मानिसको भाग्यको खोजीमा
यति धेरै मानिसले भाग्यमा विश्वास गर्नुको कारण के हो? युगौंदेखि मानिसले जीवनको रहस्य र अनेकन् घटनाहरू हुनुको कारण पत्ता लगाउन खोजिरहेका छन्। “घटनाहरू कुनै दृश्य शक्ति, अदृश्य शक्ति वा कुनै कारणबिना भएको हो, त्यसको आधारमा मानिसहरूले ‘देवता’, ‘भाग्य’ र ‘संयोग’ इत्यादि धारणाहरू विकास गर्न थाले” भनी इतिहासकार हेल्मर रिंगग्रेन भन्छन्। इतिहास पल्टाएर हेर्दा भाग्य र नियतिसित सम्बन्धित धारणा, दन्त्यकथा र मिथ्याहरू प्रशस्त पाइन्छ।
अश्शूरीहरूबारे अनुसन्धानकर्ता झाँ बोतारो भन्छन्: “हाम्रो संस्कृतिको सबै पक्ष मेसोपोटामियाली सभ्यताबाट निकै प्रभावित छ” र पुरातन मेसोपोटामिया वा बेबिलोनबाट नै “सबैभन्दा पहिला अलौकिक कुराहरूको धारणा र धार्मिक नीतिनियमहरूको संरचना भयो।” अनि भाग्यसम्बन्धी धारणाहरू पनि त्यहींबाट सुरु भएको हो।
भाग्यसम्बन्धी धारणाको पुरातन सुरुआत
हाल इराकमा पर्ने पुरातन मेसोपोटामियाको भग्नावशेषहरूमा पुरातत्त्वविद्हरूले अहिलेसम्म पत्ता लागेमध्ये सबैभन्दा पुरानो केही लेखोटहरू भेट्टाएका छन्। हजारौं कीलाक्षर पाटीका लेखोटहरूले सुमेर तथा अक्काड र प्रख्यात शहर बेबिलोनको सभ्यताको स्पष्ट चित्र कोर्छ। पुरातत्त्वविद् शामुयल एन. क्रेमरअनुसार सुमेरीहरू “मानिसहरूको समस्या र त्यो पनि अझ विशेष गरी ती समस्याहरूको रहस्यमयी कारण भएको हुँदा चिन्तित थिए।” यही समस्याको समाधानको खोजीमा तिनीहरूले भाग्यसम्बन्धी धारणाको विकास गरे।
पुरातत्त्वविद् जुवान ओट्सले आफ्नो पुस्तक बेबिलोन-मा (अंग्रेजी) “प्रत्येक बेबिलोनीको आफ्नै व्यक्तिगत देवदेवी हुन्थ्यो” भनी बताउँछिन्। देवताले नै “सबै मानिसजातिको व्यक्तिगत र सामूहिक रूपमा भाग्य निर्धारण गर्छन्” भनी बेबिलोनीहरूले विश्वास गर्थे। क्रेमरका अनुसार सुमेरीहरूले “यस ब्रह्माण्डलाई नियन्त्रणमा राख्ने देवताहरूले दुष्ट्याइँ, झूट र हिंसा मानव सभ्यताको अभिन्न भागको रूपमा राखेका हुन्छन्” भन्ने विश्वास राख्थे। भाग्यमाथि विश्वास व्याप्त थियो र यस्तो विश्वासको मानिसहरूले अत्यन्तै कदर गर्थे।
बेबिलोनीहरूले “देवताहरूसित कुरा गर्ने प्रविधि” अथवा तन्त्रमन्त्रद्वारा परमेश्वरको योजना थाह पाउन सकिन्छ भन्ठान्थे। तन्त्रमन्त्रमा चीजबीज र घटनाहरू हेरेर त्यसको अर्थ निकाल्नु समावेश थियो। विशेष गरी सपना, पशुहरूको बेहोरा र भित्री अंगहरू जाँच गरिन्थ्यो। (इजकिएल २१:२१; दानियल २:१-४ तुलना गर्नुहोस्।) भविष्य बताउने जस्ता अप्रत्याशित वा असामान्य घटनाहरू माटोका पाटीहरूमा लिपिबद्ध गरिन्थ्यो।
पुरातन सभ्यताका फ्रान्सेली शास्त्रविद् एड्वर्ड डोर्मअनुसार “मेसोपोटामियाली इतिहासको सुरुदेखि नै ज्योतिषी र तन्त्रमन्त्रको धारणा रहेको पाइन्छ।” तन्त्रमन्त्र जीवनको महत्त्वपूर्ण भाग थियो। त्यसैकारण प्राध्यापक बोतारो भन्छन्, “हरेक वस्तुको परीक्षण गरेर अनि तन्त्रमन्त्रद्वारा कुनै निष्कर्ष निकाल्न सकिन्छ भन्ने धारणा थियो। . . . सम्पूर्ण ब्रह्माण्डलाई होसियारीपूर्वक अध्ययन गरेमा भविष्यबारे केही थाह लगाउन सकिन्छ भनिन्थ्यो।” अतः मेसोपोटामियालीहरू ज्योतिषशास्त्रद्वारा भविष्य बताउन सकिन्छ भनी पूरा विश्वास गर्थे।—यशैया ४७:१३ तुलना गर्नुहोस्।
यसबाहेक, बेबिलोनीहरूले तन्त्रमन्त्रमा पासा वा चिट्ठा पनि धेरै प्रयोग गर्थे। रानडमनेस नामक पुस्तकमा डेबोरा बेनेटअनुसार “मानव दाउपेचको सम्भाव्यतालाई हटाउन र ईश्वरीय इच्छा प्रकट गर्ने सुस्पष्ट दैवीय माध्यमको रूपमा” ती पासा वा चिट्ठा प्रयोग गरिन्थ्यो। तथापि, देवताहरूका निर्णय कठोर ठानिंदैनथ्यो। दुर्भाग्यबाट बच्न देउताहरूलाई बिन्तीभाउ गर्न सकिन्थ्यो।
पुरातन मिश्रमा भाग्य
सा.यु.पू. १५ औं शताब्दीमा बेबिलोनी र मिश्रीहरूबीच व्यापक सम्बन्ध थियो। भाग्यसित सम्बन्धित धार्मिक विधिहरू सांस्कृतिक आदानप्रदानमा समावेश गरिन्थ्यो। मिश्रीहरूले भाग्यमा विश्वास गर्नुको कारण के हो? अक्सफोर्ड विश्वविद्यालयमा मिश्रसम्बन्धी प्राध्यापक जोन आर. बेन्सअनुसार “[मिश्री] धर्मले प्रायजसो भैपरिआउने अप्रत्याशित घटनाहरू बुझ्न कोसिस गर्थ्यो।”
मिश्रका थुप्रै देउताहरूमध्ये आइसिस “जीवनकी मालिक्नी, भाग्यको शासक” भनेर व्याख्या गरिन्थ्यो। मिश्रीहरूले पनि तन्त्रमन्त्र र ज्योतिषी गर्ने गर्थे। (यशैया १९:३ तुलना गर्नुहोस्।) एक इतिहासकार भन्छिन्: “तिनीहरूले परमेश्वरलाई असंख्य प्रश्नहरू गर्थे।” तर बेबिलोनबाट भाग्यसम्बन्धी धारणा नक्कल गर्ने मिश्री सभ्यता मात्र होइन।
ग्रीस र रोम
धार्मिक कुराहरूको सन्दर्भमा “पुरातन ग्रीस पनि बेबिलोनको व्यापक तथा भीषण प्रभावबाट बचेन” भनी झाँ बोतारो भन्छन्। ग्रीसमा भाग्यमा विश्वास लोकप्रिय हुनुको कारणबारे प्राध्यापक पिटर ग्रिन यसो भन्छन्: “आफ्ना निर्णयहरूका लागि अजवाफदेही, रहस्यमय भाग्यको कठपुतली हुनुपर्ने अनिश्चित संसारमा हरेक व्यक्तिविशेषको लागि भविष्य तय गरिदिने माध्यम देवताहरूले निर्धारण गर्ने भाग्य हुन गयो। त्यो वाणी आफूले सुन्न चाहेको कुरा नहुनसक्छ तर पूर्वचेताउनी पाएपछि कम से कम तयार त रहनसकिन्छ।”
