सुरक्षित जीवनको खोजी
सुरक्षाको अर्थ भिन्नाभिन्नै मानिसहरूका लागि भिन्नाभिन्नै हुन्छ। कसैको लागि जागिर हुनु सुरक्षा हो भने कसैको लागि धन हुनु सुरक्षा हो त कसैलाई अपराधमुक्त स्थिति नै सुरक्षा हो। के तपाईंलाई सुरक्षाको अर्थ यस बाहेक अरू नै छ जस्तो लाग्छ?
यस सम्बन्धमा तपाईंको दृष्टिकोण जस्तो सुकै किन नहोस्, तपाईं पक्कै पनि थुप्रै तरिकाहरू अपनाएर आफ्नो जीवन आफूले चाहेजत्तिकै सुरक्षित पार्ने प्रयास गर्नुहुन्छ। केही हदसम्म व्यक्तिगत सुरक्षा प्राप्त गर्न केही मानिसहरूले के गरिरहेका छन्, ध्यान दिनुहोस्।
उच्च शिक्षा
युरोपेली आयोगका अध्यक्ष झाक सान्तेकअनुसार युरोपेली संघका २० प्रतिशत युवाहरू बेरोजगार छन्। यसर्थ, यस समूहमा पर्नेहरूका लागि थुप्रै कुरा त आफ्नो जीवन सुरक्षित तुल्याउने जागिर कसरी खोज्ने भन्ने प्रश्नमै भर पर्छ। यो लक्ष्य हासिल गर्ने राम्रो तरिका उच्च शिक्षा हो भन्ने विश्वास थुप्रैको छ जसबारे लन्डनको द सन्डे टाइम्स-ले उच्च शिक्षाले “जागिर पाउन निकै सहयोग पुऱ्याउँछ” भनेर टिप्पणी गऱ्यो।
उदाहरणका लागि, जर्मनीमा “शिक्षा र शैक्षिक प्रतिष्ठा प्राप्त गर्ने इच्छा झन् झन् तीव्र हुँदैछ” भनी नासोइच नोय प्रेस रिपोर्ट गर्छ। अध्ययन गर्न विश्वविद्यालयमा औसतन रु. २२,००,००० खर्च गर्नुपर्ने वास्तविकताको बावजूद यसो भइरहेको छ।
शिक्षालाई गम्भीरतासाथ लिने र सुरक्षित जागिर चाहने युवकयुवतीहरू अवश्य पनि सराहनीय छन्। केही तालिम लिएको छ वा केही योग्यता छ भने जागिर खोज्दा फाइदा नै हुन्छ। तर के उच्च शिक्षा हासिल गर्दैमा सुरक्षित जागिर पाइन्छ त? एउटी छात्रा भन्छिन्: “मेरो पढाइले कुनै खास पेसा अंगाल्न वा सुरक्षा प्रदान गर्नसक्दैन भनेर मलाई पहिल्यै थाह थियो।” यस्तो अवस्थामा पर्ने तिनी मात्र होइनन्। हालसालै जर्मनीमा विश्वविद्यालयबाट स्नातक भएका बेरोजगारहरूको संख्या एकदमै अकासिएको छ।
एउटा अखबारअनुसार फ्रान्समा थुप्रै युवाहरू बेरोजगार भएकोले उच्च माध्यामिक तहको शिक्षा अपर्याप्त भएको हुँदा युवाहरू विश्वविद्यालय जान्छन्। तथापि, विश्वविद्यालयका थुप्रै विद्यार्थीहरूलाई आफ्नो शैक्षिकसत्रको अन्ततिर “खल्तीमा प्रमाणपत्र भए पनि स्थिति सुध्रने छैन” भनेर पक्का छन्। बेलाइतमा विद्यार्थी जीवनको फिक्रीले डरलाग्दो असर भएको छ” भनी दी इन्डिपेन्डेन्स रिपोर्ट गर्छ। विद्यार्थीहरूलाई असुरक्षित जीवनसित जुझ्न सहयोग गर्नुको साटो विश्वविद्यालयको दबाबले कहिलेकाहीं नैराश्य, फिक्री र आत्मसम्मानको कमी जस्ता समस्याहरू उत्पन्न गरेको रिपोर्ट छ।
प्रायः विश्वविद्यालयको डिग्री भन्दा बरु कुनै सिप वा प्रशिक्षण हासिल गर्दा सजिलै सुरिक्षत जागिर पाउन सकिन्छ।
आफूसित १०,००० सरसामान भए पुग्छ?
थुप्रैको विचारमा धनसम्पत्ति नै सुरक्षित जीवनको रहस्य हो। बैंकमा थुप्रै पैसा छ भने आपत् पर्दा काम आउने हुँदा यसमा सहमत भइएला। बाइबलले पनि “रुपियाँपैसा एउटा आश्रय हो” भन्छ। (उपदेशक ७:१२, नयाँ संशोधित संस्करण) तथापि, के धनसम्पत्ति बढ्दैमा व्यक्तिगत सुरक्षा पनि बढ्छ र?
बढ्छ नै भन्ने छैन। गत ५० वर्ष यता धनसम्पत्ति कसरी बढ्दै गएको छ, विचार गर्नुहोस्। दोस्रो विश्वयुद्धको अन्ततिर अधिकांश जर्मनहरूसित फुट्टीकौडी थिएन। एउटा जर्मन अखबारअनुसार, आज औसतन जर्मनहरूसित १०,००० सरसामान छन्। आर्थिक भविष्यवाणी सही साबित भएको खण्डमा भावी जर्मन पुस्तासित अझ धेरै सरसामान हुनेछन्। तर के यसरी धनसम्पत्ति थुपार्दा जीवन अझ सुरक्षित हुन्छ? अहँ, हुँदैन। जर्मनीमा हरेक दुई तिहाइ व्यक्तिले बिगत २०/३० वर्षको तुलनामा अहिले जीवन अलि असुरक्षित ठानेको सर्वेक्षणबाट देखियो। अतः धेरै धनसम्पत्तिले मानिसहरूलाई अझ सुरक्षित महसुस गराउन सकेका छैनन्।
यो कुरा तर्कसंगत छ किनकि पहिलो लेखमा उल्लेख गरिएझैं असुरक्षित महसुस गर्नु भावनात्मक बोझ हो। अनि भावनात्मक बोझ भौतिक सरसम्पत्ति हासिल गरेर पूर्णतया हटाउन सकिन्न। हो, धनसम्पत्तिले पक्कै पनि गरिबीबाट जोगाउँछ र आपत्कालीन समयमा काम लाग्छ। तर कहिलेकाहीं धेरै सम्पत्ति हुनु थोरै हुनु जत्तिकै बोझिलो हुन्छ।
यसर्थ, भौतिक सरसम्पत्तिप्रति सन्तुलित दृष्टिकोण राख्दा यसले सम्पत्ति आशिष् साबित हुनसक्ने भए तापनि सुरक्षित जीवन हासिल गर्ने अद्वितीय तरिकाचाहिं होइन भनेर बुझ्न हामीलाई मदत गर्नेछ। यस पृथ्वीमा हुनुहुँदा येशू ख्रीष्टले आफ्ना अनुयायीहरूलाई यसो भन्दै प्रोत्साहन दिनुभयो: “मानिससँग भएका प्रशस्त चीजहरूले मानिसको जिन्दगी रहँदैन।” (लूका १२:१५) जीवनमा पूर्णतया सुरक्षित महसुस गर्न भौतिक धनसम्पत्तिभन्दा पनि अझ अर्कै कुरा चाहिन्छ।
वृद्धहरूलाई धनसम्पत्ति भौतिक महत्त्वले नभई भावनात्मक महत्त्वले गर्दा अर्थपूर्ण लाग्छ। वृद्धहरूलाई धनसम्पत्तिभन्दा पनि अपराधको सिकार हुनुपर्ला भनेर साह्रै चिन्ता लाग्छ।
होस गर्नुहोस्!
“बिगत ३० वर्षदेखि अपराध एउटा बढ्दो समस्याको रूपमा संसारभरि खडा भइरहेको छ” भनेर बेलाइतबाट प्रकाशित अपराध उन्मूलन गर्ने व्यवहारिक तरिकाहरू (अंग्रेजी) नामक पुस्तिका बताउँछ। प्रहरीहरूले सक्दो गरिरहेका छन्। केही मानिसहरूले यो समस्याको सामना कसरी गरिरहेका छन्?
व्यक्तिगत सुरक्षा त घरबाटै सुरु हुन्छ। उदाहरणका लागि, स्वीट्जरल्याण्डमा एक जना आर्किटेकले चोरले फोर्न नसक्ने सुरक्षित ताला, बलिया ढोका तथा ग्रील लगाइएका झ्यालहरू भएका चोरले फोर्न नसक्ने घरहरूको नमुना तयार पारे। यस्ता घरका घरमालिकहरूले आफ्नो घरलाई “किल्ला” भन्नसक्ने भएको देखियो। फोकस अखबारअनुसार यस्ता घरहरू महँगा भए पनि त्यसको माग असाध्यै बढी छ।
घरभित्र र बाहिर दुवै ठाउँमा व्यक्तिगत सुरक्षा बढाउन केही समुदायहरूमा टोल सुरक्षाकर्मीहरू खटाउने योजनाहरू मिलाएका छन्। कुनै कुनै टोलहरूले त कुनै खास समय तोकेर आफ्नो इलाकामा गस्ती लगाउने सुरक्षाकर्मीहरूलाई तबल दिएर पनि काममा लगाएका छन्। सुनसान सडकहरूमा एक्लै नहिंड्नुमा नै कतिपयले बुद्धिमानी देखेका छन्। अनि स्वाभाविकतः आफ्ना छोराछोरीहरूको चिन्ता गर्ने आमाबाबुहरूले छोराछोरीको हिफाजत गर्न थप उपायहरू अपनाउनसक्छन्।—यसै पृष्ठमा दिइएको पेटी हेर्नुहोस्।
तर चोरले फोर्न नसक्ने घरहरू सबैले किन्न सक्दैनन्। यसबाहेक, टोल सुरक्षाकर्मी खटाउने योजना तथा गस्ती लगाउने सुरक्षाकर्मीहरूले पूर्णतया अपराध नियन्त्रण गर्न सक्दैनन् किनकि त्यसरी सुरक्षाकर्मीहरू खटाउँदा अपराधीहरू घट्ने होइन बरु अन्यत्र सुरक्षा नभएका इलाकाहरूमा जान्छन्। यसरी अपराध व्यक्तिगत सुरक्षालाई खतरामा पर्ने प्रमुख कारण नै भएर रहेको छ। हाम्रो जीवन सुरक्षित पार्न पूर्णतया अपराध नियन्त्रण गर्ने प्रयास गरेर मात्र पुग्दैन।
लक्षण चिन्ने मात्र होइन, रोगै निदान गर्नुहोस्
हामी सबैसित सुरक्षित जीवन बिताउने स्वाभाविक चाहना हुन्छ र यसको लागि हामी मनासिब तथा व्यवहारिक तरिकाहरू अपनाउँछौं। तर अपराध, बेरोजगार र हाम्रो जीवन असुरक्षित बनाउने त्यस्तै अरू तत्त्वहरू सम्पूर्ण मानिसजातिलाई असर गरिरहेको अवस्थाका लक्षणहरू मात्र हुन्। यसको उपचार गर्न लक्षणहरूलाई मात्र होइन तर त्यसको मूल कारणलाई नै उखेल्नुपर्छ।
हाम्रो जीवन असुरक्षित बनाउने मुख्य कारण के हो? हामी असुरक्षालाई कसरी हटाउनसक्छौं र जीवनमा हुने असुरक्षालाई सदाका लागि कसरी नामेट पार्ने? यो अन्तिम लेखमा छलफल गरिनेछ।
[पृष्ठ ६-मा भएको पेटी]
कलिला केटाकेटीहरूलाई जोगाउने तरिकाहरू
बाल दुर्व्यवहार, अपहरण तथा हत्या बराबर भइरहने भएकाले थुप्रै आमाबाबुहरूले आफ्ना छोराछोरीलाई निम्न कुरा सिकाउनु फाइदाजनक पाएका छन्:
१. आफूलाई नराम्रो लाग्ने काम गर्न लगाउन खोज्नेलाई दृढ भई नाइँ भन्ने।
२. राम्रो शिक्षा हासिल गर्नु राम्रै लक्ष्य भए तापनि यसले सुरक्षित जीवनको ग्यारेन्टी दिनसक्दैन। सुरक्षित जीवनको लागि त अझ अरू कुरा पनि चाहिन्छ। आमा वा बुबा साथमा छैनन् भने चाहे त्यो व्यक्ति डाक्टर वा नर्स नै किन नहोऊन्, कुनै पनि हालतमा गुप्तांग छुन नदिने।
३. खतरा उत्पन्न हुने बित्तिकै भाग्ने, चिच्याउने, कराउने वा नजिकै भेटिने वयस्क व्यक्तिसित मदत माग्ने।
४. आफूलाई अप्ठ्यारो लागेको कुनै पनि घटना वा कुरा आमाबाबुलाई बताइहाल्ने
५. आमाबाबुलाई सबै कुरै खुलस्त बताउने।
अन्तमा, आफ्नो बच्चाको हेरचाह गर्न जिम्मा लगाउनुहुँदा जिम्मा लिने व्यक्ति कस्तो छ, आमाबाबुले राम्ररी जाँचबुझ गर्नु बुद्धिमानी हुन्छ।
[पृष्ठ ५-मा भएको चित्र]
शिक्षा, धनसम्पत्ति हासिल गरेर वा अपराध निर्मूल पार्न एकत्रित भई प्रयास गरेर मात्र पुग्दैन