा गर्ने हो भने, उनको भोजन धार्मिक विश्‍वासमा आधारित छ। उनी यसो भन्छिन्‌: “म पुनर्जन्ममा विश्‍वास गर्ने हिन्दूको रूपमा हुर्किएँ। मानिसले फेरि जीवजन्तु भएर जन्मनु पर्ने हुनाले जनावर र ममा केही भिन्‍नता छैन जस्तो लाग्छ। त्यसैले, मेरो विचारमा खानको लागि जीवजन्तुलाई मार्नु गलत हो।” अरू धर्महरूले पनि शाकाहारी भोजनकै पक्ष लिन्छन्‌।

धार्मिक विश्‍वासले मात्र नभई मानिसहरूको खाना खाने रुचिमा अरू कुराले पनि प्रभाव पार्छ। उदाहरणका लागि, निल बर्नार्ड सीधै यसो भन्छन्‌: “मासु खाने एउटै कारण, बानी पर्नु अथवा अज्ञानता हो।” उनको यस्तो बलियो अडान तिनको आफ्नै दृष्टिकोणमा आधारित छ। त्यो हो, मासुले स्वास्थ्यमा पार्नसक्ने खतरा। जस्तै, मुटुसम्बन्धी रोग र क्यान्सर।a

भनिन्छ, संयुक्‍त राज्यमा किशोरकिशोरीहरू नै सबैभन्दा बढी शाकाहारी हुँदैछन्‌। यस्तो हुनुको एउटा कारण हो, जीवजन्तुहरूप्रति चासो। जीवजन्तुहरूसँग नैतिक व्यवहार गर्ने मानिसहरू नामक संगठनकी ट्रेसी रेम्यान भन्छिन्‌, “केटाकेटीहरू जीवजन्तुलाई माया गर्छन्‌। भोजनको लागि मारिनुअघि जीवजन्तुहरूले के कस्तो दुःख पाउँछन्‌ भन्‍ने थाह पाएपछि त झनै जीवजन्तुको मासु खान हिचकिचाउँछन्‌।”

वातावरणमा चासो राख्ने थुप्रै व्यक्‍तिहरू मानिसको भोजन र खानको निम्ति उत्पादन गरिने जीवजन्तुलाई हुर्काउन चाहिने तीन थुप्रो प्राकृतिक स्रोतहरूबीच सम्बन्ध छ भनेर बताउँछन्‌। उदाहरणको लागि, एक किलोग्राम गोरुको मासु उत्पादन गर्न ३,३०० लिटर जति पानी चाहिन्छ। त्यसैगरि, प्रति किलोग्राम कुखुराको मासु उत्पादन गर्न ३,१०० लिटर पानी चाहिन्छ। कतिपय मानिसहरू यो कुरा थाह पाएपछि मासु खान छोड्‌छन्‌।

तपाईं नि? के तपाईंले पनि मासु खानु हुँदैन? त्यस प्रश्‍नको जवाफ पाउनुभन्दा पहिले अर्को एउटा दृष्टिकोणबारे विचार गरौं। यावत्‌ थोकका सृष्टिकर्ता, यहोवाले भजन ५०:१०, ११ मा यसो भन्‍नुभएको पाइन्छ: “जंगलको हरेक जन्तु, र हजारौं डाँड़ाहरूका गाई-भैंसीहरू मेरै हुन्‌। पर्वतका सबै पक्षीलाई मैले चिनेको छु। र वनका सारा जंगली जन्तु मेरै हुन्‌।” सम्पूर्ण जीवजन्तु परमेश्‍वरकै भएकोले जीवजन्तुको जीवन र ती भोजनको रूपमा खाँदा सृष्टिकर्तालाई कस्तो लाग्छ, यो कुरा जान्‍नु एकदमै महत्त्वपूर्ण छ।

जीवजन्तुहरूलाई मार्नु गलत हो?

सुजाताले जस्तै कुनै कुनै मानिसहरू मानिस र जीवजन्तुमा केही फरक नभएकोले जुनसुकै उद्देश्‍यले होस्‌, जीवजन्तु मार्नु गलत हो भन्ठान्छन्‌। खानको लागि मार्नु त झनै गलत सम्झन्छन्‌। यद्यपि, मानव जीवन र जीवजन्तुको जीवनबीच परमेश्‍वरले भिन्‍नता छुट्याउनुभएको छ भनेर धर्मशास्त्रले संकेत गर्छ अनि जीवजन्तुहरूलाई मार्न सकिने विभिन्‍न कारणहरू दिइएको छ। उदाहरणका लागि, इस्राएलीहरूको समयमा जीवजन्तुको कारण मानव जीवन अथवा कसैको पाल्तु पशु खतरामा पऱ्‍यो भने, त्यसलाई मार्न सकिन्थ्यो।—प्रस्थान २१:२८, २९; १ शमूएल १७:३४-३६.

परमेश्‍वरले प्रारम्भिक समयदेखि नै उपासनाको लागि जीवजन्तु बलि चढाउन स्वीकृति दिनुभएको थियो। (उत्पत्ति ४:२-५; ८:२०, २१) मिश्रबाट प्रस्थान गरेको सम्झना गर्न इस्राएलीहरूलाई वर्षेनी निस्तार चाड मनाउने निर्देशन दिनुभयो। त्यो चाड मनाउँदा भेडा अथवा बाख्रा बलि चढाएर त्यसको मासु खानुपर्थ्यो। (प्रस्थान १२:३-९) अनि मोशालाई दिइएको व्यवस्थाअनुसार अरू विभिन्‍न बेलामा पनि जीवजन्तुको बलि चढाउनुपर्थ्यो।

पहिलो पटक बाइबल पढ्‌दा जीवजन्तुको बलि दिने विवरण देखेर ७० वर्षीया हिन्दू महिलालाई खल्लो लाग्यो। तर धर्मशास्त्रबाट अझ बढी ज्ञान हासिल गर्दै परमेश्‍वरले बलि चढाउने आज्ञा दिनुको पछाडि खास उद्देश्‍य रहेछ भनेर तिनले बुझिन्‌। ती बलिदानहरूले येशू ख्रीष्टको बलिदानतर्फ संकेत गरिरहेका थिए, अर्थात्‌ पाप क्षमा गर्न कानुनी माग पूरा गर्ने बलिदान। (हिब्रू ८:३-५; १०:१-१०; १ यूहन्‍ना २:१, २) त्यस समयमा, बलि चढाएको मासु प्रायः पूजाहारीहरूले भोजनको रूपमा खान्थे अनि बेला बेलामा चाहिं बलि चढाउनेहरूले पनि खान्थे। (लेवी ७:११-२१; १९:५-८) सम्पूर्ण जीवित जीवातहरू परमेश्‍वरकै सम्पत्ति भएकोले खास उद्देश्‍यको लागि उहाँले त्यस्तो प्रबन्ध गर्नु न्यायसंगत नै थियो। निस्सन्देह, येशूको मृत्यु भएपछि उपासनामा जीवजन्तुको बलिदान कहिल्यै दिनु नपर्ने भयो।—कलस्सी २:१३-१७; हिब्रू १०:१-१२.

भोजनको रूपमा जीवजन्तुहरूको प्रयोग

त्यसोभए, भोजनको लागि जीवजन्तु मार्नु हुन्छ कि हुँदैन त? हो, सुरुमा मानिसहरूको भोजन शाकाहारी थियो भन्‍ने कुरा साँचो हो। तर पछि यहोवाले यसमा जीवजन्तुको मासु पनि थपिदिनुभयो। करिब ४,००० वर्षअघि धर्मी, नूहको समयमा यहोवाले विश्‍वव्यापी जलप्रलय गराउनुभएर दुष्टता खतम गरिदिनुभयो। नूह, उनको परिवार र उनले जहाजमा हुलेका जीवजन्तुहरू जलप्रलयबाट बाँचे। जहाजबाट बाहिर निस्केपछि यहोवाले पहिलो पटक यसो भन्‍नुभयो: “जीवित-जीवात्‌ सबै तिमीहरूका आहारका निम्ति हुनेछन्‌। मैले हरिया वनस्पति तिमीहरूलाई दिएझैं सबै थोक म तिमीहरूलाई दिन्छु।” (उत्पत्ति ९:३) त्यसै बखत यहोवाले यस्तो नियम दिनुभयो: “जसले मानिसको रक्‍तपात गर्छ मानिसबाटै त्यसको रक्‍तपात हुनेछ, किनभने परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभएको हो।” (उत्पत्ति ९:६) कुरा स्पष्ट छ, परमेश्‍वरले मानिस र जीवजन्तुलाई एकै स्तरमा राख्नुभएन।

वास्तवमा, सुजातालाई जीवजन्तु खानु हुँदैन भन्‍ने लाग्नुको कारण पुनर्जन्मको शिक्षामा आधारित उनको विश्‍वास थियो। यस सन्दर्भमा, मानिस र जीवजन्तु दुवै प्राणीहरू नै भए तापनि तिनीहरूको प्राण अमर छैन भनी बाइबल बताउँछ। (उत्पत्ति २:७; इजकिएल १८:४, २०; प्रेरित ३:२३; प्रकाश १६:३) प्राणी भएकोले मानिस र जीवजन्तु दुवै मर्छन्‌ र अस्तित्वहीन हुन्छन्‌। (उपदेशक ३:१९, २०) त्यसो भए तापनि, मानिसहरूसित भने परमेश्‍वरको नयाँ संसारमा पुनरुत्थान हुने अद्‌भुतको आशा छ।b (लूका २३:४३; प्रेरित २४:१५) यस तथ्यले पनि जीवजन्तुहरू मानिसहरूको बराबरी होइनन्‌ भन्‍ने बुझाउँछ।

“तर, परमेश्‍वरले मासु खाने अनुमति दिनैपर्छ त?” सुजाताले जान्‍न खोजिन्‌। जलप्रलयपश्‍चात्‌ पृथ्वीको हावापानीमा प्रत्यक्षतः ठूलो परिवर्तन आयो। यहोवाले शाकाहारी भोजन पर्याप्त मात्रामा नपाइने भूभागका मानिसहरूले पर्याप्त भोजन पाउनेछैनन्‌ भन्‍ने कुरा पहिले नै जानेर मासु पनि थपिदिनुभएको हो वा होइन, बाइबलले भनेको छैन। तर सबै जीवित वस्तुहरूका मालिकलाई भोजनमा त्यस्तो परिवर्तन गर्ने अधिकार थियो भनेर चाहिं सुजाताले स्वीकार्न सकिन्‌।

जीवजन्तुको जीवनलाई आदर गर्ने

तापनि, सुजाताले विचार गरिन्‌, ‘के हामीले जीवजन्तुहरूको जीवनप्रति अलिकति पनि आदर दर्शाउनु पर्दैन त?’ अवश्‍य पर्छ। अनि हामी कसरी यसो गर्नसक्छौं, यावत्‌ थोकका सृष्टिकर्ता आफैले बताउनुभएको छ। उत्पत्ति ९:४ मा उहाँको आदेशले यसो भन्छ, “मासु त्यसको प्राणसमेत, अर्थात्‌ रगतसमेत नखाओ।” रगत खान चाहिं किन मनाही नि? “किनकि जीवधारीको प्राण [जीवन] त्यसको रगतमा हुन्छ” भनी बाइबल जवाफ दिन्छ। (लेवी १७:१०, ११) यहोवाले यस्तो करार स्थापित गर्नुभएको छ: ‘मारिएको जीवजन्तुको रगत तिमीहरूले भुइँमा पानी सरह पोखाइदिनू।’—व्यवस्था १२:१६, २४.

यसको मतलब जीवजन्तुको मासु खान सकिन्छ भन्दैमा जथाभावी जीवजन्तुहरूलाई मारेर अनावश्‍यक रगत बगाउनु वा रोमाञ्चपूर्ण शिकार गरेर आफ्नो पौरख देखाउनु हुन्छ भन्‍न खोजेको चाहिं पक्कै होइन। हामीले पाएको प्रमाणअनुसार निम्रोदले त्यसै गऱ्‍यो। बाइबलले त्यसलाई “परमप्रभुको दृष्टिमा शक्‍तिशाली शिकारी” भन्‍ने परिचय दिएको छ। (उत्पत्ति १०:९) वर्तमान समयमा पनि कसै कसैमा शिकार खेल्ने र जीवजन्तु मार्ने उत्तेजना सजिलै जाग्नसक्छ। तर त्यस्तो मनोवृत्ति राख्नु जीवजन्तुको जीवनप्रति खेलवाड गर्ने प्रवृत्ति राख्नु जस्तै हो र परमेश्‍वरले यसलाई निको मान्‍नुहुन्‍न।c

जीवजन्तुहरूप्रति दयालु हुने

मासुका आधुनिक कारखानाहरूले जनावरहरूसित गरेको व्यवहार देखेर केही शाकाहारीहरूले चिन्ता व्यक्‍त गरेका छन्‌। शाकाहारीसम्बन्धी सानो पुस्तक (अंग्रेजी) यस्तो टिप्पणी गर्छ, “जीवजन्तुहरूको स्वाभाविक सहजज्ञानप्रति व्यवसायीलाई केही चासो छैन। साँघुरो कोठा र प्राणीलाई नसुहाउने वातावरणमा हुर्काइएका वर्तमान समयका जीवजन्तुहरूले पहिला कहिल्यै नभएको शासना सहनु परेको छ।”

जीवजन्तुको मासु खानु परमेश्‍वरको इच्छा विपरीत नभए तापनि तिनीहरूलाई कठोर व्यवहार गर्नु उहाँको इच्छा विपरीत हो। हितोपदेश १२:१० मा बाइबल यसो भन्छ, “असल मानिसले आफ्नो पशुको वास्ता गर्छ।” साथै, मोशाको व्यवस्थाले पनि जीवजन्तुको राम्रो हेरचार गर्ने आज्ञा दिन्छ।—प्रस्थान २३:४, ५; व्यवस्था २२:१०; २५:४.

के मसीही शाकाहारी हुनुपर्छ?

माथि उल्लेख भएझैं, शाकाहारी हुने कि मांसाहारी हुने भन्‍ने निर्णय प्रत्येक व्यक्‍तिले आफै गर्नुपर्छ। स्वास्थ्य, आर्थिक स्थिति, पर्यावरण अथवा जीवजन्तुप्रतिको दयाले गर्दा कुनै व्यक्‍तिले शाकाहारी भोजन रोज्ला। तर उसले मासु खानु हुँदै हुँदैन भन्‍ने सोचाइ चाहिं पटक्कै राख्नु हुँदैन। मासु खानेलाई उसले निन्दा गर्नु हुँदैन। त्यसैगरि, मासु खानेले पनि शाकाहारीलाई हेला गर्नु हुँदैन। मासु खाँदैमा राम्रो वा नराम्रो भइँदैन। (रोमी १४:१-१७) नता कुनै व्यक्‍तिको भोजनै जीवनको मुख्य विषय हुनु हुन्छ। यस सन्दर्भमा येशूले यसो भन्‍नुभयो, “मानिस भोजनले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्तछ।”—मत्ती ४:४.

जहाँसम्म जीवजन्तुप्रति निर्दयी व्यवहार गर्ने र पार्थिव स्रोतहरूको दुरुपयोग गर्नेहरूको कुरा छ, यहोवाले यस भ्रष्ट र लोभी रीतिरिवाजलाई नाश गर्नुभएर यसको साटो नयाँ पृथ्वी सृजना गर्छु भनी प्रतिज्ञा गर्नुभएको छ। (भजन ३७:१०, ११; मत्ती ६:९, १०; २ पत्रुस ३:१३) त्यस नयाँ संसारमा मानिस र जीवजन्तु सधैंभरि शान्तपूर्वक रहनेछन्‌ अनि यहोवाले “सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुनेछ।”—भजन १४५:१६; यशैया ६५:२५.

[फुटनोटहरू]

a जुलाई ८, १९९७ ब्यूँझनुहोस्‌!-को पृष्ठ ३-१३ हेर्नुहोस्‌।

b वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित प्रहरीधरहरा, मे १५, १९९७, पृष्ठ ३-८ हेर्नुहोस्‌।

c प्रहरीधरहरा, (अंग्रेजी) मे १५, १९९० को पृष्ठ ३०-१ हेर्नुहोस्‌।

[पृष्ठ १८-मा भएको चित्रको स्रोत]

Punch

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने