रित्तो घरमा रमाएर बस्ने
एउटी आमाले सहमति जनाउँदै यसो भनिन्, “हामीमध्ये धेरैजसो जत्ति नै तयार भए तापनि छोराछोरीले साँच्चै घर छोडेर जाँदा अक्क न बक्क हुन्छौं।” हो, एक न एक दिन आफ्ना छोराछोरीले घर छोडेर जानेछ भनी थाह भए पनि त्यस यथार्थको सामना गर्न त्यति सजिलो नहुनसक्छ। आफ्नो छोरालाई बिदाइ गरेपछिको प्रतिक्रियाबारे एक जना बुबा यसो भन्छन्: “जिन्दगीमा पहिलो चोटि . . . म धुरूधुरू रोएँ, निकै बेरसम्म रोइरहें।”
छोराछोरीले घर छोडेर गएपछि थुप्रै आमाबाबुले ठूलो शून्यता अर्थात् कहिल्यै निको नहुने चोट लागेजस्तो महसुस गर्छन्। आफ्ना छोराछोरीलाई दिनहुँ भेट्न नपाउँदा कोही कोही एकाकीपन, पीडा र बिछोडको भावनामा डुबिरहन्छन्। यस्तो नयाँ परिस्थितिमा जीवन बिताउन आमाबाबुलाई जत्तिकै छोराछोरीलाई पनि गाह्रो परिरहेको हुनसक्छ। विवाहित दम्पती एड्वर्ड र एभ्रिल हामीलाई यसरी सम्झना दिलाउँछन्: “घरमा अरू छोराछोरी छन् भने तिनीहरूले पनि यो बिछोडको पीडा महसुस गरिरहेका हुन्छन्।” उक्त दम्पती कस्तो सल्लाह दिन्छन्? “ती घरमा भएका छोराछोरीसित समय बिताउनुहोस्, यस नयाँ परिस्थितिलाई बुझ्न मदत दिनुहोस्। यसो गर्दा यो बिछोडको पीडा सहन तिनीहरूलाई सजिलो हुनेछ।”
हो, जिन्दगीको यात्रा त्यहीं टुंगिने होइन। घरमा भएका छोराछोरीको हेरचाह, तपाईंको जागिर वा घरधन्दा गर्नुछ भने त्यो पीडालाई मात्र सम्झेर बसिरहन सक्नुहुन्न। त्यसकारण, छोराछोरीले घर छोडेर गएपछि पनि आनन्दित हुनसक्ने केही तरिकाहरूमा ध्यान देऔं।
सकारात्मक पक्षमा ध्यानकेन्द्रित गर्नुहोस्
तपाईंलाई न्यास्रो वा एक्लो लागेर रून मन लाग्यो भने रूनुहोस् र कुनै सहानुभूतिशील साथीलाई आफ्नो मनको बह पोख्न मन लाग्यो भने अवश्य पोख्नुहोस्। बाइबल यसो भन्छ: “चिन्तित हृदयले मानिसलाई अशान्ति ल्याउँछ, तर दयालु वचनले त्यसलाई आनन्द दिन्छ।” (हितोपदेश १२:२५) कहिलेकाहीं अरूले जीवनमा स्फूर्ति भरिदिन सक्छन्। उदाहरणका लागि, भाल्डमार र मारियान नाउँका दम्पती यस्तो सल्लाह दिन्छन्: “यो परिस्थितिलाई कुनै कुरा गुमाउनुपरेको नठानी एउटा लक्ष्य हासिल गर्न सफल हुनुभएको ठान्नुहोस्।” सकारात्मक दृष्टिकोण भनेको यस्तो पो हो! रूडोल्फ र हिल्डा नाउँका दम्पती यसो भन्छन्, “आफ्ना छोराहरूलाई जिम्मेवार वयस्कहरू बनाउन सकेकोमा हामी खुसी छौं।”
के तपाईंले आफ्नो बच्चालाई “प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्ने प्रयास गर्नुभएको छ? (एफिसी ६:४) छ भने पनि उसले घर छोडेर जाँदा के-कस्तो होला भनेर चिन्तित हुनुहोला। तर त्यसरी पालनपोषण गर्ने आमाबाबुलाई बाइबल यस्तो आश्वासन दिन्छ, “बृद्धावस्थामा पनि त्यसले त्यो त्याग्दैन।” (हितोपदेश २२:६) तपाईंले गर्नुभएको पालनपोषणअनुसार बच्चा हुर्केको हेर्न पाउनु के अत्यन्तै सन्तोषजनक कुरा होइन र? प्रेरित यूहन्नाले आफ्नो आध्यात्मिक परिवारबारे यसो भने: “मेरा छोरा-छोरीहरू सत्यमा चलेका सुन्नभन्दा बढ़ता आनन्द अरू मलाई हुँदैन।” (३ यूहन्ना ४) सायद आफ्नो बच्चाबारे तपाईंलाई पनि त्यस्तै लाग्ला।
हो, सबै छोराछोरीले मसीही प्रशिक्षण व्यवहारमा उतार्दैनन्। हुर्किसकेका तपाईंको छोरा वा छोरीले त्यस्तो प्रशिक्षण ग्रहण गरेन भन्दैमा तपाईंले आमाबाबुको भूमिका निर्वाह गर्न सक्नुभएन भन्न मिल्दैन। ईश्वरीय मार्गमा हुर्काउन तपाईंले यथाशक्य गर्नुभएको छ भने आफूलाई बिनसित्ति नधिक्कार्नुहोस्। वयस्कको हैसियतमा तपाईंको छोरा वा छोरी स्वयम् परमेश्वरसमक्ष जिम्मेवार छन् भनेर बुझ्नुहोस्। (गलाती ६:५) पछि गएर उसले फेरि केलाएर छनौट गर्नेछन् र ताकेको ठाउँमै “काँड” लाग्नेछ भन्ने आशा गर्नुहोस्।—भजन १२७:४.
आखिर आमाबाबु भनेका आमाबाबु नै हुन्!
तपाईंको छोराछोरीले घर छोडेर जाँदा परिस्थितिमा आमूल परिवर्तन आउँछ। तर त्यसको मतलब यसउप्रान्त तपाईं आमाबाबु हुनुहुन्न भनेको होइन। मनोचिकित्सक हावर्ड हाल्पर्न यसो भन्छन्: “बाँचुञ्जेल तपाईं आमाबाबु रहनुहुन्छ तर छोराछोरीको हेरचाह तथा लालनपालनमा भने तपाईंको बेग्लै भूमिका हुन जान्छ।”
छोराछोरी हुर्किए भन्दैमा आमाबाबुको काम अन्त हुँदैन भनी बाइबलले धेरैअघि बताएको थियो। हितोपदेश २३:२२ यसो भन्छ: “तँलाई जीवन दिने तेरो बाबुका वचन सुन्, औ आफ्नी आमा वृद्ध हुँदा तिनलाई तुच्छ नठान्।” हो, आमाबाबु “वृद्ध” र छोराछोरी वयस्क भइसकेपछि पनि आमाबाबुले आफ्ना छोराछोरीको जीवनमा उल्लेखनीय प्रभाव पार्नसक्छन्। निस्सन्देह, कतिपय छाँटकाँटहरू गर्नुपर्ने हुन्छ। तर सबै प्रकारका सम्बन्धहरू बलियो तथा सन्तोषप्रद बनाउन बेलाबखतमा छाँटकाँट गरिरहनुपर्ने हुन्छ। अब तपाईंका छोराछोरीहरू हुर्किसकेका हुँदा तिनीहरूसित वयस्कलाई जस्तो व्यवहार गर्न सिक्नुहोस्। चाखलाग्दो कुरा, अध्ययनहरूले देखाएअनुसार छोराछोरीले घर छोडेर गएपछि प्रायजसो आमाबाबु र छोराछोरीबीचको सम्बन्ध अझ प्रगाढ हुन्छ! छोराछोरीले संसारका दबाबहरू आफैले भोग्नुपरेपछि आमाबाबुको अझ बढी मूल्यांकन गर्न थाल्छन्। हार्टमुट नाउँका जर्मन यसो भन्छन्: “अहिले आएर मैले आमाबाबुलाई राम्ररी बुझ्न सकेको छु र उहाँहरूले गर्नुभएका कतिपय कुराहरूको खास कारण स्पष्ट भएको छ।”
हस्तक्षेप नगर्नुहोस्
तथापि, वयस्क छोराछोरीको व्यक्तिगत जीवनमा हस्तक्षेप गर्न थाल्नुभयो भने त्यो निकै हानिकारक हुनसक्छ। (१ तिमोथी ५:१३ तुलना गर्नुहोस्।) आफ्ना सासूससुरासित निकै खटपट परिरहने एउटी बुहारी यस्तो बिलौना गर्छिन्: “हामी उहाँहरूलाई माया गर्छौं तर कुरा यति हो, हामी आफ्नै संसार बसाउन चाहन्छौं र आफै निर्णय गर्न चाहन्छौं।” हुन त हो, आफ्ना वयस्क छोराछोरीको जीवनमा कुनै विपत्ति आउनलाग्दा कोही पनि मायालु आमाबाबु टुलुटुलु हेरेर बस्दैन। तर सल्लाह जतिसुकै बुद्धिमानीपूर्ण वा साँचो मनसायले दिएको किन नहोस्, सल्लाह नमागेसम्म चुपो लागेर बस्नु नै बेस। यो विशेषगरि छोराछोरीले विवाह गरिसकेपछि लागू हुन्छ।
ब्यूँझनुहोस्! पत्रिकाले १९८३ मा यस्तो सुझाउ दिएको थियो: “आफ्नो परिवर्तित भूमिका स्वीकार्नुहोस्। बच्चा टुकुटुकु हिंड्न थालेपछि तपाईं उसित काखे बच्चालाई जस्तो व्यवहार गर्नुहुन्न। त्यसरी नै, तपाईंले असाध्यै अनमोल ठान्नुभएको लालनपालनकर्ताको भूमिकालाई अब सल्लाहकार-को भूमिकासित साटफेर गर्नुपर्छ। यो अवस्थामा वयस्क छोराछोरीको निम्ति निर्णयहरू गरिदिनु तिनलाई डकार्न लगाउनु वा स्तनपान गराउनु जत्तिकै अनुचित हुनेछ। सल्लाहकारको हैसियतमा तपाईंका निश्चित सीमाहरू हुन्छन्। आमाबाबुको नाताले आफ्ना छोराछोरीमाथि पहिलेको जस्तै अख्तियार जमाउन सक्नुहुन्न। (‘मैले भनेपछि खुरूक्क गर।’) तपाईंको छोरा वा छोरीको वयस्क भूमिकाको आदर गर्नैपर्छ।”a
तपाईंको छोराबुहारी वा छोरीज्वाइँले गरेका सबै निर्णयहरूमा तपाईं सहमत नहुनुहोला। तर विवाहको पवित्रताप्रतिको आदरले तिनीहरूको कामकुरामा अचाक्ली चासो नलिन तथा अनावश्यक हस्तक्षेप नगर्न मदत गर्नेछ। साँचो कुरा त के हो भने प्रायजसो जवान दम्पतीहरूलाई नै आफ्नो समस्या सुल्झाउन दिनु बेस हुन्छ। अन्यथा ज्वाइँ वा बुहारीलाई तपाईंको सल्लाह मन नपर्नसक्छ र यसले त्यस्तै कुनै नाजुक क्षणमा कचिंगल सृजना गर्नसक्छ र तिनीहरू आलोचनाप्रति असाध्यै संवेदनशील हुनसक्छन्। माथि उल्लिखित ब्यूँझनुहोस्! थप यस्तो सल्लाह दिन्छ: “अनावश्यक तथा तिनीहरूले राय नमाग्दा पनि सल्लाह दिने झुकाउलाई दबाउनुहोस्। यसो गर्नुभएन भने ज्वाइँ वा बुहारी तपाईंको शत्रु बन्नसक्छन्।” नियन्त्रण जमाउन खोज्नुको साटो सहयोगी हुनुहोस्। राम्रो सम्बन्ध गाँस्नुभएको छ भने सल्लाह साँच्चै चाहिएको बेला तपाईंसित सल्लाह माग्न छोरा वा छोरी हिचकिचाउनेछैनन्।
वैवाहिक बन्धनलाई अझ प्रगाढ बनाउनुहोस्
घर शून्य भएपछि धेरै दम्पतीहरूले आफ्नो वैवाहिक जीवनको आनन्द अझ बढाउने नयाँ तरिकाहरू पत्ता लगाउन सकेका छन्। बच्चालाई हुर्काउन लाग्ने समय र प्रयासले गर्दा विवाहित दम्पतीहरूले एकअर्काबीचको सम्बन्धलाई बेवास्ता गरिरहेका हुन्छन्। एउटी पत्नी यसो भन्छिन्: “अब छोराछोरीहरूको आ-आफ्नो बन्दोबस्त भइसकेको हुँदा कनराड र मैले पुनः एक अर्कालाई राम्ररी चिन्ने प्रयास गरिरहेका छौं।”
छोराछोरी हुर्काउँदाको दैनिक जिम्मेवारीहरूबाट मुक्त भएपछि अब एकअर्कासित बिताउने समय बढी होला। एउटी आमाले यस्तो टिप्पणी गरिन्: “यस फुर्सतको नयाँ समयले . . . आफूलाई राम्ररी चिन्ने, हाम्रो सम्बन्धलाई अझ राम्रोसित बुझ्ने र हाम्रा आवश्यकताहरू पूरा गर्ने क्रियाकलापमा भाग लिने मौका दिन्छ।” तिनी अझ यसो भन्छिन्: “यो समय, नयाँ कुराहरू सिक्ने तथा पहिले सोच्दै नसोचेका कुराहरू गर्ने समय हो। यद्यपि, यो समय कठिन हुनुका साथै आनन्ददायी पनि हुन्छ।”
कुनै कुनै दम्पतीहरूले आर्थिक चपेटाबाट पनि मुक्ति पाउँछन्। पहिले यत्तिकै पन्छाएका शौक तथा पेशाहरू अहिले पूरा गर्न सकिन्छ। यहोवाका साक्षीहरूमध्ये थुप्रै दम्पतीहरूले यस नवप्राप्त स्वतन्त्रतालाई आध्यात्मिक कुराहरू हासिल गर्न प्रयोग गर्छन्। हर्मन नाउँका बुबाले आफ्ना छोराछोरीहरू घर छोडेर गएपछि तिनी र तिनकी पत्नीले आफ्नो समय तुरुन्तै पूर्ण-समय सेवकाईमा लगाए।
एकल आमा या बुबाले बिछोडको लागि तयारी गर्ने
घरको सुनसान वातावरणसित घुलमिल हुन एकल आमा या बुबालाई विशेषगरि गाह्रो हुनसक्छ। आफू एक्लैले दुई छोरा हुर्काएकी आमा, रिबेका यसो भन्छिन्: “बच्चाहरू घर छोडेर जाँदा संगति र माया दिने पति हुँदैन।” यस्तो परिवारका आमाले आफ्ना छोराछोरीबाटै भावनात्मक सहयोग पाइरहेको हुनसक्छ। अनि तिनीहरूले घरखर्च पनि दिने गरिरहेका थिए भने आर्थिक बोझ पनि थपिनसक्छ।
यस्तो परिवारका कोही कोही आमाहरू आफ्नो आर्थिक अवस्था सुधार्न तालिमहरू लिन्छन् वा छोटो पढाइ कार्यक्रममा सामेल हुन्छन्। तर एकाकीपनको शून्यतालाई के गर्ने? एउटी आमा यसो भन्छिन्: “कुनै न कुनै कुरामा व्यस्त हुनु मैले लाभकारी पाएकी छु। हुनसक्छ बाइबल पढ्नु, घर सफा गर्नु वा कतै हिंड्नु वा दौडनु। तर एकाकीपन हटाउने सबैभन्दा इनामदायी तरिका कुनै आध्यात्मिक साथीसित कुरा गर्नु हो।” हो, “ठूला मनका” हुनुहोस् र नयाँ तथा इनामदायी मित्रताहरू गाँस्नुहोस्। (२ कोरिन्थी ६:१३) अत्यन्तै भावविह्वल हुँदा “अन्तरबिन्ती र प्रार्थनामा” लागिरहनुहोस्। (१ तिमोथी ५:५) छाँटकाँट गर्नुपर्ने यस कठिन घडी पार गर्न यहोवाले बल तथा सहयोग दिनुहुनेछ भनेर ढुक्क हुनुहोस्।
बिछोडमा दुःखी नहुनुहोस्
तपाईंको परिस्थिति जस्तोसुकै किन नहोस्, छोराछोरीले घर छोडेर जाँदैमा जीवनयात्रा टुंगियो नभन्ठान्नुहोस्। नता त्यसले पारिवारिक बन्धन नै खुकुलो पार्छ। मानिसहरूबीचको दूरी टाढा भए पनि बाइबलमा वर्णन गरिएको उचित प्रेमले एकतामा बाँध्नसक्छ। त्यो प्रेम “सबै कुरामा स्थिर रहन्छ। प्रेम कहिल्यै टल्दैन” भनी प्रेरित पावल हामीलाई सम्झाउँछन्। (१ कोरिन्थी १३:७, ८) छोराछोरीले घर छोडेर जाँदैमा तपाईंले परिवारमा खेती गर्नुभएको निस्वार्थ प्रेम टल्दैन।
चाखलाग्दो कुरा, बिछोडको पीडा र घरको सम्झनाले सताउँदा वा आर्थिक दबाबले पिरोल्न थाल्दा सर्वप्रथम छोराछोरीले नै आमाबाबुलाई गुहार्छन्। हान्स र इन्ग्रेट यस्तो सल्लाह दिन्छन्: “छोराछोरीहरूका निम्ति तपाईंको ढोका सधैं खुला छ भनेर तिनीहरूलाई थाह दिनुहोस्।” एकअर्काको हालखबर बुझ्न नियमित भेटघाट, चिठीपत्र वा बेलाबखत टेलिफोन गर्न सकिन्छ। ज्याक र नोराको शब्दमा भन्ने हो भने “तिनीहरूको कामकुरामा हस्तक्षेप नगरिकनै तिनीहरूप्रति चासो देखाउनुहोस्।”
छोराछोरीले घर छोडेर गएपछि तपाईंको जीवन पहिलेजस्तो हुँदैन। तर शून्य घरमा पनि तपाईंको जीवन व्यस्त, सक्रिय र सन्तोषजनक हुनसक्छ। साथै, छोराछोरीसितको तपाईंको सम्बन्धमा पनि परिवर्तन आउँछ। यद्यपि, तपाईंको सम्बन्ध भने अझै पनि आनन्ददायी र सुमधुर हुनसक्छ। प्राध्यापक जेफ्री ले र ग्यारी पिटरसन यसो भन्छन्, “आमाबाबुमा निर्भर नहुनुको अर्थ आमाबाबुप्रति प्रेम, निष्ठा वा आदर नहुनु होइन। . . . निस्सन्देह, बलियो पारिवारिक बन्धन प्रायजसो जिन्दगीभर रहिरहन्छ।” हो, तपाईंले आफ्ना छोराछोरीलाई माया गर्न कहिल्यै छोड्नुहुनेछैन र तपाईं सदाको लागि तिनीहरूको आमाबाबु नै रहिरहनुहुनेछ। अनि तपाईंले छोराछोरीमाथि सधैं नियन्त्रण जमाउन नखोज्नुभएको कुराले देखाउँछ कि तपाईं तिनीहरूलाई औधी माया गर्नुहुन्छ र तिनीहरूलाई गुमाउनुभएको छैन।
[फुटनोट]
a ब्यूँझनुहोस्! (अंग्रेजी) फेब्रुअरी ८, १९८३ अंकमा “तपाईं सधैं आमाबाबु हुनुहुनेछ” लेख हेर्नुहोस्।
[पृष्ठ १२-मा भएको ठूलो अक्षरको क्याप्सन]
“जिन्दगीमा पहिलो चोटि . . .म धुरूधुरू रोएँ, निकै बेरसम्म रोइरहें”
[पृष्ठ १०-मा भएको पेटी/चित्र]
हुर्किसकेका छोराछोरीहरूका लागि सुझाउ—बिछोडको पीडा सामना गर्न आमाबाबुलाई मदत गर्नुहोस्
छोडिनु भन्दा छोड्नुको वेदना सहन सामान्यतया सजिलो हुन्छ। तपाईं आफ्नो आत्मनिर्भरता र वयस्क जीवन देखेर दंग हुनुहोला। तर आमाबाबुलाई यस नयाँ परिस्थितिमा छाँटकाँट गर्न गाह्रो परिरहेको छ भने उहाँहरूप्रति दया देखाउनुहोस्, उहाँहरूको कुरा बुझ्नुहोस्। उहाँहरूले तपाईंको माया र स्नेह सधैं पाइरहनुहुनेछ भनेर ढुक्क पार्नुहोस्। छोटो चिठी, अप्रत्याशित उपहार वा मित्रैलो टेलिफोन कुराकानीले पनि खिन्न आमाबाबुलाई खुशी पार्नसक्छ! तपाईंको जीवनमा भइरहेका महत्त्वपूर्ण घटनाहरूबारे तिनीहरूलाई थाह दिनुहोस्। यसो गर्दा पारिवारिक बन्धन अझै बलियो रहेछ भनेर तिनीहरू ढुक्क हुनेछन्।
वयस्क जीवनको दबाब सामना गर्दै जानुहुँदा तपाईंको हेरचाह गर्न आमाबाबुले के-कस्ता अनुभव गर्नुभयो भनी अझ राम्ररी बुझ्नुहुनेछ होला। सायद यस नयाँ परिस्थितिले गर्दा तपाईं आमाबाबुलाई यसो भन्न जुरमुरिनुहुनेछ: “मेरो लागि जे-जति गर्नुभयो, त्यसको लागि धन्यवाद!”