प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ १०/८ पृ. १८-२१
  • किलिमन्जारो—अफ्रिकाको छत

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • किलिमन्जारो—अफ्रिकाको छत
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अफ्रिकाको “छत”
  • प्रभावशाली चुचुराहरू
  • अन्यत्रभन्दा उत्तम पर्यावरण
  • “किली” आरोहण
  • हिमालहरू खतरामा छन्‌
    ब्यूँझनुहोस्‌!—२००५
  • हिमशिखरहरू सृष्टिका उत्कृष्ट नमूनाहरू
    ब्यूँझनुहोस्‌!—१९९४
  • बादलभन्दा माथिको जीवन
    ब्यूँझनुहोस्‌!—२००४
  • हिमालहरू—हामीलाई किन चाहिन्छ
    ब्यूँझनुहोस्‌!—२००५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९७
g९७ १०/८ पृ. १८-२१

किलिमन्जारो—अफ्रिकाको छत

केन्याका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

आजभन्दा १५० वर्षअघि अफ्रिकाको भित्री प्रान्तबारे केही जानकारी थिएन। अन्य देशहरूको निम्ति यो विशाल महादेश अज्ञात र रहस्यमय थियो। पूर्वी अफ्रिकाबारे बिस्तारै फैलन थालेका अनेकौं कुराहरूमध्ये एउटाले भने युरोपेलीहरूलाई आश्‍चर्यचकित तुल्यायो। त्यो थियो, १८४८ मा भूमध्यरेखाको नजीकै हिउँले सेताम्मे परेको भव्य पर्वत देख्यौं भन्‍ने जर्मन मिसनरी योहानेस रेब्मेन र योहान एल. कार्फको दावी।

उष्ण कटिबन्धीय अफ्रिकामा हिउँले डम्म ढाकिएको पर्वत छ भन्‍ने कुराप्रति शंकाउपशंका मात्र होइन त्यसको उपहास पनि गरियो। यद्यपि, विशाल पर्वतको अस्तित्वको कुराले भूगोलवेत्ता र अन्वेषकहरूमा जिज्ञासा र चासोको लहर छायो। अन्ततः तिनीहरूले मिसनरीहरूको कुरा सत्य प्रमाणित गरे। साँच्चै पूर्वी अफ्रिकामा हिउँले डम्म ढाकिएको किलिमन्जारो भनिने ज्वालामुखी पर्वत रहेछ। धेरै व्यक्‍तिहरू किलिमन्जारो भन्‍नाले “विशाल पर्वत” भन्‍ने बुझ्छन्‌।

अफ्रिकाको “छत”

विशाल किलिमन्जारो आज यसको मनोहरता र उचाइको लागि निकै प्रख्यात छ। त्यसका केही दृश्‍यहरू अति सुन्दर देखिन्छन्‌। अझ त्यसमाथि पनि डम्म हिउँले ढाकिएको विशाल “किली” पर्वतको नजीकै सुखा र टन्‍न धूलोले भरिएको अफ्रिकी मैदानमा चरिरहेको हात्तीका बथानको दृश्‍य टाढाबाट हेर्दा एकदमै मोहक हुन्छ।

किलिमन्जारो अफ्रिका महादेशको सबैभन्दा अग्लो पर्वत हुनुको साथै संसारकै ठूलठूला निष्क्रिय ज्वालामुखीमध्ये एक हो। यो तान्जानियामा अवस्थित छ र भूमध्यरेखादेखि दक्षिणतिर तथा केन्याको सिमाना नजीकै पर्छ। त्यहाँ ज्वालामुखीद्वारा निस्केका तत्त्वहरू चार अरब क्युबिक मिटरभन्दा बढी थुप्रिएका छन्‌ र त्यसैले गर्दा यो पर्वत बादल छुनेगरि अग्लो भएको छ।

यो पर्वत अलग्गै छुट्टिएकोले झनै हाम्रो ध्यान खिच्छ। चारैतिरबाट छर्लंग देखिनेगरि मासै झाडीहरूले भरिएको ठाउँमा अवस्थित र समुद्री सतहभन्दा ९०० मिटरमाथि रहेको यो पर्वतको उचाइ ५,८९५ मिटर छ! त्यसैले किलिमन्जारोलाई कहिलेकाहीं अफ्रिकाको छत भन्‍नु कुनै अनौठो कुरो होइन।

किलिमन्जारोलाई “यात्री दलको पर्वत” पनि भन्‍ने गरिन्थ्यो। किनकि यसको हिउँ र हिमनदीहरूलाई कोसौं दूरीबाट र जहीकहींबाट प्रकाशगृहसरह देखिन्छ। शताब्दीयौंअघि, अफ्रिकाको भित्री असभ्य मुलुकबाट हात्तीदाँत, सुन तथा कमाराकमारीहरू ढुवानी गर्न यही पर्वतको चुचुरोको हिउँले व्यापारीहरूलाई बाटो देखाउँथ्यो।

प्रभावशाली चुचुराहरू

किलिमन्जारोमा दुइवटा ज्वालामुखी चुलीहरू छन्‌। किबो, मुख्य ज्वालामुखी चुचुरो हो। यसको रमणीय समतल चुचुरोलाई बाह्रै काल हिउँ र तुषारोले ढाकेको हुन्छ। पूर्वतिर ५,१५० मिटर अग्लो मवेन्जी नामक अर्को चुचुरो छ। यो अफ्रिकाका अग्ला पर्वतहरूमध्ये तेस्रो हो। पहिलो र दोस्रो चाहिं क्रमशः किबो र केन्या पर्वत हुन्‌। किबो सौम्य र केही भिरालो परेको छ। मवेन्जी चाहिं ठाडो छ र यसको भीरमा जताततै चुच्चे पत्थरहरू मात्र छन्‌। किबो र मवेन्जोको चुचुरो ४,६०० मिटरको उचाइमा ठूलठूलो ढुंगाहरूको विशाल मैदान बनेर जोडिएको छ। किबोदेखि पश्‍चिमपट्टि धेरैअघि ज्वालामुखीले भत्काएको शेरे पर्वत अवस्थित छ। समुद्रको सतहभन्दा ४,००० मिटरमाथि रहेको यो पर्वत अहिले हावापानीले खाएर एउटा रोमाञ्चक समस्थल बन्‍न पुगेको छ।

अन्यत्रभन्दा उत्तम पर्यावरण

बेग्लाबेग्लै उचाइ, वृष्टि र वनस्पतिले गर्दा किलिमन्जारोको इकोसिस्टममा विभिन्‍न मण्डलहरू छन्‌। यसको तल्लो भीरलाई उष्ण कटिबन्धीय वनजंगलहरूले ढाकेको छ। यहाँ हात्ती र भैंसीहरू घुमफिर गर्ने गर्छन्‌। जंगलको माथिल्लो भागमा किसिम किसिमका बाँदरहरू बस्छन्‌। अनि झाडीमा पनि सजिलैसित लुक्नसक्ने हिमाली बुसबक र डुइकरहरू कुदेको झल्याकझुलुक देख्न पाइन्छ।

जंगलदेखि मास्तिर झाडीहरू छन्‌। हावाको झोंका र बुढ्यौली सहन नसकी बांगिएका रूखहरूलाई झ्याउले झ्यापझ्याप्ती ढाकेका छन्‌, मानौं वृद्ध मानिसको सेतै फुलेका दाढीजस्तो। यहाँ खुला मैदान छ र झाडीहरू खूब मौलाएका छन्‌। लहलह परेका घाँसका बीचबीचमा चहकिलो रंगका फूलहरूले यो ठाउँलाई अत्यन्त रमणीय बनाएको छ।

यी रूखहरूदेखि अझै मास्तिर बञ्जरभूमि छ। यहाँ रूखहरू नभएर चार मिटर अग्लो हुने भयंकर ठूलठूला ग्राउण्डसेल्स भन्‍ने अनौठो किसिमको बोटबिरुवाहरूका साथै ठूलठूलो बन्दाकोबी वा पिंडालुजस्तो लोबिलेस पाइन्छ। बडेमानका ढुंगाहरू र चट्टानहरूको माझमा परालजस्तो अनि हेर्दा सुखा देखिने सदावहार फूलहरू छन्‌ जसले भूदृष्यको फुस्रोपनमा केही रंग भरेको छ।

यो बञ्जरभूमिको माथिल्लो भागमा चाहिं हिमाली क्षेत्र छ। यो क्षेत्र खैरो तथा फुस्रो भएकोले धमिलो देखिन्छ। यो ठाउँ असाध्यै सुखा भएकोले एक दुइ प्रकारका बोटबिरुवाहरू मात्र उम्रनसक्छ। यहीं दुइ मुख्य चुचुरो किबो अनि मवेन्जीको भेट हुन्छ। यहाँको भूमि बलौटे, सुखा तथा चट्टाने छ। यहाँ दिउँसोको तापक्रम ३८ डिग्री सेल्सियससम्म पुगेर उखरमाउलो गर्मी हुन्छ तर रातमा भने कठांग्रिने जाडो हुन्छ।

अब भने बल्ल शिखरमा पुगिन्छ। यहाँ शीतल र स्वच्छ हावा बहन्छ। अँध्यारो आकाशमा यो पर्वतको सेतो तथा कञ्चन हिमनदी र हिउँका थुप्रोहरू स्पष्ट देखिन्छन्‌। हावा कम मात्रामा बहन्छ र समुद्री सतहमा बग्ने हावामा भन्दा यहाँ अक्सिजनको मात्रा आधाजति मात्र छ। किबोको समतल शिखरमा २.५ किलोमिटर गोलाइ भएको ज्वालामुखीको वृत्ताकार मुख छ। यसको भित्री भागमा ३०० मिटर लामो र १२० मिटर अग्लो खरानीले भरिएको विशाल खाडल छ। स-सानो दुलोबाट गन्धकको धूवाँ सुस्तरी निस्केर चिसो हावामा बिलाउँछ र त्यसले त्यहाँ निष्क्रिय ज्वालामुखी छ भन्‍ने प्रमाण दिन्छ।

किलिमन्जारोको विशालताले गर्दा त्यहाँको हावापानी छुट्टै किसिमको छ। हिन्द महासागरदेखि बहेको आर्द्र बतास वर्षाहीन समतल भूमिमा पुगेर पर्वतसँग ठोकिन्छ। तब त्यो बतास मास्तिर गई वर्षामा परिणत हुन्छ। यसले गर्दा भिरालो परेको जग्गामा कफी र खाद्यान्‍न खूब सप्रन्छन्‌ र यसैद्वारा त्यहाँका रैथानेहरूले जीवन धान्छन्‌।

“किली” आरोहण

किलिमन्जारोको भीरपाखामा दुष्ट आत्माहरू बसोबास गर्छन्‌ र हिमचुलीमा जान खोज्नेहरूलाई ती दुष्ट आत्माहरूले हानि गर्छन्‌ भन्‍ने स्थानीय मानिसहरूको अन्धविश्‍वास छ। यसैकारण, स्थानीय मानिसहरूले यस पर्वत उक्लने साहसै गरेनन्‌। अनि १८८९ मा दुइ जर्मन अन्वेषकहरूले अफ्रिकाको सबैभन्दा अग्लो शिखरमा पाइला नटेकुञ्जेल त्यहाँ कोही गएनन्‌ पनि। अर्को चुचुरो, मवेन्जी आरोहण गर्न निकै गाह्रो भएकोले १९१२ सम्म त्यहाँ कोही पनि उक्लेनन्‌।

आजभोलि, स्वस्थ शरीर भएका सबै मानिसहरू किलिमन्जारो आरोहण गर्नसक्छन्‌ र पूर्वी अफ्रिकामा घुम्न आउनेहरूको निम्ति यो निकै लोकप्रिय भएको छ। पर्वतारोहीहरूका निम्ति तान्जानियाका उद्यान अधिकारीहरूले सुव्यवस्थित प्रबन्धहरू मिलाएका छन्‌। पर्वतारोहण गर्दा चाहिने लुगाफाटा तथा अन्य सरसामानहरू भाडामा पाइन्छ। तालिमप्राप्त भरिया र पथप्रदर्शकहरूको पनि व्यवस्था छ। साथै आधार शिविरदेखि पर्वतको चुचुरोसम्म आरामदायी लजहरू पनि छन्‌। पर्वतारोहीहरूलाई आवास प्रदान गर्ने हेतुले विभिन्‍न उचाइमा चिटिक्क परेका छाप्राहरू पनि बनाइएका छन्‌।

आफ्नै आँखाले किलिमन्जारो हेर्नपाउनु एकदमै हृदयग्राही छ र यसले सोचमग्न तुल्याउँछ। परमेश्‍वरबारे भनिएका यी शब्दहरूसित सहमत नहुने त कोही पनि नहोला: उहाँले “आफ्नो शक्‍तिद्वारा पहाड़हरूलाई . . . दृढ़ गराउनुहुन्छ।” (भजन ६५:६) साँच्चै, अफ्रिकाको सबैभन्दा अग्लो किलिमन्जारो पर्वतले महान्‌ सृष्टिकर्ताको शक्‍तिको भव्य प्रमाण दिन्छ।

[पृष्ठ २०-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

अफ्रिका

केन्या

किलिमन्जारो

तान्जानिया

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने