प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 १/८ पृ. ३-४
  • एड्‌सको उपचार—अत्यन्तै आवश्‍यक!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एड्‌सको उपचार—अत्यन्तै आवश्‍यक!
  • ब्यूँझनुहोस्‌!—२००५
  • मिल्दोजुल्दो सामग्री
  • एड्‌स विरुद्धको लडन्तमा भएका प्रगतिहरू
    ब्यूँझनुहोस्‌!—२००५
  • अफ्रिकामा एड्‌स फैलिन्छ
    ब्यूँझनुहोस्‌!—२००२
  • “मानव इतिहासकै सबैभन्दा विनाशकारी महामारी”
    ब्यूँझनुहोस्‌!—२००२
  • एड्‌स—यसविरुद्ध कसरी लड्‌ने
    ब्यूँझनुहोस्‌!—१९९८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००५
g05 १/८ पृ. ३-४

एड्‌सको उपचार—अत्यन्तै आवश्‍यक!

मलावीको लिलोङ्‌गेस्थित सेन्ट्रल मार्केटमा ग्रेस महँगा जुत्ताहरू बेच्छिन्‌। हेर्दा तिनी सुखी र स्वस्थ देखिन्छिन्‌। तर तिनको हँसिलो मुस्कानभित्र एउटा दुःखद कथा लुकेको छ।

सन्‌ १९९३ मा छोरी टियाजेनको जन्म हुँदा ग्रेस र तिनका पति खुसीले गद्‌गद भएका थिए। सुरु-सुरुमा त टियाजेन स्वस्थ देखिन्थिन्‌। यद्यपि, केही समयपछि नै तिनको जीउ लाग्न छोड्यो र तिनलाई एकपछि अर्को रोगले समात्यो। तीन वर्षको कलिलो उमेरमै एड्‌स (अक्वायर्ड इम्युनोडेफिशियन्सी सिन्ड्रोम) रोगको कारण टियाजेनको मृत्यु भयो।

केही वर्षपछि ग्रेसका पति पनि बिरामी पर्न थाले। एक दिन तिनी मूर्छा परे र तिनलाई अस्पताल लगियो। डाक्टरहरूले तिनलाई बचाउन सकेनन्‌। विवाह गरेको आठ वर्षपछि ग्रेसको पतिको एड्‌ससित सम्बन्धित रोगहरूको कारण मृत्यु भयो।

ग्रेस अहिले लिलोङ्‌गेको मोफसलमा एउटा कोठा लिएर एक्लै बस्छिन्‌। ग्रेस तीस वर्षकी मात्र भएकोले तिनले आफ्नो जीवन पुनः सुरु गर्नेछिन्‌ भन्‍ने लाग्न सक्छ। तथापि तिनी यसो भन्छिन्‌: “मलाई एच आई भी लागेको छ, त्यसैले म विवाह गर्दिनँ र अरू छोराछोरी जन्माउदिनँ।”a

दुःखको कुरा, यस्ता अनुभवहरू मलावीमा कुनै नौला कुरा होइनन्‌ जहाँका अनुमानित १५ प्रतिशत जनसंख्या एच आई भी-द्वारा सङ्‌क्रमित छन्‌। ग्लोब एण्ड मेल अखबारअनुसार गाउँको एउटा अस्पतालमा “अस्पतालको क्षमताभन्दा ५० प्रतिशत बढी बिरामीहरूलाई भर्ना गरिएको छ र” एड्‌सको कारण “अस्पतालका ५० प्रतिशतभन्दा बढी चिकित्सकहरू काम गर्न नसक्ने अवस्थामा छन्‌।” साहारा मरुभूमिको दक्षिणतिर पर्ने अफ्रिकाका अन्य देशमा एच आई भी झनै व्यापक रूपमा फैलिएको छ। सन्‌ २००२ मा एच आई भी/एड्‌सबारे (यु एन एड्‌स) संयुक्‍त राष्ट्रसंघको संयुक्‍त कार्यक्रममा यस्तो रिपोर्ट गरियो: “अफ्रिकाको साहारा मरुभूमिको दक्षिणी इलाकामा हाल सरदर आयु ४७ वर्ष छ। एड्‌स नभएको भए यो आयु ६२ वर्ष हुने थियो।”

तथापि एच आई भी/एड्‌सको प्रकोप यति सर्वत्र फैलिएको छ कि यो अफ्रिकी महादेशमा मात्रै सीमित रहेन। यु एन एड्‌स-को अनुमानअनुसार भारतमा लगभग ४० लाख वयस्कहरू एच आई भी-द्वारा सङ्‌क्रमित छन्‌। यु एन एड्‌स अझै यसो भन्छ: “हाल यस रोगद्वारा सङ्‌क्रमित व्यक्‍तिहरूको संख्यालाई विचार गर्ने हो भने यस दशकमा वयस्कहरूलाई मृत्युको मुखमा पुऱ्‍याउने प्रमुख कारकको रूपमा एच आई भी देखापर्नेछ।” यो महामारी भूतपूर्व सोभियत गणतन्त्रका असंख्य मानिसहरू मिलेर बनेको एउटा संघ अथवा कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्‌समा द्रुत गतिमा फैलिरहेको छ। एउटा रिपोर्टले बताएअनुसार उज्बेकिस्तानमा “सन्‌ २००२ मा मात्र रिपोर्ट गरिएका एच आई भी-का घटनाहरू गत दस वर्षको तुलनामा भन्दा धेरै थियो।” संयुक्‍त राज्य अमेरिकामा २५ देखि ४४ वर्षका अमेरिकीहरूको मृत्यु अझै पनि मुख्यतः एच आई भी सङ्‌क्रमणकै कारण हुने गरेको छ।

ब्यूँझनुहोस्‌!-ले एड्‌ससम्बन्धी लेखहरूको एउटा शृङ्‌खला सन्‌ १९८६ मा पहिलो चोटि प्रकाशित गरेको थियो। सोही वर्ष विश्‍व-स्वास्थ्यसंघका तात्कालीन निर्देशक डा. एच. महलरले त्यतिबेला नै करिब एक करोड मानिसहरू एच आई भी-द्वारा सङ्‌क्रमित भइसकेको हुन सक्ने चेतावनी दिएका थिए। त्यसको झन्डै दुई दशकपछि विश्‍वभरमा एच आई भी सङ्‌क्रमित व्यक्‍तिहरूको संख्या बढेर चार करोड बीस लाख पुगेको अनुमान गरिएको छ र यो बढ्‌ने क्रम जनसंख्या वृद्धिदरभन्दा दस गुना बढी द्रुत गतिमा भइरहेको छ! भविष्य पनि त्यति उज्ज्वल देखिंदैन भनी विज्ञहरू बताउँछन्‌। यु एन एड्‌स यस्तो रिपोर्ट गर्छ, “अत्यन्तै प्रभावित ४५ वटा देशमा सन्‌ २००० र २०२० बीच एड्‌सको कारण अकालमा मर्ने व्यक्‍तिहरूको संख्या ६ करोड ८० लाख पुग्नेछ भन्‍ने अड्‌कल काटिएको छ।”

सङ्‌क्रमणले यस्तो भयावह रूप लिइरहेको कारण एड्‌सको उपचार अत्यन्तै आवश्‍यक भएको छ। त्यसैकारण पनि चिकित्सा क्षेत्रमा लागेका अनुसन्धाताहरूले एच आई भी-सित लड्‌न अथक प्रयास गरेका छन्‌। यो घातक प्रकोप विरुद्ध लड्‌ने सन्दर्भमा कस्ता प्रगतिहरू भएका छन्‌? एड्‌सको अन्त हुनेछ भनेर आशा गर्नु के व्यावहारिक कुरा हो? (g04 11/22)

[फुटनोट]

a एच आई भी अथवा ह्‍युमन इम्युनोडेफिशियन्सी भाइरस नै एड्‌स रोगको भाइरस हो भन्‍ने बुझिएको छ।

[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]

विश्‍वभर अनुमानित ४ करोड २० लाख मानिसहरूलाई एच आई भी/एड्‌स लागेको छ; त्यसमा २५ लाख केटाकेटी छन्‌

[पृष्ठ ४-मा भएको चित्र]

भारत स्वास्थ्यकर्मीहरू एड्‌सबारे शिक्षा लिन्छन्‌

[स्रोत]

© Peter Barker/Panos Pictures

[पृष्ठ ४-मा भएको चित्र]

ब्राजिल एक समाजसेवी एड्‌स पीडित महिलालाई सान्त्वना दिन्छिन्‌

[स्रोत]

© Sean Sprague/Panos Pictures

[पृष्ठ ४-मा भएको चित्र]

थाइल्यान्ड एक स्वयम्‌सेवक जन्मँदै एच आई भी लागेका बच्चाको हेरविचार गर्छन्‌

[स्रोत]

© Ian Teh/Panos Pictures

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने