प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ८/८ पृ. २२-२५
  • डेंग—टोकाइबाट आउने ज्वरो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डेंग—टोकाइबाट आउने ज्वरो
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के हो डेंग?
  • “विश्‍व जनसंख्याको पाँच भागको दुई भाग” खतरामा
  • डि एच एफ-का खास खतराहरू
  • तपाईंको परिवारलाई जोगाउने
  • रोकथाम गर्ने उपायहरू
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००१
  • किन पुनः देखा पऱ्‍यो?
    ब्यूँझनुहोस्‌!—२००३
  • कीराले सार्ने रोग—एउटा बढ्‌दो समस्या
    ब्यूँझनुहोस्‌!—२००३
  • जब तपाईंको बच्चालाई जरो आउँछ
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ८/८ पृ. २२-२५

डेंग—टोकाइबाट आउने ज्वरो

फिलिपिन्सका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

सानी बच्चीको हातमा लामखुट्टे बसेको यादै हुँदैन। त्यो कीराले तुरुन्तै तिनको छालालाई छेडेर रक्‍तनलीमा मुख गाड्‌छ। एकछिनपछि आमाले छोरीलाई हेर्दा लामखुट्टे देख्छिन्‌। देख्ने बित्तिकै यसो हिर्काउँदा त्यो भागिहाल्छ। के त्यतिकैमा कुरा सिद्धियो? नसिद्धिन पनि सक्छ। लामखुट्टे त भाग्यो तर त्यसले छिनभरमै बच्चीको रक्‍तनलीमा आक्रमण गरेर रोगका नचाहिंदा जीवाणुहरू शरीरभित्र छोड्‌छ।

दुई हप्ताभित्रै बच्चीको जीउ चिसो हुन्छ, टाउको र आँखापछाडि दुख्छ, जोर्नीहरू कटकटी दुख्छ साथै धेरै ज्वरो आउनसक्छ। बिमारी बढ्‌दै जाँदा उसलाई रातो डाबर आउन थाल्छ र लखतरान हुन्छे। उसलाई डेंग अर्थात्‌ लामखुट्टेको टोकाइबाट आउने ज्वरोले समातेको छ।

तथापि, विशेषगरि बच्चीलाई पहिला पनि डेंग संक्रमण भइसकेको छ भने डेंगको अझ भयानक रूप अर्थात्‌ डेंग हेमोराजिक ज्वरो (डि एच एफ) हुनसक्छ। यो लागेपछि कोषिकाहरू चुहिन थाल्छ र छालामा रक्‍तस्राव हुन्छ। आन्तरिक रक्‍तस्राव पनि हुनसक्छ। उचित उपचार नगरेमा बिरामीले होस गुमाउनुका साथै रक्‍तसञ्चार क्रिया नै बन्द हुनसक्छ जसको कारण तुरुन्तै मृत्यु हुनसक्छ।

डेंग भनेको वास्तवमा के हो? के यसले तपाईंलाई असर गर्नसक्छ? तपाईंले आफू र परिवारलाई कसरी जोगाउन सक्नुहुन्छ? आउनुहोस्‌, हामी नियालेर हेरौं।

के हो डेंग?

डेंगलाई अंग्रेजीमा ब्रेकबोन ज्वरो पनि भनिन्छ र यो लामखुट्टेको टोकाइको कारण हुने थुप्रै रोगहरूमध्ये एउटा हो। यो रोग वास्तवमा जीवाणुको कारण हुन्छ। संक्रमित लामखुट्टेको (त्यसको अर्थ, संक्रमित मानिसलाई पहिला टोकिसकेको लामखुट्टे) जीवाणु ऱ्‍याल ग्रन्थीमा हुन्छ। रगत चुस्न मानिसलाई टोक्दा त्यो जीवाणु मानिसमा सारिदिन्छ।

डेंग जीवाणुहरू चार प्रकारका छन्‌। एक प्रकारको संक्रमण भयो भने अन्य तीन प्रकारबाट प्रतिरक्षा पाउँदैन। एउटा प्रकारको जीवाणुले संक्रमण भएको छ र त्यति नै बेला अर्को प्रकारको संक्रमण भएको लामखुट्टेले बिरामीलाई टोक्यो भने डि एच एफ हुनसक्छ।

“विश्‍व जनसंख्याको पाँच भागको दुई भाग” खतरामा

विश्‍व स्वास्थ्य संघ (डब्लु एच ओ) अनुसार डेंगले २.५ अरब मानिसहरू अर्थात्‌ “विश्‍व जनसंख्याको पाँच भागको दुई भागलाई” खतरामा पारेको छ। एसियावीक-ले गरेको रिपोर्टअनुसार: “१०० भन्दा बढी उष्ण कटिबन्धीय तथा कटिबन्धीय मुलुकहरूले डेंग प्रकोप चलेको रिपोर्ट गरेका छन्‌ र वर्षेनी दसौं लाख संक्रमित भएको रिपोर्ट गरिन्छ जसमध्ये ९५ प्रतिशत केटाकेटी पर्छन्‌।”

डेंग प्रथम चोटि कहिले पत्ता लगाइएको थियो, स्पष्ट छैन। कायरोमा “घुँडा ज्वरो” भनी १७७९ मा दिइएको रिपोर्टले डेंगलाई नै संकेत गरिरहेको हुनसक्छ। त्यतिबेलादेखि विश्‍वभरि डेंगबारे रिपोर्ट गरिएको छ। विशेषगरि, दोस्रो विश्‍वयुद्ध यता दक्षिणपूर्वी एसियामा डेंगले मानिसहरूलाई अत्यन्तै असर गर्न थालेको छ। विभिन्‍न प्रकारका जीवाणुहरू फैलिन थाले र यसले गर्दा झनै खतरनाक खालका रक्‍तस्रावहरू हुनथाले। डब्लु एच ओ-द्वारा प्रकाशित पत्रिका भन्छ: “एसियामा हेमोराजिक ज्वरोको प्रकोप प्रथम चोटि १९५४ मा मनिलामा देखा पऱ्‍यो।” त्यस्तैगरि अन्य देशहरू विशेषगरि थाइल्याण्ड, भियतनाम, मलेसिया तथा छिमेकी मुलुकहरूमा देखिन थाल्यो। दक्षिणपूर्वी एसियामा सुरु सुरुमा यो प्रकोप चल्दा मृत्युदर १० देखि ५० प्रतिशत थियो तर यस रोगबारे बढी जानकारी पाउन थालेपछि मृत्युदर घटेको छ।

सन्‌ १९६० को दशक यता संक्रमित लामखुट्टेलाई नियन्त्रण गर्ने कार्यक्रममा शिथिलता आएको कारण डेंग ज्वरो विस्फोटक ढंगमा वृद्धि भएको छ। डेंगजस्तै डि एच एफ पनि फैलिएको छ। सन्‌ १९७० अघि ९ देशहरूमा मात्रै महामारी फैलिएको थियो तर १९९५ सम्ममा त्यो संख्या बढेर ४१ पुगेको छ। डब्लु एच ओ-ले वर्षेनी डि एच एफ-का ५,००,००० बिरामी अस्पतालमा भर्ना हुनुपरेको अनुमान गरेको छ।

प्रायः यस रोगबारे उष्ण कटिबन्धीय क्षेत्रबाहिरका मानिसहरूलाई त्यति जानकारी नभए तापनि रोग लाग्नसक्ने खतरामूलक इलाकाहरूमा जाने केही यात्रुहरू यस रोगको सिकार भएका छन्‌ र त्यहाँबाट फर्कंदा तिनीहरूले आफूसँगै त्यो रोग ल्याएका छन्‌। उदाहरणका लागि, द न्यु योर्क टाइम्स-ले बताएअनुसार १९९६ को अन्ततिर संयुक्‍त राज्यको मासाचुसेट्‌स, न्यु योर्क, ओरिगन तथा टेक्ससमा डेंग ज्वरो देखा पऱ्‍यो।

डि एच एफ-का खास खतराहरू

माथि उल्लेख गरिएझैं डि एच एफ डेंगको जीवनघातक रूप हो। डि एच एफ-को एउटा खतरा के हो भने, मानिसहरू यो रोग त्यति खतरनाक होइन भन्ठान्छन्‌। थुप्रैले यो साधारण रुघाखोकी ज्वरो मात्र हो भन्ठान्छन्‌। तथापि, उपचार गर्न ढिलाइ गर्दा अवस्था झनै गम्भीर हुनसक्छ, जसले गर्दा रगतमा प्लेटलेट्‌स संख्या स्वात्तै घट्‌छ, (आन्तरिक रक्‍तस्राव वा गिजा, नाक वा छालाबाट) रक्‍तस्राव हुनथाल्छ र रक्‍तचाप असाध्यै कम हुन्छ। बिरामी ढल्नसक्छ। परिवारले अवस्था अत्यन्तै गम्भीर हो भनेर थाह पाउञ्जेल बिरामी बेहोस भइसकेको हुन्छ। तिनीहरू तिनलाई अस्पताल दगुराउँछन्‌। अस्पतालमा डाक्टरहरूले जाँच गर्दा तिनको रक्‍तसञ्चार अनियमित भइसकेको पाउँछन्‌। अवस्था अत्यन्तै गम्भीर भएको हुँदा नसाबाट झोल पदार्थ दिइन्छ।

तपाईंको परिवारलाई जोगाउने

यस खतरनाक रोगबाट बच्न के गर्न सकिन्छ? तपाईं बस्ने ठाउँमा डेंग ज्वरो फैलिएको छ र परिवारको कुनै सदस्यलाई एक दिनभन्दा लामो समयसम्म धेरै ज्वरो आइरहेको छ भने डाक्टरलाई जँचाउनु बुद्धिमानी हुनेछ। बिरामीको शरीरमा डाबर आउने वा मांसपेसी र जोर्नी वा आँखापछाडि दुख्नेजस्ता डेंगका अन्य लक्षणहरू देखा पर्न थाल्यो भने डाक्टरकहाँ लैजानु झनै महत्त्वपूर्ण हुन्छ।

डाक्टरले रक्‍त परीक्षण गर्लान्‌। रक्‍तस्राव नहुने खालको डेंगलाई साधारण उपचार मात्रै पर्याप्त हुनसक्छ। तर परीक्षणले डि एच एफ भएको देखाउँछ भने डाक्टरले सम्भवतः समय समयमा रीतिपूर्वक झोल पदार्थ पिउने सुझाउ दिनसक्छन्‌। पखाला लाग्दा प्रयोग गरिने जस्तै पुनर्जलीय झोल पदार्थ वा अझ गम्भीर अवस्थामा रिंगर्स सलुसन प्रयोग गरेर नसाबाट झोल पदार्थ, सलाइन सलुसन वा अन्य दिनसक्छन्‌। बेहोस भएको बिरामीलाई डाक्टरले रक्‍तचाप र प्लेटलेट्‌स संख्या बढाउन केही खास औषधीहरू दिनसक्छन्‌।

अचाक्ली रक्‍तस्राव भएको छ भने डाक्टरले रक्‍तक्षेपण गर्ने सुझाउ पनि दिनसक्छन्‌। कसै कसैले अन्य विकल्पहरूबारे विचारै नगरी तुरुन्तै रक्‍तक्षेपण गर्न लगाउनसक्छन्‌। तथापि, त्यसो गर्नु परमेश्‍वरको व्यवस्था विपरीत मात्र नभई अक्सर अनावश्‍यक हुन्छ। (प्रेरित १५:२९) रोग लाग्ने बित्तिकै नियमित रीतिले झोल पदार्थ लिनु नै उपचारको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो भनी अनुभवले देखाएको छ। डाक्टर र बिरामीबीच राम्रो सहयोगी भावद्वारा पनि पछि रक्‍तक्षेपणको विषयमा वादविवादबाट बच्न सकिन्छ। यी सबै कुराले कुनै मानिसलाई डि एच एफ भएको शंका लाग्ने बित्तिकै उपचार गर्नुपर्ने महत्त्वलाई जोड दिन्छ।—“के कस्ता लक्षणहरू देखिन्छन्‌?” पेटी हेर्नुहोस्‌।

रोकथाम गर्ने उपायहरू

डेंग जीवाणु बोक्ने सबैभन्दा प्रमुख लामखुट्टे आइडेस आइजीप्टी हो। विश्‍वभरिकै उष्ण कटिबन्धीय र कटिबन्धीय क्षेत्रमा यो जीवाणु सामान्यतया पाइन्छ। (साथमा दिइएको मानचित्र हेर्नुहोस्‌।) आइडेस आइजीप्टी लामखुट्टे घना बस्ती भएको ठाउँमा फस्टाउँछ। यस रोग नियन्त्रण गर्न लामखुट्टेलाई नियन्त्रणमा राख्नु महत्त्वपूर्ण छ।

विश्‍वव्यापी रूपमा लामखुट्टेलाई नियन्त्रणमा राख्नु सजिलो कुरा होइन। तथापि, तपाईंको घर वरपर खतरा कम गर्नसक्ने तरिकाहरू छन्‌। पोथी लामखुट्टेले पानीमा फुल पार्छे। एक हप्ता वा त्योभन्दा बढी समयसम्म पानी जम्ने ठाउँ वा भाँडो जस्तै काम नलाग्ने चक्का, फालेको क्यान, सीसी वा नरिवलको खोलमा सजिलै लार्वा फस्टाउनसक्छ। त्यस्ता भाँडाहरू मिल्काउने उचित प्रबन्ध मिलाउँदा लामखुट्टेले फुल पार्न ठाउँ पाउँदैन। यसबाहेक, बाल्टिन वा डुंगाहरू घोप्टाएर राख्ने सल्लाह दिइन्छ। खाल्टोहरूमा पानी जम्न नदिनु पनि बेस हो। चाखलाग्दो कुरा, १९९७/९८ शैक्षिक सत्रको सुरुमा फिलिपिन्सको स्वास्थ्य विभागले यही कारणले गर्दा कक्षाकोठामा फूलदान पनि नराख्ने सल्लाह दियो।

घरमा कसैलाई डेंग लागेको छ भने बिरामीलाई अरू लामखुट्टेले टोक्न नदिनुहोस्‌ किनभने लामखुट्टेले अरूलाई पनि सार्नसक्छ। राम्ररी जाली लगाएको वा वातानुकूल भएको भवन सुरक्षा हुनसक्छ।

खोप नि? उचित खोप हाल उपलब्ध छैन। खोपको विकास गर्न अनुसन्धान भइरहेको छ तर यो जटिल छ किनभने पूर्णतया सुरक्षित हुन चारै प्रकारको डेंग विरुद्ध खोप चाहिन्छ। वास्तवमा एक प्रकारको डेंग विरुद्ध मात्र खोपले डि एच एफ-को खतरा झनै बढाउँछ। पाँच, दस वर्षमा प्रभावकारी खोप उपलब्ध हुनेछ भन्‍ने कुरामा अनुसन्धानकर्ताहरू आशावादी छन्‌।

केही अनुसन्धानकर्ताहरूले अर्को तरिकाबारे पनि अनुसन्धान गरिरहेका छन्‌। जेनेटिक इन्जिनियरिङ प्रयोग गरेर लामखुट्टेको ऱ्‍यालमा डेंग जीवाणु दोब्बर हुनबाट रोक्न सकिने कुरामा आशावादी छन्‌। योजनाअनुसार यो प्रभावकारी भएको खण्डमा त्यस्ता जेनेटिकली इन्जिनियरिङ गरिएको लामखुट्टेले आफ्नो सन्तानलाई डेंग विरुद्ध प्रतिरक्षा शक्‍ति दिनेछ। केही उन्‍नतिहरू भए तापनि यो कत्तिको सफल हुनेछ समयले नै बताउनेछ।

हाल, डेंगलाई पूर्णतया उन्मूलन गर्नु असम्भवै देखिन्छ। व्यवहारिक सावधानीहरू अपनाउँदा तपाईं अनि तपाईंका प्रिय जनहरूको जीवनलाई नै खतरामा पार्ने टोकाइबाट हुने डेंग ज्वरोबाट बच्न सक्नुहुन्छ।

[पृष्ठ २३-मा भएको पेटी]

के कस्ता लक्षणहरू देखिन्छन्‌?

डेंग ज्वरो र डेंग हेमोराजिक ज्वरो (डि एच एफ) दुवैका लक्षणहरू

• अचानक धेरै ज्वरो आउनु

• बेस्कन टाउको दुख्नुa

• आँखापछाडि दुख्नु

• जोर्नी तथा मांसपेशी दुख्नु

• लिम्फ गाँठो सुन्‍निनु

• डाबर आउनु

• थकान

विशेषगरि डि एच एफ-का लक्षणहरू

• अकस्मात्‌ बेहोस हुनु

• छालामा रक्‍तस्राव हुनु

• छाला, नाक, गिजाबाट रगत बग्नु

• छाला चिसो, च्यापच्याप हुनु

• बेचैनी हुनु

• मन्द धड्‌कनका साथै बेहोस हुनु (डेंग शक सिन्ड्रम)

माथि उल्लिखित लक्षणहरू देखा परेको छ भने डाक्टरलाई जँचाइ हाल्नुहोस्‌। केटाकेटीहरूलाई विशेषगरि यो रोग लाग्ने खतरा बढी हुन्छ

[फुटनोट]

a स्वास्थ्य कार्यकर्ताहरूले एस्प्रिन लिन हुँदैन भन्छन्‌ किनभने यसले झनै रक्‍तस्राव गराउनसक्छ।

[पृष्ठ २४-मा भएको पेटी]

यात्रुहरूको निम्ति सुझाउ

उष्ण कटिबन्धीय क्षेत्रमा जाने यात्रुहरू कहिलेकाहीं डेंगबाट प्रभावित हुन्छन्‌ तर डेंग हेमोराजिक ज्वरो हतपती हुँदैन किनभने यो गम्भीर रूप अक्सर दोस्रो चोटि डेंग संक्रमण भएमा मात्र लाग्छ। यात्रुहरूको निम्ति यहाँ केही सुरक्षा सुझाउहरू छन्‌:

• पूरा बाहुला भएको कमिज र पाइन्ट लाउनुहोस्‌

• लामखुट्टे प्रतिरक्षा प्रयोग गर्नुहोस्‌

• घना बस्तीमा सकेसम्म नबस्नुहोस्‌

• लामखुट्टे भित्र नआउने र झ्याल थुन्‍न मिल्ने ठाउँमा बस्नुहोस्‌

• घर फर्केपछि ज्वरो आयो भने डाक्टरलाई तपाईं कहाँ जानुभएको थियो बताउनुहोस्‌

[पृष्ठ २४-मा भएको नक्सा/चित्र]

हाल डेंगको प्रकोप चलेका इलाकाहरू

डेंग महामारीको खतरा भएका इलाकाहरू

डेंग बोक्ने लामखुट्टे “आइडेस आइजीप्टीका” प्रकारहरू

[स्रोत]

स्रोत: रोग नियन्त्रण तथा रोकथाम केन्द्र, १९९७

© Dr. Leonard E. Munstermann/Fran Heyl Associates, NYC

[पृष्ठ २५-मा भएको चित्र]

फुल पार्ने सम्भाव्य ठाउँहरू हुन्‌ (१) फालेका चक्काहरू, (२) पानी जमेको नाली, (३) फूलदान, (४) बाल्टिन वा अन्य भाँडोहरू, (५) मिल्काएका क्यानहरू, (६) ड्रम

[पृष्ठ २२-मा भएको चित्रको स्रोत]

© Dr. Leonard E. Munstermann/Fran Heyl Associates, NYC

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने