‘मानसिक स्वास्थ्यको दयनीय अवस्था’
अन्तरराष्ट्रिय स्वास्थ्यको निम्ति क्यानेडियाली समाजको समाचारपत्रले सीनर्जि पत्रिकामा प्रकाशित लेखमा “स्वास्थ्य सेवाको विभिन्न पक्षमा थुप्रै प्रभावकारी उन्नतिहरू गरिए तापनि मानसिक स्वास्थ्यको अवस्था दयनीय छ” भन्ने टिप्पणी गऱ्यो।
एउटा रिपोर्टअनुसार विश्वभरि एक चौथाइ मानिसहरू मानसिक, भावनात्मक वा बानीव्यहोरासम्बन्धी असन्तुलनबाट पीडित छन्। अर्को एक अध्ययनले स्वास्थ्यकर्मीहरूलाई भेट्ने एक तिहाइ बिरामीहरूमध्ये एक जना निराशा वा अन्य फिक्रीहरूको कारण आउने गर्छन् भन्ने संकेत गऱ्यो। अनि यसको संख्या बढ्दो छ भनी अनुसन्धानकर्ताहरू भन्छन्।
किन? हाभर्ड विश्वविद्यालयको सामाजिक चिकित्सा विभागद्वारा सञ्चालित अध्ययनअनुसार गम्भीर मानसिक निराशा, सिट्जोफ्रेनिया र स्मरणशक्ति हराउँदै जाने जस्ता रोगहरू बढ्दै जानुको एउटा कारण “थुप्रै मानिसहरूको आयु लामो हुनु हो।” तथापि, यी सबैको कारण आयु लामो हुनु मात्र होइन। आर्थिक समस्याहरू तथा आधुनिक जीवनशैलीका दबाबहरू पनि त्यतिकै दोषी छन्।
यस्तो अन्धकारमय अवस्थालाई कसरी परिवर्तन गर्न सकिन्छ? स्वास्थ्य सेवाका विभिन्न पक्षहरूमध्ये मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ भनी विशेषज्ञहरू भन्छन्। किनभने “यसलाई दिनुपर्ने महत्त्व दिइएको छैन।”