प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ १/८ pp. २३-२६
  • यहोवाले हाम्रो मार्ग सुगम तुल्याई दिनुभयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले हाम्रो मार्ग सुगम तुल्याई दिनुभयो
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मेरा प्रश्‍नहरू थिए
  • विवाह र परिवार
  • बाइबल सत्यको खोजी
  • बाइबल सत्य भेट्टायौं
  • परमेश्‍वरको राज्य गतिविधिहरूलाई प्रथम स्थान दिंदै
  • यहोवाको मार्गमा आठ लालाबाला हुर्काउँदाको सुखदुःख
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • मेरो आध्यात्मिक तृष्णा कसरी तृप्त भयो
    ब्यूँझनुहोस्‌!—२००३
  • परीक्षा सहँदा आशिष्‌ पाइन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
ब्यूँझनुहोस्‌!—१९९८
g९८ १/८ pp. २३-२६

यहोवाले हाम्रो मार्ग सुगम तुल्याई दिनुभयो

मेरो जन्म सन्‌ १९२४ मा स्वीजरल्याण्डको सुक प्रान्तको चाम भन्‍ने शहर नजिकै भएको थियो। हामी जम्मा १३ छोराछोरी थियौं—दस भाइ र तीन बहिनी। म चाहिं जेठो थिएँ। दुई जना भाइहरू सानैमा मरे। हामी बाँकीको चाहिं महान्‌ मन्दीको बेला कडाकडी साथ क्याथोलिक तौर-तरिकामा पालनपोषण गरियो।

बुबाले इमानदार, मिजासिलो व्यवहार नै गर्नुहुन्थ्यो तर समय समयमा उहाँलाई असाध्यै रिस उठ्‌थ्यो। कहिलेकाहीं डाह लागेर आमाले बुबालाई बिना कारण दोष लाउँदा उहाँले आमालाई समेत कुटपिट गर्नुहुन्थ्यो। बुबाको वफादारितामाथि शंका गर्नुपर्ने कुनै कारण थिएन, तैपनि छिमेकका अरू आइमाईहरूसित बुबा कुरा गरिरहनुभएको आमाले देखी सहनु हुन्‍नथ्यो। घरको यस्तो परिस्थिति देखेर मलाई अति दिक्क लाग्थ्यो।

आमा असाध्यै अन्धविश्‍वासी हुनुहुन्थ्यो। उहाँ सानातिना घटनाहरूलाई पनि “पापमोचन स्थानमा दुःख भोगिरहेकाहरूबाट” चिह्न भन्‍नुहुन्थ्यो। उहाँको त्यस्तो सहजै पत्यार गर्ने बानी मलाई पटक्कै मन पर्दैनथ्यो। तर नानाथरीको विषयवस्तु आमालाई पढेर सुनाएर पादरीहरू झन्‌ आमाको अन्धविश्‍वास बढाइ दिन्थे।

मेरा प्रश्‍नहरू थिए

केटाकेटीदेखि नै परमेश्‍वरसम्बन्धी तथा मानिसलाई आखिरमा के हुन्छ भन्‍ने जस्ता प्रश्‍नहरू मेरो मनमा आइरहन्थे। तार्किक निष्कर्षमा पुग्ने कोसिस गरें तर थुप्रै मतभेदहरू थिए! मैले सन्त, चमत्कार तथा त्यस्तै अन्य विषयहरूसम्बन्धी क्याथोलिक प्रकाशनहरू पढें। तर मलाई अझै चित्त बुझेन। मलाई मानौं, अन्धकारमा छामछाम छुमछुम गरेर हिंडिरहेको जस्तो लाग्यो।

स्थानीय पादरीले मलाई यस्ता प्रश्‍नहरूमाथि विचार नगर्न सल्लाह दिए। तिनले, सबै कुरा बुझ्न खोज्नु घमण्डको चिह्न हो र परमेश्‍वरले त्यस्ताहरूलाई घृणा गर्नुहुन्छ भने। आफ्नो पाप स्वीकार नगरी मर्ने व्यक्‍तिलाई परमेश्‍वरले अग्निमय नरकमा सास्ती दिनुहुन्छ भन्‍ने शिक्षा मलाई पटक्कै मन पर्दैनथ्यो। साँच्चै त्यसो भएमा पृथ्वीका सबैजसो मानिसहरूले सधैं सास्ती पाउने भएकोले म यस्तो विचार गर्थें, ‘यो परमेश्‍वरको प्रेमसित कसरी मिल्यो त?’

पाप स्वीकार्ने क्याथोलिक चलनबारे पनि मैले प्रश्‍न गरें। क्याथोलिक स्कूलमा हामीलाई अपवित्र कुराहरू सोच्नु एकदमै गम्भीर पाप हो र यो पादरी समक्ष स्वीकार्नुपर्छ भन्दा मलाई डर लाग्थ्यो। म सोच्ने गर्थें: ‘के मैले सबै पाप स्वीकारें? वा केही कुरा बिर्सेर मेरो पाप अक्षम्य भयो कि?’ अतः यसरी मेरो हृदयमा परमेश्‍वरको कृपा र क्षमा दिने इच्छुकतामाथि शंकाहरू उत्पन्‍न हुन थाले।

झन्डै तीन चार वर्षसम्म मैले नैराश्‍यपूर्ण विचारहरूसित संघर्ष गरें। यसले मलाई थकित मात्र बनायो। परमेश्‍वरमाथि पटक्कै विश्‍वास नगर्ने विचार पनि गरें। तर फेरि यसो सोचें, ‘प्रयास गरिराखें भने पक्कै पनि सही मार्ग पाउनेछु।’ समयमा मलाई परमेश्‍वरको अस्तित्वबारे पूरा विश्‍वास त भयो तर मेरा धार्मिक विश्‍वासका अनिश्‍चितताहरूले मलाई पिरोले।

मैले बाल्यकालमा पाएको गलत शिक्षाको कारण येशू ख्रीष्टले प्रेरित पत्रुसलाई “म यस पत्थरमाथि आफ्नो चर्च स्थापित गर्नेछु,” भन्‍नुहुँदा रोमन क्याथोलिक चर्चलाई मनमा राखेर भन्‍नुभएको हो भनेर म विश्‍वास गर्थें। (मत्ती १६:१८, क्याथोलिक डुवे भर्सन) अन्ततः चर्चका राम्रा पक्षहरूले विजय हासिल गर्नेछ भन्‍ने विश्‍वास गर्थें र चर्चलाई सहयोग पुऱ्‍याउन तत्पर रहन्थें।

विवाह र परिवार

परिवारमा जेठो छोरा भएको नाताले अर्को भाइ बुबालाई सघाउनसक्ने नभएसम्म मैले बुबालाई खेतमा काम गर्न सघाएँ। त्यसपछि म क्याथोलिक कृषि स्कूलमा गएँ जहाँ मैले स्नातकोत्तर गरें। त्यसपछि विवाह गर्न जोडी खोज्न थालें।

मेरी एक जना बहिनी मार्फत मैले मारियालाई चिनें। सँगै मिलेर अनन्त जीवनको लागि कोसिस गर्नसक्ने पतिका लागि तिनले प्रार्थना गर्दी रहेछिन्‌ भनेर मैले थाह पाएँ। हामीले हाम्रो विवाहको घोषणामा यस्तो लेख्यौं: “प्रेममा एकताबद्ध भई सुख खोज्नेछौं, हामी आफ्नो ध्यान परमेश्‍वरमा केन्द्रित गर्नेछौं। जीवनको यात्रा सँगसँगै गर्नेछौं र हाम्रो लक्ष्य अनन्त मुक्‍ति हो।” हामीले जून २६, १९५८ मा जुरिक नजिकै फार कनभेन्टमा विवाह गऱ्‍यौं।

मारिया र म उस्तै उस्तै वातावरणमा हुर्केका थियौं। तिनी पनि धर्ममा अत्यन्तै आस्था राख्ने परिवारमा हुर्केकी थिइन्‌ र सात छोराछोरीमध्ये जेठी थिइन्‌। सातै जनालाई खेतको काम, स्कूलका कार्यहरू तथा चर्च पठाएर व्यस्त राखिन्थ्यो। अतः खेल्नको लागि समय नै हुँदैनथ्यो। विवाहको पहिलो वर्ष सजिलो भएन। धार्मिक विषयहरूसित सम्बन्धित मेरा थुप्रै प्रश्‍नहरू भएको हुँदा मारियालाई कस्तो मान्छेसँग विवाह गरेछु जस्तो लाग्न थाल्यो। तिनले चर्चको शिक्षा वा चर्चको युद्ध, धर्मयुद्ध र इन्क्विजिशनहरूलाई समर्थन गर्ने चलनमाथि प्रश्‍न उठाउन इन्कार गर्थिन्‌। तथापि, हामी दुवै जना परमेश्‍वरमाथि भरोसा राख्थ्यौं र उहाँको इच्छा गर्न हामीले सक्दो प्रयास गरुञ्जेल उहाँले हामीलाई त्याग्नुहुन्‍न भनेर ढुक्क थियौं।

सन्‌ १९५९ मा हामीले पूर्वी स्वीजरल्याण्डको होमबर्गसँगै खेत भाडामा लियौं। यही खेत नै ३१ वर्षसम्म हाम्रो घर भयो। मार्च ६, १९६० मा हाम्रो पहिलो छोरा योसेफको जन्म भयो। तिनी पछि अझ छ छोरा र छोरी रेचेल जन्मिन्‌। मारियाले आफूलाई निष्पक्ष र सधैं सिद्धान्तहरूप्रति वफादार आमा प्रमाणित गरेकी छिन्‌। तिनी परिवारको लागि साँच्चै आशिष्‌ साबित भएकी छिन्‌।

बाइबल सत्यको खोजी

बिस्तारै, हाम्रो धार्मिक अज्ञानता झनै खपी नसक्नुभयो। हामीले १९६० को अन्ततिर क्याथोलिक पिपल्स हाई स्कूलमा प्रवचन सुन्‍ने गर्न थाल्यौं तर पहिलाभन्दा हामी झनै अन्योलमा पऱ्‍यौं। वक्‍ताहरू धर्मशास्त्रीय प्रमाणको कुनै वास्ता नराखी आफ्नै विचारधाराहरू प्रस्तुत गर्थे। मैले १९७० को सुरुतिर येशूका यी शब्दहरूमाथि विचार गर्न थालें: “तिमीहरू पितासँग जे मागौला, उहाँले मेरो नाउँमा तिमीहरूलाई दिनुहुनेछ। . . . माग त तिमीहरूले पाउनेछौ।”—यूहन्‍ना १६:२३, २४.

परमेश्‍वरको वचनबाट यस्तो ढाडस पाएकोले बारम्बार यसरी प्रार्थना गरें: “पिता, यदि क्याथोलिक चर्च साँचो हो भने मलाई देखाउनुहोस्‌। तर यदि झूटो हो भने पनि मलाई स्पष्टसित देखाउनुहोस्‌ र म सबैलाई बताउनेछु।” डाँडाको उपदेशमा “माग” भन्‍ने निर्देशनलाई मनमा राख्दै मैले बारम्बार बिन्ती गरिराखें।—मत्ती ७:७, ८.

विषेशगरि, “सन्तको” उपासना, शुक्रबार मासु खाने अनि त्यस्तै अन्य विषयहरूमा सन्‌ १९६० को दशकमा क्याथोलिक शिक्षामा आएको परिवर्तनबारे मारियासँग भएको मेरो कुराकानीले गर्दा तिनमा पनि शंकाहरू उत्पन्‍न हुन थाल्यो। सन्‌ १९७० को वसन्त ऋतुमा एकचोटि मास धाउँदा तिनले यसरी प्रार्थना गरिन्‌: “हे परमेश्‍वर, कृपया हामीलाई अनन्त जीवनको मार्ग देखाउनुहोस्‌। सही मार्ग कुन हो, त्यो नै हामीलाई थाह छैन। म जे गर्न पनि राजी छु तर कृपया हाम्रो सम्पूर्ण परिवारलाई सही मार्ग देखाउनुहोस्‌।” हाम्रो प्रार्थनाको सुनवाइ नहोउञ्जेल मलाई तिनको प्रार्थनाबारे थाह थिएन नता तिनलाई मेरो प्रार्थनाबारे नै थाह थियो।

बाइबल सत्य भेट्टायौं

सन्‌ १९७० को सुरुतिर हामी चर्चबाट घर फर्केपछि कसैले ढोका ढकढक्यायो। एक जना मानिसले आफूलाई यहोवाको साक्षी भनी चिनाए र तिनीसित तिनको १० वर्षीय छोरा पनि थियो। म बाइबल छलफलको लागि राजी भएँ। तिनीहरूलाई सजिलै गलत साबित गर्नसक्छु जस्तो मलाई लाग्यो किनभने मैले यहोवाका साक्षीहरूबारे सुनेको कुराअनुसार तिनीहरू विस्तृत जानकारी भएका मानिसहरू होइनन्‌ जस्तो लाग्थ्यो।

कुनै सन्तोषजनक नतिजाबिना हाम्रो छलफल दुई घण्टासम्म चल्यो र अर्को आइतबार पनि त्यस्तै भयो। म तेस्रो छलफलको लागि पनि उत्सुकतापूर्वक पर्खिरहेको थिएँ तर त्यस दिन ती साक्षी देखै परेनन्‌। कुरा गरेर केही फाइदा छैन भनेर तिनले बुझे होलान्‌ भनेर मारियाले भनिन्‌। दुई हप्तापछि तिनी फर्कंदा म खुशी भएँ। तुरुन्तै मैले भनें: “मैले नरकबारे बुझ्न खोजेको ३५ वर्ष भइसक्यो। प्रेम गर्ने परमेश्‍वरले त्यस्तो क्रूर सास्ती दिनुहुन्छ भन्‍ने कुरा म स्वीकार्नै सक्दिनँ।”

“तपाईंले भन्‍नुभएको कुरा सही हो,” भनी साक्षीले समर्थन जनाए। “बाइबलले नरक सास्ती दिने ठाउँ हो भनेर सिकाउँदैन।” क्याथोलिक बाइबलमा प्रायः “नरक” भनी अनुवाद गरिएका हिब्रू तथा युनानी शब्दहरू शिओल र हेडिसको वास्तविक अर्थ सामान्य चिहान हो भनेर तिनले मलाई देखाए। (उत्पत्ति ३७:३५; अय्यूब १४:१३; प्रेरित २:३१) साथै तिनले मानव प्राण मरणशील छ र पापको सजाय सास्ती नभई मृत्यु हो भनेर प्रमाणित गर्ने शास्त्रपदहरू पनि पढेर सुनाए। (इजकिएल १८:४; रोमी ६:२३) त्यसपछि, मैले आफू जीवनभर धार्मिक झूटहरूको कारण अन्धा भइरहेको रहेछु भनेर बुझ्न थालें। चर्चका अन्य सिद्धान्तहरूबारे पनि शंका उत्पन्‍न हुन थाल्यो।

म फेरि धोकामा पर्न चाहन्‍नथें त्यसैले मैले क्याथोलिक बाइबल शब्दकोश र पाँच खण्ड भएको पोपहरूको इतिहास किनें। यी प्रकाशनहरूले रोमन क्याथोलिक इपिस्कोपलका अधिकारीहरूबाट मुद्रण गर्ने अनुमति पाएको थियो। पोपहरूको इतिहास पढ्‌दा तिनीहरूमध्ये कोही कोही त संसारको सबैभन्दा कुख्यात अपराधीहरू रहेछन्‌ भनी थाह पाएँ! अनि बाइबल शब्दकोशमा हेर्दा त्रिएक, नरक, पापमोचन र त्यस्तै अन्य थुप्रै चर्चका शिक्षाहरू बाइबलमा आधारित होइन रहेछ भनेर थाह पाएँ।

अब भने म साक्षीहरूसित बाइबल अध्ययन गर्न तयार भएँ। सुरुमा, मारिया शिष्टताको लागि मात्रै अध्ययनमा बस्ने गर्थिन्‌ तर चाँडै तिनले पनि सिकेको कुरा ग्रहण गर्न थालिन्‌। चार महिनापछि मैले क्याथोलिक चर्च छोडें र हाम्रा छोराछोरीहरूले पनि अबदेखि धार्मिक कक्षाहरू धाउने छैनन्‌ भनेर पादरीलाई खबर गरें। त्यसको अर्को आइतबार पादरीले आफ्नो चर्चका सदस्यहरूलाई यहोवाका साक्षीहरूबारे चेताउनी दिए। मैले बाइबलबाट आफ्नो विश्‍वासको प्रतिवाद गर्ने प्रस्ताव राखें तर पादरी त्यस्तो छलफल गर्न सहमत भएनन्‌।

त्यसपछि, हामीले चाँडचाँडो उन्‍नति गर्न थाल्यौं। डिसेम्बर १३, १९७० को दिन अन्ततः मेरी श्रीमती र मैले यहोवाप्रति समर्पण जनाउन बप्तिस्मा लियौं। त्यसको एक वर्षपछि मसीही तटस्थताको कुरा लिएर मैले जेलमा समेत दुई महिना बिताउनुपऱ्‍यो। (यशैया २:४) छोटो समयावधिको लागि भए पनि आठ जना छोराछोरी श्रीमतीको भरमा छोडेर जानु सजिलो कुरा थिएन। बच्चाहरू ४ महिनादेखि १२ वर्षका मात्र थिए। त्यसबाहेक, हाम्रो खेत र गाईवस्तु थियो। तर यहोवाको मदतले गर्दा तिनीहरू मबिना पनि जीवन धान्‍न सफल भए।

परमेश्‍वरको राज्य गतिविधिहरूलाई प्रथम स्थान दिंदै

परिवारमा कोही बिरामी भयो भने मात्र हो नत्र कसैले पनि मण्डलीको सभा छुटाउँदैनथ्यो। अनि ठूला अधिवेशनहरू सबैमा उपस्थित हुन मिल्नेगरि हामीले आफ्नो कार्यभार मिलायौं। चाँडै बच्चाहरूले आफ्नो खेलमा मसीही सभाहरूमा देखेका कुराहरू नक्कल गर्न थाले। उदाहरणका लागि, तिनीहरू एक अर्कोलाई विद्यार्थी भाषणहरू दिन लगाउँथे र प्रस्तुतिहरू अभ्यास गर्थे। खुशीको कुरा, तिनीहरू सबैले हामीले दिएको आध्यात्मिक निर्देशन सुने। एउटा क्षेत्रीय सम्मेलनमा मेरी पत्नी र मेरो अन्तर्वार्ता लिंदा हाम्रा आठ जना छोराछोरी लहरै बसेर ध्यान दिएर सुनिरहेका अझै याद छ।

बच्चाहरूलाई “प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्नु हाम्रो मुख्य चिन्ताको कुरा हुनथाल्यो। (एफिसी ६:४) हामीले घरमा टेलिभिजन सेट नराख्ने निर्णय गऱ्‍यौं र बच्चाहरूले जोसिला सँगी मसीहीहरूको अनुभव तथा जोसबाट फाइदा उठाऊन्‌ भन्‍ने हेतुले घरमा अक्सर तिनीहरूलाई बोलाउने गर्थ्यौं। नचाहिंदो कुरा नगर्न र अरूको आलोचना नगर्न हामी होसियार हुन्थ्यौं। कसैले गल्ती गर्दा हामी छलफल गर्थ्यौं र त्यसलाई क्षमा दिन मिल्ने आधारहरू खोजी गर्थ्यौं। हामी बच्चाहरूलाई व्यवहारिक र निष्पक्ष भई परिस्थितिको लेखाजोखा गर्न मदत दिन्थ्यौं। अरू युवाहरूसित तुलना नगर्न हामी साह्रै विचार पुऱ्‍याउँथ्यौं। अनि बच्चाहरूलाई पुलपुल्याउन हुन्‍न र बच्चाहरूले गल्ती गर्दा ढाकछोप गर्नु हुँदैन भनेर हामीले बुझेका थियौं।—हितोपदेश २९:२१.