व्यक्तिविशेषहरूलाई भविष्यबारे आश्वासन दिनेबाहेक भाग्यमाथि विश्वासले अर्को अनिष्ट उद्देश्य पनि पूरा गर्थ्यो। भाग्यमाथि विश्वासको आधारमा जनसमुदायलाई नियन्त्रणमा राख्न पनि सकिन्थ्यो र यही कारण इतिहासकार एफ. एच. सान्डबाकअनुसार “पूर्णतया दैवीय निर्देशनद्वारा संसारको शासन गरिन्छ भन्ने विश्वासले शासकीय दललाई सजिलो हुन्थ्यो।”
किन? प्राध्यापक ग्रिन यस्तो वर्णन गर्छन्, यस्तो विश्वास ”सामाजिक अनि राजनैतिक तवरमा स्थापित समाजको नैतिक, धर्मवैज्ञानिक र भाषिक स्पष्टिकरण थियो: युनानी शासकवर्गले आफ्नो स्थायित्वको लागि प्रयोग गरेको यो सबैभन्दा शक्तिशाली तथा छट्टू चाल थियो। कुनै घटना हुँदा, हुनैपर्ने कुरा भइहाल्छ नि भन्थे। अनि प्रकृतिले प्रायजसो मानवजातिको साथ दिन्थ्यो। यसकारण, जुनसुकै घटना पनि मानवजातिको भलाइको लागि नै हुन्छ।” वास्तविकतामा यो “आफ्नै मात्र चासो राख्ने निर्दयी प्रवृत्तिको प्रमाण” हो।
भाग्यमाथि विश्वास सबैले सहजै स्वीकारेको कुरा थियो भनेर युनानी साहित्यबाट प्रस्ट हुन्छ। वीरगाथा, दन्त्यकथा, दुःखान्त नाटकजस्ता पुरातन साहित्यहरूमा भाग्यको प्रमुख भूमिका हुन्थ्यो। युनानी मिथ्याअनुसार मानिसको भाग्य निर्धारण गर्ने त्रिदेवी मोइराइ थिए। क्लथोले जीवनको तान घुमाउँथे, लाकीशले आयु निर्धारण गर्थ्यो र आट्रोपसले तोकिएको समय सिद्धिएपछि जीवनको धागो चुँडालिदिन्थे। रोमीहरूको पनि त्यस्तै प्रकारको त्रिदेव थियो जसलाई तिनीहरू पार्की भन्थे।
रोमी तथा युनानीहरू आफ्नो भाग्य जान्न उत्सुक थिए। त्यसकारण, तिनीहरूले बेबिलोनबाट ज्योतिषशास्त्र र टुनामुना नक्कल गरेर त्यसमा छाँटकाँट गरे। भविष्य बताउने घटनाहरूलाई रोमीहरू पोर्टेन्टा वा चिह्नहरू भन्थे। यी चिह्नहरूले दिने सन्देशलाई ओमिना भन्थे। सा.यु.पू. तेस्रो शताब्दीतिर ग्रीसमा ज्योतिषविद्या प्रख्यात भइसकेको थियो र पहिलो युनानी चिना सा.यु.पू. ६२ मा देखा पऱ्यो। युनानीहरूको ज्योतिषविद्यामा अत्यधिक चासोबारे प्राध्यापक गिल्बर्ट मुरे भन्छन्, “युनानी मनमस्तिष्कमा यसको प्रभाव, दुर्गम टापुका मानिसहरूलाई एउटा नयाँ रोगले छोपेजस्तै भयो।”
भविष्य जान्ने प्रयासमा युनानी तथा रोमीहरूले भविष्य बताउने मानिसहरू वा पृथ्वी र आत्मिक लोकबीच कुराकानी गर्ने मानिसहरूको एकदमै बिगबिगी हुन थाल्यो। यी माध्यमद्वारा देवदेवीले मानिसहरूसित कुराकानी गर्थे भन्ने अनुमान लगाइन्थ्यो। (प्रेरित १६:१६-१९ तुलना गर्नुहोस्।) यस्ता धारणाहरूले कस्तो प्रभाव पाऱ्यो? दर्शनशास्त्री बर्टान्ड रसलले यसो भने: “आशामाथि डरले प्रभुत्व जमाउन थाल्यो; जीवनको उद्देश्य नै कुनै राम्रो कुरा हासिल गर्नु नभई दुर्भाग्यबाट बच्नु हुन गयो।” यस्तै धारणाहरू मसीहीजगत्मा पनि विवादको कारण बन्यो।
भाग्यबारे “मसीहीहरू” विवाद गर्छन्
प्रारम्भिक मसीहीहरूको संस्कृतिमा नियति र भाग्यजस्ता युनानी र रोमी धारणाहरूले निकै प्रभाव पारे। उदाहरणका लागि, मसीही फादर भनौंदाहरूले अरस्तु र प्लाटोजस्ता युनानी दार्शनिकहरूको दर्शनमा निकै भर परे। तिनीहरूले सुल्झाउन खोजेको एउटा समस्या थियो, “आदिदेखि अनन्तसम्मको” बताउने सर्वज्ञानी, सर्वशक्तिशाली परमेश्वर र प्रेमको परमेश्वर कसरी एउटै हुनसक्छ? (यशैया ४६:१०; १ यूहन्ना ४:८) परमेश्वरलाई सुरुदेखि अन्तसम्मको सबै कुरा थाह छ भने मानिसको पाप र त्यसको भयानक परिणामबारे पनि उहाँलाई पक्कै थाह थियो भनी तिनीहरू तर्क गर्छन्।
थुप्रै पुस्तकहरू लेखेका, प्रारम्भिक मसीही लेखक ओरिगनको एउटा तर्क के थियो भने, प्रत्येक मानिससित हुने स्वेच्छालाई हामीले बिर्सनु हुँदैन। तिनले यसप्रकार लेखे, “स्वेच्छा सबै मानिससित भनेर स्पष्टसित बताउने अनगिन्ती पद्यांशहरू धर्मशास्त्रमा छन्।”
ओरिगनले भने, आफ्नो कार्यको दोष कुनै बाह्य तत्त्वलाई दिनु “सही र तर्कसंगत कुरा होइन तर स्वेच्छाको धारणा रद्द गर्न चाहनेको भनाइ मात्र हो।” हुन त हो, ओरिगनले तर्क गरेअनुसार परमेश्वरले घटनाहरूको कालक्रम जान्नुहुन्छ तर यसको मतलब उहाँले त्यो घटना गर्नुहुने वा बाध्य तुल्याउनुहुने चाहिं होइन।” तर यो तर्क सबैलाई चित्त बुझेन।
प्रभावशाली चर्च फादर, अगस्टिनले (सा.यु. ३५४-४३०) घटनाक्रममा स्वेच्छाको भूमिकालाई कम महत्त्वपूर्ण बनाएर उक्त तर्कलाई फितलो बनाए। अगस्टिनले मसीहीजगत्मा पूर्व निर्धारित भविष्यलाई सैद्धान्तिक आधार दिए। तिनको प्रमुख कृति, डे लेबेरो आर्बेट्रियो (स्वेच्छाबारे) मध्ययुगको छलफलको केन्द्रबिन्दु रह्यो। यो विवाद सुधारवादी युगमा सबैभन्दा चरमबिन्दुमा पुग्यो। यति बेला नै हो, पूर्वनिर्धारित भविष्यको कुरामा मसीहीजगत् एकदमै विभाजित भयो।a
व्यापक तवरमा फैलिएको विश्वास
पश्चिमी संसारले मात्र भाग्यमा विश्वास राख्ने होइन। भाग्यमा विश्वास देखाउँदै थुप्रै मुसलमानहरू विपत्ति आइपर्दा, परमेश्वरले लेख्नुभएपछि भइहाल्छ अर्थात् “मेक्तुब” भन्छन्। थुप्रै पूर्वीय धर्महरूले व्यक्तिगत तवरमा भाग्यको भूमिकालाई जोड दिए तापनि तिनीहरूको शिक्षामा पूर्वनिर्धारित भविष्यको कुरा पाइन्छ।
उदाहरणका लागि, हिन्दूधर्म र बौद्धधर्मअनुसार कर्म भनेको पूर्वजन्ममा गरेका कार्यहरू अर्थात् भोग्नैपर्ने भाग्य हो। चीनका प्रारम्भिक लेखोटहरू कछुवाको खोलमा भेट्टाइयो र त्यो टुनामुना गर्न प्रयोग गरिन्थ्यो। अमेरिका महादेशका रैथानेहरू पनि भाग्यमा विश्वास राख्थे। जस्तै, आज्टेकवासीहरूले मानिसहरूको भविष्य बताउन जादुगरी पात्रो बनाए। अफ्रिकी महादेशका मानिसहरू पनि भाग्यमा विश्वास राख्छन्।
संसारभरिका मानिसहरूले भाग्यसम्बन्धी धारणालाई सहजै स्वीकार्नुले पनि सर्वोच्च शक्तिमा विश्वास गर्ने मानिसको आधारभूत चाहना देखाउँछ। मानिसका धर्महरू (अंग्रेजी) पुस्तकका लेखक, जोन. बि. नस यसो भन्छन्: “मानिस एक्लै बस्नसक्ने प्राणी होइन भनेर सबै धर्महरूले कुनै न कुनै तरिकामा बताउने गर्छन्। मानिसको प्रकृति र समाजसित एकदमै घनिष्ठ सम्बन्ध छ र भनौं भने, ती बाह्य तत्त्वहरूमा भर पर्छन्। स्पष्ट वा अस्पष्ट, जस्तोसुकै होस्, मानिस बाँकी संसारबाट अलग्गै रहनसक्ने प्राणी होइन।”
परमेश्वरमाथि विश्वास गर्ने हाम्रो आधारभूत चाहनाको साथसाथै हामी वरपर भइरहेको कुरा बुझ्नुपर्ने आवश्यकता पनि छ। तर, सर्वशक्तिमान परमेश्वरको अस्तित्व स्वीकार्नु र उहाँले नै हाम्रो भाग्य निर्धारण गर्नुहुन्छ भनी विश्वास गर्नुबीच भिन्नता छ। आफ्नो भाग्य निर्धारण गर्नुमा हामी कस्तो भूमिका निर्वाह गर्छौं? परमेश्वरले कस्तो भूमिका निर्वाह गर्नुहुन्छ?
[फुटनोट]
a यसको सहपत्रिका, प्रहरीधरहरा फेब्रुअरी १५, १९९५ को पृष्ठ ३-४ हेर्नुहोस्।
[पृष्ठ ५-मा भएको चित्र]
बेबिलोनी ज्योतिष पात्रो, सा.यु.पू. १०००
[स्रोत]
Musée du Louvre, Paris
[पृष्ठ ७-मा भएको चित्र]
युनानी तथा रोमीहरू मानिसको भाग्य निर्धारण गर्ने त्रिदेवीमाथि विश्वास राख्थे
[स्रोत]
Musée du Louvre, Paris
[पृष्ठ ७-मा भएको चित्र]
मिश्रको आइसिस, “भाग्य र नियतिको शासक”
[स्रोत]
Musée du Louvre, Paris
[पृष्ठ ८-मा भएको चित्र]
कछुवाको खोलमा लेखिएका प्रारम्भिक चिनियाँ लेखोटहरू टुनामुना गर्न प्रयोग गरिन्थ्यो
[स्रोत]
Institute of History and Philology, Academia Sinica, Taipei
[पृष्ठ ८-मा भएको चित्र]
यस फारसी बाकसमा चिनोहरू लेखिएका छन्
[स्रोत]
Photograph taken by courtesy of the British Museum