एड्स—यसविरुद्ध कसरी लड्ने
अहिले एड्सको कुनै उपचार छैन र चिकित्सा विज्ञानले निकट भविष्यमा यसको उपचार पत्ता लगाउनसक्ला जस्तो छाँटकाँट पनि देखिंदैन। हुन त, नयाँ उपचारहरूले रोगलाई चर्कन दिंदैन तर सुरुमै संक्रमण हुन नदिनु बेस हो। तथापि, रोकथामबारे छलफल गर्नुअघि एड्सको जीवाणु (एच आइ भी) एक जना मानिसबाट अर्को मानिसमा कसरी सर्छ र कसरी सर्दैन, त्यसमा ध्यान देऔं।
संक्रमण हुनसक्ने चारवटा प्रमुख तरिकाहरू छन्: (१) संक्रमित सुई वा सिरिन्जको प्रयोग, (२) संक्रमित व्यक्तिसित यौन संसर्ग (योनि, मलद्वार वा मुख) (३) रक्तक्षेपण तथा रगत भएका तत्त्वहरूद्वारा। विकसित राष्ट्रहरूमा एच आइ भी प्रतिजीवीहरू पत्ता लगाउन रगतको परीक्षण गरिने हुँदा यसको खतरा कम भएको भए तापनि संक्रमण हुँदै नहुने चाहिं होइन। र (४) बच्चा गर्भमा छँदा वा बच्चा जन्मिंदा वा स्तनपात गराउँदा एच आइ भी संक्रमित आमाद्वारा बच्चालाई सर्नसक्छ।
सं.रा.-को रोग नियन्त्रण तथा रोकथाम केन्द्रअनुसार (सि डि सि) हाल प्राप्त वैज्ञानिक प्रमाणहरूले यसो भन्छ (१) रुघाखोकीजस्तो एड्स सर्दैन, (२) एड्स लागेको व्यक्तिको छेउमा बस्दैमा वा उसलाई छुँदैमा वा अंकमाल गर्दैमा रोग सर्दैन, (३) संक्रमित व्यक्तिले छोएको खानेकुरा, उसले तयार पारेर पस्केको भोजन खाँदैमा रोग सर्दैन, र (४) संक्रमित व्यक्तिले प्रयोग गर्ने शौचालय, टेलिफोन, लुगाफाटा वा भाँडाकुँडा प्रयोग गर्दैमा रोग सर्दैन। यसबाहेक, सि डि सि-ले बताएअनुसार यसको जीवाणु लामखुट्टे वा अरू कीराहरूद्वारा सर्दैन।
रोकथाम गर्ने तरिकाहरू
एड्सद्वारा संक्रमित मानिसहरूको रगतमा यसको जीवाणु लुकेको हुन्छ। संक्रमित व्यक्तिले सुई लिंदा सियो वा सिरिन्जमा रगत र जीवाणु रहनसक्छ। यसप्रकार संक्रमित सियोले अर्को व्यक्तिलाई सुई लगाएको खण्डमा जीवाणु सर्नसक्छ। सुई वा सिरिन्जबारे शंका लागेमा डाक्टर वा नर्सलाई सोध्न कहिल्यै नडराउनुहोस्। यस्तो जानकारी पाउनु तपाईंको अधिकार हो; तपाईंको जीवनको सवाल हो।
एड्सद्वारा संक्रमित मानिसहरूको वीर्य वा योनिबाट निस्कने तरल पदार्थमा पनि जीवाणु हुन्छ। तसर्थ, रोकथामबारे सि डि सि यस्तो सुझाउ दिन्छ: “यौन संसर्ग नगर्नु सबैभन्दा भरपर्दो सुरक्षा हो। यौन संसर्ग गर्ने नै हो भने एड्स जीवाणुले संक्रमण नभएको व्यक्तिसित विवाहजस्तो चिरस्थायी, एकअर्काप्रति वफादार सम्बन्ध कायम नहुन्जेल पर्खनुहोस्।”
याद गर्नुहोस्, सुरक्षाको लागि “एकअर्काप्रति वफादार सम्बन्ध” कायम गर्नैपर्छ। तपाईं वफादार हुनुहुन्छ तर तपाईंको पति वा पत्नी छैन भने तपाईंको सुरक्षा हुँदैन। यो विशेषगरि पुरुषहरूले महिलाहरूलाई यौनिक तथा आर्थिक तवरमा दबाउने समाजहरूमा गाह्रो हुन्छ। कुनै कुनै मुलुकमा सुरक्षित यौनबारे छलफल गर्नु त परै जाओस्, महिलाहरूले पुरुहरूसित यौनबारे कुरा गर्नसमेत पाउँदैनन्।
तथापि, त्यस्ता सबै महिलाहरू निस्सहाय हुँदैनन्। एउटा पश्चिम अफ्रिकी मुलुकको अध्ययनले देखाएअनुसार आर्थिक तवरमा आत्मनिर्भर महिलाहरू एड्स संक्रमित पतिहरूसित यौन संसर्ग नगर्न सक्षम भए र तिनीहरूले कुनै हिंसात्मक परिणाम पनि भोग्नु परेन। सं.रा.अ.-को न्यु जर्सीका केही महिलाहरूले पुरुषले कण्डम नलगाएको खण्डमा यौन संसर्ग गर्न इन्कार गरे। निस्सन्देह, एच आइ भी र अरू यौनजन्य रोगहरूविरुद्ध ल्याटेक्स कण्डमले सुरक्षा प्रदान गर्नसक्छ तर त्यो सही ढंगमा नबिराई प्रयोग गर्नुपर्छ।
कहिले परीक्षण गराउने
अघिल्लो लेखमा उल्लिखित करेनले आफू संक्रमित हुनदेखि जोगिन खासै केही गर्न सक्नेथिइनन्। उनीहरूको विवाह हुनुभन्दा केही वर्षअघि नै उनका पति संक्रमित भइसकेका थिए र उनीहरूको विवाह समयतिर यो महामारी र एच आइ भी परीक्षण प्रारम्भिक चरणमा थियो। तथापि, अहिले भने कुनै कुनै मुलुकमा एच आइ भी परीक्षण गर्नु सामान्य प्रचलन भइसक्यो। यदि कुनै व्यक्तिलाई अर्को व्यक्ति एच आइ भी-द्वारा संक्रमित हो कि भनेर शंका लाग्छ भने प्रणयसूत्रमा बाँधिनुअघि परीक्षण गराउनु बुद्धिमानी हो। करेन यस्तो सुझाउ दिन्छिन्: “आफ्नो जीवनसाथी छान्दा होसियार हुनुहोस्। गलत निर्णय गर्दा तपाईंले ठूलो मोल चुकाउनु पर्नसक्छ र तपाईंको ज्यानसमेत जानसक्छ।”
परीक्षण गरेको छ भने व्यभिचार भएको खण्डमा निर्दोष पति या पत्नीको सुरक्षा हुन्छ। संक्रमण भएको छ महिनासम्म पनि एच आइ भी-का संकेतहरू परीक्षण गर्दा नदेखिनसक्ने हुँदा थुप्रै परीक्षणहरू गर्नु आवश्यक पर्नसक्छ। व्यभिचारी पति वा पत्नीसित यौनसम्बन्ध कायम गरेको खण्डमा (यो कार्यले व्यभिचार गर्नेलाई क्षमा दिइयो भन्ने बुझिन्छ) कण्डमको प्रयोगले संक्रमण हुनदेखि जोगाउँछ।
शिक्षाले कसरी मदत गर्छ?
बाइबल, एड्स देखा पर्नुभन्दा निकैअघि लेखिएको हो तर यसका सिद्धान्तअनुरूप जीवन बिताउँदा रोगविरुद्ध सुरक्षा पाउनु उल्लेखनीय कुरा हो। उदाहरणका लागि, बाइबलले पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्न निषेध गर्छ, वैवाहिक वफादारी कायम गर्नुपर्छ र मसीहीहरूले बाइबल सिद्धान्त व्यवहारमा उतार्ने व्यक्तिसित मात्र विवाह गर्नुपर्छ भन्छ। (१ कोरिन्थी ७:३९; हिब्रू १३:४) यसले शरीरलाई अशुद्ध तुल्याउने कुनै पनि प्रकारको पदार्थको दुरुपयोग गर्न तथा रगत लिन पनि निषेध गर्छ।—प्रेरित १५:२०; २ कोरिन्थी ७:१.
एच आइ भी संक्रमण भएका व्यक्तिहरूसित सम्पर्क हुँदा के कस्ता खतराहरू आइपर्नसक्छन् भनी जानिराख्नु बुद्धिमानी हो। एड्सबारे थाहा पाइराख्दा यसविरुद्ध सुरक्षा पाउन सकिन्छ।
एड्स एक्सन लिग यसो भन्छ: “प्रायजसो अवस्थामा एड्सबाट बच्न सकिन्छ। यसको उपचार पत्ता नलागुञ्जेल एड्सविरुद्ध लड्नसक्ने एक मात्र सर्वोत्तम उपाय शिक्षा हो।” (तेर्सो अक्षर हाम्रो।) आमाबाबुले एकअर्कासित र आफ्ना छोराछोरीलाई एड्सबारे खुलस्त कुराकानी गर्नु राम्रो हो।
कस्ता उपचारहरू उपलब्ध छन्?
एच आइ भी-द्वारा संक्रमित भएको छदेखि दस वर्षपछि मात्र रोगका लक्षणहरू देखा पर्न थाल्छन्। त्यतिञ्जेल शरीरमा एक प्रकारको अन्तरद्वन्द भइरहेको हुन्छ। जीवाणुहरू छिटोछिटो बढ्न थाल्छन् र रोग प्रतिरोधात्मक कोषहरूलाई खतम पार्छन्। रोग प्रतिरोधात्मक कोषहरूले प्रतिरोध गर्न खोज्छन्। तर पछि गएर दिनहुँ करोडौंको संख्यामा जीवाणुहरू बनिन थाल्दा रोग प्रतिरोधात्मक प्रणाली केही गर्न नसक्ने अवस्थामा पुग्छ।
रोग प्रतिरोधात्मक प्रणालीलाई मदत गर्न विभिन्न प्रकारका औषधीहरू विकास गरिएका छन्। यी औषधीहरू ए जेड टि, डि डि आइ र डि डि सि-जस्ता अंग्रेजी अक्षरहरूले चिनिन्छन्। यी औषधीहरूले राम्रा परिणामहरू ल्याउलान् र रोग निकोसमेत पार्लान् भनी कसै कसैले आशा गरे तापनि त्यो पूरा हुन सकेन। समय बित्दै जाँदा तिनीहरूको प्रभावकारिता घट्ने मात्र होइन तर कसै कसैमा त यसका गम्भीर प्रतिकूल लक्षणहरू पो देखिन्छन्। जस्तै—रक्त कोषहरूको विनाश, रगत जम्ने विकार अनि हातखुट्टाका स्नायुमा क्षति।
अहिले नयाँ प्रकारका औषधीहरू प्रयोग गर्न थालिएका छन्: प्रोटिज इनहिबिटर। डाक्टरहरूले तीनवटा औषधीको यो सम्मिश्रणसित अन्य एन्टीभाइरल औषधीहरू दिन्छन्। परीक्षणहरूले देखाएअनुसार यो त्रिपक्षीय उपचारले जीवाणुलाई खतम पार्ने होइन तर शरीरमा यसको संख्या बढ्न दिंदैन अथवा झन्डै झन्डै रोक्छ।
यस त्रिपक्षीय उपचारले बिरामीहरूको स्वास्थ्यमा निकै सुधार ल्याएको छ। तथापि, एच आइ भी-द्वारा संक्रमित व्यक्तिहरूमा लक्षण देखिनुअघि सुरुदेखि नै औषधी दिइएको खण्डमा यो बढी प्रभावशाली हुन्छ भन्ने विशेषज्ञहरूको भनाइ छ। त्यसो गरेपछि संक्रमण पूरा बढेर पूर्ण विकसित एड्सको रूप लिनदेखि सम्भवतः रोक्न सकिन्छ। यो उपचार नयाँ भएको हुँदा कतिञ्जेलसम्म संक्रमणलाई दबाउँछ, त्यो हेर्न बाँकी नै छ।
त्रिपक्षीय उपचार महँगो छ। तीनवटा एन्टिभाइरल औषधी तथा प्रयोगशालामा परीक्षणको औसत खर्च प्रति वर्ष १२,००० डलर हुन्छ। त्रिपक्षीय उपचार गरिरहेको बिरामीले आर्थिक बोझको अलावा औषधी सञ्चय गर्ने रेफ्रिजरेटर भएको ठाउँसम्म थुप्रै चोटि धाउनुपर्छ। साधारणतया बिरामीले कुनै कुनै चक्की दिनको दुइ चोटि र कुनै कुनै दिनको तीन चोटि खानुपर्छ। कुनै खालि पेटमा त कुनै खाना खाएपछि खानुपर्छ। एड्स लागेको व्यक्तिलाई अन्य संक्रमणहरू पनि हुनसक्ने हुँदा थप औषधी खानुपऱ्यो भने यो उपचार झनै जटिल हुन्छ।
डाक्टरहरूलाई सबैभन्दा चिन्ताको विषय नै बिरामीले त्रिपक्षीय उपचार छोड्यो भने के होला भन्ने हो। पहिलेकै दरमा जीवाणुहरूको संख्या वृद्धि हुन थाल्छ र उपचारले कुनै फरक नपारेका जीवाणुहरूलाई यो औषधीले नछुने हुनसक्छ। यी औषधीहरूले कुनै असर नगर्ने एच आइ भी जीवाणुहरूको उपचार गर्न अझ गाह्रो हुन्छ। यसबाहेक, यी सुपरजीवाणुहरू अरू मानिसलाई सर्नसक्छन्।
के खोप नै यसको सर्वोत्तम उपचार हो?
कोही कोही एड्स अनुसन्धानकर्ताहरूको विचारमा विश्वव्यापी एड्स महामारीलाई रोक्ने सर्वोत्तम तरिका सुरक्षित, प्रभावकारी खोपद्वारा हो। कमलपित्त, दादुरा, हाँडे र रूबेलाविरुद्ध प्रभावकारी साबित भएका खोपहरू ती रोगकै कमजोर जीवाणुहरूद्वारा तयार पारिन्छन्। साधारणतया के हुन्छ भने त्यो रोगका कमजोर जीवाणुहरू शरीरमा प्रवेश गर्दा रोग प्रतिरोधात्मक प्रणालीले त्यसलाई खतम पार्न खोज्ने मात्र होइन तर साँच्चिकै जीवाणु शरीरमा छिर्नै नदिने प्रतिरोध तयार गर्छ।
हालै बाँदरमा गरिएका दुइटा परीक्षणबाट के देखियो भने कमजोर जीवाणु पनि घातक हुनसक्छ। अर्को शब्दमा भन्ने हो भने जुन रोगबाट बच्न खोप तयार पारिएको हो, त्यसैले गर्दा रोग लाग्नसक्छ।
यसर्थ, खोपको खोज निराशाजनक तथा हरेसलाग्दो भएको छ। परीक्षणमा प्रयोग गरिएका अनेकन् सम्मिश्रणहरूले कम प्रभावशाली जीवाणुहरूलाई खतम पार्न सक्थ्यो होला तर एच आइ भी-लाई यसले पटक्कै असर गरेको छैन। त्यति मात्रै कहाँ हो र, अर्कै रूपमा देखा पर्ने एच आइ भी-लाई हतपती कुनै औषधीले छुँदैन। (हाल संसारभरि एच आइ भी कम्तीमा दस विभिन्न प्रकारका छन्।) साथै, खोप लगाएपछि प्रतिरोध गर्नुपर्ने रोग प्रतिरोधात्मक प्रणालीका कोषहरूलाई नै जीवाणुले सोझै आक्रमण गर्छ।
अनुसन्धान कार्यमा वित्तीय स्रोतको पनि महत्त्वपूर्ण भूमिका छ। यस क्षेत्रमा “निजी उद्योगहरू एकदमै कम मात्र सहभागी” भएको पाइन्छ भनी वाशिंटनस्थित अन्तरराष्ट्रिय एड्स खोप संगठनले बतायो। यी खोपहरू प्रायजसो अल्पविकसित मुलुकहरूमा बिक्रीवितरण गर्नुपर्ने हुँदा नाफा त्यति नहुने भएकोले चासो नलिएको भन्ने आरोप छ।
यस्ता कठिनाईहरूको बावजूद प्रभावकारी खोपको खोजमा अनुसन्धानकर्ताहरूले विभिन्न तरिकाहरूबारे अध्ययन गर्न छोडेका छैनन्। तथापि, हाललाई भने त्यस्तो खोप तयार होला जस्तो देखिंदैन। प्रयोगशालामा त्यस्तो प्रभावकारी खोप तयार भइहालेमा पनि त्यो उपचार मानिसहरूमा परीक्षण गर्ने महँगो र जोखिमपूर्ण काम त बाँकी नै छ।
[पृष्ठ ५-मा भएको पेटी]
एच आइ भी संक्रमण क-कसलाई भइरहेको छ?
संसारभरि लगभग १६,००० मानिसहरू दिनहुँ संक्रमित हुन्छन्। भनिन्छ, त्यसमध्ये ९० प्रतिशतभन्दा बढी मानिसहरू विकासोन्मुख मुलुकहरूमा बसोबास गर्छन्। संक्रमित १० जनामध्ये १ जना १५ वर्ष मुनिका छन्। बाँकी वयस्कहरू हुन् र त्यसमध्ये ४० प्रतिशतभन्दा बढी महिलाहरू छन् र आधाभन्दा बढी १५ देखि २४ वर्ष बीचका छन्।—विश्व स्वास्थ्य संघ तथा एच आइ भी/एड्ससम्बन्धी संयुक्त राष्ट्र संघको संयुक्त कार्यक्रम।
[पृष्ठ ७-मा भएको पेटी]
संक्रमण भएको व्यक्ति कसरी चिनिन्छ?
मानिसलाई हेर्ने बित्तिकै उसलाई संक्रमण भएको हो वा होइन भनेर छुट्याउन सकिंदैन। एच आइ भी-ले संक्रमण भएको तर कुनै लक्षण नदेखिएका व्यक्तिहरू स्वस्थ देखिए तापनि तिनीहरूले अरूलाई जीवाणु सार्नसक्छ। उसले संक्रमण भएको छैन भन्दैमा उसको कुरा पत्याउन सकिन्छ र? पत्याउन गाह्रो छ। एच आइ भी-द्वारा संक्रमित थुप्रै व्यक्तिहरूलाई आफूलाई संक्रमण भएको छ भनेर थाहै छैन। थाह पाएकाहरूले पनि यसलाई गोप्य राख्न वा झूट बोल्नसक्छन्। संयुक्त राज्यमा लिइएको सर्वेक्षणअनुसार संक्रमित १० जना व्यक्तिमध्ये ४ जनाले आफ्नो अवस्थाबारे आफूले यौन सम्पर्क राख्ने व्यक्तिलाई बताएनन्।
[पृष्ठ ६-मा भएको पेटी/चित्र]
एच आइ भी तथा एड्सबीचको सम्बन्ध
एच आइ भी-को पूरा रूप “ह्युमन इम्युनोडेफिशियन्सी भाइरस” हो र यो जीवाणुले शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई बिस्तारै बिस्तारै खतम पार्छ। एड्स-को पूरा रूप “अक्वायर्ड इम्युनोडेफिशियन्सी सिन्ड्रोम” अर्थात् हो। यो एच आइ भी संक्रमणको जीवनघातक खतरनाक अवस्था हो। यो नाउँबाटै एच आइ भी-ले शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई कत्तिको नोक्सान पारेको हुन्छ भनेर बुझाउँछ। त्यसकारण अन्यथा शरीरले प्रतिरोध गर्नसक्ने संक्रमणहरूबाट पनि बिरामी अस्वस्थ भइहाल्छन्।
[स्रोत]
CDC, Atlanta, Ga.
[पृष्ठ ७-मा भएको चित्र]
विवाहअघि एच आइ भी परीक्षण गर्नु बुद्धिमानी निर्णय हो