प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ १२/८ पृ. १४-१५
  • निरोगी हुने छवटा उपाय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • निरोगी हुने छवटा उपाय
  • ब्यूँझनुहोस्‌!—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंको स्वास्थ्यको रक्षा गर्ने ६ वटा तरिका
    ब्यूँझनुहोस्‌!—२००३
  • खानेकुरालाई सुरक्षित राख्न र पोसिलो खानेकुरा खान गर्नै पर्ने सात कुराहरू
    थप लेखहरू
  • स्वस्थ हुने तरिका
    ब्यूँझनुहोस्‌!—२०१५
  • जब जीवाणुहरूले कसैलाई हानि गर्नेछैनन्‌
    ब्यूँझनुहोस्‌!—२००३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९७
g९७ १२/८ पृ. १४-१५

निरोगी हुने छवटा उपाय

नाइजेरियाका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

विश्‍व स्वास्थ्य संघअनुसार (डब्लू एच ओ) विकासोन्मुख मुलुकका २५ प्रतिशत जनताले स्वच्छ पिउने पानी पाएका छैनन्‌। अनि ६६ प्रतिशतभन्दा बढी अर्थात्‌ कम्तीमा साढे दुइ अरब मानिसहरूका लागि पर्याप्त शौचालय तथा ढल निकासको प्रबन्ध छैन। नतिजा? अनगिन्ती रोग अनि मृत्यु।

यस्तो अवस्थामा सरसफाइमा ध्यान दिनु निश्‍चय पनि चुनौती हो। यद्यपि, व्यक्‍तिगत सरसफाइलाई आफ्नो जीवनपद्धति बनाउनु भएमा तपाईं विभिन्‍न रोगहरूबाट बच्न सक्नुहुन्छ। शरीरमा पसेर रोगी तुल्याउनसक्ने कीटाणुहरूबाट आफू अनि आफ्नो परिवारलाई जोगाउने छवटा तरिकाहरू यहाँ दिइएका छन्‌।

१. दिसा बसिसकेपछि र खानेकुरामा हात हाल्नअघि साबुनपानीले राम्ररी हात धुनुहोस्‌।

रोगबाट बच्ने महत्त्वपूर्ण तरिका साबुनपानी सधैं चाहिने ठाउँहरूमा राख्नु हो। यसो गर्दा तपाईंको परिवारका सबैले आ-आफ्नो हात धुनसक्छन्‌। फोहर हातले खाना चलाउँदा खानामा वा मुखमा पर्नसक्ने कीटाणुहरू साबुनपानीले हात धुँदा हट्‌छन्‌। स-साना केटाकेटीहरूको मुखमा औंला हालिराख्ने बानी हुने भएकोले विशेषगरि खाना खान दिनुअघि नबिराइकन तिनीहरूको हात धोइदिनु आवश्‍यक छ।

दिसापिसाब गरेपछि, खाना चलाउनुअघि र बच्चाको आची पखालिसकेपछि साबुनपानीले हात धुनु नितान्त आवश्‍यक छ।

२. शौचालय प्रयोग गर्नुहोस्‌।

कीटाणुहरू फैलन नदिन दिसापिसाबलाई उचित तरिकाले ढाकछोप गर्नु अत्यन्त जरुरी छ। धेरैजसो रोग र त्यसमा पनि पखाला मानिसको दिसामा भएका कीटाणुहरूबाट सर्छ। यी कीटाणुहरू खाने पानी वा खानेकुरा, हात, भाडाकुँडा र खाना पकाउने वा पस्कने ठाउँहरूमा सर्नसक्छन्‌। यदि यसो भयो भने यी कीटाणुहरू मुखबाट शरीरभित्र पसेर हामी बिरामी हुनसक्छौं।

यसो हुन नदिन शौचालय प्रयोग गर्नुपर्छ। जनावरको मलमूत्र पनि घर वा पानीको मुहानबाट टाढा हटाउनुपर्छ। तपाईंलाई यो जानेर अचम्म लाग्ला कि वयस्कहरूको भन्दा स-साना केटाकेटीहरूको दिसापिसाबले झन्‌ धेरै रोग फैलाउनसक्छ। त्यसकारण, बच्चाहरूलाई शौचालय प्रयोग गर्न सिकाउनुपर्छ। केटाकेटीले जताततै दिसापिसाब गर्दा तुरुन्तै सफा गरिहाल्नुपर्छ र फोहरलाई शौचालयमा फाल्नुपर्छ वा गाड्‌नुपर्छ।

शौचालय सफा र छोपेर राख्नुपर्छ।

३. स्वच्छ पानी प्रयोग गर्नुहोस्‌।

धाराको स्वच्छ पानी प्रशस्त उपभोग गर्न पाउने परिवारहरू अरूको तुलनामा कम बिरामी हुन्छन्‌। धारा नहुनेहरूले चाहिं इनार छोपेर र खान, नुहाउन, भाँडाकुँडा सफा गर्न वा लुगा धुन प्रयोग गर्ने पानी वरपर फोहर पानी पटक्कै जम्न नदिएर निरोगी रहनसक्छन्‌। जनावरलाई घरभित्र पस्न नदिनु र खानेपानी नजिक पर्न नदिनु पनि उत्तिकै महत्त्वपूर्ण छ।

रोगबाट बच्ने अर्को तरिका बाल्टिन, डोरी र पानी उबाउने भाँडो आदि र जम्मा गरेको पानी सकेसम्म सफा राख्नु हो। उदाहरणका लागि, बाल्टिनलाई भुइँमा बिसाएर राख्नुको साटो झुण्ड्याउनु बेस हुन्छ।

घरभित्र खानेपानीलाई सफा भाँडामा छोपेर राख्नुपर्छ। भाँडाबाट पानी उबाउँदा डाडु वा कपले उबाउनुपर्छ। कसैलाई पनि खानेपानीमा हात चोपल्न वा पानी जम्मा गरेको भाँडोबाट सोझै पानी खान नदिनुहोस्‌।

४. धाराको पानी सफा र सुरक्षित छैन भने उमाल्नुहोस्‌।

धाराको पानी अक्सर सफा र स्वच्छ हुन्छ। अन्य स्रोतबाट प्राप्त पानी सफा नै देखिए तापनि त्यसमा कीटाणु हुनसक्ने सम्भावना धेरै हुन्छ।

पानी उमाल्दा त्यसमा भएका कीटाणुहरू मर्छन्‌। त्यसकारण पोखरी, झरना वा ट्यांकीको पानी उमालेर सेलाएपछि पिउनु बुद्धिमानी हुन्छ। साना बच्चा तथा केटाकेटीहरूको रोग प्रतिरोध क्षमता वयस्कको जत्तिकै नहुने भएकोले विशेषगरि तिनीहरूले पिउने पानी कीटाणुरहित हुनु अति महत्त्वपूर्ण छ।

उमाल्न सकिंदैन भने पानीलाई बिर्को लाउन मिल्ने सफा प्लास्टिक वा काँचको भाँडामा राख्नुहोस्‌। अनि त्यो भाँडोलाई दुई दिन जति घाममा राख्नुहोस्‌ र त्यसपछि मात्र पानी प्रयोग गर्नुहोस्‌।

५. खानेकुरा सफा राख्नुहोस्‌।

काँच्चै खान मिल्ने खानेकुराहरू खानुअघि सफा गर्नुपर्छ। अरू खानेकुरा, अझ विशेषगरि माछामासु राम्ररी पकाउनुपर्छ।

पाक्नेबित्तिकै खाना खानु बेस हो। किनकि यसो गर्दा खाना बिग्रन पाउँदैन। पाकिसकेको खानालाई पाँच घण्टाभन्दा बढी समयसम्म त्यसै राख्नुपरेको छ भने त्यो खानालाई कि तातै राख्नुहोस्‌, नभए फ्रिजमा राख्नुहोस्‌। खानअघि त्यसलाई फेरि राम्ररी तताउनुहोस्‌।

काँचो मासुमा प्रायः कीटाणुहरू हुन्छन्‌। त्यसकारण, काँचो मासु छोएर पाकिसकेको खानेकुरा छुनुहुँदैन वा त्यसमा पर्न दिनुहुँदैन। काँचो मासु काटकुट गरेपछि त्यो काँचो मासु राखेको भाँडा वा कुनै पनि सामान राम्ररी पखाल्नुपर्छ।

खानेकुरा काटकुट गर्ने ठाउँ सधैं सफा राख्नुपर्छ। खानेकुरा छोपेर राख्नुका साथै झिंगा, मुसा, छुचुन्द्रो वा अरू जनावरले भेट्टाउन नसक्ने ठाउँमा राख्नुपर्छ।

६. बासी खानेकुरा, भान्छाको कसिंगर बाल्नुहोस्‌ वा गाड्‌नुहोस्‌।

कीटाणु फैलाउने झिंगा बासी खानेकुरा, भान्छाको कसिंगरमा जन्मन्छ, हुर्कन्छ। त्यसकारण, घरको फोहरकसिंगर त्यसै हुत्त फालेर पस्रिरहन दिनुहुँदैन। त्यसलाई गाड्‌नुपर्छ कि जलाउनुपर्छ वा अन्य कुनै तरिकामा मिल्काउनुपर्छ।

यी निर्देशनअनुसार चल्नुभयो भने तपाईंले आफू र आफ्नो परिवारलाई पखाला, हैजा, टाइफाइड, जुका, विषादी खाना र त्यस्तै अन्य थुप्रै रोगहरूबाट जोगाउन सक्नुहुन्छ।

[स्रोत]

स्रोत: फ्याक्ट्‌स फोर लाइफ संयुक्‍त राष्ट्र बाल कोष, संयुक्‍त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ र डब्लू एच ओ-द्वारा प्रकाशित।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने