सुरक्षित चिरकालीन जीवन
हनहनी ज्वरो आएको बेला तपाईं अवश्य पनि दुखाइ कम गर्न एक चक्की औषधी खानुहुन्छ र सायद चिसो पार्न पानी-पट्टी लगाउनुहुन्छ। औषधी खाएपछि र पानी-पट्टी लगाएपछि ज्वरो अलि कम होला तर त्यसले ज्वरो आउनुको कारण भने हटाउन सक्दैन। यदि तपाईंलाई रोगले चापेको छ भने दक्ष चिकित्सककहाँ जँचाउनैपर्छ।
असुरक्षाको हनहनी ज्वरोले मानिसजातिलाई लगातार सताइरहेको छ। ती लक्षणहरूको दुखाइ कम पार्न हामीले अस्थायी उपचार गर्नु जायजै छ तर रोग निवारण भने रोग राम्ररी खुट्याउन सक्ने व्यक्तिको हातबाट मात्र हुनसक्छ। अनि हाम्रो सृष्टिकर्ता यहोवा परमेश्वरलाई जत्ति अरू कसैले हामीलाई त्यत्ति राम्ररी चिनेका छैनन्। हामीमाथि लादिएका समस्याहरूले गर्दा नै जीवन असुरक्षित भएको हो भनेर उहाँलाई थाह छ।
सुरक्षा हट्न थाल्छ
यहोवाले प्रथम मानव दम्पतीलाई सिद्ध सृष्टि गर्नुभएको थियो र तिनीहरूलाई सुरक्षित ठाउँमा राख्नुभएको थियो भनी परमेश्वरको वचन वर्णन गर्छ। तिनीहरूलाई कुनै किसिमको फिक्री थिएन। पूर्णतया सुरक्षित प्रमोदवनमा जीवन बिताऊन् भन्ने परमेश्वरको उद्देश्य थियो। मानिसजातिलाई “हेर्नमा राम्रो र खानमा असल फल भएको हरेक रूख” दिइएको थियो। नबिर्सनुहोस्, तिनीहरूको हर शारीरिक आवश्यकता पूरा गरिएको थियो र “हेर्नमा राम्रो” भएकोले तिनीहरूका भावनात्मक आवश्यकता पनि पूरा गरिएका थिए। यसको अर्थ, प्रथम जोडी पक्कै पनि समस्यारहित स्थिर जीवन बिताउन सकिने वातावरणमा राखिएका थिए।—उत्पत्ति २:९.
आदम र हव्वाले परमेश्वरको मायालु सार्वभौम शासनाधिकारलाई तिरस्कार गरेर आफ्नो जीवनमा शंका, डर, क्षोभ, दोषी भाव तथा असुरक्षालाई निम्त्याए। परमेश्वरलाई तिरस्कार गरेपछि आदमले “म डराएँ” भनी मानिलिए। प्रथम मानवहरूले आफ्नो आङ छोपे अनि घनिष्ठ तथा लाभकारी सम्बन्धको आनन्द उठाएका आफ्ना मायालु सृष्टिकर्ताबाट लुके।—उत्पत्ति ३:१-५, ८-१०.
यहोवाको मूल उद्देश्य परिवर्तन भएको छैन। हाम्रो सृष्टिकर्ता मायालु परमेश्वर हुनुहुन्छ र उहाँले चाँडै आज्ञाकारी मानिसजातिलाई चलाउनुभएर यस पृथ्वी प्रमोदवनमा परिणत गर्नुहुनेछ अनि सदासर्वदा सुरक्षित जीवन बिताउने मौका दिनुहुनेछ भनी बाइबल बताउँछ। अगमवक्ता यशैया मार्फत यस्तो भविष्यवाणी गरियो: “म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु . . . तिमीहरू . . . सदा सर्वदा आनन्द गर र हर्ष मनाऊ।” (यशैया ६५:१७, १८) यी नयाँ स्वर्ग र पृथ्वीबारे प्रेरित पत्रुसले यो पनि थपे: “जसमा धार्मिकताले बास गर्छ।”—२ पत्रुस ३:१३.
यो कसरी सम्भव होला? यहोवाले ल्याउनुहुने राज्य मार्फत। यही राज्यबारे येशू ख्रीष्टले आफ्ना अनुयायीहरूलाई प्रार्थना गर भन्नुभएको थियो: “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्। तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्।”—मत्ती ६:९, १०.
परमेश्वरको राज्यले मानव सरकारहरूको ठाउँ ओगट्नेछ र संसारभरि परमेश्वरको उद्देश्य मायालु ढंगले पूरा हुनेछ। (दानियल २:४४) आदमको पालोदेखि मानिसजातिलाई पिरोल्दै आएको शंका, डर, क्षोभ, दोषी भाव तथा असुरक्षा सबै हट्नेछन्। बाइबलअनुसार यो राज्य नजिकै छ। अहिले यो अनिश्चित संसारमा पनि परमेश्वरको राज्यको लालसा गर्नेहरूमाझ केही हदसम्म सुरक्षा पाउन सकिन्छ।
आध्यात्मिक कुराहरूलाई प्राथमिकता दिनुहोस्
दाऊद परमेश्वरका सेवक थिए र तिनले भयभीत हुँदा तथा बिचल्लीमा पर्दा कस्तो महसुस हुन्छ भनेर बुझेका थिए। यद्यपि, भजन ४:८ मा दाऊदले यसो लेखे: “शान्तिमा म पल्टूँला र निदाउँला; किनकि हे परमप्रभु, तपाईले मात्र मलाई सुरक्षित रहनदिनुहुन्छ।” बेला बखत दाऊद समस्यामा परेको भए तापनि यहोवाले तिनलाई सुरक्षित महसुस गराउनुभयो। के हामी यसबाट केही कुरा सिक्नसक्छौं? असुरक्षित संसारमा पनि हामीले कसरी केही हदसम्म सुरक्षा पाउनसक्छौं?
आदम र हव्वाबारे उत्पत्तिमा दिइएको विवरणलाई विचार गर्नुहोस्। तिनीहरूले कहिलेदेखि असुरक्षित महसुस गर्नथाले? सृष्टिकर्तासितको व्यक्तिगत सम्बन्धलाई तोड्ने बित्तिकै र मानिसजातिका लागि उहाँले सोच्नु भएको उद्देश्यअनुरूप जीवन बिताउन इन्कार गर्नेबित्तिकै। यद्यपि, यहोवासित घनिष्ठ व्यक्तिगत सम्बन्ध गाँसेर उहाँको इच्छाबमोजिम जीवन बिताउने कोसिस गऱ्यौं भने अहिल्यै पहिले कहिल्यै अनुभव नगरेको सुरक्षित जीवन हामी बिताउनसक्छौं।
बाइबल अध्ययनद्वारा यहोवालाई चिन्ने कोसिस गऱ्यौं भने जीवनको अर्थ बुझ्न सक्नेछौं। आफू र आफ्नो अस्तित्वको अर्थ चिन्नेछौं। परमेश्वरलाई माया गर्दा, मानिसजातिका लागि उहाँले सोच्नुभएको उद्देश्य र त्यस उद्देश्यमा आफ्नो भूमिका बुझ्न पाउँदा पाउँदा जीवन सुरक्षित हुनसक्छ। केही वर्षअघि पल नाउँ गरेका पुरुषले त्यस्तै अनुभव गरे।
पल जर्मनीको तटपारिको एउटा टापुमा जन्मेका र हुर्केका थिए। दोस्रो विश्वयुद्धमा भोग्नुपरेका दुःखलाग्दा घटनाहरूको कारण तिनका आमाबाबुको धर्ममा चासो थिएन। आफ्नो जवानीका क्षणहरू सम्झदैं पल भन्छन्: “न म केही कुरामा विश्वास गर्थें, न कसैको आदर नै गर्थें। जाँडरक्सीको नसामा डुबेर आफ्नो पीर मर्का भुल्न चाहन्थें। कहिलेकाहीं हप्तामा दुई तीन पटक होसै गुम्नेगरि बेस्सरी पिउँथें। मेरो जीवन असुरक्षित थियो।”
पछि यहोवाका साक्षीसित पलको छलफल भयो। पलले निकै बहस गरे र साक्षीले भनेको कुराले तिनी सोच्न बाध्य भए। “कसैले नबनाइकन केही पनि आउँदैन।” अर्को शब्दमा भन्ने हो भने हाम्रो वरपर प्रकृतिका सबथोकका सृष्टिकर्ता हुनैपर्छ।
“मैले यो कुरा मनमा खेलाइरहें र आखिरमा तिनको कुरा मानिलिन करै लाग्यो।” अतः पलले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरे अनि यहोवालाई चिने। तिनी स्वीकार्छन्: “आमाबाबुबाहेक मेरो जीवनमा सबथोक गरिदिनुहुने पहिलो व्यक्ति यहोवा नै हुनुहुन्थ्यो।” पलले १९७७ मा यहोवाका साक्षीको रूपमा बप्तिस्मा लिए र तिनी भन्छन्: “जीवनको वास्तविक उद्देश्य के हो, त्यसपछि थाह पाएँ। यहोवाको इच्छाबमोजिम जीवन बिताउन पाएकोमा म खुसी छु। म ढुक्क पनि छु। किनकि यहोवाले सुधार्न नसक्ने त्यस्तो कुनै पनि चीज संसारमा छैन जसले मलाई वा मेरो परिवारलाई खतरामा पार्न सक्छ।”
यो अनुभवबाट हामी के सिक्नसक्छौं? पलले आफ्नो भावनात्मक बोझ बिसाएर असुरक्षित भावमाथि विजय हासिल गरे। तर भौतिक धनसम्पत्तिमा ध्यान दिएर होइन बरू आध्यात्मिक कुराहरूमा मन लगाएर। तिनले सृष्टिकर्तासित घनिष्ठ सम्बन्ध गाँसे। यहोवाका लाखौं साक्षीहरू यस्तै सम्बन्धको आनन्द उठाउँछन्। यसले तिनीहरूलाई मनोबल दिन्छ र यसले तिनीहरूलाई अरूसित व्यवहार गर्दा आत्मत्यागी हुन मदत गर्छ। मानिसहरूलाई घर-घरमा गएर भेट्न र तिनीहरूलाई आध्यात्मिक कुराहरूमा ध्यान दिएर आफ्नो जीवन अझ सुरक्षित तुल्याउने मदत गर्न यहोवाका साक्षीहरू आफ्नो समय खर्च गर्छन्। तर तिनीहरू प्रचार मात्रै गर्दैनन्।
“तिम्रो परमेश्वर यहोवालाई बोलाऊ”
जुलाई १९९७ मा ओडर नदी उर्लेर उत्तरी युरोपको थुप्रै भूभाग जलमग्न हुँदा जर्मनीस्थित यहोवाका साक्षीहरूले छिमेकी राष्ट्र पोल्याण्डका मानिसहरू बिचल्लीमा परेको खबर पाए। तिनीहरूले के गर्नसक्थे? वर्लिन र वरपरका साक्षीहरूले केही दिनभित्रै झण्डै ४७ लाख रूपैया स्वेच्छासाथ चन्दा दिएर उदेकलाग्दो उदारता देखाए।
निर्माणकार्य जान्ने साक्षीहरूले चाहिं आफ्नै खर्चमा वर्लिनदेखि पोल्याण्डको भ्रोत्सल्फसम्म छ घण्टा लामो यात्रा गरे। एउटा सानो शहरमा थुप्रै घरहरू नराम्रोसित भत्किएका थिए। यहोवाका एक साक्षीको घर छ मिटर गहिरो पानीमा चुर्लुम्म डुबेको थियो। त्यस घरकी छोरीको आगामी महिना विहे हुने र त्यही घरमा लोग्नेसहित बस्ने योजना थियो। उक्त घर मर्मत गर्न र सबथोक गुमाउने त्यस परिवारलाई मदत गर्न के गर्न सकिन्थ्यो?
बाढी अलि कम हुन थालेपछि एक छिमेकीले खिसी गर्दै भनेको थियो: “तिम्रो परमेश्वर यहोवालाई बोलाऊ, हेरौं, तिमीलाई मदत गर्छन् कि?” भोलिपल्टै जर्मनीबाट उक्त साक्षीको घरमा थुप्रै मोटरगाडी आइपुगेको देख्दा त त्यो छिमेकी हेरेको हेरै भए! एक हूल अपरिचित मानिसहरू गाडीबाट ओर्लेर त्यो घर मर्मत गर्न थाले। “तिनीहरू को हुन्? कसको पैसाले सरसामान किनेको?,” छिमेकीले सोधे। उक्त साक्षी परिवारले तिनीहरू आफ्ना आध्यात्मिक भाइहरू हुन् र यी आगन्तुकहरूले नै सारा सरसामानको खर्च बेहोरिरहेका छन् भने। शहरबासीहरू छक्क पर्दै उक्त घरको मरमर्मत भएको हेरे। संयोगवस तोकिएकै मितिमा विवाह पनि भयो।
यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय भ्रातृत्वमा सामेल हुँदा आध्यात्मिक लाभका साथसाथै यो असुरक्षित संसारमा केही हदसम्म सुरक्षा पनि पाइँदो रहेछ भनेर उक्त परिवारले बुझ्यो र अरूहरूले पनि बुझे। समस्याग्रस्त इलाकाभरि यहोवाका साक्षीहरूको घर तथा राज्यभवनहरूकासाथै गैर-साक्षी छिमेकीहरूको घरको पनि मरमर्मत भयो। तिनीहरूको घरमा पनि साक्षीहरूले थुप्रै काम गरे, जसको तिनीहरूले निकै मूल्यांकन गरे।
धार्मिकता, निश्चयता तथा सुरक्षा
ज्वरो निको भएर फेरी स्वस्थ हुन पाउँदा हाम्रो उपचार गर्ने चिकित्सकप्रति कत्ति कृतज्ञ हुन्छौं! मानिसजातिलाई शिथिल पार्ने असुरक्षाको ज्वरो परमेश्वरको राज्यद्वारा सदासर्वदाका लागि निवारण भएपछि हामी हाम्रो सृष्टिकर्ताप्रति कत्ति कृतज्ञ हुनेछौं! हो, ‘सदाको साँचो धार्मिकता शान्ति र निश्चयता हुनेछ’ भनी प्रतिज्ञा गर्ने उहाँ नै हुनुहुन्छ। कस्तो अद्भुत प्रत्याशा!—यशैया ३२:१७.
[पृष्ठ १०-मा भएको ठूलो अक्षरको क्याप्सन]
भौतिक धनसम्पत्तिमा होइन तर आध्यात्मिक कुराहरूमा ध्यान दिएर हामी भावनात्मक बोझ बिसाउनसक्छौं
[पृष्ठ ८-मा भएको चित्र]
सबैले चिरकालीन सुरक्षा पाउने नयाँ संसारबारे परमेश्वर प्रतिज्ञा गर्नुहुन्छ