विजय तथा विपत्ति
“विगतका ३० वर्षमा क्षयरोगको इतिहास केलाउने हो भने विजय र विपत्तिको कथा भएको छ—यस रोगको नियन्त्रण तथा उन्मूलन गर्ने माध्यमहरू पत्ता लगाउने वैज्ञानिकहरूका लागि एकातिर विजय र अर्कोतिर विपत्ति हुनुको कारण आफूले पत्ता लगाएका कुराहरू उपयोग गर्न नसक्नु हो।”—जे. आर. बिग्नल, १९८२.
क्षयरोगले (टिबी) धेरैअघिदेखि मानिसहरूको ज्यान लिंदै आएको छ। युरोपेलीहरू दक्षिण अमेरिकामा आउनुभन्दा धेरैअघिदेखि पेरूका इन्काहरू यो रोगले पिरोलिएका थिए। फिरऊनहरूको वैभवशाली शासनकालमा पनि मिश्रीहरू यो रोगको शिकार भइसकेका थिए। टिबीले पुरातन बेबिलोन, ग्रीस तथा चीनका धनीमानीदेखि लिएर गरिबगुरुवा सबैलाई पिरोलेको थियो भनी पुराना लेखोटहरूले देखाउँछन्।
पश्चिमी संसारमा १८ औं शताब्दीदेखि २० औं शताब्दीको सुरुतिरसम्म मानिसहरूको मृत्युको प्रमुख कारण टिबी थियो। समयको दौडान जर्मन चिकित्सक रबर्ट कोखले त्यो रोगको जीवाणु पत्ता लगाएको औपचारिक घोषणा गरे। त्यसको तेह्र वर्षपछि भिल्हेम रंटजेनले एक्सरे पत्ता लगाए। फलस्वरूप, क्षयरोगले जीवित मानिसहरूको फोक्सोमा कस्तो असर पार्छ भनेर हेर्न सजिलो भयो। पछि, १९२१ मा फ्रान्सेली वैज्ञानिकहरूले टिबी विरुद्ध खोप तयार पारे। उक्त खोप पत्ता लगाउने वैज्ञानिकहरूको नाउँबाट चिनिने बी सी जि (बासिलस काल्मेट-गरान) अहिले पनि यस रोग रोकथाम गर्न उपलब्ध एक मात्र खोप हो। तैपनि, टिबीले असंख्य मानिसहरूको ज्यान लिन भने छोडेको छैन।
बल्ल उपचार पत्ता लाग्यो!
चिकित्सकहरूले टिबी रोगीहरूलाई आरोग्य-गृहहरूमा पठाउँथे। यी अस्पतालहरू प्रायजसो पहाडहरूतिर बनाइएका हुन्थे जहाँ बिरामीहरूले आराम गर्नुका साथै स्वच्छ हावा लिनसक्थे। त्यसपछि संयुक्त राज्यका चिकित्सकहरूले १९४४ मा स्ट्रेप्टोमाइसीन पत्ता लगाए। टिबीको उपचारमा प्रभावकारी साबित भएको पहिलो औषधी यही एन्टिबायोटिक थियो। त्यसपछि, टिबीको रोकथाममा अन्य औषधीहरू बनाउन थाले। बल्ल, टिबी रोगीहरूलाई तिनीहरूकै घरमा उपचार गर्न सकिने भयो।
रोग संक्रमण दर निकै घट्न थालेपछि भविष्यमा आशावादी हुन सकिने लक्षण देखियो। आरोग्य-गृहहरू बन्द भए र टिबी अनुसन्धानको लागि कोष छुट्याउने प्रबन्ध सेलाउन थाल्यो। रोकथाम कार्यक्रमहरूलाई वास्ता गर्न छोडेर वैज्ञानिक तथा चिकित्सकहरूले चिकित्सा जगत्मा नयाँ चुनौतीहरू खोज्न थाले।
विकासोन्मुख राष्ट्रहरूमा टिबीले थुप्रै मानिसहरूको ज्यान लिन नछोडे तापनि पछि गएर अवस्था पक्कै सुध्रनेथियो। टिबी त बितेको कुरा हुनेथियो। यो त मानिसहरूको सोचाइ मात्र थियो तर तिनीहरूले भनेजस्तो भएन।
यो ज्यानमाराले फेरि उत्पात मच्चायो
सन् १९८० दशकको बीचतिर टिबी पुनः एक चोटि भयावह तथा ज्यानमारा रूप लिएर देखा पर्न थाल्यो। अप्रिल १९९३ मा विश्व स्वास्थ्य संगठनले (डब्ल्यु एच ओ) टिबीलाई “विश्वव्यापी आकस्मिक संकट” भनी घोषणा गर्दै यसो भन्यो, “यो रोग नफैलिओस् भनेर तुरुन्तै कदम नचाल्ने हो भने आउँदो तीन दशकभित्र यसले तीन करोडभन्दा बढी मानिसहरूको ज्यान लिनेछ।” विश्व स्वास्थ्य संगठनले यस्तो प्रकारको घोषणा यसअघि पहिले कहिल्यै गरेको थिएन।
त्यतिबेलादेखि “तुरुन्तै चालिएका” कुनै पनि कदमले यो रोगलाई फैलनबाट रोक्न सकेको छैन। भनौं भने, अवस्था झन् झनै बिग्रँदै गइरहेको छ। हालै विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार १९९५ मा अन्य रोगले मर्नेभन्दा टिबीले मर्नेहरूको संख्या बढी थियो र टिबीले यति धेरै मानिसहरू पहिले कहिल्यै मरेका थिएनन्। आउँदो ५० वर्षमा कम्तीमा ५० करोड मानिसहरूलाई टिबी लाग्नसक्ने विश्व स्वास्थ्य संगठनले चेताउनी दियो। आउँदा दिनहरूमा झन् झन् बढी मानिसहरूलाई यस्तो प्रकारको टिबी लाग्नेछ जसलाई प्रभावशाली औषधीले पनि छुँदैन।
यो ज्यानमाराले फेरि किन उत्पात मच्चाएको?
एउटा कारण हो, विगतका २० वर्षमा टिबी नियन्त्रण कार्यक्रमहरू संसारका थुप्रै भागहरूमा निष्क्रिय हुन थाले वा कतिपय ठाउँमा त ठप्पै बन्द भइसके। यसले गर्दा रोग निदान तथा त्यसको उपचारमा ढिलाइ हुन गएको छ। परिणामस्वरूप धेरै मानिसहरू टिबीले मरिरहेका छन् र रोग पनि व्यापक तवरमा फैलिरहेको छ।
टिबी फेरि देखा पर्नुको अर्को कारण, विकासोन्मुख राष्ट्रहरूका महानगरहरूमा गरिब, कुपोषित मानिसहरू अटेसमटेस गरेर बसोबास गर्नु हो। हुन त टिबी गरिबहरूलाई मात्र लाग्ने रोग होइन, जोसुकैलाई पनि लाग्नसक्छ तर फोहर तथा गुजमुज्ज परेको ठाउँमा बस्ने मानिसहरूलाई यो रोग सजिलै लाग्छ र अरूलाई पनि सार्छन्। साथै, त्यस्तो ठाउँमा बस्ने मानिसहरूको रोग प्रतिरोधात्मक शक्ति असाध्यै कमजोर भएर रोग विरुद्ध लड्नै नसक्ने हुने सम्भावना पनि बढी हुन्छ।
एच आइ भी र टिबी—द्विपक्षीय समस्या
एउटा प्रमुख समस्या हो, टिबीले एड्सको जीवाणु एच आइ भी-सित घातक सम्बन्ध गाँसेको छ। सन् १९९५ मा एड्स लागेर मर्ने अनुमानित दश लाख मानिसहरूमध्ये एक तिहाइजति टिबीको कारण मरेको हुनुपर्छ। किनभने एच आइ भी-ले शरीरको प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ र सजिलै टिबी लागिहाल्छ।
टिबीले संक्रमण भएका प्रायजसो मानिसहरू रोगग्रस्त हुँदैनन्। किन? किनभने टिबीका जीवाणुहरू म्याक्रोफेज नाउँका कोषहरूभित्र थुनिएका हुन्छन्। यी जीवाणुहरू मान्छेको रोग प्रतिरोधात्मक प्रणाली र विशेषगरि टि लिम्फोसाइट्स वा टि कोषहरूले थुनिएका हुन्छन्।
टिबी जीवाणुहरू भनेको ढकनी टम्म बन्द भएको टोकरीभित्र थुनिएका गोमनहरूजस्तै हुन्। टोकरी म्याक्रोफेज र ढकनी चाहिं टि कोषहरू हुन्। तथापि, एड्स जीवाणुले टोकरीको ढकनी खोल्छ। यसपछि यी जीवाणुहरू निस्कन्छन् र शरीरको जुनसुकै भागलाई पनि हानि पुऱ्याउनसक्छन्।
तसर्थ, प्रतिरोधात्मक प्रणाली स्वस्थ भएका मानिसहरूलाई भन्दा एड्स रोगीहरूलाई सक्रिय टिबी लाग्नसक्ने सम्भावना बढी हुन्छ। स्कटल्याण्डका एक टिबी विशेषज्ञले यसो भने, “एच आइ भी द्वारा संक्रमित भएकाहरूलाई यति सजिलै टिबी लाग्छ, अचम्मै छ। लण्डनको एउटा क्लिनिकमा टिबी रोगीलाई ट्रलीमा गुडाएर लैजाँदै गर्दा त्यहाँ नजिकै बसिरहेका दुई जना एच आइ भी रोगीहरूलाई तुरुन्तै टिबीले समातिहाल्यो।”
यसप्रकार टिबीको महामारी चर्काउनमा एड्सको ठूलो हात छ। एउटा अनुमानअनुसार सन् २००० सम्ममा एड्सको महामारीको कारणले मात्रै १४ लाख टिबी रोगीहरू देखा पर्नेछन्। टिबी यसरी फैलनुको एउटा महत्त्वपूर्ण कारण हो, एड्स रोगीहरूलाई टिबी एकदमै चाँडो लाग्छ र एड्स नलागेका मानिसहरूलगायत अरूहरूलाई पनि सार्नसक्छ।
अनेकन् औषधिहरूले नछुने टिबी
टिबी विरुद्ध लड्न अझ गाह्रो बनाउने अन्तिम कारण हो, अनेकन् औषधीले नछुने टिबीका किसिमहरू। यस्ता नयाँ प्रकारका टिबीहरूले गर्दा एन्टिबायोटिक पत्ता लाग्नुभन्दा पहिलेजस्तै यो रोग फेरि उपचार गर्नै नसकिने भएको छ।
अनौठो कुरा त के हो भने टिबीको औषधोपचार ठीकसित नगरिएको हुँदा नै औषधीले नछुने टिबी देखा परेका हुन्। टिबीको पूर्ण उपचार गर्न कम्तीमा छ महिना लाग्छ र बिरामीले नबिराई चार प्रकारको औषधी खानुपर्छ। बिरामीले हरेक दिन बाह्रवटा सम्म चक्की खानुपर्ने हुनसक्छ। बिरामीले नियमित तवरमा औषधी नखाएमा वा उपचार पूरा नगरेको खण्डमा निको पार्न गाह्रो वा ती जीवाणुहरू नाश गर्न असम्भवै पनि हुनसक्छ। कुनै कुनै प्रकारको टिबीका जीवाणुलाई त सात प्रकारको औषधीले पनि छुन सक्दैन।
धेरै औषधीले पनि नछुने टिबी रोगीको उपचार गर्नु गाह्रो मात्र नभई महँगो पनि हुन्छ। सामान्य टिबी रोगीको उपचार गर्नुभन्दा सय गुणा बढी महँगो हुनसक्छ। उदाहरणका लागि, अनेकन् औषधीले नछुने टिबीको उपचार गर्न संयुक्त राज्यमा २,५०,००० अमेरिकी डलरभन्दा बढी खर्च हुनसक्छ!
विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार विश्वभरिका लगभग १० करोड मानिसहरू औषधीले नछुने टिबीद्वारा संक्रमित हुनसक्छन् र यसमध्ये कुनै कुनैलाई त निको पार्नसक्ने औषधी नै फेला परेको छैन। यस्ता घातक प्रकारका टिबीहरू सामान्य प्रकारको टिबी जत्तिकै सरुवा हुन्छन्।
रोकथाम र उपचार
यस विश्वव्यापी संकटको रोकथाम गर्न के गरिंदैछ? यो रोग नियन्त्रण गर्ने सर्वोत्तम तरिका संक्रमण हुनेबित्तिकै रोग निदान गरेर उपचार गर्न थाल्नु हो। यसो गर्दा रोग लागिसकेको व्यक्तिलाई बचाउनु मात्र होइन तर रोग फैलन पनि रोक्छ।
टिबीको उपचार गरिएन भने आधाभन्दा बढी बिरामीहरूको ज्यान जान्छ। तथापि, राम्ररी उपचार गरेमा अनेकन् औषधीले नछुने टिबीबाहेक अन्य प्रकारका टिबी पनि निको पार्न सकिन्छ।
यस लेखबाट प्रस्ट भएअनुसार प्रभावकारी उपचार भन्नु नै औषधोपचार पूरा गर्नु हो। तर मानिसहरूले प्रायजसो त्यसो गर्दैनन। किन? किनभने उपचार थालेको केही हप्ताभित्रै खोकी, ज्वरो तथा अन्य लक्षणहरू हराउन थाल्छन्। अतः धेरैजसो बिरामीहरू आफू निको भएको सम्झेर औषधी लिन छोड्छन्।
यो समस्या रोक्न विश्व स्वास्थ्य संगठनले डी ओ टि एस नामक कार्यक्रमलाई अघि बढाइरहेको छ। उक्त पदावलीको पूरा रूपान्तर हो, “डाइरेक्टली-अब्जर्भड, शर्ट कोर्स” अर्थात् प्रत्यक्ष निगरानीमा छोटो समयको उपचार। नाउँबाटै प्रस्टिएअनुसार स्वास्थ्य कर्मचारीहरू कम्तीमा सुरुको दुई महिनासम्म बिरामीहरूले प्रत्येक औषधी खाए नखाएको यकिन गर्छन्। यद्यपि, यसो गर्नु सधैं सजिलो हुँदैन किनभने प्रायजसो टिबी रोगीहरू समाजका निम्नवर्गीय सदस्यहरू हुन्छन्। तिनीहरूको जीवन प्रायजसो गञ्जागोलपूर्ण र समस्याग्रस्त हुने र कतिपय घरबारविहीन हुने हुँदा तिनीहरूले औषधी खाए कि खाएनन् भनेर नियमित तवरमा हेर्नु एकदमै गाह्रो हुनसक्छ।
त्यसोभए, मानिसजातिमा आइपरेको यो विपत्तिमाथि विजय हासिल गर्न सकिने कुनै आशा छ त?
[पृष्ठ ५-मा भएको पेटी]
टिबी तथ्य विवरणिका
विवरण: टिबी भनेको यस्तो रोग हो जसले प्रायः फोक्सो बिगार्नुका साथै शरीरका अन्य भागहरू विशेषगरि मस्तिष्क, मृगौला र हड्डीहरूमा पनि फैलनसक्छ।
लक्षणहरू: फोक्सोको टिबी लाग्दा खोकी, वजन घट्ने, राती खलखली पसिना बग्ने, कमजोरी, स्वाँस्वाँ हुने र छाती दुख्नसक्छ।
कसरी पत्ता लाग्छ: क्षयरोगको लागि छाला परीक्षण गरेपछि जीवाणुले संक्रमण भए नभएको पत्ता लाग्छ। छातीको एक्सरेले फोक्सोमा भएको बिगार देखिन्छ र यसबाट सक्रिय टिबी संक्रमण भए नभएको पत्ता लाग्छ। प्रयोगशालामा बिरामीको खकार परीक्षण गरेर टिबी जीवाणु पत्ता लगाउनु सबैभन्दा भरपर्दो तरिका हो।
क-कसले जँचाउनुपर्छ: जस-जसमा टिबी लक्षण देखा परेको छ वा विशेषगरि हावा राम्ररी आवतजावत नहुने कोठामा टिबी रोगीसँगै बस्नुपरेकाहरूले।
खोप: यसको लागि अहिलेसम्म एउटै मात्र खोप छ। त्यो हो, बी सी जि। यसले बच्चाहरूमा टिबी चर्किन दिंदैन तर किशोरकिशोरी तथा वयस्कहरूलाई भने त्यति फाइदा गर्दैन। यस खोपले बढीमा १५ वर्षसम्म रोकथाम गर्छ। संक्रमण नभएकाहरूलाई मात्र बी सी जि-ले बचाउँछ तर संक्रमण भइसकेकाहरूलाई यसले केही लाभ पुऱ्याउँदैन।
[पृष्ठ ६-मा भएको पेटी]
टिबी र फेसन
सुन्दा अत्यन्तै अनौठो लाग्छ, तर १९ औं शताब्दीमा मानिसहरूले टिबीलाई आकर्षक ठान्थे किनभने यस रोगका लक्षणहरूले मानिसहरूमा संवेदनशीलता, कलाप्रवृत्त मनोभाव बढाउँछ भन्ने धारणा थियो।
फ्रान्सिसी नाटककार तथा उपन्यासकार आलेक्जान्ड्रा डुमासले १८२० दशकको सुरु-सुरुतिर आफ्नो मेम्वार-मा यसप्रकार लेखे: “कविहरूले छाती दुख्यो भन्नु असाध्यै फेसनदार ठानिन्थ्यो; विशेषगरि कविहरू सबैलाई टिबी लागेको हुन्थ्यो; तीस वर्ष नपुग्दै मर्नेहरूलाई समाजमा तारिफ गरिन्थ्यो।”
भनिन्छ, अंग्रेजी कवि लर्ड बाइरनले यसो भने: “म क्षयरोग [टिबी] लागेर मर्न चाहन्छु . . . किनभने तब स्त्रीहरू सबैले यसो भन्नेछन्, ‘बिचरा बाइरनलाई हेर त, मृत अवस्थामा समेत तिनी कस्तो रोमान्टिक देखिन्छन्!’ ”
स्पष्टतः अमेरिकी लेखक हेन्री थोरू पनि टिबीको कारण मरे र तिनले यसो लेखे: “टिबीको हनहनी ज्वरोजस्तै . . . अस्वस्थता र रोग प्रायजसो राम्रो हुन्छ।”
टिबीदेखि यत्तिको रोमाञ्चित हुने सन्दर्भमा द जर्नल अफ दी अमेरिकन मेडिकल एसोसिएशन-को एउटा लेखमा यस्तो भनिएको थियो: “यस रोगप्रतिको यस्तो असंगतपूर्ण मोह तत्कालीन फेसनमा झल्किन्थ्यो; स्त्रीहरू मलिन, नाजुक रूप रुचाउँथे, सेतो मेकअप दल्थे अनि पातलो मलमलको लुगा लगाउँथे। तिनीहरूको रूपरंग तथा पहिरन हाड र छाला मात्र देखिने अहिलेका मोडेलहरूसित मिल्दोजुल्दो थियो।”
[पृष्ठ ७-मा भएको पेटी]
के टिबी सजिलै लाग्नसक्छ?
विश्व स्वास्थ्य संगठनको अन्तरराष्ट्रिय टिबी कार्यक्रमका निर्देशक डा. अराता कोची यस्तो चेताउनी दिन्छन्, “खोकी वा हाच्छिउँबाट हावामा फ्याँकिएको टिबी जीवाणु श्वासप्रश्वास गर्ने जोसुकैलाई पनि टिबी लाग्नसक्छ। यी जीवाणुहरू हावामा घण्टौं, वर्षौसम्म रहिरहन सक्छ। हामी सबैलाई यसको खतरा छ।”
तथापि, कसैलाई टिबी लाग्नुभन्दा पहिले दुइटा कुरा हुनु खाँचो छ। सर्वप्रथम, उसलाई टिबी जीवाणुले संक्रमण गरेको हुनुपर्छ। दोस्रो, संक्रमण बढेर रोग लागेको हुनुपर्छ।
अरूलाई रोग तुरुन्तै सार्नसक्ने व्यक्तिसित छिनभर मात्र सँगै बस्दा पनि रोग सर्नसक्छ, नसर्ने होइन तर टिबी प्रायः सधैंजसो त्यही व्यक्तिसित बसिरहँदा सर्ने सम्भावना बढी हुन्छ। जस्तो, गुजमुज्ज अवस्थामा सँगै बस्ने परिवारका सदस्यहरू।
श्वासप्रश्वास गर्दा शरीरभित्र छिरेको टिबी जीवाणु छातीमा पुगेपछि बढ्न छिट्छिटो फैलन थाल्छ। तथापि, १० जनामध्ये ९ जना व्यक्तिको रोग प्रतिरोधात्मक प्रणालीले संक्रमण हुनदेखि बचाउँछ र संक्रमण भएको व्यक्ति बिरामी हुँदैन। तर एच आइ भी, मधुमेह, क्यान्सरको लागि केमोथेरापी उपचार वा अन्य कारणहरूले गर्दा रोग प्रतिरोधात्मक प्रणाली असाध्यै कमजोर भएको छ भने निष्क्रिय जीवाणु पनि कहिलेकाहीं सक्रिय हुनसक्छ।
[पृष्ठ ४-मा भएको चित्रको स्रोत]
New Jersey Medical School—National Tuberculosis Center
[पृष्ठ ७-मा भएको चित्र]
एड्स भाइरसले गर्दा फुत्केका टिबी जीवाणुहरू ढकनी टम्म बन्द भएको टोकरीबाट फुत्केका गोमनहरूजस्तै हुन्