सडकहरू—सभ्यताको माध्यम
परापूर्व कालदेखि मानिसहरूले गोरेटो बाटो, सडक र राजमार्गहरूको व्यापक जालोद्वारा एकअर्कासित सम्पर्क कायम गर्दै आएका छन्। यसले यात्रा तथा व्यापार गर्ने मानिसको इच्छाको साथै लडाइँ गरेर साम्राज्य बनाउने चाहनाको पुष्टि गर्छ। हो, सडकहरूको निर्माणले मानिसको नराम्रो पक्ष पनि झल्काउँछ।
मानिसहरू पैदल वा घोडामा यात्रा गरेको समयदेखि लिएर अहिलेको बहुमार्गीय राजमार्गहरूको इतिहास पल्टाउँदा त्यसले विगतको कुरा मात्र बताउँदैन। तर मानव स्वभावबारे पनि बताउँछ।
सुरु-सुरुका सडकहरू
“निकै सोचविचार गरेर सडक बनाउने पहिलो मानिसहरू मेसोपोटामियालीहरू थिए होला” भनी द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका भन्छ। यी मानिसहरू टाइग्रीस र यूफ्रेटिस नदीको इलाकामा बस्थे। उक्त पुस्तक अझ यसो भन्छ, शोभायात्राहरू गरिने ती सडकहरूमा “उच्च तापमा तताइएका पोलेको इँटा र ढुंगाहरू छापिएका हुन्थे।” यो विवरणले पुरातन निर्माण सामग्रीहरूबारे बाइबलले बताउने कुराको स्मरण गराउँछ: “ढुंगाको सट्टा इँटा र हिलोको सट्टा अलकत्रा तिनीहरूले बनाए।”—उत्पत्ति ११:३.
पुरातन इस्राएलीहरूका धार्मिक दायित्वहरू पूरा गर्न सडक अपरिहार्य थियो। येशू ख्रीष्टको जन्मभन्दा झण्डै १,५०० वर्षअघि इस्राएलीहरूलाई यस्तो आज्ञा दिइएको थियो: “जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्वरले [धार्मिक पर्व मनाउन] छान्नुहुनेछ, त्यहाँ तीनपल्ट तिमीहरूका सबै पुरुष उहाँको सामने देखा परून्।” (व्यवस्था १६:१६) त्यो ठाउँ यरूशलेम हुन गयो र प्रायजसो सपरिवार नै ती आनन्दमय अवसरहरूमा उपस्थित हुन्थे। यसको लागि राम्रा सडकहरू नितान्त आवश्यक थियो!
स्पष्टतः, प्रमुख सडकहरू राम्ररी निर्माण भएका थिए। ख्रीष्ट जन्मनुभन्दा हजार वर्षअघि शासन गर्ने सुलेमानबारे यहूदी इतिहासकार फ्लेभियस जोसेफसले यसो भने: “तिनले सडकहरूको राम्रो स्याहारसम्भार गरे अनि यरूशलेम जाने बाटोमा कालो ढुंगा बिछ्याए।”
अनजानमा हत्या गर्ने हत्याराहरूलाई शरण दिन इस्राएलमा छ वटा शरण-नगरहरू थिए। यी नगरहरूसम्म पुऱ्याउने सडकहरूको पनि राम्रो स्याहारसम्भार गरिन्थ्यो। अनि यहूदी प्रचलन हेर्दा के पाइन्छ भने नजिकैको शरण-नगर कति टाढा छ भनेर हरेक दोबाटोमा स्पष्ट संकेतपाटीहरू हुन्थे।—गन्ती ३५:६, ११-३४.
व्यापार फैलाउन सडकहरू अत्यावश्यक भए र पुरातन समयमा एकदमै किनबेच गरिने वस्तुमध्ये रेशम पनि थियो। भनिन्छ, इस्राएलीहरू एउटा राष्ट्रको रूपमा व्यवस्थित हुनुभन्दा धेरैअघि चिनियाँहरूले रेशमकीराबाट रेशम निकाल्न जानिसकेका थिए तर तिनीहरूले ख्रीष्टको जन्मपछि मात्र त्यसको उत्पादनबारे अरूलाई बताए। त्यसभन्दा अघि नै पश्चिमी संसारमा रेशम कत्तिको प्रख्यात थियो भन्नेबारे सडकहरूको इतिहास (अंग्रेजी) पुस्तकका लेखक, जेफ्री हिन्ड्ले यसो भन्छन्, रेशमको प्रयोग “महिलाहरूलाई मात्र सुहाउने” भएको हुँदा “पुरुषहरूले त्यसको प्रयोग नगर्नु” भन्ने आदेश दिइएको थियो।
चीनबाट रेशम ढुवानी गर्ने मार्गलाई रेशम मार्ग भनिन्थ्यो। सा.यु. १३ औं शताब्दीको अन्ततिर त्यही मार्ग भएर मार्को पोलो चीन जाँदा त्यो झन्डै १,४०० वर्ष पुरानो भइसकेको थियो। दुई हजार वर्षभन्दा बढी समयसम्म रेशम मार्ग नै संसारको सबैभन्दा लामो मार्ग थियो। रेशमको स्रोत संघाई, चीनदेखि गाडिस (अहिलेको काडिज), स्पेनसम्म फैलिएको यो मार्ग लगभग १२,८०० किलोमिटर लामो थियो।
सैनिक महत्त्व
साम्राज्य बनाउने अभिलाषाले गर्दा सडक निर्माण कार्यमा ठूलठूला प्रगतिहरू भए। उदाहरणका लागि, सिजरको शासनकालमा रोमी साम्राज्यमा निर्माण भएका सडकहरू युरोप, उत्तर अफ्रिका र मध्यपूर्वसम्म फैलिएको थियो र यो जम्मा ८०,००० किलोमिटर लामो थियो। रोमी सिपाहीहरू युद्धमा व्यस्त नहुँदा तिनीहरूलाई कहिलेकाहीं सडक निर्माण गर्न तथा त्यसको स्याहारसम्भार गर्ने काममा लगाइन्थ्यो।
वर्तमान समयका विजय अभियानहरूले पनि सडकहरूको महत्त्व झल्काउँछ। सन् १९३४ मा निर्माण गर्न थालिएको जर्मन राजमार्गले पनि अडल्फ हिटलरलाई धेरै मानिसहरूमाथि अधिकार जमाउन निकै सहयोग पुऱ्यायो। इतिहासकार हिन्ड्लेअनुसार यस सडक निर्माणले गर्दा “गाडीहरू आवतजावत गर्ने राजमार्ग बनाउने” पहिलो देश जर्मनी हुन गयो।
सडक निर्माण—एक प्रकारको विज्ञान
रोमी अमिनहरूले ग्रोमा भन्ने उपकरण प्रयोग गरेर तीरजस्तो सीधा सडकहरूको नक्सा कोर्थे। डकर्मीहरूले सडकमा बिछ्याउने ढुंगाहरू एकदमै कलात्मक ढंगमा कुँद्थे अनि इन्जिनियरहरूले सडकमा ढुवानी गर्न सकिने वजनको पनि सीमा तोक्थे। यी सडकहरूको जग बलियो र सतह पनि टिकाउपूर्ण हुन्थ्यो। तर यी सडकहरू लामो समयसम्म टिक्न सक्नुको मुख्य कारण के हो भने, सडकको सतहमा पानी नजम्ने किसिमले बनाइएको र ढल निकासको पनि राम्रो व्यवस्था थियो। यो समयदेखि “राजमार्ग” भन्ने शब्दको प्रयोग हुन थाल्यो। पसलहरूले समेत सडकको नक्साहरू बेच्न थाले।
एक जना इतिहासकार यसो भन्छन्, “रोमीहरूले सडक निर्माण कार्यमा कमाएको ख्यातिलाई हेर्दा लेखकले प्रशंसा गर्ने शब्द नै पाउँदैनन् र पहिले पहिलेका मानिसहरूलाई इटालीका सडकहरूले भन्दा बढी स्थायी सेवा पुऱ्याएको अरू कुनै स्मारक छैन होला।”
रोमको दक्षिणबाट सुरु हुने एप्पियन मार्गलाई सडकहरूको इतिहास (अंग्रेजी) नामक पुस्तकले “पश्चिमी मानिसको इतिहासमा पिच गरिएको पहिलो सडक” भनेका छन्। यो प्रख्यात राजमार्गको चौडाइ लगभग छ मिटर थियो र यसमा लाभाका ठूलठूला टुक्राहरू बिछ्याइएका थिए। प्रेरित पावल कैदी छँदा यही बाटो भएर रोम गएका थिए र त्यसमध्ये कुनै कुनै अहिले पनि प्रयोगमा छन्।—प्रेरित २८:१५, १६.
पुरातन समयका दक्षिण अमेरिकी इन्डियनहरूको सडक निर्माण क्षमता देखेर पनि धेरै मानिसहरू छक्क पर्न सक्छन्। इन्का जातिहरूले सा.यु. १,२०० देखि १,५०० भित्र जम्माजम्मी १६,००० किलोमिटर सडक निर्माण गरे र यसले १,००,००,००० मानिसहरू भएको राष्ट्रलाई एक बनायो। यी सडकहरूले हामीले कल्पनै गर्न नसक्ने उबडखाबड तथा डरलाग्दो भूभागलाई छेड्छ, मरूभूमि, रेन फरेस्ट हुँदो भयानक पेरूभियाली एन्डिज पनि पार गर्छ!
एउटा सडकबारे द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ: “एन्डीजको मार्ग अद्भुत थियो। बाटो २५ फिट (७.५ मिटर) चौडा अनि अग्ला पर्वतमालाहरू हुँदो घुमाउरा थिए र त्यति ठाडो उकालोहरू थिएनन्। चट्टानलाई फोडेर बीचमा बाटो बनाइएको थियो र सडकलाई टेवा दिन भीरमा बनाइएका सुरक्षा पर्खालहरू सयौं फिट लामा हुन्थे। खाल्टाखुल्टी तथा खाँदहरू ढुंगाले भरिएका थिए अनि फराकिला पहाडी खोल्साहरू तर्न इस्पात वा फाइबरका तारहरूले निर्मित झोलुंगे पुलहरू थिए। प्रायजसो बाटोहरूमा ढुंगा छापिएको हुन्थ्यो र अलकत्राको पनि व्यापक प्रयोग गरिन्थ्यो।”
इन्का जातिहरूलाई घोडाको विषयमा ज्ञान थिएन तर तिनीहरूका सडकहरू “शाही सन्देशवाहकहरूका लागि पक्का धावन मार्ग” थियो। एक जना इतिहासकारले यस्तो टिप्पणी गरे: “बाटोभरि साढे एक माइलको [२ किलोमिटर] दूरीमा विश्रामस्थलहरू थिए अनि ती प्रत्येक ठाउँमा सुरक्षाकर्मीहरूको टोली तथा पेशेवर धावकहरू हुन्थे। यी विश्रामस्थलहरूबीचको दूरी छोटो भएकोले छिटो दौड्न सकिन्थ्यो र दिनरात सञ्चालन हुने हुँदा राजधानी कुज्कोदेखि १,२५० माइल [२,००० किलोमिटर] टाढा किटोसम्म पुग्न पाँच दिन मात्र लाग्थ्यो। यसको मतलब, समुद्री सतहभन्दा १५,००० फिट [४,००० मिटर] माथि उचाइमा निर्मित यी सडकहरूमा प्रति घण्टा औसतन दस माइलको [१५ किलोमिटर] रफ्तारले दौड्नु पर्थ्यो। यो गतिमा त रोमी साम्राज्यको हुलाक सेवाले समेत सेवा पुऱ्याउन सकेन!”
विपत्तिका कारणहरू
मानिसका धमनीहरूमा रक्तसंचार बन्द हुनसक्छ र यसको परिणाम दुःखद् हुन्छ। त्यसरी नै मानिसहरूको जीवनस्तर उकास्न निर्माण गरिएका सडकहरूमा हुनसक्ने अवरोधहरूले जीवनस्तरलाई खस्काउन सक्छ। रेन फरेस्ट, उजाडभूमि, जंगल तथा राष्ट्रिय निकुञ्जहरू हुँदो निर्माण गरिएका सडकहरूले वन्यजन्तुहरूमा प्रतिकूल असर पार्नसक्छ। अनि स्थानीय मानिसहरू तथा जंगलमा तिनीहरूको आवासमाथि पनि प्रायजसो नराम्रो असर पार्छ। हामीले कसरी सडकहरू निर्माण गऱ्यौं (अंग्रेजी) पुस्तक यसो भन्छ: “विकासको लागि निर्माण गरिएको अमेजन वारपार गर्ने राजमार्गले रेन फरेस्टको ठूलो भूभाग नाश गऱ्यो र त्यसले जंगलमा बसोबास गर्ने मानिसहरूको जीवनशैलीलाई नै उथलपुथल गरेको हुँदा तिनीहरूको निम्ति विपत्तिको कारण भयो।”
शहरका सडकहरूमा गाडीहरूको संख्या दिनदिनै बढिरहेको हुँदा पनि प्रतिकूल असर भोग्नु परिरहेको छ। पैसा उपलब्ध भएको खण्डमा द्रूत गतिमा गाडी हाँक्न मिल्ने राजमार्ग निर्माण गरिन्छ। तर समय बित्दै जाँदा यी राजमार्गहरूमा अझ बढी सवारीसाधन ओहरदोहर हुन थाल्छ र त्यसले गर्दा लाखौंलाई रोगी बनाउने प्रदूषणको वृद्धि हुन्छ। त्यति मात्रै कहाँ हो र, संसारभरि वर्षेनी लगभग ५,००,००० मानिसहरू सडक दुर्घटनामा मारिन्छन् र दुर्घटनामा घाइते हुने १ करोड ५० लाख मानिसहरूमध्ये कोही त सख्त घाइते हुन्छन्। तुलना गर्ने हो भने प्रथम विश्वयुद्धले युद्धमा भाग लिएका नब्बे लाख मानिसहरूको ज्यान लिएको थियो। तर केही समयपछि युद्ध रोकियो। सडक दुर्घटनामा भने दिनहुँ मानिसहरूको मृत्यु भइरहन्छ, दिनमा १,००० भन्दा बढी मानिसहरूको मृत्यु हुन्छ र दुर्घटना नभएको दिनै हुँदैन!
हो, सडकहरूले धेरै तरिकामा हाम्रो मानव स्वभाव झल्काउँछ—हामी मानिसहरूको बल तथा कमजोरी देखाउँछ। हाम्रो जिम्मामा सुम्पिएको यस भव्य ग्रहलाई कुन दृष्टिकोणले हेर्छौं, त्यो पनि देखाउँछ।
[पृष्ठ २५-मा भएको चित्र]
प्रेरित पावलले यात्रा गरेको एप्पियन मार्ग अहिले पनि प्रयोगमा छ
[पृष्ठ २६-मा भएको चित्र]
संसारमा वर्षेनी ५,००,००० मानिसहरू सडक दुर्घटनामा मर्छन्