युवा जनहरू सोध्छन् . . .
मलाईभन्दा भाइबहिनीलाई किन धेरै माया?
“मेरा भाइबहिनीहरूले दुर्व्यवहार गर्दासमेत उनीहरूलाई मुमाबुबाले ध्यान दिनुहुन्छ। भनौं, राम्रो नराम्रो व्यवहार देखाउँदा पनि ध्यान दिनुहुन्छ। यसैले मलाई दिक्क लाग्छ। म आज्ञाकारी हुन खोज्छु तर मलाई त कुनै महत्त्वको नै ठान्नुहुन्न।”—१८ वर्षीया क्ये।a
“मेरा भाइबहिनीहरूलाई धेरै ध्यान दिइन्छ र राम्रो व्यवहार गरिन्छ। मैले ध्यान भनेको त सल्लाहको रूपमा पाएकी मात्र हो। तिनीहरूलाई पनि सल्लाह दिइएको भए म सन्तोषको सास फेर्नसक्ने थिएँ।”—१५ वर्षीया रूथ।
“मेरा दाजुदिदीहरूले धेरै नै सुविधा तथा माया पाएको जस्तो मलाई लाग्छ।”—१३ वर्षीय बील।
जन्मेको दिनदेखि नै हामी सबैलाई आमाबाबुको माया चाहिन्छ। अनि चाहिएको माया पाउन नसकेको महसुस गर्नुभयो भने तपाईं अवश्य पनि उदास तथा क्रोधित हुनुहुन्छ। विशेषगरि, असल आचरण हुनेहरूका साथसाथै अनाज्ञाकारी हुने तपाईंका साक्खे दाजुदिदी वा भाइबहिनीहरूलाई सधैं नै ध्यान दिइन्छ भने तपाईं उदास र क्रोधित हुनुहोला। दाऊदको जस्तै भावना तपाईंको मनमा पनि पलाउनसक्छ। तिनले यसो लेखे: “मरिसकेको मानिसझैं स्मृतिबाट म हराएको छु। म ता फुटेको भाँड़ाजस्तै भएको छु।”—भजन ३१:१२.
आफूले चाहेको माया दाजुदिदी वा भाइबहिनीले पाउँदा नमीठो त लाग्छ नै। तर के यसको अर्थ तपाईंलाई चाहिं मायै गरिंदैन भनेको हो त? कदापि होइन। कहिलेकाहीं विशेष योग्यता वा मिलनसार व्यक्तित्वले गर्दा युवाहरूले अलि बढी माया पाउँछन्। केनेथ नाउँको ११ वर्षीय केटो यसो भन्छन्: “मेरो भाइ अर्थर तेस्रो कक्षामा अध्ययनरत भए तापनि ऊ पाँचौं कक्षाका विद्यार्थीहरूसँगसँगै बाजा बजाउँछ। खेलकुद र गणितमा ऊ उत्तिकै तेज छ। वास्तवमा, उसले सबै विषयहरूमा सर्वाधिक अंक पाउँछ। कहिलेकाहीं अरूले मलाईभन्दा उसलाई बढी माया गरेजस्तो लाग्छ। तर म डाह गर्दिनँ। तर अलिअलि त डाह लागिहाल्छ।”
कतिपय जवानहरू चाहिं सबैभन्दा जेठो वा कान्छो भएकोले आमाबाबु तिनीहरूसित धेरै समय बिताउँछन्। जवान यूसुफबारे बाइबल यसो भन्छ: “आफ्नो बूढ़ेस्कालको छोरो भएकोले इस्राएलले अरू छोराहरूभन्दा यूसुफलाई बढ़ी माया गर्थे।” (उत्पत्ति ३७:३, ४) अर्कोतर्फ, दाजु सबैभन्दा जेठो हुनाले सबैको प्यारो छ भन्ने १८ वर्षीय टोडलाई लाग्थ्यो। तिनी अतीत सम्झँदै यसो भन्छन्: “एकचोटि हामीलाई स्कूलमा आफ्नो बच्चा बेलाको तस्बिर ल्याउन भनिएको थियो। आफ्नो त दुइ चारवटा मात्र पाएँ। तर मेरो दाजुको चाहिं थुप्रै तस्बिरहरू रहेछन्। मलाई त अचम्म लाग्यो।”
यद्यपि, दाजुदिदी वा भाइबहिनीको कुनै समस्याले गर्दा पनि अक्सर अलि बढी माया पाउँछन् र ती समस्याहरू अरू बच्चाहरूलाई थाहै नहुन सक्छ। अहिले २२ वर्ष पुगेकी केसेन्ड्रे बताउँछिन्: “म १६ वर्षकी छँदा मेरो दाजुले कठिन परिस्थितिको सामना गर्नुपऱ्यो। यहोवाको सेवा गर्ने कि नगर्ने भन्ने अनिश्चित विचारमा उहाँ अरकच्च पर्नुभएको थियो। अनि मुमाबुबाले उहाँलाई खूब ध्यान दिनुहुन्थ्यो। त्यस समय दाजुलाई मात्र त्यति बिघ्न ध्यान दिनुको कारण मैले बुझ्नै सकिनँ। मलाई त कुनै वास्तै गर्नुहुन्न जस्तो लाग्थ्यो। अतः म खिन्न हुन्थें र मलाई बेवास्ता गरिएको जस्तो लाग्थ्यो। कता कता रीस पनि उठ्थ्यो।”
किन कसैलाई काखा, कसैलाई पाखा
तथापि, प्रत्यक्ष पक्षपात हुनुमा अक्सर आमाबाबुहरू पनि दोषी हुन्छन्। एउटी आमा यसरी स्वीकार्छिन्: “हामीले छोरीप्रति गर्व गरेको कारण छोरो पावल दुःखीत छ भनेर म जान्दथें। कुरा नलुकाइ उसले भन्यो, ‘लिजले केही कुरा भनी भने तपाईं र बुबा जहिले पनि दंग परेर मुखामुख गर्नुहुन्छ।’ सुरुमा त हामीले उसको भनाइको मर्म बुझ्नै सकेनौं। पछि, ‘छोरी असल छिन् नि हगि’ भन्ने भावमा एकअर्कालाई हेराहेर गरेको कुरा बल्ल बुझ्यौं। उसले हामीलाई सचेत गराएपछि त्यसो नगर्न सक्दो प्रयास गरेका छौं।”
तर आमाबाबुहरूले किन कसैलाई काखा, कसैलाई पाखा गर्छन्? उहाँहरू जसरी हुर्किनुभयो त्यसको प्रभाव पनि हुनसक्छ। उदाहरणका लागि, तपाईंकी मुमा सबैभन्दा कान्छी हुनुहुन्थ्यो भने उहाँले कान्छाकान्छीका भावनात्मक कुराहरू बुझ्न सक्नुहुन्छ। चालै नपाइ उहाँले कान्छाकान्छीको पक्ष लिन सक्नुहुन्छ। या मिजास वा रुचि मिल्ने बच्चासँग आमाबाबुको राम्रो सम्बन्ध हुनसक्छ। इसहाक र रिबेकाले आफ्ना जुम्ल्याहा छोराहरू याकूब र एसावप्रति देखाएको व्यवहारबारे बाइबल के भन्छ, यसो विचार गर्नुहोस् त: “यिनीहरू बढ़ेपछि एसाव चाहिं सिपालु शिकारी र वन-वन डुलिहिंडने भए। औ याकूब चाहिं पालमा बसिरहने शान्त स्वभावका मानिस भए। इसहाकले एसावलाई माया गर्थे, किनभने तिनले शिकार गरेर ल्याएको मासु उनले खानपाउँथे। तर रिबेकाले चाहिं याकूबलाई माया गर्थिन्।”—उत्पत्ति २५:२७, २८.
आमाबाबुले दाजुदिदी वा भाइबहिनीमध्ये एउटालाई बढी लाडप्यार गर्नुभयो भने तपाईं के गर्नुहुन्छ?b आमाबाबुसँग शान्त स्वभावले तथा उहाँहरूलाई दोष नदिइकन त्यसबारे कुराकानी गर्न सक्नुहुन्छ। (हितोपदेश १५:२२) आदरसहित उहाँहरूको कुराप्रति कान थापेर जुनै कुरालाई पनि उहाँहरूको दृष्टिकोणबाट हेर्न सक्नुहुन्छ। फलतः तपाईंको रीस सेलाउनसक्छ। (हितोपदेश १९:११) एउटी किशोरी भन्छिन्: “मुमाले भाइलाई बढ्ता काखी च्यापेको देखेर मलाई साह्रै नमीठो लाग्थ्यो। यसबारे उहाँसँग कुरा गरें। उहाँले भन्नुभयो कि भाइ बुबाजस्तै भएकोले उहाँ भाइसँग घनिष्ठ हुनुभएको रे। म चाहिं मुमाजस्तै भएकीले, बुबा मसँग घनिष्ठ हुनुभएको रे। त्यसैगरि, मुमा र म उस्तै उस्तै हुनाले एकअर्कालाई झोंक उठाउँछौं रे। अनि बुबा र भाइ पनि उस्तै उस्तै हुनाले मिल्न नसकेको रे। उहाँको कुरा सुनेर असाध्यै दंग नभए तापनि त्यो कुरा मानिलिएँ।”
असमान व्यवहार—के अन्याय हो?
यद्यपि, किन आमाबाबुहरूले सबैलाई समान व्यवहार गर्न सक्दैनन्? हाल १८ वर्ष पुगेकी बेथ भन्छिन्: “म १३ वर्षकी हुँदा भाइ र मलाई समान व्यवहार गरे हुन्थ्यो जस्तो लाग्थ्यो— हो, एकैनासे व्यवहार। तर हप्की चाहिं जहिले पनि मैले खानुपर्थ्यो। भाइ त खुला अकासमा उड्ने स्वतंन्त्र पंक्षीजस्तो थियो। अनि उसले बुबासँग कारमा थुप्रै समय पनि बिताउन पाउँथ्यो। मलाई त यो सबै घोर पक्षपातझैं लाग्थ्यो।”
तर असमान व्यवहार गर्नु अन्याय चाहिं होइन। येशूले आफ्ना चेलाहरूसँग गर्नुभएको व्यवहार विचार गर्नुहोस् त। उहाँले बाह्रै जनालाई प्रेम गर्नुहुन्थ्यो भन्ने कुरामा कुनै शंका छैन। तैपनि, याइरसको छोरीको पुनरुत्थान तथा उहाँको रूप परिवर्तनलगायत अन्य विशेष घटनाहरू हेर्न उहाँले तीन जनालाई मात्र बोलाउनुभयो। (मत्ती १७:१; मर्कूस ५:३७) यसबाहेक, येशूको खासगरि प्रेरित यूहन्नासित घनिष्ठ मित्रता थियो। (यूहन्ना १३:२३; १९:२६; २०:२; २१:७, २०) के यो असमानता थियो? अवश्य थियो। के यो पक्षपात थियो? अहँ, पटक्कै थिएन। कसै कसैसँग येशू घनिष्ठ हुनुभए तापनि अन्य प्रेरितहरूलाई उहाँले कहिल्यै बेवास्ता गर्नुभएन।—मर्कूस ६:३१-३४.
त्यसैगरि, तपाईंका दाजुदिदी वा भाइबहिनीमध्ये कसैले कौशलता, व्यक्तित्व वा आवश्यकताको कारण विशेष माया पाउनसक्छ। त्यतिखेर निश्चय नमीठो त लाग्छ नै। तर प्रश्न चाहिं यो हो, के तपाईंको आवश्यकता साँच्चै बेवास्ता गरिंदैछ? आमाबाबुको सुझाउ, मदत वा सहाराको जरुरत पर्दा के उहाँहरूले साथ दिनुहुन्छ? उहाँहरूले साथ दिइरहनुभएको छ भने म अन्यायको अचानो भएँ भन्न मिल्छ र? बाइबलले अरूसँग ‘तिनीहरूका अभावहरू’ अनुसार व्यवहार गर्न प्रोत्साहित गर्छ। (रोमी १२:१३) तपाईं र तपाईंका दाजुदिदी वा भाइबहिनीका आवश्यकताहरू भिन्नाभिन्नै हुन्छन्। अतः आमाबाबुले सबैसँग सधैं एकैनासे व्यवहार गर्न सक्दैनन्।
तसर्थ, समान व्यवहार सधैं निष्पक्ष हुँदैन साथै निष्पक्ष व्यवहार पनि सधैं समान हुँदैन भनेर माथि उल्लिखित बेथले बुझिन्। तिनी भन्छिन्: “म र भाइ भिन्नाभिन्नै व्यक्ति हौं र व्यवहार पनि भिन्नाभिन्नै तरिकामा गर्नुपर्छ भन्ने कुरा बुझें। अतीतको कुरा सम्झिंदा, मैले त्यति बेला किन यो कुरा नबुझेको होला भनेर छक्क लाग्छ। शायद, उमेरले गर्दा त्यति बेला मेरो दृष्टिकोण नै अर्कै भएकोले होला।”
समझदार बन्न सिक्नुहोस्
हो, कुनै परिस्थितिप्रति तपाईंले देखाउनुहुने प्रतिक्रियामा “दृष्टिकोण”-ले ठूलो फरक पार्छ। कालो चश्मालेझैं, आफ्नो भावनाले गर्दा परिस्थिति अर्कै देख्न सक्नुहुन्छ। अतः भावनात्मक रूपमा आमाबाबुको धेरै ध्यान तथा अनुमोदन चाहिन्छ। अनुसन्धानकर्ता स्टिभन वैंक र माइकल कन यस्तो अवलोकन गर्छन्: “आमाबाबुहरूले आफ्ना सबै बच्चालाई निष्पक्ष व्यवहार गरे तापनि प्रत्येक बच्चाले एउटाभन्दा अर्कोलाई आमाबाबुले बढी माया गर्नुहुन्छ भन्ठान्छन्।”
उदाहरणका लागि, यस लेखको प्रारम्भमा उल्लिखित तीन किशोरकिशोरीहरूले भनेका कुरा फेरि एकचोटि विचार गर्नुहोस् त। तिनीहरूलाई आफूलाई अन्याय भएजस्तो लाग्थ्यो तर नबिर्सनुहोस्: तिनीहरू साक्खे भाइबहिनीहरू हुन्। हो, अरूले धेरै माया पाइरहेछ र आफूलाई चाहिं बेवास्ता गरिंदैछ भन्ने तीनै जना विचार गर्थे! तसर्थ, कहिलेकाहीं त हाम्रो दृष्टिकोण मात्र फरक भएको हुन्छ। “समझ-शक्ति भएकोले ठण्डा मिजास राख्छ,” भनी हितोपदेश १७:२७ बताउँछ। समझदार हुनु भनेको कुनै पनि कुरालाई भावनामा बहेर होइन तर व्यवहारिक तथा निष्पक्ष भएर विचार गर्नु हो। आमाबाबुले सबैलाई समान व्यवहार नगरे तापनि उहाँहरूको हृदयमा तपाईंप्रति गहिरो चिन्ता हुन्छ भनी बुझ्न समझशक्तिले मदत गर्छ। यो कुरा बुझ्नुभयो भने सबै क्रोध र द्वेष त्याग्न सक्नुहुनेछ।
तथापि, आफूले पाउनुपर्ने मायाबाट तपाईं साँच्चै वञ्चित हुनुभएको छ भने नि? तपाईं के गर्न सक्नुहुन्छ? यसबारे ब्यूँझनुहोस्!-को आउँदो अंकमा छलफल गरिनेछ।
[फुटनोटहरू]
a केही नाउँ परिवर्तन गरिएका छन्।
b पक्षपात कसरी सहने भन्ने विषयमा पछि आउने लेखले विस्तृत छलफल गर्नेछ।
[पृष्ठ २६-मा भएको चित्र]
असमान व्यवहार पक्षपातझैं लाग्नसक्छ