मनोरञ्जन छान्दा होसियार हुनुहोस्
मनोरञ्जनले केटाकेटीमाथि कस्तो असर पार्छ? केटाकेटीसित ३० वर्षभन्दा बढी काम गरिसकेका प्रशिक्षक तथा चिकित्सक आल्भिन पुसान यौन तथा हिंसाले भरिएको चलचित्रहरू हेरेपछि केटाकेटीहरूले त्यस्तो व्यवहार सिक्नु सामान्य हो भन्ठान्छन् भन्ने कुरामा विश्वस्त छन्। तिनी अर्को खतराबारे यसो भन्छन्: “त्यस्ता चलचित्रहरू हेरेर फर्केपछि केटाकेटीहरू भयभीत वा असाध्यै झगडालु भएको मैले देखेको छु। अरू कतिपय भने अरूसित टाँसिएर बस्ने वा औंला चुस्ने वा ओछ्यानमा मुत्ने गरेको पनि देखेको छु।” यस चिकित्सकअनुसार विशेषज्ञहरूले यस्ता आनीबानी हुनुका अन्य कारणहरूबारे सूची तयार पारेका छन्। जस्तै शारीरिक वा यौन दुर्व्यवहार भोगेका वा युद्धग्रस्त इलाकामा हुर्केका बालबच्चाहरू। “हामी कोही पनि जानाजानी बच्चालाई यस्तो अवस्थामा पर्न दिंदैनौं;” तिनी भन्छन्, “तर फेरि तिनीहरूलाई ती चलचित्रहरू हेर्न नदिन केही पनि गर्दैनौं जुन कुरा हामीले वास्तविक जीवनमा देख्यौं भने थर्कमान हुन्छौं।”
बाइबल सिद्धान्तहरू भंग नहुने मनोरञ्जन छान्न होसियार हुन मसीहीहरूसित ठोस कारण छ। उदाहरणका लागि, भजन ११:५ यसो भन्छ: “परमप्रभुले धर्मात्माको परीक्षा गर्नुहुन्छ, तर दुष्ट र अत्याचार निको मान्नेलाई उहाँको आत्माले घृणा गर्छ।” अनि मसीही प्रेरित पावलले यसप्रकार लेखे: “यसकारण पृथ्वीमा भएका तिमीहरूका अङ्गहरूलाई आत्मसंयमद्वारा वशमा पार, व्यभिचार, अशुद्धपना, उद्वेग, खराब इच्छा र लोभ, . . . रीस, क्रोध, डाह, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली, यी सबै कुरा त्याग।”—कलस्सी ३:५, ८.
यसकारण, आमाबाबुहरू आफ्ना छोराछोरी अनि आफ्नै लागि मनोरञ्जन छान्दा पनि होसियार हुनुपर्छ ताकि त्यसले “शरीरका कामहरू” नबढाओस्। (गलाती ५:१९-२१) मनोरञ्जनको गुणस्तर तथा परिमाण दुवै विचार गरेर होसियारीपूर्वक छान्नुपर्छ।—एफिसी ५:१५-१७.