खानेकुरालाई सुरक्षित राख्न र पोसिलो खानेकुरा खान गर्नै पर्ने सात कुराहरू
तपाईँले खाने खानेकुराले किन फरक पार्छ?
तपाईँको स्वास्थ्य धेरै हदसम्म तपाईँ के खानुहुन्छ भन्ने कुरामा निर्भर हुन्छ। खानेकुरा सुरक्षित राख्ने र पोसिलो खानेकुरा खाने बानी बसाल्नुभयो भने तपाईँको स्वास्थ्य राम्रो हुँदै जानेछ। तर कम गुणस्तरको इन्धनले गाडीमा समस्या निम्त्याएझैँ अस्वस्थकर खानेकुराले पनि गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउँछ। हुनत ती समस्याहरू तुरुन्तै नदेखिएलान् तर पछि त्यस्ता समस्याहरू पक्कै देखा पर्नेछन्।—गलाती ६:७.
विश्व स्वास्थ्य सङ्गठन यसो भन्छ, “संसारभरिका प्रत्येक देशहरूमा एक वा धेरै किसिमको कुपोषणले असर पुऱ्याएको छ।” यसमा पोषणको कमी र अत्यधिक मोटोपन दुवै समस्या समावेश छ। अस्वस्थकर खानपान धेरै गर्नाले मुटु रोग, मष्तिस्कघात, मधुमेह र क्यानसरजस्ता रोगहरू लाग्ने खतरा बढ्छ। एउटा अध्ययनले देखाएअनुसार सन् २०१७ मा पोषणको कमीले गर्दा १ करोड १० लाख मानिसहरूले ज्यान गुमाए। दूषित खानेकुराको कारण प्रत्येक दिन एक हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाउँछन् र लाखौँले स्वास्थ्य समस्या भोग्छन् भनी विश्व स्वास्थ्य सङ्गठनले अनुमान लगाएको छ।
बाइबलका सिद्धान्तहरूले हामीलाई स्वस्थकर खानपानको महत्त्वबारे बुझ्न मदत गर्छ। यसले “जीवनको मूल” परमेश्वर हुनुहुन्छ भनेर सिकाउँछ। (भजन ३६:९) जीवन उपहार हो अनि आफ्नो र आफ्नो परिवारको स्वास्थ्यको ख्याल राखेर हामी यस उपहारको कदर गरेको देखाउन सक्छौँ। तपाईँ कसरी त्यसो गर्न सक्नुहुन्छ, विचार गर्नुहोस्।
सुरक्षित खानपानको लागि गर्नै पर्ने चार कुराहरू
१. होसियारीपूर्वक खानेकुरा तयार पार्नुहोस्।
किन? दूषित खानेकुरा र पानीमा हुने खतरनाक कीटाणुहरूa तपाईँको शरीरभित्र पस्न सक्छन् र तपाईँ बिरामी पर्न सक्नुहुन्छ।
स्वास्थ्य विशेषज्ञहरूको सुझाव:
खाना पकाउनुअघि साबुन-पानीलेb हात धुनुहोस्। कम्तीमा पनि २० सेकेन्डसम्म मिचीमिची हात धुनुहोस्। हातको अगाडि-पछाडि, औँलाहरूको बीचमा र नङहरू पनि राम्ररी सफा गर्नुहोस्। हात राम्ररी पखाल्नुहोस् र पुछ्नुहोस्।
कटिङ बोर्ड, भाँडाकुँडा र खानेकुरा राखिने सबै सरसामानहरू साबुन-पानीले सफा गर्नुहोस्। साथै पकाउने र नपकाउने खानेकुराको लागि एउटै कटिङ बोर्ड प्रयोग नगर्नुहोस्।
सबै फलफूल र तरकारीहरू राम्ररी पखाल्नुहोस्। साथै तपाईँ बस्ने ठाउँ वरिपरि बालीनालीको सिँचाइमा मलमूत्र मिसिएको पानी प्रयोग भएको छ भने फलफूल र तरकारीहरूलाई कीटाणुमुक्त बनाउनुहोस्।
२. काँचो र पकाइएको खानेकुरा छुट्ट्याउनुहोस्।
किन? मासुजस्ता काँचो खानेकुरामा हुने कीटाणुहरूले अरू खानेकुरालाई दूषित बनाउन सक्छ।
स्वास्थ्य विशेषज्ञहरूको सुझाव:
बजारबाट खानेकुरा ल्याउँदा र त्यसलाई घरमा राख्दा मासुजस्ता सबै किसिमका काँचो खानेकुरालाई पकाइएको खानेकुराबाट अलग्गै राख्नुहोस्।
मासु काटिसकेपछि राम्ररी हात धुनुहोस्। अरू खानेकुरा काट्नुअघि मासु काट्दा प्रयोग गरिएको चक्कु र कटिङ बोर्ड पनि राम्ररी सफा गर्नुहोस्।
३. पकाएर खानुपर्ने खानेकुरा राम्ररी पकाउनुहोस्।
किन? पुग्दो तापक्रममा खानेकुरा पकाएमा मात्र हानिकारक कीटाणुहरू मर्छन्।
स्वास्थ्य विशेषज्ञहरूको सुझाव:
खानेकुरा एकदमै तातो हुने बेलासम्म पकाउनुहोस्। मासुलगायत सबै खानेकुराहरू ७० डिग्री सेल्सियसको तापक्रममा कम्तीमा पनि ३० सेकेन्डसम्म राम्ररी पकाउनुपर्छ।
सुप र सबै झोलिलो खानेकुराहरू राम्ररी उमाल्नुहोस्।
पहिल्यै पकाइएको खानेकुरा खानुअघि त्यसलाई मज्जाले बाफ उड्नेगरि फेरि तताउनुहोस्।
४. खानेकुरालाई सुरक्षित तापक्रममा राख्नुहोस्।
किन? खानेकुरालाई ५ देखि ६० डिग्री सेल्सियसको तापक्रममा २० मिनेटको लागि मात्र राख्दा पनि त्यसमा भएका ब्याक्टेरियाहरू दुई गुणा बढ्न सक्छन्। काँचो मासु सुरक्षित तापक्रममा नराख्दा केही ब्याक्टेरियाहरूले विषाक्त पदार्थहरू उत्पादन गर्छन्, जुन जति नै पकाए पनि नष्ट हुँदैनन्।
स्वास्थ्य विशेषज्ञहरूको सुझाव:
कीटाणुहरू बढ्न नपाओस् भनेर खानेकुरालाई तातो वा चिसो बनाउनुहोस्, मनतातो नछोड्नुहोस्।
खानेकुरालाई कोठाको तापक्रममा दुई घण्टा भन्दा बढी कहिल्यै नछोड्नुहोस्। यदि कोठाको तापक्रम ३२ डिग्री सेल्सियसभन्दा बढी छ भने एक घण्टाभन्दा बढी नछोड्नुहोस्।
खाना पाकेपछि सेलाउनुअघि नै तात्तातै खानुहोस्।
स्वस्थकर खानपानको लागि गर्नै पर्ने तीन कुराहरू
१. हरेक दिन थरीथरीका फलफूल र तरकारीहरू खानुहोस्।
फलफूल र तरकारीहरू शरीरको लागि चाहिने भिटामिन, मिनिरल र अन्य महत्त्वपूर्ण तत्त्वहरूको मुख्य श्रोत हुन्। विश्व स्वास्थ्य सङ्गठनअनुसार हाम्रो शरीरलाई प्रत्येक दिन ४०० ग्राम तरकारी र फलफूल चाहिन्छ। यसमा आलुजस्ता कार्बोहाइड्रेटयुक्त खानेकुराहरू पर्दैनन्।
२. चिल्लो खानेकुरा कम खानुहोस्।
विश्व स्वास्थ्य सङ्गठनअनुसार तारेका र प्याकेटमा आउने खानेकुराहरू कम खानुहोस्, जसमा स्वास्थ्यलाई हानि पुऱ्याउने चिल्लो पदार्थ धेरै हुन्छ। सम्भव छ भने वनस्पतिको अप्रशोधित तेलमाc खानेकुरा पकाउनुहोस्। यस्तो तेल प्रशोधित चिल्लो पदार्थभन्दा राम्रो हुन्छ।
३. चिनी र नुन कम खानुहोस्।
विश्व स्वास्थ्य सङ्गठनअनुसार वयस्कहरूले प्रति दिन एक चिया चम्चाभन्दा कम नुन र १२ चिया चम्चा (६० मि.लि) भन्दा कम चिनीd खानु राम्रो हो। बजारमा पाइने प्याकेटका खानेकुरा र पेय पदार्थहरूमा प्रयोग हुने मुख्य सामग्री नै चिनी हो। उदाहरणको लागि, ३५५ मि.लि सफ्ट ड्रिङ्कमा १० चिया चम्चा (५० मि.लि) बराबर चिनी हुन्छ। साथै सफ्ट ड्रिङ्कहरूमा धेरै क्यालोरी हुन्छ अनि यसले शरीरलाई कुनै पोषण दिँदैन।
बाइबल यसो भन्छ: “चतुर मानिस खतरा आएको देखेर लुक्छ तर अनुभवहीन मानिस भने सरासर अघि बढ्छ र दुःख पाउँछ।” (हितोपदेश २२:३) यदि तपाईँले बुद्धिमानीपूर्वक आफ्नो खानपानमा ध्यान दिनुभयो र आवश्यक छाँटकाँट गर्नुभयो भने आफ्नो जीवन र स्वास्थ्यको मोल गरेको कुरा परमेश्वरसामु देखाइरहनुभएको हुनेछ।
केही गलत धारणाहरू
गलत धारणा: खानेकुरा हेर्दा, सुँघ्दा र चाख्दा राम्रै छ भने त्यो खानको लागि ठीक छ।
तथ्य: एक लिटर पानीलाई धमिलो बनाउन १० अरबभन्दा बढी ब्याक्टेरिया चाहिन्छ। तर १५ देखि २० वटा जति हानिकारक ब्याक्टेरियाले नै तपाईँलाई बिरामी बनाउन सक्छ। त्यसैले खाने र पिउने कुराहरू सुरक्षित राख्नको लागि उचित तापक्रम र समयावधिभित्र पकाउने, खाने र सञ्चय गर्ने गर्नुहोस्।
गलत धारणा: झिँगाले खानेकुरालाई कुनै असर गर्दैन।
तथ्य: झिँगाहरू दिसापिसाबजस्ता फोहोरमैलामा बस्छन्, खान्छन् र अण्डा पार्छन्। त्यसैले तिनीहरूले रोगबिमार निम्त्याउने लाखौँ कीटाणुहरू बोकेका हुन्छन्। त्यसकारण खानेकुरालाई दूषित हुनबाट जोगाउन त्यसलाई राम्ररी छोपेर राख्नुहोस्।
गलत धारणा: “मैले लामो समयदेखि अस्वस्थकर खानेकुरा खाइरहेकोले अब खानपानमा ध्यान दिएँ भने पनि त्यसले केही फाइदा हुँदैन।”
तथ्य: अनुसन्धानकर्ताहरूले पत्ता लगाएअनुसार अहिले स्वस्थकर खानेकुरा खान थाल्नुभयो भने तपाईँ अकालमा ज्यान गुमाउनदेखि जोगिनुहुनेछ। साथै राम्रो खानपान कायम गर्दा तपाईँले अझ धेरै फाइदा उठाउन सक्नुहुनेछ।
a कीटाणुहरू वा सूक्ष्म जीवाणुहरू आँखाले देख्न नसकिने निकै साना जीवहरू हुन्। यसमा ब्याक्टेरिया, भाइरस र परजीवीहरू पनि समावेश छन्। केही सूक्ष्म जीवाणुहरू हाम्रो लागि फाइदाजनक हुन्छन्। तर केही खतरनाक सूक्ष्म जीवाणुहरू पनि छन्, जसले तपाईँलाई हानि पुऱ्याउन वा तपाईँको ज्यान समेत लिन सक्छन्।
b पानीले मात्र भन्दा साबुन-पानीले धेरै कीटाणुहरू हटाउन सक्छ।
c अप्रशोधित चिल्लो पदार्थहरू तरल पदार्थ हुन्, ती कोठाको तापक्रममा जम्दैनन्।
d यहाँ बताइएको चिनीमा प्याकेटको चिनी, मह, सिरप र फलफूलको जुसहरू पर्छन्। यसमा ताजा फलफूल, तरकारी र दूधमा पाइने चिनी समावेश छैन।