विश्वदर्शन
आमाको दूध सर्वोत्कृष्ट
“आमाको दूध सर्वोत्तम औषधी हो” भनी न्युजवीक बताउँछ। “आमाको दूध खाने शिशुहरूले मस्तिष्क विकासको निम्ति आवश्यक सबै पौष्टिक आहार पाउनुका साथै तिनीहरूलाई एलर्जी, इन्फेक्सन, दिसा लाग्ने, दाद आउने र निमोनियाँ हुने इत्यादि खतराहरू सबै कम हुन्छ।” बालचिकित्सकहरूको अमेरिकी प्रतिष्ठान तथा भोजनसम्बन्धी अमेरिकी संगठनले शिशुहरूलाई कम्तीमा पनि एक वर्षसम्म दूध खुवाउन आमाहरूलाई आग्रह गर्छ। “तथापि, यो विशिष्ट स्रोतको यथेष्ट उपभोग गरिंदैन” भनी न्युजवीक टिप्पणी गर्छ। किन? अक्सर गलत जानकारीको कारण। कोही कोही आमाले बच्चालाई स्वस्थ राख्न आफ्नो दूध पुग्दैन भन्ठान्छन्। अरूले चाहिं बच्चालाई सानैदेखि अन्य खानाहरू चाहिन्छ भन्ठान्छन्। “तर वास्तवमा आमाको दूधमा नै शिशुलाई छ महिनासम्म चाहिने सबै प्रकारका पौष्टिक आहारहरू पाइन्छ र छ महिनापछि मात्र बिस्तारै ठोस आहारहरू दिन थाले हुन्छ” भनी उक्त लेख बताउँछ। “अनि दुई वर्षसम्मको बच्चाले अरू जे खाना खाए तापनि आमाको दूधबाट रोग प्रतिजीवि शक्ति तथा चिल्लो पदार्थ पाउँछ र यसले धेरै फाइदा गर्छ।” अनि यसबाट आमालाई पनि फाइदा हुन्छ: बच्चालाई दूध खुवाउँदा स्तनको क्यान्सर हुने खतरा कम हुनुका साथै गर्भवती हुँदा बढेको वजन पनि घट्छ।
निदाउने चालकहरू
“गाडी चलाउँदा चलाउँदै झपक्क निदाउने चालकहरू, पेयपदार्थ पिएर गाडी चलाउने चालकहरू जत्तिकै खतरनाक हुन्छन्” भनी द जर्नल अफ द अमेरिकन मेडिकल असोसियसन बताउँछ। “निद्रा लाग्दा लाग्दै [सवारीसाधन] चलाउँदा हुने भयानक दुर्घटनाहरूको त्यति वास्ता गरिंदैन। निद्रा लाग्दा लाग्दै गाडी चलाउने चालकहरूले सार्वजनिक स्वास्थ्य तथा सुरक्षालाई नै खतरामा पार्छन्।” द टोरोन्टो स्टार-अनुसार मानिसहरूले आफूलाई कहिले निद्रा लाग्छ वा कत्तिको निद्रा लागेको छ भनी अनुमान नै लगाउन सक्दैनन् भनी अध्ययनहरूले देखाएको छ। “भोक तथा सास फेर्नु जत्तिकै सुत्नु पनि आवश्यक छ” भनी अमेरिकन अटोमोबाइल असोसियशन फाउनडेसन फर ट्राफिक सेफ्टीका प्रवक्ता स्टेफानी फल बताउँछिन्। “तपाईंको शरीरलाई निद्राको आवश्यकता पर्नेबत्तिकै झपक्क निदाइहाल्छ।” निकै चोटि हाइ काढ्न थालेपछि वा आँखा झपझप बन्द हुन थालेपछि वा गाडी चलाउनै गाह्रो भएपछि चालकहरूले के गर्नुपर्छ? “साधारणतया, ननिदाउनको लागि झ्याल खोल्ने, रेडियो ठूलो स्वरले घन्काउने गरिन्छ तर त्यसले केही फरक पार्दैन” भनी द टोरोन्टो स्टार बताउँछ। “कफीले केही छिन जागा रहन त मदत गर्छ तर मानिसको सुत्नुपर्ने शारीरिक आवश्यकतालाई कम गर्दैन।” निद्रा लाग्दा चालकहरूलाई सुरक्षित ठाउँमा गाडी रोकेर सुत्न सल्लाह दिइन्छ।
सम्पन्न तथा विपन्न दुवै देशलाई असर गर्ने गरिबी
इन्टरनेशनल हेरल्ड ट्रिब्युन-मा प्रकाशित हालैको संयुक्त राष्ट्रको रिपोर्टअनुसार गरिबहरूको संख्या बढ्दैछ र यसले संसारका सम्पन्न राष्ट्रहरूलाई समेत असर गरिरहेको छ। औद्योगिक राष्ट्रका थुप्रै मानिसहरू जागिर, शिक्षा र स्वास्थ्य सेवा जस्ता “आधारभूत मानव आवश्यकताबाट” वञ्चित हुनुपरेका छन्। त्यस रिपोर्टअनुसार संयुक्त राज्यमा १६.५ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन्। बेलायतमा यसको संख्या १५ प्रतिशत छ। औद्योगिक राष्ट्रहरूमा १० करोड मानिसहरू घरबारबिहिन छन् भने ३.७ करोड बेरोजगार र झन्डै २० करोड मानिसहरूका “आयु ६० वर्षभन्दा कम छन्।”
केटाकेटीहरू—युद्धका सिकार
“सं.रा.-का विशेष प्रतिनिधि ओलारा ओटुनुअनुसार गत दशक युद्ध तथा लडाइँहरूले २० लाख केटाकेटीहरूको ज्यान लियो, १० लाखभन्दा बढी अनाथ भए र ६० लाखभन्दा बढी सिकिस्त घाइते वा अपांग भए” भनी जर्मन दैनिकी ग्रिभनर जाइटुङ रिपोर्ट गर्छ। सं.रा. सुरक्षा परिषद्ले केटाकेटीलाई युद्धको सिकार बनाउने सबै कार्यको भत्सर्ना गरेको छ। विश्वभरि सेनाको रूपमा प्रयोग गरिने ३,००,००० केटाकेटीहरू विशेष चिन्ताको विषय हुन्। थुप्रैलाई जबरजस्ती सेनामा भर्ती गराइन्छ र तीमध्ये एक तिहाइ त केटीहरू नै हुन्छन्। अक्सर बाल सैनिकहरूलाई यस्तो ठाउँमा पठाइन्छ जहाँ अरूको ज्यान लिंदा तिनीहरूको पनि ज्यान जान्छ। हालै स्थापित गैरसरकारी संगठनले अन्तरराष्ट्रिय तवरमा सेनामा भर्ती हुनेहरूको उमेर १८ वर्ष गरियोस् भनी माग गरिरहेको छ।
बिरामी नै हुन रोज्नु
“विश्वभरि नम्बर एक हत्यारा अझै पनि टिबी हो” भनी केप टाइम्स अखबार रिपोर्ट गर्छ। दक्षिण अफ्रिकाका गरिबहरूमा यो रोग अत्यन्तै व्याप्त छ र यसले वर्षेनी १३,००० मानिसहरूका ज्यान लिनुका साथै थुप्रैलाई काम गर्न असक्षम बनाउँछ। काम गर्न असक्षमहरूको निम्ति सरकारले आर्थिक सहयोग दिनुका साथै टिबीका औषधीहरू पनि उपलब्ध गरिदिन्छन्। तर काम पाउन गाह्रो हुनुका साथै पैसा राम्रो नपाउने भएकोले कोही कोही बिरामीहरूले आर्थिक सहयोग पाइरहन टिबीको औषधी खान छोड्ने निर्णय गर्छन्। “अक्सर विभिन्न किसिमका सानातिना काम गरेर पाइने पैसाभन्दा सरकारबाट पाउने सहयोग दस गुणा बढी छ” भनी दक्षिण अफ्रिकी टिबी उपचार संगठनका निर्देशक रिया ग्रान्ट भन्छिन्। “सरकारबाट कति पैसा पाउँछ भनी थाह पाएपछि तिनीहरू बरु बिरामी रहनु नै बेस ठान्छन्।”
जीवाणुहरू कति छन्?
पृथ्वीमा पाइने विभिन्न प्रकारका सामान्य जीवधारीहरूमध्ये जीवाणु पनि एक हो। यो समुद्रको सबैभन्दा तल्लो सतहदेखि ६० किलोमिटरमाथि वायुमण्डलमा पनि पाइन्छ। तिनीहरूको कुल संख्या पृथ्वीको अरू कुनै पनि जीवधारीभन्दा बढी छन्। तिनीहरूको संख्या कति छ भनी गरिएको अनुसन्धानको रिपोर्ट सं.रा.अ.-को जर्जिया विश्वविद्यालयका वैज्ञानिकहरूले प्रकाशित गरेका छन्। तिनीहरूको अनुमानअनुसार पाँचपछि ३० वटा सुन्ना छ। लण्डनको द टाइम्स यस्तो उल्लेख गर्छ: “थुप्रै मानिसहरूको विचारमा जीवाणुहरूले रोग फैलाउँछ। तर वास्तवमा रोग फैलाउने खालका जीवाणु कमै मात्र छन्। पशुहरूमा हुने सबै प्रकारका जीवाणुहरूको गणना गर्ने हो भने पनि कुल संख्याको जम्मा एक प्रतिशत मात्र रोग फैलाउने खालको हुन्छ। ती जीवाणुहरू अहानिकारक मात्र नभई पाचन क्रियाजस्ता प्रक्रियाहरूको लागि अत्यावश्यक छन्।” अचम्मको कुरा के छ भने, ९२ देखि ९४ प्रतिशत जीवाणुहरू समुद्रको पींधभन्दा १० सेन्टीमिटर तल पाइन्छ भने जमिनमा ९ मिटरभन्दा तल गहिराइमा मात्र पाइन्छ। यी ठाउँहरूमा पहिले केही पनि जीवित प्राणीहरू पाइन्दैन भन्ठानिन्थ्यो। सुक्खा अवस्थामा जीवाणुको झन्डै आधी भाग कार्बन हुन्छ जुन हाम्रो जीवनको निम्ति अत्यावश्यक छ। “जीवाणुमा पाइने कार्बन झन्डै संसारको सबै बोटबिरुवाहरूमा पाइने कार्बन बराबर हुन्छ” भनी द टाइम्स बताउँछ।
छोड्न अझै ढिला भएको छैन
चालीस वर्ष पुरानो अध्ययनले ६० वर्षको उमेरमा धूम्रपान गर्न छोड्दा समेत क्यान्सर हुने सम्भावना धेरै कम हुन्छ भनी बेलायतको डेलि टेलिग्राफ-ले रिपोर्ट गऱ्यो। सुटन, बेलायतमा क्यान्सर अनुसन्धान संस्थाका प्राध्यापक जुलियन पेटोले भने: “गत वर्ष हामीले धूम्रपानको परिणाम कत्ति घातक हुन्छ भनी स्पष्टसित देख्यौं। हामीले सोचेजस्तो यसले एक चौथाइ मानिसहरूको ज्यान लिने नभई आधी जस्तोको ज्यान लिन्छ र वृद्धावस्थामा धूम्रपान गर्न छोड्दा धेरै फाइदा हुने पनि हामीले देख्यौं।” केटाकेटीहरूलाई पनि धूम्रपानको खतराहरूबारे बारम्बार चेताउनी दिइन्छ। तथापि, वृद्ध जनहरूले धूम्रपान गर्न छोड्दा फोक्सोको क्यान्सर हुने खतरा धेरै नै कम हुन्छ भनी बुझ्नुपर्छ भनी तिनी बताउँछन्।