के बाइबलले भाग्यमा विश्वास गर्न सिकाउँछ?
अपमानजनक वक्तव्य! निन्दा! कुनै समुदायको आदरणीय सदस्यले जब झूटो प्रतिवेदनद्वारा आफ्नो मानहानि भएको ठान्छन्, तब त्यस कुरालाई सच्याउन तिनी बाध्य महसुस गर्छन्। तिनले त्यस अपमानजनक वक्तव्य छाँट्नेहरूको विरुद्धमा कानुनी कारवाहीसमेत गर्लान्।
भनौं भने, भाग्यवाद सर्वशक्तिमान परमेश्वरको निन्दाबाहेक अरू केही होइन। यस सिद्धान्तअनुसार मानिसजातिलाई सताउने सबै विपत्ति तथा बित्यासहरूको लागि परमेश्वर व्यक्तिगत तवरमा जिम्मेवार हुनुहुन्छ। तपाईं भाग्यमा विश्वास गर्नुहुन्छ भने ब्रह्माण्डीय सार्वभौमले निम्न प्रकारले कार्यसूची तय गर्नुभएको कल्पना गर्नुहोला: ‘आज जोन कार दुर्घटनामा घाइते हुनेछन्, फाटुलाई औलो ज्वरो लाग्नेछ, मामाडुको घर आँधीले भत्काउनेछ’! के तपाईं यस्तो परमेश्वरको सेवा गर्न साँच्चै उत्प्रेरित हुन सक्नुहुनेछ र?
‘तर हाम्रा दुर्दशाहरूको जिम्मेवार परमेश्वर हुनुहुन्न भने को हो त?’ भनेर भाग्यमा विश्वास गर्नेहरू सोध्ने गर्छन्। अघिल्लो लेखमा उल्लिखित जवान मानिस वुस्मानले यसबारे सोचे। तर तिनले सत्य कुराको टुंगो लगाउन अन्दाज वा अड्कल गर्नु परेन। परमेश्वरले आफ्नो प्रेरित वचन बाइबलका शिक्षाहरूद्वारा आफूलाई माथि उल्लिखित जस्ता निन्दाबाट शुद्ध पार्नुभएको छ भनेर तिनले सिके। (२ तिमोथी ३:१६) त्यसो- भए, यसबारे बाइबलले के भन्छ, आउनुहोस् विचार गरौं।
कसलाई दोष दिनु?
भेल, आँधी तथा भुइँचालोहरूजस्ता विपत्तिहरू परमेश्वरका कार्यहरू हुन् भनेर अक्सर भनिन्छ। यद्यपि, यस्ता विपत्तिहरू परमेश्वरले ल्याउनुहुन्छ भन्ने कुनै संकेत बाइबलमा पाइँदैन। शताब्दीयौंअघि मध्यपूर्वमा भएको दुःखान्त घटनालाई विचार गर्नुहोस्। त्यस विपत्तिमा बाँच्ने एक मात्र व्यक्तिको यस्तो प्रतिवेदन बाइबलमा पाउँछौं: “परमेश्वरको अग्नि [हिब्रूमा अक्सर चट्याङ अर्थ लाग्ने] स्वर्गबाट झरेर भेड़ाहरू र गोठालाहरूलाई भस्म पाऱ्यो।”—अय्यूब १:१६.
यस भयभीत मानिसले त्यस आगोको जिम्मेवार परमेश्वर नै हुनुहुन्छ भन्ठाने होलान्। तैपनि, त्यसमा उहाँको दोष थिएन भनेर बाइबलले बताउँछ। अय्यूब १:७-१२ पढ्नुहोस् अनि चट्याङ परमेश्वरले नभई उहाँको विरोधी शैतान अर्थात् दियाबलले ल्याएको थियो भनेर थाह पाउनुहुनेछ! ती सबै बित्यासहरू शैतानका प्रत्यक्ष कार्य थिएनन्। तर स्पष्टतया, त्यसको लागि परमेश्वरलाई दोष लगाउने कुनै कारण छैन।
वास्तवमा, कामकुराहरू बिग्रंदा अक्सर मानिसहरू नै जिम्मेवार हुन्छन्। प्रयास तथा असल प्रशिक्षण वा सम्भवतः अरूप्रति विचार नपुऱ्याएकोले गर्दा स्कूल, काम वा समाजमा आफ्ना सम्बन्धहरू कमजोर हुन्छ। त्यस्तैप्रकार, हेलचक्य्राइँले गर्दा बिमारी, दुर्घटना वा मृत्यु हुनसक्छ। गाडी चलाउँदा सीट पेटी बाँध्नाले मात्र पनि सवारी दुर्घटनामा ज्यान गुम्ने सम्भावना निकै कम हुन्छ। अपरिवर्तनीय “भाग्य[द्वारा]” जीवन नियन्त्रित हुँदो हो त सीट पेटीले कुनै फरक नपार्नु पर्ने हो। सही औषधोपचार र सरसफाइले पनि अकाल मृत्यु दरलाई नाटकीय ढंगमा कम गर्छ। “परमेश्वरका कार्यहरू” भनेर सामान्यतः नामकरण गरिएका केही विपत्तिहरूसमेत वास्तवमा मानिसका कार्यहरू अर्थात् मानिसले पृथ्वीलाई बिगारेको दुःखलाग्दो चिनारी हो।—प्रकाश ११:१८ तुलना गर्नुहोस्।
“समय र अवसर”
हो, स्पष्ट कारणहरू नभएका थुप्रै दुःखलाग्दा घटनाहरू छन्। यद्यपि, बाइबलको पुस्तक उपदेशक ९:११ मा भनिएको कुरालाई ध्यान दिनुहोस्: “मैले संसारका अझै एउटा कुरो देखें—वेग कुदाइले दौड़ जित्नसक्तैन, औ शक्तिले लड़ाइँ जित्नसकिन्न। भोजन बुद्धिमानको निम्ति, धन-सम्पत्ति समझदारको निम्ति, सफलता निपुण मानिसको निम्ति हुँदैन। समय र अवसरलेनै सबैलाई अधीन गरेको हुन्छ।” तसर्थ, दुर्घटना हुँदा सृष्टिकर्ताको हात छ भन्नु वा कुनै प्रकारको दुर्घटनामा पर्दा त्यसलाई उहाँले दिनुभएको सजाय हो भनेर विश्वास गर्नु पटक्कै मिल्दैन।
येशू ख्रीष्ट स्वयंले भाग्यवादी तर्कको खण्डन गर्नुभयो। आफ्ना श्रोताहरूका लागि चिरपरिचित दुःखान्त घटना उल्लेख गर्नुहुँदै उहाँले सोध्नुभयो: “ती अठाह्र जना, जसमाथि सिलोआमको धरहरा ढलेर तिनीहरूलाई माऱ्यो, के तिमीहरू सम्झन्छौ, कि तिनीहरू सबै यरूशलेमबासीहरूमध्ये बढ़ता अपराधी थिए? त्यसो होइन, तर म तिमीहरूलाई भन्दछु।” (लूका १३:४, ५) त्यो विपत्ति परमेश्वरको हस्तक्षेप नभई ‘समय र अवसरअनुसार’ थियो भनेर येशूले स्पष्टसित बताउनुभयो।
असिद्धताका विध्वंसकारी असरहरू
तैपनि, अवर्णनीय कारणहरू भएका मृत्यु र बिमारीहरूबारे के भन्न सकिन्छ? बाइबलले यस मानव अवस्थाबारे सोझो जवाफ दिन्छ: “आदममा सबै मर्दछन्।” (१ कोरिन्थी १५:२२) हाम्रा पूर्वज आदम अनाज्ञाकारिताको मार्गमा हिंडेदेखि मानिसजातिले मृत्युको सतावट भोग्दै आइरहेका छन्। परमेश्वरले चेताउनी दिनुभएअनुसार नै आदमले आफ्ना सन्तानलाई पैतृक सम्पत्तिको रूपमा मृत्यु छाडिराख्यो। (उत्पत्ति २:१७; रोमी ५:१२) त्यसोभए, अन्ततः सम्पूर्ण बिमारीहरूको दोष हाम्रा चिरपरिचित पूर्वज आदमलाई दिन सकिन्छ। हामीले जीवनमा अनुभव गरेका निराशा तथा असफलताहरूमा वंशानुगतप्राप्त हाम्रा कमजोरीहरूको पनि ठूलो भूमिका रहन्छ।—भजन ५१:५.
गरिबीको समस्यालाई विचार गर्नुहोस्। भाग्यप्रतिको विश्वासले कठिन स्थितिमा परेकाहरूलाई त्यो स्थिति सहन नगरी हुँदैन भन्ने धारणा राख्न अक्सर प्रोत्साहन दिएको छ। ‘हाम्रो भाग्यमै यस्तो लेखिएको रहेछ’ भन्ने तिनीहरू विश्वास गर्छन्। तथापि, बाइबलले दोष भाग्यलाई नभई मानव असिद्धतालाई दिनुपर्छ भनेर देखाउँछ। अल्छीपन वा सम्पत्तिको दुरुपयोग गरेर ‘जे रोप्तछ त्यसैको कटनी पनि गर्दा’ केही मानिसहरू गरिब हुन्छन्। (गलाती ६:७; हितोपदेश ६:१०, ११) शक्तिशाली स्थान ओगटेर बसेका लोभी मानिसहरूको शिकार भएकोले अनगिन्ती करोडौं मानिसहरू गरिबीमा पिल्सिरहेका छन्। (याकूब २:६ तुलना गर्नुहोस्।) बाइबल भन्छ, ‘मानिसले मानिसलाई दुःख दिएको छ।’ (उपदेशक ८:९) परमेश्वर वा भाग्यलाई सबै गरिबीको जिम्मेवार ठहराउने कुनै प्रमाण छैन।
भाग्यमा विश्वास—यसका हानिकारक प्रभावहरू
भाग्यप्रतिको विश्वास विरुद्ध अर्को भरपर्दो तर्क हो, भाग्यवादले यसका विश्वासीहरूमाथि पार्नसक्ने प्रभाव। येशू ख्रीष्टले भन्नुभयो: “हरेक असल रूखले बढ़िया फल फलाउँछ। तर बिग्रेको रूखले खराब फल फलाउँछ।” (मत्ती ७:१७) आउनुहोस्, हामी भाग्यवादको एउटा “फल” अर्थात् यसले मानिसको जिम्मेवारीप्रतिको बोधमा प्रभाव पार्ने तरिकालाई विचार गरौं।
व्यक्तिगत जिम्मेवारी निर्वाह गर्नुपर्ने स्वास्थ्यकर बोध व्यक्तिमा हुनु महत्त्वपूर्ण छ। यो ती कुराहरूमध्ये एक हो जसले आमाबाबुलाई परिवारको हेरचाह गर्न, कामदारलाई आफ्नो काम मन लगाएर गर्न र उत्पादकलाई उच्च गुणस्तरीय वस्तु उत्पादन गर्न उत्प्रेरित गर्छ। भाग्यमा विश्वास गर्नाले व्यक्तिगत जिम्मेवारीको त्यस्तो बोध निष्क्रिय हुनसक्छ। उदाहरणका लागि, एक जना मानिसको गाडीको स्टियरिङ बिग्रेको कल्पना गर्नुहोस्। त्यस मानिस आफ्नो जिम्मेवारीप्रति सजग छन् भने, आफ्नो र यात्रीहरूका जीवनको चिन्ता गरेर तिनले त्यो स्टियरिङ मर्मत गर्छन्। अर्कोतर्फ, भाग्यमा विश्वास गर्नेले ‘परमेश्वरको इच्छा’ भए मात्र बिग्रनेछ भन्ने तर्क गर्दै खतरालाई बेवास्ता गर्लान्!
हो, भाग्यमा विश्वास राख्नाले गर्नुपर्ने कामहरूको जिम्मेवारीप्रति लापरवाही, आलस्य र असफलता अनि अरू थुप्रै नकारात्मक आचरणहरूलाई बढावा दिन्छ।
सृष्टिकर्ता र हाम्रो सम्बन्धबीच पर्खाल?
सबैभन्दा हानिकारक कुरा त के हो भने, भाग्यमा विश्वास राख्नाले व्यक्तिविशेषलाई परमेश्वरप्रतिको जिम्मेवारी वा दायित्वको बोधलाई दबाउनसक्छ। (उपदेशक १२:१३) भजनरचयिता सबै मानिसजातिलाई ‘यहोवा कस्तो भलो हुनुहुन्छ भनेर पारख गरेर हेर्न’ आग्रह गर्छन्। (भजन ३४:८) परमेश्वरको भलाइमा रमाउनेहरूका लागि उहाँले केही आवश्यकताहरू राख्नुहुन्छ।—भजन १५:१-५.
यस्ता आवश्यकतामध्ये एउटा प्रायश्चित हो। (प्रेरित ३:१९; १७:३०) त्यसमा आफ्ना गल्तीहरू स्वीकार्नु र आवश्यक परिवर्तनहरू गर्नु समावेश छन्। असिद्ध मानवहरू भएकोले हामी सबैले थुप्रै गल्तीहरू गरेका छौं र त्यसको लागि प्रायश्चित गर्नुपर्छ। तर कुनै व्यक्तिले आफूलाई भाग्यको असहाय शिकार ठान्छन् भने तिनलाई भूलहरूका खातिर प्रायश्चित गर्ने वा जिम्मेवारी वहन गर्ने अनिवार्यता महसुस गर्न गाह्रो पर्छ।
परमेश्वरबारे भजनरचयिता यसो भन्छन्: “तपाईंको करुणा जीवनभन्दा उत्तम छ।” (भजन ६३:३) यद्यपि, भाग्यप्रतिको विश्वासले करोडौं मानिसलाई तिनीहरूको दुःख लेख्ने परमेश्वर नै हुनुहुन्छ भनेर विश्वस्त बनाएको छ। स्वाभाविकतः यसले थुप्रैलाई उहाँप्रति कठोर बनाएको छ। सृष्टिकर्तासित सम्बन्ध गाँस्ने ढोका तिनीहरूका लागि बन्द गरिदिएको छ। आखिर, आफूमाथि समस्या र परीक्षाहरू थोपर्नेको रूपमा हेर्नुभएको व्यक्तिलाई तपाईं कसरी प्रेम गर्न सक्नुहुन्छ? यसर्थ, भाग्यवादले परमेश्वर र मानिसबीच पर्खाल खडा गर्छ।
भाग्यको निरंकुशताबाट मुक्त
सुरुमै उल्लिखित जवान वुस्मान पनि कुनै समय भाग्यमा विश्वास राखेर त्यसका दास भएका थिए। तथापि, यहोवाका साक्षीहरूले तिनलाई बाइबलको ज्योतिमा आफ्नो विचार हटाउन मदत गरेपछि तिनी भाग्यप्रतिको विश्वास त्याग्न उत्प्रेरित भए। परिणामस्वरूप, तिनले ढुक्क महसुस गरे र तिनलाई जीवनमा एक नयाँ र सकारात्मक दृष्टिकोणको अथाह अनुभूति भयो। अझ महत्त्वपूर्ण, तिनले यहोवालाई ‘टिठाउनमा भरिपूर्ण र दयालु परमेश्वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुने’ परमेश्वरको रूपमा चिन्न सकेका छन्।—प्रस्थान ३४:६.
परमेश्वरले हाम्रा जीवनको एक एक घटनाको योजना नबनाउनु भए तापनि भविष्यको लागि उद्देश्य राख्नुभएको छ भन्ने कुरा पनि वुस्मानले बुझेका छन्।a दोस्रो पत्रुस ३:१३ मा यसो भनिएको छ: “उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।” प्रतिज्ञा गरिएको यस “नयाँ पृथ्वी[को]” भागको रूपमा सधैंभरि बाँच्ने आशा खेती गर्न यहोवाका साक्षीहरूले लाखौंलाई मदत दिएका छन्। तिनीहरू तपाईंलाई पनि मदत दिन चाहन्छन्।
बाइबल ज्ञानमा बढ्दै जानुहुँदा तपाईंको भविष्य आफूले नियन्त्रण गर्न नसक्ने कुनै पूर्वनियोजित भाग्यमा निर्भर हुँदैन भनेर बुझ्नुहुनेछ। मोशाले पुरातन इस्राएलीहरूलाई भनेका यी शब्दहरू साँच्चै लागू हुन्छन्: “मैले तिमीहरूका अगि जीवन र मृत्यु, आशिष र सराप राखेको छु। यसकारण जीवननै रोज र तिमीहरू र तिमीहरूका भावी पुस्ता जिउनेछौ। परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्दै उहाँका आज्ञा मान्दै र उहाँसँगै लीन बन्दै बाँचिरहो।” (व्यवस्था ३०:१९, २०) हो, तपाईंले भविष्यबारे छनौट गर्न सक्नुहुन्छ। यो भाग्यमा निर्भर छैन।
[फुटनोट]
a परमेश्वरको अग्रिमज्ञानबारे विस्तृत छलफलको लागि प्रहरीधरहरा (अंग्रेजी), जुलाई १५, १९८४, पृष्ठ ३-७ हेर्नुहोस्।
[पृष्ठ ६ र ७-मा भएका चित्रहरू]
यी प्रकोपहरू ‘परमेश्वरका कार्यहरू’ थिएनन्
[स्रोतहरू]
U.S. Coast Guard photo
WHO
UN PHOTO 186208/M. Grafman