छोराछोरीसितको बिछोड सहन सिक्ने
वीर योद्धाको हातमा भएका काँड़झैं युवावस्थाका छोराहरू हुन्छन्” भनी बाइबलका भजनहारले लेखे। (भजन १२७:४) काँड निसानामा लाग्नु संयोगको कुरा होइन। दत्तचित्त भएर ताक्नुपर्छ। त्यसरी नै आमाबाबुको डोऱ्याइ नपाएका छोराछोरीहरू जिम्मेवार वयस्क नहुन पनि सक्छन्। बाइबलले यस्तो आग्रह गर्छ, “बालकलाई ठीक बाटोमा लगाऊ, र बृद्धावस्थामा पनि त्यसले त्यो त्याग्दैन।”—हितोपदेश २२:६.
बाल्यावस्थामा अरूमाथि निर्भर बालकहरू छिनभरमा परिवर्तन भएर आत्मनिर्भर वयस्कहरू बन्ने होइनन्। त्यसोभए, आमाबाबुले छोराछोरीलाई आत्मनिर्भर हुन कहिलेदेखि प्रशिक्षण दिन थाल्नुपर्छ त? प्रेरित पावलले जवान तिमोथीलाई यो स्मरण गराए: “तिमीले बाल्यकालदेखि पवित्र लेखोटहरू जानेका छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई बुद्धिमान तुल्याउनसक्तछ।” (२ तिमोथी ३:१५) कल्पना गर्नुहोस्, तिमोथीकी आमाले उसलाई शिशु छँदादेखि आध्यात्मिक प्रशिक्षण दिन थालिन्!
शिशुहरूले त आध्यात्मिक प्रशिक्षणबाट लाभ उठाउनसक्छन् भने छोराछोरीहरूलाई वयस्क जीवनको लागि यथासम्भव चाँडो प्रशिक्षण दिनु व्यवहारिक होइन र? मदत गर्ने एउटा तरिका हो, तिनीहरूलाई जिम्मेवार हुन र आफै निर्णय गर्न सिकाउने।
छोराछोरीहरूलाई जिम्मेवार हुन सिकाउने
तपाईं आफ्ना छोराछोरीलाई जिम्मेवार हुन कसरी प्रोत्साहन दिन सक्नुहुन्छ? विवाहित दम्पती ज्याक र नोराले आफ्नी छोरीबारे यसो भने: “उनले टुकुटुक हिंड्न थालेदेखि नै सुत्ने कोठामा जाँदा आफ्नो मोजा वा सानातिना मालतालहरू लगेर जुन घर्रामा राख्नुपर्ने हो, त्यहाँ राख्न सिकिन्। उनले खेलौना तथा किताबहरू पनि ठीक ठाउँमा राख्न सिकिन्।” हुन त यी सानातिना कुराहरू हुन् तर बच्चाले जिम्मेवार निर्णयहरू गर्न सिकिरहेका थिए।
बच्चा हुर्कंदै जाँदा उनलाई अलि गहन जिम्मेवारीहरू सुम्पन सकिन्छ। अब्रा र अनिताले आफ्नी छोरीलाई कुकुर पाल्ने अनुमति दिए। त्यस कुकुरको हेरचाह यही सानी बच्चीको जिम्मामा थियो र त्यसको स्याहारसुसार गर्न उनले आफ्नो पाकेटखर्चसमेत चलाइन्। छोराछोरीहरूलाई जिम्मेवार हुन सिकाउन धीरज चाहिन्छ। तर यो सार्थक हुनुका साथै यसले भावनात्मक वृद्धिमा योगदान पुऱ्याउँछ।
छोराछोरीलाई जिम्मेवारी वहन गर्न सिकाउने अर्को मौका घरायसी कामकुराहरू गर्न लगाउनु हो। छोराछोरीले मदतभन्दा अलमल बढी गर्छन् भन्ठानेर कोही कोही आमाबाबु तिनीहरूलाई घरायसी कामहरू छुनै दिंदैनन्। अरू चाहिं ‘आफूले उपभोग गर्न नपाएको सुखसुविधा छोराछोरीले पाऊन्’ भन्ने सोचाइ राख्छन्। यो सोचाइ ठीक होइन। धर्मशास्त्र यसो भन्छ: “दासलाई बाल्यकालदेखिनै खूब लाड़-प्यार गऱ्यो भने आखिरमा त्यो कृतघ्न हुन्छ।” (हितोपदेश २९:२१) यस पदको सिद्धान्त छोराछोरीमा पक्कै लागू हुन्छ। किशोरकिशोरीहरू वयस्क जीवनमा प्रवेश गर्दा “कृतघ्न” हुनुका साथै सानोभन्दा सानो घरायसी कामहरू पनि गर्न नसक्नु दुःखको कुरा हो।
बाइबलकालीन किशोरकिशोरीहरूलाई घरायसी कामधन्दाहरू अह्राउने चलन थियो। उदाहरणका लागि, १७ वर्षको कलिलो उमेरमा यूसुफले आफ्नो परिवारको भेडा-बाख्रा चराउने जिम्मा लिएका थिए। (उत्पत्ति ३७:२) यो कुनै सानोतिनो काम थिएन किनभने उनको बुबाको बगाल निकै ठूलो थियो। (उत्पत्ति ३२:१३-१५) पछि गएर यूसुफ एक प्रभावशाली व्यक्ति हुनुको एउटा कारण बाल्यावस्थामा पाएको प्रशिक्षणले उनको व्यक्तित्वमा पारेको सकारात्मक असर पनि हुनसक्छ। त्यसरी नै इस्राएलका भावी राजा दाऊदको काँधमा युवावस्थामै परिवारको बगाल हेरचाह गर्ने जिम्मेवारी सुम्पिएको थियो।—१ शमूएल १६:११.
यसबाट अहिलेका आमाबाबुले कस्तो पाठ सिक्नसक्छन्? आफ्ना छोराछोरीलाई अर्थपूर्ण घरायसी कामधन्दा सुम्पनुहोस्। धैर्यधारण गर्दै समय र मेहनत लगाउनुभएर सरसफाई गर्ने, खाना पकाउने, बगैंचा हेरचाह गर्ने, घरायसी तथा गाडीको मर्मत गर्ने इत्यादि कार्यहरू स-साना केटाकेटीहरूलाई सिकाउन सक्नुहुन्छ। हुन त बच्चाको उमेर र योग्यताले पनि निकै फरक पार्छ। तर साना छोराछोरीले समेत ‘मोटरसाइकल बनाउन ड्याडीलाई’ वा ‘खाना पकाउन ममीलाई’ सघाउनसक्छन्।
छोराछोरीलाई घरायसी कामधन्दा सिकाउँदा आमाबाबुले एउटा अत्यन्त बहुमूल्य उपहार दिनु खाँचो छ। त्यो हो, आफ्नो समय। छोराछोरीलाई प्रशिक्षण दिने सन्दर्भमा दुई छोराका आमाबाबुलाई तिनीहरूको सफलताको रहस्यबारे सोधिएको थियो। तिनीहरूले यस्तो जवाफ दिए: “समय, समय, समय!”
मायालु सुधार
छोराछोरीले आफूलाई अह्राएको काम राम्ररी गर्दा वा प्रयास भए पनि गर्दा निष्कपट तथा साँचो प्रशंसा गरेर तिनीहरूलाई प्रोत्साहन दिनुहोस्! (मत्ती २५:२१ तुलना गर्नुहोस्।) निस्सन्देह, केटाकेटी तथा वयस्कको योग्यता एकैनासे हुँदैन। अनि छोराछोरीलाई नै निर्णय गर्न दिंदा तिनीहरूले प्रायजसो गल्तीहरू गर्नेछन्। तर अचाक्ली नाटीकुटी नहुन सतर्क हुनुहोस्! के तपाईं वयस्क भएर पनि गल्तीहरू गर्नुहुन्न र? त्यसकारण, आफ्नो बच्चाले गल्ती गर्दा धीरज देखाउनुभएमा कसो होला? (भजन १०३:१३ तुलना गर्नुहोस्।) गल्तीहरू हुनसक्छन् भनेर मानी लिनुहोस्। गल्तीहरूलाई पाठ सिक्दै अगि बढ्ने खुड्किलो सम्झनुहोस्।
लेखक द्वय माइकल शुल्मन तथा इभा मेक्लर यस्तो टिप्पणी गर्छन्: “मित्रैलो ढंगमा व्यवहार गरिएका केटाकेटीहरूलाई कसैको भर नपरी आफैले कुनै काम गर्दा सजाय भोग्नुपर्ला भन्ने डर हुँदैन।” तथापि, “निष्ठूर वा कठोर आमाबाबुका छोराछोरीहरू आफैले सोचविचार गरेर मदतकारी कार्य गर्न पनि डराउँछन् किनभने तिनीहरूलाई आफूले गरेको काममा आमाबाबुले गल्ती भेटाएर आलोचना गर्ला वा सजाय देला भन्ने डर हुन्छ।” यो भनाइ बाइबलले आमाबाबुलाई दिने चेताउनीसित मेल खान्छ: “आफ्ना केटा-केटीहरूलाई रीस नउठाओ, र तिनीहरू खिन्न नहोऊन्।” (कलस्सी ३:२१) अतः तपाईंले सोचेअनुसार बच्चाले कुनै काम गर्न नसक्दा प्रयास भए पनि गरेकोमा उसको प्रशंसा गरे कसो होला? अर्को पाली अझ राम्रोसित गर्ने प्रोत्साहन दिनुहोस्। उसको प्रयासमा तपाईं आनन्दित हुनुहुन्छ भनेर उसलाई थाह दिनुहोस्। बच्चाले तपाईंको माया पाएको महसुस गरोस्।
निस्सन्देह, कहिलेकाहीं सच्याउनुपर्ने हुन्छ। यो विशेषगरि किशोरावस्थामा लागू हुन्छ जब तिनीहरू आफ्नो चिनारी बनाउन व्यस्त हुन्छन्, आफ्नै योग्यताहरूको आधारमा अरूले स्वीकारेको चाहन्छन्। तसर्थ, छोराछोरीले यसो गर्दा सधैं विद्रोह गरेको ठान्नुको साटो आत्मनिर्भर हुन खोजेको हो भन्ठान्नु बुद्धिमानी हुन्छ।
हो, किशोरकिशोरीहरू जे मनमा लाग्यो त्यो गरिहाल्ने वा “जवानीका अभिलाषाहरू[को]” पछि लाग्ने स्वभावका हुन्छन्। (२ तिमोथी २:२२) त्यसकारण, युवावस्थाको गतिविधिमा सीमा तोक्न सक्नुभएन भने त्यसले उसलाई भावनात्मक तवरमा हानि पुऱ्याउनसक्छ; उसले आत्मसंयम वा आत्मअनुशासन भनेको के हो, कहिल्यै सिक्नेछैनन्। बाइबल यस्तो चेताउनी दिन्छ: “छाड़ा छोड़ेको छोराले आफ्नी आमालाई लाजमा पार्छ।” (हितोपदेश २९:१५) तर मायालु ढंगमा दिइएको उचित अनुशासन लाभकारी हुनुका साथै किशोरकिशोरीलाई वयस्क जीवनको माग पूरा गर्न तथा दबाबहरूको सामना गर्न तयार बनाउँछ। बाइबल यस्तो आग्रह गर्छ: “छड़ी नचलाउने बाबुले छोरालाई घृणा गर्छ, तर छोरालाई प्रेम गर्नेले त्यसलाई बाल्यवस्थादेखिनै अनुशासनमा राख्छ।” (हितोपदेश १३:२४) तर नबिर्सनुहोस्, अनुशासनको अर्थ सिकाउनु र प्रशिक्षण दिनु हो, सजाय होइन। यहाँ प्रयोग गरिएको “छडी” शब्दले सम्भवतः गोठालाहरूले आफ्नो बगाललाई डोऱ्याउन चलाउने लट्ठीलाई बुझाउँछ। (भजन २३:४) यो कठोरता नभई मायालु डोऱ्याइको प्रतीक हो।
जीवनदायी शिक्षा
बच्चाको शिक्षाको सन्दर्भमा विशेषगरि आमाबाबुको डोऱ्याइ महत्त्वपूर्ण देखिन्छ। आफ्नो बच्चाको शिक्षामा चासो लिनुहोस्। स्कूलमा उपयुक्त विषयवस्तु छान्न तथा थप शिक्षा चाहिने वा नचाहिने सन्दर्भमा जिम्मेवार निर्णयहरू गर्न मदत दिनुहोस्।a
निस्सन्देह, सबैभन्दा महत्त्वपूर्ण शिक्षा आध्यात्मिक शिक्षा हो। (यशैया ५४:१३) वयस्कहरूको संसारमा बाँच्न छोराछोरीलाई ईश्वरीय गुणहरूको खाँचो पर्छ। तिनीहरूका “ज्ञानेन्द्रियको” अभ्यास हुनुपर्छ। (हिब्रू ५:१४) यस सन्दर्भमा आमाबाबुले निकै मदत दिनसक्छन्। यहोवाका साक्षी परिवारहरूलाई आफ्ना छोराछोरीहरूसित नियमित बाइबल अध्ययन गर्न प्रोत्साहित गरिएको छ। तिमोथीलाई शैशवकालदेखि धर्मशास्त्र सिकाउने उनकी आमाको उदाहरण पछ्याउँदै साक्षी आमाबाबुले पनि आफ्ना स-साना छोराछोरीलाई सिकाउँछन्।
एक्लैले छोराछोरीको लालनपालन गरिरहेकी बार्बरा पारिवारिक बाइबल अध्ययन सकेसम्म आफ्ना छोराछोरीको लागि रमाइलो बनाउने कोसिस गर्छिन्। “अध्ययनको साँझ छोराछोरीको निम्ति स्वादिष्ट भोजन बनाउँछु र खानापछि तिनीहरूलाई मन पर्ने मिठाई पनि दिन्छु। सबैको मुड राम्रो पार्न राज्य धुनहरू बजाउँछु। अनि प्रार्थना गरेर हामी प्रायजसो प्रहरीधरहरा पत्रिका अध्ययन गर्छौं। तर कुनै विशेष खाँचो देखियो भने युवाजनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफb (अंग्रेजी) जस्ता पुस्तकहरू अध्ययन गर्छौं।” बार्बराको कुराअनुसार छोराछोरीहरूले बाइबल अध्ययन मार्फत “यहोवाको दृष्टिकोण बुझ्ने” मदत पाउँछन्।
हो, आफ्नो बच्चालाई परमेश्वरको वचन बाइबलको ज्ञान तथा समझ दिनुजस्तो सर्वोत्तम उपहार अरू कुनै छैन। यसले “सोझाहरू[लाई] चतुस्याइँले औ युवकहरू[लाई] ज्ञान र विवेकले परिपूर्ण” हुने मदत दिनसक्छ। (हितोपदेश १:४) यसप्रकार, युवाहरू वयस्क जीवनको नयाँ दबाब तथा परिस्थितिको सामना गर्न सुसज्जित हुनसक्छन्।
तैपनि, छोराछोरीले घर छोडेर जाँदा प्रायजसो आमाबाबुको जीवनशैलीमा ठूलो परिवर्तन हुन्छ। छोराछोरीले घर छोडेर गएपछिको शून्यतालाई तिनीहरूले कसरी सहनसक्छन्, यसपछिको लेखमा छलफल गरिनेछ।
[फुटनोटहरू]
a ब्यूँझनुहोस्! (अंग्रेजी) सेप्टेम्बर ८, १९८८ अंकमा “आमाबाबु हो—तपाईंले पनि गृहकार्य गर्नुपर्छ!” श्रृंखलाका लेखहरू हेर्नुहोस्।
b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]
“निष्ठूर वा कठोर आमाबाबुका छोराछोरीहरू आफैले सोचविचार गरेर मदतकारी कार्य गर्न पनि डराउँछन् किनभने तिनीहरूलाई आफूले गरेको काममा आमाबाबुले गल्ती भेटाएर आलोचना गर्ला वा सजाय देला भन्ने डर हुन्छ।”—नैतिकवान् छोराछोरीहरू हुर्काउने (अंग्रेजी) माइकल शुल्मन तथा इभा मेक्लरद्वारा लिखित
[पृष्ठ ६-मा भएको पेटी]
एकल आमाबाबुहरू—छोराछोरीहरूसित बिछोडिनुको चुनौती
रेबेका नाउँकी एकल आमा यस्तो टिप्पणी गर्छिन्: “छोराछोरीहरूसित बिछोडिनु पर्दा एकल आमा या बाबुको मुटु छियाछिया हुन्छ। होस पुऱ्याएनौं भने पूर्णतया आफ्नो नियन्त्रणमा राख्न खोजेर तिनीहरूलाई निस्सासिदिन सक्छौं।” पारिवारिक आनन्दको रहस्य* पृष्ठ १०६-७ यी मदतकारी सुझाउहरू प्रदान गर्छन्:
“स्वाभाविकतः एक्लो आमा वा बुबा आफ्ना छोराछोरीसित ज्यादै घनिष्ठ हुन्छन्। तथापि, आमाबाबु तथा छोराछोरीबीचको ईश्वर-स्थापित सिमाना मिचिनु हुँदैन। उदाहरणका लागि, एक्ली आमाले आफ्नो छोरालाई घरको शिरले उठाउनुपर्ने जिम्मेवारी वहन गर्न लाउनु अथवा छोरीलाई दुःखसुख बाँड्ने वा गोप्य कुराहरू पोख्ने साथी बनाउनु उचित होइन। यसो गर्नु छोराछोरीलाई अनावश्यक भार बोकाउनु तथा विचलित पार्नु हो।
“छोराछोरीले तपाईंको रेखदेख गर्ने होइन तर तपाईं आमा वा बुबाले तिनीहरूको रेखदेख गर्नुहुनेछ भनी तिनीहरूलाई ढुक्क पार्नुहोस्। (२ कोरिन्थी १२:१४ तुलना गर्नुहोस्।) कहिलेकाहीं तपाईंलाई अलिकता सरसल्लाह अथवा सहायताको खाँचो पर्ला। त्यतिखेर तपाईंका नाबालिग छोराछोरीसित होइन तर मसीही प्राचीनहरू अथवा परिपक्व मसीही स्त्रीहरूसित सल्लाह माग्नुहोस्।—तितस २:३.”
आमा या बुबा मात्र भएको परिवारमा उचित सिमाना तोकेर आफ्ना छोराछोरीसित लाभदायक सम्बन्ध राख्दा छोराछोरीहरू घर छोडेर जाँदाको पीडा त्यत्तिको असह्य हुँदैन।
[फुटनोट]
वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
[पृष्ठ ७-मा भएको चित्र]
व्यवहारिक प्रशिक्षणले छोराछोरीलाई जिम्मेवार वयस्कहरू बन्न मदत गर्नसक्छ
[पृष्ठ ८-मा भएको चित्र]
पारिवारिक बाइबल अध्ययनले छोराछोरीलाई वयस्क जीवनका चुनौतीहरू सामना गर्न चाहिने बुद्धि प्रदान गर्नसक्छ