तैपनि, बच्चाहरूलाई हुर्काउँदा समस्या नै नभएको चाहिं होइन। उदाहरणका लागि, एकचोटि तिनीहरूलाई स्कूलका साथीहरूले पसलबाट पैसा नतिरी खुसुक्क चकलेट झिक्न बहकाएछन्‌। त्यो कुरा थाह पाएपछि हामीले तिनीहरूलाई पैसा तिर्न र माफी माग्न पठायौं। त्यसो गर्नु तिनीहरूका लागि लाजमर्दो कुरा थियो तर तिनीहरूले इमानदारिताको पाठ सिके।

बच्चाहरूलाई हामीसित प्रचारकार्यमा जान जबरजस्ती गर्नुको साटो त्यस्तो गतिविधिलाई पहिला हामी आफैले प्राथमिकता दिएर नमुना बसाल्यौं। खेतमा गर्नुपर्ने कामहरूलाई भन्दा सभाहरू तथा क्षेत्र सेवकाईलाई महत्त्व दिएको बच्चाहरूले देखे। आठ छोराछोरीलाई यहोवाको मार्गमा हुर्काउने हाम्रो प्रयासले निश्‍चय पनि आशिष्‌ पायो।

हाम्रा जेठो छोरा योसेफ मसीही प्राचीनको हैसियतमा सेवा गर्दैछन्‌ र पहिला तिनले श्रीमतीसँगै यहोवाका साक्षीहरूको स्वीजरल्याण्डस्थित शाखा कार्यालयमा निकै वर्ष सेवा गरे। थोमस पनि प्राचीन हुन्‌ र तिनी र तिनकी पत्नी अग्रगामीको काम गर्छन्‌, पूर्ण-समय सेवकलाई अग्रगामी भनिन्छ। साइकल दौडमा च्याम्पियन भए तापनि त्यस पेशा त्याग्ने डानियल अहिले प्राचीन हुन्‌। तिनी र तिनकी पत्नी अर्कै मण्डलीमा अग्रगामी छन्‌। बेनो र तिनकी पत्नी मध्य स्वीजरल्याण्डमा सक्रिय सेवकहरूको रूपमा कार्यरत छन्‌। हाम्रो पाँचौ छोरा क्रिश्‍टियन हाम्रै मण्डलीमा प्राचीनको हैसियतमा सेवा गर्छन्‌। तिनी विवाहित हुन्‌ र दुई बच्चाहरू छन्‌। फ्रान्ज अग्रगामी र प्राचीनको हैसियतमा बर्नको एउटा मण्डलीमा सेवारत छन्‌। उर्स एक समय स्वीजरल्याण्ड बेथेलमा काम गर्थे। तिनको पनि विवाह भइसकेको छ र अग्रगामी गर्दैछन्‌। हाम्रो एक मात्र छोरी रेचेलको विवाह भइसक्यो र तिनी र तिनका पतिले पनि निकै वर्षसम्म अग्रगामी गरे।

आफ्ना छोराछोरीको नमुना पछ्याउँदै मैले पनि जून १९९० मा जागिरबाट अवकाश पाएपछि अग्रगामी गर्न थालें। मेरो तथा मेरो परिवारको जीवनलाई विचार गर्दा यहोवाले हाम्रो मार्ग सुगम तुल्याई दिनुभएको र “अटाउने ठाउँ पनि नहुने सम्मका” आशिष्‌ हामीलाई दिनुभएको छ भनी म निर्धक्कसँग भन्‍नसक्छु।—मलाकी ३:१०.

मेरी प्रिय पत्नीको मन पर्ने बाइबल पद हो: “तेरो भारी परमप्रभुमा राख्‌, र उहाँले तँलाई सह्‍माल्नुहुनेछ, र उहाँले धर्मात्मालाई कहिल्यै डग्नदिनुहुनेछैन।” (भजन ५५:२२) अनि मेरो चाहिं: “तँ आफै परमप्रभुमा मग्न हो। र उहाँले तेरो मनोरथ पूर्ण गर्नुहुनेछ।” (भजन ३७:४) यी हृदयस्पर्शी अभिव्यक्‍तिहरूको सत्यता हामी दुवैले अनुभव गरेका छौं। हाम्रा छोराछोरी र तिनीहरूको परिवार सँगसँगै सधैंको लागि यहोवा परमेश्‍वरलाई प्रशंसा गर्ने हाम्रो लक्ष्य हो।—योसेफ हेग्लीको वृत्तान्तमा आधारित।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने