क्षतिग्रस्त इलाकामा राहत पुऱ्याउने
प्रकोप आएको बेला राहत दिन मानिसले गरेको प्रयास निश्चयै प्रशंसनीय छ। राहतसम्बन्धी थुप्रै कार्यक्रमहरूले घर बनाउन, छरपस्टिएका परिवारलाई मेल गराउन र सबैभन्दा महत्त्वपूर्ण कुरा, जीवन बचाउन मदत गरेका छन्।
प्रकोप आउँदा यहोवाका साक्षीहरूले अन्य मानिसबाट दिइएका राहत प्रबन्धहरू स्वीकार्छन् र त्यसको निम्ति कृतज्ञ रहन्छन्। तर त्यसका साथै “खास गरेर विश्वासको घरानातर्फ, भलाइको काम” गर्नु तिनीहरूको धर्मशास्त्रीय दायित्व हो। (गलाती ६:१०) हो, साक्षीहरू एकअर्कालाई आफन्त सम्झन्छन् र एउटै “परिवार[का]” ठान्छन्। त्यसैकारण तिनीहरू एकअर्कालाई “भाइ” तथा “बहिनी” भनेर सम्बोधन गर्छन्।—तुलना गर्नुहोस् मर्कूस ३:३१-३५; फिलेमोन १, २.
तसर्थ, टोलछिमेकमा प्रकोप आइपर्दा यहोवाका साक्षीहरूका प्राचीनहरूले कहाँ त्यो घटना भएको हो र प्रत्येक मण्डलीका सदस्यहरूलाई के खाँचो परेको छ, त्यो पत्ता लगाउनुका साथै आवश्यक मदतको प्रबन्ध गर्न भरमग्दुर चेष्टा गर्छन्। यस्तो मदत आक्रा, घाना; सान एन्जेलो, सं.रा.अ. अनि कोबे, जापानमा कसरी गरियो विचार गर्नुहोस्।
आक्रा—“सानोतिनो नूहको दिन नै”
राती ११ बजेतिर पानी पर्न थाल्यो र घण्टौंसम्म परी नै रह्यो। आक्रा निवासी जोन ट्वामासे नाउँ गरेका यहोवाको एक साक्षी भन्छन्, “घनघोर पानी परेकोले हामी सम्पूर्ण परिवार सुत्नै सकेनौं।” डेली ग्राफिक-ले यसलाई “सानोतिनो नूहको दिन नै” भन्यो। जोन अझ भन्छन्, “केही मूल्यवान् चीजहरू माथिल्लो तल्लामा लाने चेष्टा गर्दै भऱ्याङ चढ्न ढोका मात्र के खोलेका थियौं, भेल उर्लेर भित्र पस्यो।”
अधिकारीहरूले घर छाड्न चेताउनी दिए। यद्यपि, घर पानीले टम्म भरिएको भए तापनि चोरी हुनसक्छ भनेर थुप्रैले त्यसो गर्न हिचकिचाए। कसैले त चाहेर पनि छाड्न सकेनन्। पलिना नाउँकी केटी भन्छिन्, “म र मेरी आमाले ढोका खोल्नै सकेनौं। पानी बढ्दै गएकोले काठको ढ्वाङमाथि उभिएर छानाको दलिन समात्यौं। अन्ततः बिहान पाँच बजेतिर छिमेकीहरूले हाम्रो उद्धार गरे।”
यहोवाका साक्षीहरूले यथाशीघ्र सहायता गरे। बीअट्रस नाउँ गरेकी मसीही बहिनी भन्छिन्: “मण्डलीका प्राचीनहरूले हामीलाई खोजिरहेका थिए। र तिनीहरूले हामीलाई सँगी मसीहीको घरमा भेट्टाए जहाँ हामीले आश्रय लिएका थियौं। बाढी आएको ठीक तीन दिनपछि मण्डलीका प्राचीनहरू तथा जवानहरू हामीलाई मदत गर्न आए र हाम्रो घरभित्र र बाहिर थुप्रेको हिलो हटाए। वाच टावर सोसाइटीले डिटरजेन्ट, कीटनाशक औषधीहरू, रङ, डसना, कम्बल, कपडा र केटाकेटीका लागि लुगाफाटा पठाइदियो। भाइहरूले धेरै दिनसम्म पुग्ने खानेकुरा हामीलाई पठाए। यो देखेर म साह्रै प्रभावित भएँ!”
माथि उल्लिखित जोन ट्वामासे यस्तो प्रतिवेदन दिन्छन्: “हाम्रो सोसाइटीले सम्पूर्ण घर सफा गर्न पुग्ने प्रशस्त डिटरजेन्ट र कीटनाशक औषधी हामीलाई पठायो भनेर अरू बहालवालाहरूलाई भनें। लगभग ४० जना बहालवालाहरूले सफा गर्न मदत गरे। मैले स्थानीय चर्चका पादरीलगायत छिमेकीहरूलाई केही डिटरजेन्ट दिएँ। यहोवाका साक्षीहरू आफ्ना मानिसहरूप्रति मात्र प्रेम देखाउँछन् भनेर मेरा सहकर्मीहरूले गलत विचार राखेका थिए।”
आफूले पाएको मायालु सहयोगप्रति मसीही भाइबहिनीहरूले गहिरो मूल्यांकन व्यक्त गरे। भाइ ट्वामासे बताउँछन्: “मैले पाएको राहत सामानभन्दा बाढीमा धेरै धन गुमाएको भए तापनि सोसाइटीबाट दिइएको त्यस आत्मीय प्रबन्धले गर्दा धेरै पाएका छौं भनेर मेरो परिवारले र मैले महसुस गरेका छौं।”
सान एन्जेलो—“संसारकै विनाश भएको आभास भयो”
सन् १९९५, मे २८ का दिन सान एन्जेलोमा आएको भुँवरीले रूखहरू उखेल्यो, बिजुलीका खाँबोहरू ढाल्यो र तारहरू चुँडाएर सडकभरि यत्रतत्र थुपाऱ्यो। प्रतिघण्टा १६० किलोमिटरको गतिले बतास चल्यो र व्यापारिक संगठनका भवनहरू क्षतिग्रस्त पाऱ्यो। बीस हजारभन्दा धेरै मानिसहरूले अन्धकार समयको अनुभव गरे। त्यसपछि असिना बर्सियो। नेशनल वेदर सर्भिसले यस्तो प्रतिवेदन दियो, पहिला “गल्फ बल जत्रै,” त्यसपछि “सफ्ट बल” र अन्तमा “ज्यामिर” जत्रो असिना बर्स्यो। त्यस भीषण असिना वर्षाको आवाज कानै खाने थियो। त्यहाँको एक निवासीले भने: “संसारको अन्त भएको आभास भयो।”
नराम्रो स्थितिको सृजनासाथ आँधीबेह्री शान्त भयो। के कति नोक्सानी भएछ त्यो हेर्न मानिसहरू क्षतिग्रस्त भएको आ-आफ्नो घरबाट निक्लन थाले। नढलेका रूखहरू पात झरेर नांगिएका थिए। क्षतिग्रस्त हुनबाट बचेका घरहरू उजाड देखिन्थे। कुनै कुनै ठाउँमा एक मिटरसम्म असिना थुप्रिएको थियो। घर र सवारीसाधनहरूका हजारौं झ्यालहरू आँधीबेह्रीले चकनाचूर पारेका थिए। त्यसैले फुटेको काँचका टुक्राहरू असिनासितै भुइँ टम्मै ढाकेर टलटल टल्किरहेका थिए। एक स्त्री भन्छिन्, “जब म घर पुगें, घर जाने बाटोमै गाडीभित्र ट्वाल्ल परेर बसें र धुरुधुरु रोएँ। असाध्यै नराम्रो हानि भएको थियो। साँच्चै म अवाक् भएँ।”
राहत कार्यक्रमहरू र अस्पतालहरूले तुरुन्तै वित्तीय सहयोग, भवन निर्माण सामग्रीहरू औषधोपचार र परामर्श दिने प्रबन्ध मिलाए।
यहोवाका साक्षीहरूका मण्डलीहरूले पनि रमिता हेरिरहेनन्। सान एन्जेलोका प्राचीन ओब्री कानर यसरी प्रतिवेदन दिन्छन्: “आँधी शान्त हुने बित्तिकै अरू भाइबहिनीहरूको स्थिति बुझ्न हामीले फोन गर्न थाल्यौं। हामीले साक्षीहरू र गैरसाक्षी छिमेकीहरूका झ्यालहरूमा फल्याक ठोक्न, प्लास्टिकले छाना छोप्न र यथासम्भव मौसमअनुरूप घर बार्न मदत गऱ्यौं। त्यसपछि हामीले मण्डलीका भाइबहिनीहरू जसको घर भत्किएको थियो, सबैको नाउँ टिप्यौं। लगभग एक सय घरहरू मर्मत गर्नुपर्ने थियो र राहत निकायहरूले दिएका सामग्री पर्याप्त थिएन। तसर्थ, हामीले थप सामानहरू किनेर चाँजो मिलायौं। यस राहत कार्यमा जम्माजम्मी १,००० साक्षीहरूले स्वयंसेवा गरे। प्रत्येक सप्ताहन्तमा लगभग २५० जनाले सो कार्य गर्थे। तिनीहरू ७४० किलोमिटर टाढाबाट समेत आउँथे। अक्सर ४० डिग्री सेल्सियस तापक्रममा पनि थकित महसुस नगरी सबैले काम गरे। सत्तरी वर्षीया बहिनीले समेत आफ्नो घर मर्मत गरेको सप्ताहन्तबाहेक सबै सप्ताहन्तहरूमा हामीसितै काँधमा काँधमा मिलाइन्। तिनको घर मर्मत गरेको सप्ताहन्तमा तिनी घरको छानामा चढेर मर्मत कार्यमा मदत गर्दै थिइन्!
“हामीले प्रत्यक्षदर्शीहरूबाट बारम्बार यस्ता अभिव्यक्तिहरू सुन्यौं, ‘अरू धर्महरूले पनि आफ्ना सदस्यहरूलाई यसै गरे बेस हुनेथिएन र?’ शुक्रबार सबेरै १० देखि १२ स्वयंसेवकहरूलगायत बहिनीहरू सँगी साक्षीको घरमा आएर निश्शुल्क घर मर्मत गरेको वा सम्पूर्ण छाना बनाएको देखेर हाम्रा छिमेकीहरू प्रभावित भए। अधिकांश घटनाहरूमा एकै सप्ताहन्तमा काम फत्ते भए। गैरसाक्षी ठेकेदारले एउटा घरको छाना लगाउँदै गर्दा साक्षीहरूको टोली अर्को घर मर्मत गर्न आइपुग्यो। तिनीहरूले त्यो छाना लगाउने काम सिध्याउन अगावै हामीले पुरानो छाना हटाई नयाँ छाना लगाएर आँगन सफा गरिसकेका थियौं। कहिलेकाहीं तिनीहरू काम गर्न छाडेर हामीलाई हेरिरहन्थे!”
भाइ कानर बताउँछन्: “हामी सबैले एकैसाथ बटुलेका अनुभवहरू गुमाउँदा नरमाइलो लाग्नेछ। अघि कहिल्यै अनुभव गर्न नसकेको यस प्रकारको भ्रातृप्रेम देखाउँदै र बटुल्दै हामीले एकअर्कालाई विभिन्न पक्षले चिनेका छौं। हामीलाई लाग्छ, यो परमेश्वरको नयाँ संसारको झलक हो जहाँ भाइबहिनीहरूले एकअर्कालाई मदत गर्छन् किनभने तिनीहरू साँच्चै त्यसो गर्न चाहन्छन्।”—२ पत्रुस ३:१३.
कोबे—“काठ, प्लास्टर र मानव शरीरहरूको थुप्रो”
कोबेका निवासीहरू प्रकोपको निम्ति तयार हुनुपर्थ्यो। वास्तवमा, तिनीहरू प्रत्येक सेप्टेम्बर १ मा प्रकोप रोकथाम दिवस मनाउँछन्। स्कूलका केटाकेटीले भैंचालो क्वाज अभ्यास गर्छन्, सैनिकहरू हेलिकोप्टरबाट उद्धार अभियानको पूर्वाभ्यास गर्छन्। अनि दमकल विभागले भैंचालो आएको देखाउने कृत्रिम यन्त्रहरू ल्याउँछन्। ती यन्त्रहरू कोठा जत्रो आकारको र साँच्चै भैंचालो आएको जस्तै गरी हल्लिन्छन् र कम्पन हुन्छन्। त्यसभित्र स्वयंसेवकहरूले बचाउ दक्षताको प्रदर्शन गर्छन्। तर जनवरी १७, १९९५ मा साँच्चै भैंचालो आउँदा ती तयारीहरू काम लागेनन्। दशौं हजार छानाहरू ढले। त्यस्तो घटना कृत्रिम यन्त्रमा कहिल्यै प्रदर्शन गरिएको थिएन। रेलहरू पल्टिए; राजमार्ग ठाउँठाउँमा भासिए; पानीको मूल पाइपहरू फुटे र घरहरू ढले मानौं ती बाक्लो कागजले बनिएका थिए। त्यस दृश्यलाई “काठ, प्लास्टर र मानव शरीरहरूको थुप्रो” भनेर टाइम पत्रिकाले वर्णन गऱ्यो।
त्यसपछि आगो दन्क्यो। भवनहरूमा आगो दनदन दन्किरहेको थियो भने आगो निभाउने कर्मीहरू चाहिं निस्सहाय भएर निकै किलोमिटर पर मूक दर्शकझैं अक्क न बक्क भएर हेरिरहेका थिए। शहरमा पानी आउने पाइपहरू फुटेकोले आगो निभाउन जानेहरूले पानी पाउन सकेनन्। एक पदाधिकारीले यसो भने, “पहिलो दिन मानिसहरू साह्रै अतासिए। आगो दन्किरहेका ती घरहरूमा थुप्रै मानिसहरू पुरिएको देखेर पनि केही गर्न नसक्दा आफूलाई त्यस्तो निस्सहाय त जीवनमा कहिल्यै महसुस गरेको थिइनँ।”
जम्माजम्मी ५,००० मानिसहरू मरे र लगभग ५०,००० भवनहरू तहसनहस भए। कोबेमा चाहिएकोभन्दा एक तिहाइ खानेकुरा मात्र उपलब्ध थियो। मानिसहरूले फुटेका पाइपहरूबाट निक्लेको फोहर पानी प्रयोग गरे। घरबार गुमाएकाहरू आश्रयस्थलतिर भागे। यी आश्रयस्थलहरूमध्ये कुनै कुनैमा एक व्यक्तिलाई दिनको एक डल्लो भात मात्र दिइन्थ्यो। चाँडै असन्तुष्टि फैलियो। एक व्यक्तिले यसरी गुनासो पोखे, “अख्तियारवालाहरूले केही पनि गरेका छैनन्। तिनीहरूमाथि भरोसा गरिरह्यौं भने भोकैले मर्नेछौं।”
कोबे र त्यसको छेउछाउका मण्डलीहरूका यहोवाका साक्षीहरू तुरुन्तै संगठित भए। तिनीहरूको काम प्रत्यक्ष देख्ने हेलिकोप्टर चालकले यसो भने: “म प्रकोप क्षेत्रमा भैंचालो आएकै दिन गएँ र एक हप्ता बिताएँ। एक ठाउँमा म पुग्दा त्यहाँको अवस्था लथालिंगै थियो। राहत कार्यको अत्तोपत्तो थिएन। त्यहाँ यहोवाका साक्षीहरू मात्र पुगेका थिए र तिनीहरू एकपछि अर्को काम गर्न तल्लीन थिए।”
निस्सन्देह, त्यहाँ गर्नुपर्ने काम थुप्रै थियो। दशवटा राज्यभवनहरू बेकाम भएका थिए र ४३० भन्दा धेरै साक्षीहरूले घरबार गुमाएका थिए। त्यसबाहेक १,२०६ जना साक्षीहरू मर्मत गर्नुपर्ने घरहरूमा बस्थे। त्यति मात्र कहाँ हो र, प्रकोपमा ज्यान गुमाउने १५ जना साक्षीहरूका परिवारहरूलाई सान्त्वनाको ठूलो खाँचो थियो।
देशभरिका लगभग १,००० साक्षीहरूले स्वेच्छापूर्वक मर्मत कार्यमा मदत गरे। एक भाइ बताउँछन्, “हामीले बप्तिस्मा अप्राप्त बाइबल विद्यार्थीहरूका घर मर्मत गर्दा ‘यसको लागि कति तिर्नुपर्छ?’ भनेर तिनीहरू अक्सर हामीलाई सोध्ने गर्थे। यो त मण्डलीले सहयोग गरेको हो भनेर बताउँदा तिनीहरू यसो भन्दै कृतज्ञता व्यक्त गर्थे, ‘जे अध्ययन गरेका थियौं, त्यो अहिले साँचो साबित भएको छ!’”
साक्षीहरूले प्रकोप आइपर्दा चाँडो र राम्ररी कार्य गरेको देखेर थुप्रै मानिसहरू प्रभावित भए। माथि उल्लिखित विमानचालक भन्छन्, “म साह्रै प्रभावित भएँ। तपाईंहरू एकअर्कालाई ‘भाइ’ र ‘बहिनी’ भनेर सम्बोधन गर्नुहुन्छ। तपाईंहरू आपसमा कति मदत गर्नुहुन्छ, मैले देखेको छु। तपाईंहरू साँच्चै एउटै परिवार हुनुहुन्छ।”
साक्षीहरू आफैले पनि त्यस भैंचालोबाट मूल्यवान् पाठहरू सिके। एक बहिनीले यसरी स्वीकारिन्: “संगठन बढ्दै जाँदा व्यक्तिगत चासो देखाउनु कठिन पर्छ भनेर म सधैं महसुस गर्थें।” तर तिनले मायालु हेरविचार पाएर आफ्नो दृष्टिकोण बदलिन्। तिनी स्वीकार्छिन्, “यहोवाले हामीलाई संगठनात्मक रूपमा मात्र नभई व्यक्तिगत तवरमा पनि हेरविचार गरिरहनुभएको छ भनेर अहिले थाह पाएकी छु।” तथापि, प्रकोपहरूबाट स्थायी राहत नजीकै छ।
स्थायी राहत चाँडै!
यसबाहेक यहोवाका साक्षीहरूले त्यस समयको बाटो हेरिरहेका छन्, जतिबेला प्रकोपहरूले मानव जीवन र जीविकोपार्जनलाई खतरामा पार्नेछैनन्। परमेश्वरको नयाँ संसारमा पृथ्वीको वातावरणअनुरूप कार्य गर्न मानिसलाई सिकाइनेछ। मानवहरूले स्वार्थी कामकुराहरूलाई त्याग्दा पनि प्राकृतिक खतराहरूबाट तिनीहरू निकै सुरक्षित हुनेछन्।
प्राकृतिक शक्तिहरूले मानव परिवार र पार्थिव सृष्टिलाई फेरि कहिल्यै खतरामा नपारोस् भनी प्राकृतिक शक्तिहरूको सृष्टिकर्ता, यहोवा परमेश्वरले पक्का गर्नुहुनेछ। त्यसपछि पृथ्वी साँच्चै प्रमोदवन हुनेछ। (यशैया ६५:१७, २१, २३; लूका २३:४३) प्रकाश २१:४ को यो भविष्यवाणी गौरवमय ढंगमा पूरा हुनेछ: “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।”
[पृष्ठ ५-मा भएको चित्र]
आफू र अरूले कसरी भेल तरे, बीअट्रस जोन्स (बायाँ) प्रदर्शन गर्दैछिन्
[पृष्ठ ६-मा भएको चित्र]
भुँवरीपछि राहत कार्य