बरफिलो दुर्घटना
“राष्ट्रको इतिहासमै सबैभन्दा ठूलो प्राकृतिक प्रकोप।” यस वर्षको जनवरी महिनामा क्यानाडाको ओन्टारियो, क्युबेक र न्यु ब्रन्स्वीकलाई क्षतिग्रस्त बनाएको हिम आँधीबेहरीबारे द टरोन्टो स्टार-ले त्यसरी बयान गऱ्यो। संयुक्त राज्यका राष्ट्रपति बिल क्लिन्टनले मेन, न्यु हमशायरका साथसाथै भर्मन्ट तथा अपस्टेट न्यु योर्कका केही क्षेत्रलाई प्रभावित क्षेत्र घोषणा गरे।
आँधीबेहरीले झन्डै ३५ व्यक्तिहरूको ज्यान लियो। त्यतिबेला पाँच दिनसम्म कठांग्रिने वर्षा भएको थियो। त्यस्तो वर्षा अक्सर केही घण्टासम्म मात्र रहन्छ तर त्यतिबेला चिसो हावाको पत्रमाथि न्यानो हावाको पत्र रहिरह्यो। त्यसैले पानी सतहमा पुग्ने बित्तिकै जम्थ्यो। यसले गर्दा आठ सेन्टिमिटरसम्म बाक्लो हिउँ जमेको थियो। त्यत्रो हिउँको बोझले गर्दा थुप्रै रूख, बिजुलीको तार, खम्बा तथा प्रसारण टावरहरू सबै ढले र अक्सर यी सबैको नतिजा भयावहपूर्ण थियो।
क्युवेकमा स्टीलका सयौं ठूल-ठूला प्रसारण टावरहरू टिनपाताको खम्बाझैं सबै भाँचिए। एक व्याकुल यात्रुले भने: “आफ्नै आँखाले मैले एउटा टावर प्लाष्टिक बटारिएजस्तै बटारिएको देखें। त्यो दुई टुक्रा भई भाँचियो अनि भकुण्डोजस्तो भयो र पछि धूलोपीठो भयो। राजमार्गभरि बिजुलीका तारहरू यत्रतत्र थिए। अगाडिको एउटा खम्बा ढलेपछि पछाडिको तीनवटा पनि के बाँकी रहन्थ्यो र।”
बरफ जमेकोले पृथ्वीलाई तीन चोटि बेर्न पुग्ने १,२०,००० किलोमिटर लामो बिजुलीका तारहरू सबै झरे! क्यानाडामा ३० देखि ४० लाख व्यक्तिहरूले तीन हप्ता र त्योभन्दा लामो समयसम्म विद्युत र ताप पाएनन्।
मेनका राज्यपाल आंगस किंगले आपत्कालीन स्थिति घोषणा गरे। त्यहाँ २,००,००० भन्दा बढी मानिसहरूले विद्युत पाएनन्। “यस राज्यमा त्योजस्तो भयावह विपत्ति कहिल्यै भएको थिएन” भनी राज्यपालले बताए। न्यु योर्कका राज्यपाल जर्ज पाटाकीले यस्तो घोषणा गरे: “सम्पूर्ण शहरमै विद्युत छैन।”
सेन्ट लरेन्स नदीको दक्षिणी किनारमा काठका झन्डै ३०,००० खम्बाहरू आँधीबेहरीको दौडान ढले। सत्र घण्टा लामो कठांग्रिने वर्षापछि नदीसँगै उत्तरी न्यु योर्कमा बस्ने जीम केलीले भने: “अब त हामीले झ्यालबाहिर केही देख्दैनौं। तुषारो वा बाफ मात्र होइन तर पूरा हिउँको ढिक्का छ। घरको सबैतिरबाट आवाजहरू आइरहेका छन्।”
केली अझै भन्छन्: “टाढाबाट बन्दुकको आवाज आएजस्तै सुनिन्छ। ड्याम्म! सुनसान। ड्याम्म! सुनसान। ड्याम्म, ड्याम्म!” त्यो आवाज रूखहरू ढलेका र टेलिफोनका खम्बाहरू भाँचिएको आवाज रहेछ भनेर पछि तिनले थाह पाए।
अनौठो कुरा के छ भने, ती ठाउँहरू क्षतिग्रस्त भए तापनि त्यहाँको भूदृश्य अत्यन्तै सुन्दर थियो। ओन्टारियोमा दुई करोडभन्दा बढी मेपल रूखहरू खतम हुनसक्ने आशंका व्यक्त गरियो र यसले मेपलको चास्नी बनाउने उद्योगलाई नै असर गर्ने थियो। मेपलको खेती गर्ने स्त्रीले यसरी विलाप गरिन्: “हाँगाबिंगा केही नभएको रूख मात्र ठिङ्ग आकाशै छोला जस्तो छ।”
“सुन्दर युद्धग्रस्त इलाका”
क्यानाडाको दोस्रो ठूलो शहर मोन्ट्रियलको वर्णन गर्दै टरोन्टो स्टार-ले शीर्षसमाचारमा त्यसरी लेखेको थियो। त्यहाँको एक बासिन्दाले भनिन्: “बाटोहरूमा पूरै बम वर्षा भएजस्तो देखिन्छ!” मोन्ट्रियलमा मात्रै ५० करोड क्यानेडियन डलरभन्दा बढी क्षति हुनसक्ने अनुमान सुरुमा लगाइएको थियो।
ओन्टारियो, बेलिभाइलका बासिन्दाले भने: “यसो हेर्दा, आणविक युद्ध नै भएको जस्तो छ। जता हेऱ्यो त्यतै सेतो धूलो देखिन्छ, आङै सिरिंङ हुन्छ।” तिनले त्यसलाई “डरलाग्दो सौन्दर्य” भने।
आँधीबेहरी आएको एक हप्तापछि लाखौं मानिसहरूकहाँ विद्युत आपूर्ति नहुनुका साथै अत्यन्तै जाडो भएको कारण प्रहरीले मानिसहरूलाई आश्रयस्थलहरूमा लगेर उद्धार कार्य सुरु गरे। “हामीले मानिसहरूलाई आग्रह गरौं कि हुकुम चलाऔं?” भनी एक प्रहरीले सोधे।
“जसो गरेर भए पनि तिनीहरू त्यहाँबाट निस्केकै हुनुपर्छ” भनी एक सुपरिवेक्षकले जवाफ दिए। “तर यस मामिलामा अलि होसियार हुनुहोस्।” तिनले अझै यसो भने: “हामी युद्धको समयमा छौं भनी सोच्नुहोस्।”
विपत्तिको मुखैमा
मोन्ट्रियलको अधिकांश भागमा विद्युत आपूर्ति बन्द भएको कारण ट्राफिक लाइटका साथै सबवे सेवा पनि बन्द भयो। आँधीबेहरीको अन्तिम दिनसम्म त्यस शहरमा सेवा पुऱ्याइरहेका जम्मा पाँच प्रसारण स्टेसनहरूमध्ये चारवटा बिग्रिसकेका वा तहसनहस भइसकेका थिए। यसको सम्भाव्य नतिजा कस्तो हुने थियो?
“दिउँसोको स्थिति हेर्दा त्यस रात सम्पूर्ण मोन्ट्रियलमा अन्धकार छाउने छाँटकाँट हामीले देख्यौं र अझ त्यसमाथि पानी पनि थिएन” भनी क्युबेकका प्रधानमन्त्री लुसियन बुसरले बताए। “दुइटै पानी आपूर्ति स्टेसनहरू बन्द भएकोले पानी दुई घण्टासम्मको लागि मात्र पुग्ने थियो।” मानिसहरूले मैनबत्ती बाल्ने छन् र त्यसमाथि एक थोपा पानी नहुने सम्भावना पनि छ। यी सबै कारणले विपत्ति हुने सम्भावना अझ बढ्यो।
अर्को एउटा विपत्ति झन्डै दुई हप्तापछि जनवरी २४ का दिन यहोवाका १,८८९ साक्षीहरू मोन्ट्रियल सम्मेलन भवनमा क्षेत्रीय सम्मेलनको निम्ति जम्मा हुँदा टऱ्यो। रातभरिमा मोन्ट्रियललाई २० सेन्टिमिटर बाक्लो हिउँले ढाकिसकेको थियो र बिहानको कार्यक्रम दौडान भित्ता तथा छतमा क्षति भएको पत्ता लाग्यो। अपराह्नको कार्यक्रम नै रद्द गरियो र उपस्थित व्यक्तिहरूलाई घर गएर लुगा फेरेर फेरि त्यहाँ काम गर्न आउन आह्वान गरियो।
घण्टाभरमै ३०० स्वयंसेवकहरू साबेल, पिक तथा ७,१०० वर्ग मिटर ठूलो छतबाट हिउँ निकाल्न आवश्यक अन्य औजारहरू लिएर हाजिर भइसकेका थिए। सतहमा जमेको हिउँ निकालेपछि कुनै कुनै ठाउँमा त ६० सेन्टिमिटरभन्दा बाक्लो बरफ जमेको भेट्टाइयो! बरफलाई वर्गाकार काट्न विद्युतीय करौंती प्रयोग गरियो र त्यसपछि छतको छेउमा लगेर खसालियो। झन्डै १,६०० टन हिउँ र बरफ हटाइयो! पछि हेर्दा हिउँ तथा बरफको वजनले पो भित्ता तथा छत चर्किएको रहेछ भनी थाह पाइयो र सबै हटाइसकेपछि आफ से आफ जोडियो। आइतबार बिहान कार्यक्रम पुनः सुचारु रूपले सञ्चालन भयो।
तिनीहरूले एकअर्कालाई मदत गरे
हो, केही क्षतिग्रस्त इलाकामा कुनै कुनै मानिसहरूले अरूको दुःखको नाजायज फाइदा उठाउने कोसिस गरे तर प्रथम शताब्दीमा झैं थुप्रैले चिसो र जाडोको समयमा “औधि दया देखाए।” (प्रेरित २८:२) रोम न्यु योर्कबाट प्रकाशित हुने डेलि सेन्टिनेल-ले मानिसहरूलाई मदत गर्न अगि सरेका यहोवाका साक्षीहरूबारे भन्यो: “ती मानिसहरू वटरटाउनमा अवस्थित राज्यभवनमा भेला भए र त्यहाँबाट विभिन्न सदस्यहरूको घरमा जान खटिए। तर तिनीहरूले छिमेकी तथा बटुवाहरूलाई पनि मदत गरे।”
त्यस लेखअनुसार ती राहत कार्यहरूको प्रबन्ध “आदमेज, पोट्सडाम, मेलन, ओग्डेनवर्ग, प्लाट्सबर्ग, मासेना, गोभोरमर तथा इलेनबर्ग सबै इलाकाका” मानिसहरूको निम्ति मिलाइएको थियो। केही स्वयंसेवकहरूले घरहरूलाई न्यानो बनाउन आगो बाल्नको निम्ति केही घण्टा जेनरेटर चलाउने प्रबन्ध पनि मिलाए। तर दुःखको कुरा, आँधीबेहरीपछि अधिकांश इलाकाहरूमा तापक्रम शून्य डिग्रीभन्दा तल झऱ्यो।
एक चोटि प्रहरीले साक्षीहरू घर-घर गइरहेको देखे र चोरहरू भन्ठाने। जब साक्षीहरूले आफूहरूले के गरिरहेको भने, एक प्रहरीले मोन्ट्रियल बस्ने आफ्नो बुबालाई आँधीबेहरीपछि यहोवाका साक्षीहरूले तिनी साक्षी नभए तापनि मदत गरेको बताए। मदतको निम्ति त्यस छोराले मूल्यांकन जाहेर गरे।
विशेषगरि मोन्ट्रियलको दक्षिणमा पर्ने झन्डै १०० वटा शहरलाई आँधीबेहरीले नराम्रोसित क्षतिग्रस्त पारेको थियो र यी इलाकाहरूलाई “अन्धकारको त्रिकोण” भनियो। आँधीबेहरी आएको दस दिनपछि पनि यी शहरहरूमा अझै बिजुली थिएन। वास्तवमा, थुप्रै मानिसहरू एक महिनाभन्दा बढी समयसम्म बिजुलीबिना थिए! टरोन्टो नजिकैका यहोवाका साक्षीहरूको शाखा कार्यालयले यी प्रभावित क्षेत्रका मानिसहरूलाई मदत दिन विशेष भेटहरूको प्रबन्ध मिलायो। टुकीको निम्ति तेल, ब्याट्री तथा टर्च लाइटलगायत अन्य चीजबीचहरू ट्रकमा राखेर तोकिएको वितरण केन्द्रहरूमा लगियो र त्यहाँबाट खाँचोमा परेकाहरूलाई वितरण गरियो।
ती क्षेत्रहरूमा बस्नेहरूका आवश्यकताहरू निश्चित गर्न मसीही प्राचीनहरूलाई पठाउने प्रबन्ध पनि मिलाइयो। प्राचीनहरूको एक समूह हप्ताभरमा ११ वटा मण्डलीहरूमा गए र थुप्रै प्रोत्साहनजनक सभाहरू सञ्चालन गरे। आध्यात्मिक प्रोत्साहनहरू प्रदान गरिने यस्ता जमघटहरूमा भेला भएपछि कोही पनि घर फर्कन चाँहदैनथे। मानिसहरू कुरा गर्दै, आ-आफ्नो कथाहरू सुनाउँदै संगतिको आनन्द उठाउँदै त्यहीं बसेको बसेकै गर्थे। वास्तवमा, आँधीबेहरीपछिका हप्ताहरूमा नियमित सभाको उपस्थिति अरू बेलामा भन्दा धेरै थियो।
आगो बाल्न दाउरा वा विद्युत आपूर्ति गर्न जेनरेटर भएकाहरूले चिसोमा बसिरहेकाहरूलाई आफ्नो घरमा निम्त्याए। केही साक्षीहरूको घरमा २० जना भन्दा बढी मानिसहरू थिए। त्यस इलाका बाहिरका थुप्रै मानिसहरूकहाँ पनि बिजुली थिएन तर तिनीहरूले बास दिए। उदाहरणका लागि, “अन्धकारको त्रिकोण” भन्दा ८०० किलोमिटर जति टाढा सेप्टेलेस शहरका साक्षीहरूले झन्डै ८५ परिवारहरूलाई बास दिए।
रिमोस्कीजस्ता दुर्गम क्षेत्रका साक्षीहरूले आगो बाल्न दाउराहरू काटेर पठाइदिए। कसै कसैले दाउरामा शास्त्रपदहरूसमेत लेखेर पठाए। एक जना साक्षीले आफूले उपहारस्वरूप पाएको दाउरा अर्कै धर्म मान्ने छिमेकीसित बाँडे। त्यस दाउरामा भजन ५५:१६ लेखिएको थियो: “परमप्रभुले मलाई बचाउनुहुनेछ।” त्यस दाउरा समात्दै छिमेकीले माथि हेर्दै “यहोवा, धन्यवाद” भने।
यो सबैबाट के पाठ सिक्छौं?
थुप्रै मानिसहरू विद्युतीय शक्ति कत्तिको नाजुक हुँदो रहेछ र मानिस विद्युतमा कत्तिको निर्भर रहेछन् भनी थाह पाउँदा स्तब्ध भए। एक मानिसले भने: “अर्को पालि घर बनाउँदा मेरो घरमा काठको चुलो, जेनरेटर अवश्य हुनेछ। . . . अनि ग्याँस स्टोभ पनि हुनेछ।”
आँधीबेहरी आएको झन्डै छ हप्तापछि एक टिप्पणीकारले भने: “बाहिर बरफको थुप्रो थियो, अन्धकार थियो अनि त्यसमाथि टिभी पनि बन्द हुँदा सोच्न पनि धेरै समय थियो।” अनि तिनले अझै यसो भने: “प्रकृति सामुन्ने हामी कत्ति दुर्बल रहेछौं भनेर थाह पाउँदा सबै अचम्ममा परेका छन्।”
पहिला एकचोटि नाश गर्नुभएझैं यस रीतिरिवाजको पनि विनाश गर्नु भएपछि सम्पूर्ण पृथ्वीलाई विश्वव्यापी प्रमोदवनमा पुनर्स्थापित गर्ने परमेश्वरको प्रतिज्ञामा बाइबल विद्यार्थीहरूले ध्यानकेन्द्रित गर्छन्। (मत्ती २४:३७-३९; २ पत्रुस २:५) आफ्नो सम्भाव्य शस्त्रलाई औंल्याउँदै परमेश्वर प्रश्न गर्नुहुन्छ: “के तँ हिउँको भण्डारमा पुगेको छस्? अथवा असिना [कठांग्रिने वर्षा पनि] थुपारेको स्थान तैंले देखेको छस्? जो मैले विपत्तिको दिनको युद्ध र लड़ाइँको घड़ीको निम्ति तयार पारी राखेको छु।”—अय्यूब ३८:२२, २३.
[पृष्ठ १६-मा भएको चित्र]
प्रसारण टावरहरू टिनपाताको खम्बाझैं कच्याक्कुचुक् भए
[पृष्ठ १७-मा भएको चित्र]
स्वयंसेवकहरूले सम्मेलन भवनबाट बरफ तथा हिउँ हटाउँदा सम्भाव्य विपत्तिबाट जोगिए
[पृष्ठ १७-मा भएको चित्र]
प्रभावित व्यक्तिहरूको निम्ति दाउरा